मङ्गलकुमार नेपाल स्मृति ग्रन्थ लोकार्पित

जेठ २३, मङ्गलवार

अपराह्न २.३० बजे रुसी सांस्कृतिक केन्द्र कमल पोखरीको सभाकक्षमा संस्कृत साहित्यका विद्वान पं.मङ्गलकुमार उपाध्याय नेपाल स्मृतिग्रन्थको लोकार्पण राष्ट्रकवि माधवप्रसाद घिमिरेले गर्नु भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरे हुनु हुन्थ्यो भने विशिष्ट अतिथिहरूमा संस्कृतिविद् सत्यमोहन जोशी, वसन्तकुमार शम्र्मा नेपाल, पूर्व उपकुलपति बैरागी काइँला, संस्कृतिविद् डा.मोदनाथ प्रश्रित, मुक्तिनाथ पीठाधीश कमलनयानाचार्य उपस्थित हुनु हुन्थ्यो । त्यसै गरी पूर्व प्रधान मन्त्री एवम् मङ्गलकुमार उपाध्याय नेपालका ज्येष्ठ सुपुत्र माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, वरिष्ठ वामनेता विष्णुबहादुर मानन्धर, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरे, वरिष्ठ साहित्यकार एवम् एमाले नेता प्रदीप नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, वरिष्ठ भाषाविद् प्रा.डा.माधवप्रसाद पोखरेल, प्राज्ञ विष्णु पभात, नेपाल परिवारका ज्येष्ठ सदस्य दिव्यकुमार नेपाल, जन गायक रामकृष्ण दुवाल, वरिष्ठ स्रष्टा उषा शेरचन, उद्योग मन्त्री सोमप्रसाद पाण्डे, प्रधान सम्पादक डा.देवी नेपाल, ग्रन्थ प्रकाशन समिति सदस्य प्रा.डा.विष्णुराज आत्रेय, सम्पादक त्रय रमेश पोखरेल, अनिल पौडेल र मोहन गौतम अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

सन्ध्या पहाडीद्वारा सञ्चालित उक्त विशेष समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूलाई बुहारीहरू गायत्री नेपाल र अञ्जना नेपालले माला लगाइ दिएर स्वागत गर्नु भएको थियो । अञ्जना उपाध्याय नेपालले उपस्थित सम्पूर्ण विद्वान व्यक्तित्वमा शब्द स्वागत गर्नु भएको थियो । प्रमुख अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरेले फुलभित्रबाट स्मृतिग्रन्थ निकाली लोकार्पण गर्नु भएको थियो । मङ्गलकुमार उपाध्याय नेपालको व्यक्तित्वका बारेमा नेपाल परिवारका ज्येष्ठ सदस्य दिव्यकुमार नेपालले प्रकाश पार्नु हुँदै सादा जीवन र उच्च विचारका धनी, शिक्षालाई समाज रूपान्तरणको मेरुदण्ड मान्ने, निष्ठावान्, इमान्दार व्यक्तित्वको रूपमा मङ्गलकुमार उपाध्याय नेपालको सिङ्गो जीवन स्थापित भएको धारणा राख्नु भयो ।

मङ्गलकुमार उपाध्याय नेपाल स्मृतिग्रन्थ प्रकाशन समितिमा संरक्षकहरू माधवकुमार नेपाल, विनोदकुमार नेपाल र सरोजकुमार नेपाल हुनु हुन्छ भने डा.देवी नेपाल संयोजक, रमेश पोखरेल सचिव, मोहन गौतम कोषाध्यक्ष हुनु हुन्छ । त्यसै गरी सदस्यहरूमा अनिल पौडेल, प्रा.डा.विष्णुराज आत्रेय, दिव्यकुमार उपाध्याय, गायत्री नेपाल, अञ्जना नेपाल, निरु नेपाल, वसुधा नेपाल पोखरेल, डा.सुमन नेपाल पाण्डे रहनु भएको जानकारी गराइयो ।

प्रधान सम्पादक डा.देवी नेपालले पं.मङ्गलकुमार उपाध्यायले आफ्ना परिवारलाई समेत संस्कार सिकाउनु भएको अनुभूति काम गर्दाका दौरानमा गर्न पाइएको; परिवार, विद्वान लेखकहरू लगायत सबै सबैबाट प्राप्त भएको सहयोगका कारण दुई महिनाको छोटो अवधिमा यति ठुलो ग्रन्थ तयार पार्न सकिएको भए पनि हतारमा सबै काम गर्नु पर्दा कहीँ कतै केही सुधार गर्नु पर्ने पक्ष रहेका भए विद्वानहरूले सल्लाह र सुझाब दिनु हुने नै छ भन्नु भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीले बृहत् स्मृतिग्रन्थको लामो समीक्षा गर्नु हुँदै स्मृतिग्रन्थलाई चार खण्डमा विभक्त गरिएको, ग्रन्थमा समेटिएका ३८ संस्मरण, ४५ समालोचना, अनुसन्धानात्मक एवम् भाषागत विश्लेषण गरिएको; साजसज्जा, कागज, छपाइ, आकर्षण लगायतका सबै पक्षबाट ग्रन्थ उत्कृष्ट देखिएको, मङ्गलकुमार संस्कृतका विद्वान भएर पनि भाषिक सरलता, सम्प्रेष्य लेखन उहाँका विशेषताका रूपमा देखिएका, ग्रन्थ प्रकाशनका लागि परिवारले योजनाबद्ध रूपमा काम गरेको, मङ्गलकुमारले नारी सम्मानका निम्ति  पूर्वीय परम्पराका आदर्श नारीहरूको योगदानमाथि प्रकाश पारेका, कर्मयोगको उपासना पूर्वीय दर्शनको पनि निचोड हो भन्ने ठम्याइ उहाँको लेखनमा रहेको, पुस्तकालयको स्थापनामा, पत्रिकाहरूको सम्पादनमा उहाँको योगदान रहेको र त्यसैका माध्यमबाट व्यक्तित्व निर्माण भएको, लेखनको सम्पूर्ण उद्देश्य जागरणको सन्देश सम्प्रेषण गर्ने रहेको देखिएको हुँदा दुई महिनाको छोटो अवधिमा अत्यन्त मिहिनेतका साथ प्रकाशन गरिएको यो ग्रन्थ ऐतिहासिक, पठनीय र अनुकरणीय रहेको धारणा राख्नु भयो ।

ग्रन्थभित्रबाट वसुधा नेपाल पोखरेलले लेख्नु भएको कविता सम्पादक रमेश पोखरेलले वाचन गर्नु भयो र आजभन्दा करिब ८० वर्ष अगाडि नै समाज शिक्षित भए राष्ट्र शिक्षित हुन्छ’ भन्ने मान्यता राखेर साहित्यका विभिन्न वाद र धारणामध्ये जनताको पक्ष पोषण गर्ने, जनतामा नव चेतनाका जागरण सिर्जना गर्ने, सुसंस्कृत संस्कार र चरित्र निर्माण गर्न मदत पुर्याउने, जन पक्षीय धारा वा प्रगतिवादी संस्कारप्रति मेरो अभिरुचि र झुकाब रहेको छ’ भन्ने स्पष्ट दृष्टिकोण जाहेर गर्ने, संस्कृत नेपालीको माउ भाषा भएकाले यसको व्यापक अध्ययन, अनुसन्धान, विश्लेषण र अनुवाद गरी नेपाली साहित्यको श्रीवृद्धि गर्नु पर्छ भन्ने उहाँको सिर्जनाको उद्देश्य रहेको; प्रचार प्रसारबाट टाढा रहेर निरन्तर अध्ययन, खोज, अनुसन्धान तथा अनुवादमा संलग्न रहनु भएको पाइएको, आफ्नो साहित्य सेवामा कतै न कतै सत्य र न्यायको खोजी गर्ने, प्रगतिशीलताका पक्षमा योगदान गर्ने प्रवृत्ति रहेको पाइएको हुँदा यस्ता विराट व्यक्तित्वको योगदान खुट्याउने र मूल्याङ्कन गर्ने उद्देश्यले प्रेरित भएर नै यो स्मृतिग्रन्थको प्रकाशन गरिएको र उहाँले बाँचेको सिङ्गो सय वर्षको इतिहासको मूल्याङ्कन विद्वान एवम् पाठकका तहबाट होस् भन्ने अपेक्षा राखिएको छ । प्रधान सम्पादक डा.देवी नेपाल त्यस्तो व्यक्तित्व हो, जो रातैभरि नसुतेर योगदान गर्न सक्छ । अर्थात् उहाँको व्यक्तित्व परीक्षण गरिएको व्यक्तित्व हो भन्ने मूल्याङ्कनका साथ परिवारबाट कामको जिम्मा दिइएको, दाङसम्म पनि आफैँ पुगेर कृति जिम्मा लगाई समालोचना लेख्न लगाउनु भएको, सेटिङ गर्ने भाइलाई बिहान ६ बजेदेखि बोलाएर काम लगाउने र राति ९ बजेसम्म काम लगाएर राति घरैमा पुर्याएर मात्र आफू घर जानु भएका कारण पनि छोटो अवधिमा काम सम्पन्न भएको, छापाखानाले पनि सात दिनमै छापेर दिएको हुँदा यस ग्रन्थको यो आकार आउनुमा परिवारका सबै सदस्यको सहयोग, विशेष गरी गायत्री र अञ्जना नेपालको विशिष्ट सहयोग रहेको छ, विद्वान लेखकहरूको ठुलो सहयोग रहेको छ भन्नु हुँदै सबैमा हार्दिक आभार समेत व्यक्त गर्नु भयो ।

परिवारका तर्फबाट वसुधा नेपालले आफ्नो धारणा राख्नु भयो । बुबाको अत्यन्त अनुशासित जीवन, सबैलाई समान व्यवहार गर्ने, सकेसम्म अरूलाई आर्थिक भार नपार्ने, इमान र निष्ठामा कतै कुनै सम्झौता नगर्ने र कर्तव्यमा सदैव बफादार रहने बुबाको गुण ज्यादै अनुकरणीय रहेको बताउनु भयो ।
पूर्व सम्माननीय प्रधान मन्त्री माधवकुमार नेपालले ग्रन्थमा संस्मरण तथा समालोचना प्रकाशित गराउने स्रष्टालाई ग्रन्थ हस्तान्तरण गर्नु भयो । त्यसै गरी प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूलाई ग्रन्थ अर्पण गर्नु भयो । जन गायक रामकृष्ण दुवालले ग्रन्थमा समेटिएको डा.देवी नेपालद्वारा लिखित पञ्चचामर छन्दको कविता उत्कृष्ट लयमा गाउनु भयो । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरले फरक विचार राख्ने भए पनि गौरमा बस्दा पत्रिका प्रकाशनको सहकार्य गरिएको र उहाँले नेपालीमा र आफूले हिन्दीमा सम्पादन गरेको, राजनीति र साहित्यको संयोजनको अवसर प्राप्त भएको, उहाँको शालीन व्यक्तित्वबाट आफूले प्रभाव ग्रहण गरेको धारणा राख्नु भयो ।

माधवकुमार नेपालले आफ्नो राजनीतिक व्यक्तित्व निर्माणमा बुबाको ठुलो योगदान रहेको, उहाँको साधना र समर्पण प्रेरणादायी रहेको, स्वार्थ र तत्कालको लाभ हेरर काम गर्नेले सफलता पाउँदैन भन्ने उहाँको स्पष्ट विचार रहेको, सिङ्गो परिवारको आचरण तथा संस्कार निर्माणमा पनि उहाँको ज्यादै ठुलो योगदान रहेको, सबै खाले पत्र पत्रिका पढेर राजनीतिका बारेमा जानकारी राख्ने गर्नु भएको, बुबाको इच्छा जेठो छोराले पढेर जागिर खाओस् भन्ने रहेको भए पनि आफू भने सामाजिक रूपान्तरण नहुँदासम्म परिवारको पनि सुख हुँदैन भन्ने मान्यता बोकेर राजनीतिमा होमिएको, आफू पक्राउ पर्दा डेढ वर्षसम्म बुबालाई तारिखमा राख्दासम्म पनि मलाई नभनेरै तारिख खेप्नु भएको तर एक पटक पनि राजनीति छोड भनेर नभन्नु भएको, तर उहाँको साहित्यिक व्यक्तित्वका बारेमा चाहिँ मोफसलमा रहेकै कारण चर्चा हुन नसकी पछाडि परेको धारणा राख्नु भयो ।

प्रमुख अतिथि माधवप्रसाद घिमिरेले पं.मङ्गलकुमार नेपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु हुँदै मान्छेले कर्म गरेर नै सय वर्ष बाँच्ने इच्छा राख्नु पर्छ जो मैले मङ्गलकुमार नेपालको जीवनबाट पाएँ, पूर्वीय दर्शनका विद्वान, निष्ठावान्, पुराण तथा महाभारतका आदर्शवान् चरित्रको व्यक्तित्व उजागर गरी समाज निर्माणमा योगदान गर्ने लक्ष्य राख्ने, समाजका निम्ति निःस्वार्थ काम गर्ने ती तपस्वीका प्रति परिवारले यति सक्रियताका साथ स्मृतिग्रन्थ प्रकाशन गरी सम्मान गर्नु अनुकरणीय रहेको हुँदा तपाईँहरू सबैको भक्तिभावको प्रशंसा गर्छु भन्नु भयो ।

पूर्व सम्माननीय प्रधान मन्त्री माधवकुमार नेपालले सम्पादक मण्डललाई मायाको चिनो अर्पण गर्नु भयो । प्रमुख अतिथिलाई मङ्गलकुमार नेपालसँग खिचाएको उहाँकै तस्बिर सहितको फ्रेम मायाको चिनो अर्पण गर्नु भयो । स्मृतिग्रन्थ लोकार्पण समारोहमा निमन्त्रणा स्वीकार गरी उपस्थित भइ दिनु हुने प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरू, अतिथिहरू एवम् उपस्थित विद्वान व्यक्तित्वमा कान्छा छोरा सरोजकुमार उपाध्यायले हार्दिक धन्यवाद अर्पण गर्नु भयो । विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरिएको भए पनि स्वास्थ्यका कारण उपस्थित हुन नसक्नु भएका वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले भतिजा मार्फत पठाउनु भएको दुई पृष्ठ लामो शुभ कामना पत्र सम्पादक रमेश पोखरेलले वाचन गरेर सुनाउनु भयो ।

सभाध्यक्ष कुलपति गङ्गाप्रसाद उप्रेतीले आदर्श गुरु, विवेकशील अभिभावक, भाषा साहित्य र संस्कृतिका अथक साधक जस्ता विशिष्ट पहिचान बनाउनु भएका मङ्गलकुमार नेपालको साहित्यिक योगदानका बारेमा विद्वानहरूले विभिन्न कोणबाट गर्नु भएको विश्लेषण ग्रन्थमा समेटिएको, मोफसलमा बसेर पनि विशिष्ट साधना गर्ने विद्वान, गुमनाम रहेर विशिष्ट योगदान गर्ने विद्वान मङ्गलकुमारको पहिलो परिचय प्रज्ञाको कोषका माध्यमबाट गरिएको, यो स्मृतिग्रन्थले उहाँको प्राज्ञिक क्षमताको प्रकाश पार्ने कार्य गरेको, संस्थागत रूपमा स्मृतिग्रन्थ प्रकाशन हुनुले विभिन्न कोणबाट व्यक्तिको योगदान उजागर हुने मात्र होइन उहाँको बहु आयामिक व्यक्तित्वको समेत प्रकाश हुने, उहाँ र उहाँद्वारा दीक्षित चेलाहरूले राष्ट्रको विभिन्न क्षेत्रमा रहेर योगदान गरि सकेका, वार्षिकीमै स्मृतिग्रन्थ आउनु ज्यादै महत्त्वपूर्ण कार्य भएको र यसले उहाँको व्यक्तित्व तथा कृतित्व स्थापित हुने कार्य गरेको छ । छोटो समयमै यति सुन्दर स्मृतिग्रन्थ तयार पार्ने कार्यमा जुट्नु हुने सबै धन्यवादका पात्र हुनु हुन्छ भन्नु भयो ।

जेठा छोरा पूर्व सम्माननीय प्रधान मन्त्री माधवकुमार नेपालले ‘पं.मङ्गलकुमार उपाध्यायदुर्गादेवी नेपाल स्मृति प्रतिष्ठान’ गठन गरिने र यसमा प्रारम्भमा रु.दश लाख अक्षय कोषमा रहने व्यवस्था गर्ने घोषणा समेत गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *