पारिजात सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ, २१ वैशाख
रासस

पारिजात स्मृति केन्द्रले स्थापना गरेका विभिन्न सम्मान तथा पुरस्कार आज यहाँ वितरण गरिएको छ ।

सम्मानित तथा पुरस्कृत हुनेमा ‘पारिजात सिर्जन सम्मान–२०६९’ बाट वरिष्ठ माक्र्सवादी चिन्तक मोहन वैद्य ‘किरण’ (चैतन्य), ‘पारिजात सङ्घर्षशील नारी सम्मान–२०६९’ बाट नेत्री साहना प्रधान र ‘पारिजात कला सम्मान–२०६९’ बाटा नारदमणि हार्तम्छाली हुनुहुन्छ । वैद्य नेकपा–माओवादीका अध्यक्ष पनि हुनुहुन्छ । यी सबै सम्मानको राशि जनही रु दस हजार रहेको छ ।

प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष आनन्ददेव भट्टले ती पुरस्कार प्रदान गर्नुभएको हो । नेकपा (एमाले) की नेत्री प्रधान अस्वस्थ्य रहेका कारण उहाँका छोरा उमेश श्रेष्ठले सो पुरस्कार ग्रहण गर्नुभयो । उहाँले प्राप्त पुरस्कार रकम पारिजात स्मृति केन्द्रको निर्माणाधीन भवनका लागि केन्द्रका अध्यक्ष लक्ष्मी मालीलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा ‘पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार–२०६९’ बाट विजयराज आचार्य, ‘पारिजात बालसाहित्य पाण्डुलिपि प्रशंसापत्र–२०६९’ बाट सङ्गीत स्रोता र सविना सिन्धु पुरस्कृत हुनुभएको छ ।

सम्मानित तथा पुरस्कृत व्यक्तिबारे चर्चा गर्दै समालोचक सहप्राध्यापक हेमनाथ पौडेलले माक्र्सवादी चिन्तक तथा समालोचक वैद्य र महिला आन्दोलनकी अगुवा प्रधानलगायत स्रष्टा र द्रष्टालाई पारिजातका नाममा स्थापना भएका सम्मान प्रदान गरिनु महत्वपूर्ण विषय भएको बताउनुभयो ।

समालोचक भट्टले पारिजातका लेखनबाट नेपाली साहित्यले ‘शिरीषको फूल’ लगायत उल्लेखनीय कृति प्राप्त गरेको बताउनुभयो । सम्मान प्राप्त गरेपछि नेता वैद्यले यसबाट आफूलाई नेपाली समाजको आमूल परिवर्तनमा थप लाग्न प्रेरणा मिलेको बताउनुभयो ।

साहित्यका पारिजातको जन्म १९९४ साल वैशाख र निधन २०५० साल वैशाख ५ मा भएको थियो । उहाँको स्मृतिमा स्थापित केन्द्रले २०५१ सालदेखि सम्मान र पुरस्कार प्रदान गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *