नेपाली प्रगतिवादी कविताका समसामयिक प्रवृत्तिहरू विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न

२०६८।१२।११
रमेश पोखरेल

राष्ट्रिय जन साँस्कृतिक महासङ्घको रजत जयन्ती वर्षको उपलक्ष्यमा जन साहित्यिक मञ्च, नेपाल’को आयोजनामा आज चैत ११ गते शनिवार अपराह्न १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा ‘नेपाली प्रगतिवादी कविताका समसामयिक प्रवृत्तिहरू’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न गरियो । जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष डा.जीवेन्द्र देव गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा संस्कृति विभागका अध्यक्ष एवम् राष्ट्रिय जन साँस्कृतिक महासङ्घका अध्यक्ष विजय सुब्बा हुनु हुन्थ्यो भने अतिथिहरूमा वरिष्ठ प्रगतिवादी साहित्यकार डा.मोदनाथ प्रश्रित, नेकपा एमाले पोलिटब्यूरो सदस्य द्वय प्रदीप ज्ञवाली र प्रदीप नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति ठाकुरप्रसाद मैनाली, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव आभाष फुयाल, कथाकार माया ठकुरी, प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष द्वय हरिहर खनाल र रामप्रसाद प्रदीप, प्रलेस महासचिव गोपाल ठाकुर, प्राज्ञ यज्ञराज उपाध्याय, जनमत प्रकाशनका अध्यक्ष मोहन दुवाल, जन साहित्यिक मञ्च नेपालका सल्लाहकार प्रा.केशव सुवेदी, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका महासचिव डा.यादवप्रकाश लामिछाने, प्राज्ञ रामकृष्ण दुवाल, जन साहित्यिक मञ्च, नेपालका संस्थापक अध्यक्ष राम विनय, मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिव माधव प्रधान, कार्यपत्र प्रस्तोता सह प्रा.हेमनाथ पौडेल र टिप्पणीकार सह प्रा.फणीन्द्र निरौला उपस्थित हुनु हुन्थ्यो ।

जन साहित्यिक मञ्च, नेपालका महासचिव रमेश पोखरेलद्वारा सञ्चालित उक्त कार्यक्रममा उपस्थित सबै आदरणीय विद्वत् वर्गलाई मञ्चकी सचिव गायत्री विष्टले स्वागत गर्नु भएको थियो र अन्तमा गजल वाचन सहित धन्यवाद मन्तव्य मञ्चका उपाध्यक्ष एवम् प्राज्ञ बूँद रानाले व्यक्त गर्नु भएको थियो । मञ्चका अध्यक्ष डा.जीवेन्द्र देव गिरीले जन साहित्यिक मञ्चको उद्देश्यमाथि प्रकाश पार्दै नेपाली प्रगतिवादी कवितामा विभिन्न खाले प्रवृत्ति देखिएकाले त्यस्ता प्रवृत्तिहरूमाथि चर्चा गर्नु र मूल्य निरुपण गर्नु अनि अँध्यारोलाई चिर्दै अगाडि बढ्नु सङ्गठनको यात्राकै उद्देश्य भएकाले पनि यस्ता खाले गहन वैचारिक बहसको थालनी गरिएको र त्यसनिम्ति कार्यपत्र तयारीका लागि नेपाली प्रगतिवादी कवितामै विद्यावारिध गरि रहनु भएका सह प्रा.हेमनाथ पौडेललाई अनुरोध गरिएको अनि सो कार्यपत्रमाथि टिप्पणी गरि दिन अर्का सह प्रा.फणीन्द्र निरौलालाई आग्रह गरी कार्यक्रमको आयोजना गरिएको जानकारी गराउँनु भयो ।

गोष्ठीमा नेपाली प्रगतिवादी कविताका समसामयिक प्रवृत्तिहरू विषयक विषद् कार्यपत्र सह प्रा.हेमनाथ पौडेलले प्रस्तुत गर्नु भयो । प्रगतिवाद भनेको के हो ? यसको थालनी कहिलेदेखि भयो ? यस वादको इतिहास के हो र वर्तमानसम्म आइ पुग्दा यस वादका के कस्ता प्रवृत्तिहरू देखिएका छन् भन्नेसम्मको लामो कार्यपत्र उहाँले प्रस्तुत गर्नु भयो र सो कार्यपत्रमाथि सह प्रा.फणीन्द्र निरौलाले टिप्पणी गर्दै ज्यादै विषद् विषयमा अत्यन्त गहन मिहिनेतले कार्यपत्र तयार पारिएको, कार्यपत्र मानक अभिलेख बन्न सकेको चर्चा गर्दै कार्यपत्रको शीर्षक भने ‘नेपाली प्रगतिवादी कविताका स्वरगत प्रवृत्तिहरू’ राख्नु बढी उपयुक्त हुने, कस्ता कस्ता रूपका कविता लेखिए भन्ने कुरा समावेस गरे अझ राम्रो हुने, विदेशी साहित्यकारका रचनामा पाइँने प्रगतिवादिताको पक्ष पनि खुट्याउँन सके अझै राम्रो हुने, माओवादी सशस्त्र युद्धलाई ओजपूर्ण शीर्षक दिएर जनयुद्ध भन्दा सही मूल्याङ्कन नहुने भएकाले विचार गर्नु पर्ने जस्ता पक्षमा पनि छलफल गरी कार्यपत्रलाई परिमार्जन गर्दा अझ राम्रो हुने धारणा राख्नु भयो । साथै कार्यपत्र प्रस्तोता हेमनाथ पौडेलले पनि आएका सुझाबलाई समेटी कार्यपत्र परिमार्जन गर्ने वचनवद्धता जाहेर गर्नु भयो ।

गोष्ठीमा डा.मोदनाथ प्रश्रित, प्रदीप ज्ञवाली, बूँद राना, पूर्ण विराम, वासुदेव अधिकारी, अनिल पौडेल, देवी नेपाल, जयन्ती स्पन्दन, धनकुमारी सुनार, गायत्री विष्ट, कविता पौडेल, रूपक अलङ्कार, डम्बर पहाडी, अतृप्त पाण्डेय, गोपाल ठाकुर, राम विनय, कृष्णविनोद लम्साल, माधव प्रधान र रामकृष्ण दुवालले आआफ्ना कविता, गीत, गजल, हाइकु तथा तान्का वाचन गर्नु भएको थियो ।

जतिखेर सम्झे पनि देशलाई सम्झनु पर्छ भन्ने मान्यताका साथ कार्यक्रमको समापन भने छ बर्से बालिका प्रलिसा अधिकारीले राष्ट्रगान गाएर गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *