वरिष्ठ प्रगतिवादी कवि राममणि ढुङ्गेलका एक दर्जन प्रतिनिधि कवितावाचन सम्पन्न

रमेश पोखरेल, काठमाण्डाै

मितिः २०७४।७।१०।६

कार्तिक १० गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा विगत साढे तीन वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४१ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ प्रगतिवादी कवि राममणि ढुङ्गेलका एक दर्जन प्रतिनिधि कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणीसमेत गर्ने उद्देश्यमूलक उक्त विशेष समारोहको जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले अध्यक्षता गर्नुभएको थियो भने सञ्चालन महासचिव विनोद मन्जनले गर्नुभएको थियो । वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् एमाले नेता रघुजी पन्तको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा विशिष्ट अतिथिको रूपमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा प्रा.डा.यादबप्रकाश लामिछाने, महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, वरिष्ठ कवि वासुदेव अधिकारी, मञ्चका सल्लाहकार डा.देवी नेपाल, अग्रज साहित्यकार भिक्टर प्रधान, डा.हरिप्रसाद सिलवाल, वरिष्ठ कवि जगन्नाथ आचार्य, संस्कृतिकर्मी नारायण परिश्रमी, वरिष्ठ कवि अनिल पौडेल, वरिष्ठ साहित्यकार डम्बर घिमिरे, कृपाराम शर्मा धमला, सहयोगी कविहरू राधिका गुरागाईँ, टपेन्द्र कार्की, गणेश घिमिरे ‘मार्मिक’, यशोदा अधिकारी, राम सन्जेल, सुगन्धा सिग्देल उपस्थित हुनुहुन्थ्यो ।

समारोहका कविनायक राममणि ढुङ्गेलको व्यक्तित्वमाथि प्रकाश पार्नुहुँदै अध्यक्ष राम विनयले वैचारिक निष्ठा र इमानका साथ निरन्तर सामाजिक–सांस्कृतिक रूपान्तरण अभियानमा लागिरहनुभएका शालीन व्यक्तित्व राममणि ढुङ्गेलले तीस वर्षसम्म नेपाल सरकारको कर्मचारीका रूपमा विभिन्न स्थानमा र ओहदामा रहेर काम गर्नुभयो र सो समयमा पनि वैचारिक निष्ठाका साथ सिर्जनामा लागिरहनुभयो । आठओटा कृति प्रकाशन गरिसकेका ढुङ्गेल राष्ट्रिय जनसांस्कृतक महासङ्घलगायत विभिन्न एक दर्जन सङ्घसंस्थामा आवद्ध भएर सक्रियताका साथ काम गरिरहनुभएका व्यक्तित्वलाई आजको यो विशेष शृङ्खलामा प्रस्तुत गरिएको जानकारी गराउनुभयो ।

हरेक महिनाको दोस्रो शुक्रवार ठिक २.३० बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक जना प्रगतिवादी साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानको एकचालिसौँ शृङ्खलामा वरिष्ठ प्रगतिवादी कवि राममणि ढुङ्गेललाई ल्याइएको र उहाँले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानमा खेलिरहनुभएको महत्त्वपूर्ण भूमिकाका बारेमा समेत चर्चा गर्ने उद्देश्य रहेको जानकारी विनोद मन्जनले दिनुभयो ।

यो विशेष समारोहको प्रमुख आतिथ्य ग्रहण गरिदिन गरिएको अनुरोध स्वीकार गरी आइदिनुभएका वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् एमाले नेता रघुजी पन्तलाई सभाध्यक्ष राम विनयले स्वागत गर्नुभयो र कविनायक राममणि ढुङ्गेललाई माल्यार्पण गरी सम्मान गर्नुभयो अनि प्रमुख अतिथिले सम्मान–पत्र अर्पण गरी सम्मान गर्नुभयो । वाचित कवितामाथि टिप्पणी गरिदिन प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष एवम् समालोचक प्रा.डा.यादबप्रकाश लामिछानेलाई आसन ग्रहण गराइयो ।

समारोहका नायक कवि राममणि ढुङ्गेलले जनसाहित्यिक मञ्च, नेपालले विगत साढे तीन वर्षदेखि थालनी गरेको यो अभियानमा सामेल हुनपाएर आफ्ना कविता सुनाउने अवसर मिलाइदिएकोमा गौरवबोध भएको भन्नुहुँदै ‘बाइनाकुलर’, ‘हात्तीआतङ्क’, ‘भालुपुराण’, ‘अन्तिम सत्य’, ‘चिप्लेटी डाँडो’, र ‘आगोभित्र आकाश’ शीर्षकका विभिन्न कालखण्डमा रचना गरिएका शक्तिशाली वैचारिक कविता वाचन गर्नुभयो ।

त्यसैगरी वाचनसहयोगी कविहरू राधिका गुरागाईँले ‘कालुचाहरू कालुमानहरू’ शीर्षकको, टपेन्द्र कार्कीले ‘उकुच समय’ शीर्षकको, गणेश घिमिरे ‘मार्मिक’ले ‘छारो उडाउने कोट’ शीर्षकको, यशोदा अधिकारीले ‘बाढी’ शीर्षकको, सुगन्धा सिग्देलले ‘समयपहाड’ शीर्षकको र राम सन्जेलले ‘ठुल्दाजु’ शीर्षकको गरी एक से एक शक्तिशाली कविता वाचन गर्नुभएको थियो ।  वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्दै समालोचक प्रा.डा.यादबप्रकाश लामिछानेले विभिन्न समयसन्दर्भमा लेखिएका कविता वाचन भएका, स्थापित स्रष्टाहरू नै यस विशिष्ट समारोहमा उपस्थित हुनुभएकाले टिप्पणीको पनि खासै आवश्यकता नरहेको, कविको ‘अक्षर भ्रूण र बुद्ध’ शीर्षकको कवितासङ्ग्रहबाट आठओटा र अन्य चारओटा कविता वाचन गरिएको, कविको वैचारिक आस्था र निष्ठा कवितामा प्रकटित भएको, अलङ्कारको पनि सचेततापूर्वक सहज र सम्प्रेषणीय प्रयोग गरिएको, कवितामा सामन्तवाद र पुँजीवादको विद्रुपताका प्रति आक्रोश व्यक्त गरिएको, आशावादी दृष्टिकोण सम्प्रेषित भएको, सबै कविताले अग्रगामी सन्देश प्रवाह गरेका, प्रस्तुतिको शैली फरक हुनसक्ने भए पनि मानवीय मूल्य स्थापनामा कविताले जोड दिएका, वर्गीय पक्षधरता सशक्तरूपमा प्रस्तुत भएको, भाग्यवाद तथा ईश्वरवादको विरोध गरिएको र कर्मका पक्षमा वकालत गरिएको; भाषा, लय र छन्दयोजनामा पनि सचेतता देखिएको; सामाजिक–सांस्कृतिक रूपान्तरणका पक्षमा सरल तथा सहजढङ्गले कविताले वकालत गरेका, सामाजिक द्वन्द्व र मानवीय पीडाको समन्वय, सुन्दर चित्रण र हिंसाको विरोध सशक्तरूपले गरिएको; देश दुःखेको पक्षमा माटो बोलेको छ कवितामा, राष्ट्रियताका पक्षमा दृढ वैचारिकता सम्प्रेषित भएको छ, समाजका पीडायुक्त उत्पीडन र विभेदको प्रकटीकरण भएको छ, चिन्ता जाहेर गरिएको र आक्रोश व्यक्त गरिएको छ । गणतन्त्रको व्यवहारिक व्यवस्थापन नहुनुको पीडा र आक्रोश पनि कवितामा अभिव्यक्त भएको पाइन्छ । कवितामा परिवर्तन, रूपान्तरण र चेतनाको बाढीको अपेक्षा गरेको पाइन्छ । छिमेकीको हैकमवादी प्रवृत्तिका प्रति शालीन तर कडा आक्रोशसहितको हुङ्कार पाइन्छ । सबै कवितामा वैचारिकता सुदृढ रहेको छ । सबैखाले गलत प्रवृृत्तिका प्रति निर्धक्क प्रहार गरिएको छ, सुविधाभोगीका प्रति पनि आक्रोशयुक्त प्रहार गरिएको छ, अनुशासनहीनताको अन्त्यको आग्रह गरिएको छ भन्नुहुँदै कविको कलम भविष्यमा अझ धारिलो बनोस् भन्ने शुभ कामना दिनुभयो ।

विशिष्ट अतिथि खगेन्द्र राईले महासङ्घको व्यवस्थापनमा बारओटा शृङ्खला सम्पन्न गरी जनसाहित्यिक मञ्चलाई नै सञ्चालन गर्ने जिम्मा दिइएको यो विशिष्ट समारोहको आजको एकचालिसौँ शृङ्खला सम्पन्न भइरहँदा आपूmलाई खुसी लागेको छ । सानै भए पनि यो महत्त्वपूर्ण मञ्च बन्नसकेको हुँदा यस शृङ्खलामा आउने लालसा स्रष्टामा जगाउनसक्नेगरी भविष्यमा अझ बढी व्यवस्थितढङ्गले सञ्चालन गर्दै विचार मिल्ने सहयात्रीका बिचमा एकता भएको अवस्थामा संस्था अझ बृहत् बन्दै जाने हुँदा हामीले आपूmलाई श्रेष्ठतम् सावित गर्नुपर्ने चुनौतीलाई पनि विचार गर्दै यस कार्यक्रमको सुसञ्चालन होस् भन्ने कामना गर्नुभयो र आजको यो विशेष समारोहमा उपस्थित हुनुभएका राममणि ढुङ्गेललाई बधाई दिनुभयो ।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् एमाले नेता रघुजी पन्तले यो विशेष शृङ्खलामा आफ्ना कविता वाचन गर्नुहुने राममणि ढुङ्गेलको कविता लेखनको यात्रा निरन्तर चलिरोहस्, अझ परिष्कृत हुँदै जाओस् भन्नुहुँदै एकपटक कुनै कविको कविता सुनिसकेपछि दोहोर्याएर पढ्न मन लाग्ने होस्, अर्थात् कविताले पाठकको दिमागलाई झन्क्रित पार्नसकोस् । साहित्यका हरेक विधाको फरक फरक आनन्द हुन्छ । हरेक विधामा सिर्जना गर्नेले गहन अध्ययन गर्नुपर्दछ ।  समालोचना अलि कठोर नै हुनुपर्छ । समालोचकले आग्रही नबनी खरो टिप्पणी गरिदिनुपर्दछ । वर्तमानमा कविता कालजयी पाइन्नन्, यसको कारण कठोर समालोचनाको अभाव पनि हुनसक्छ । कार्लमाक्र्सले दर्शनका क्षेत्रमा फड्को मारे किनभने संसार बदल्ने कुरालाई आफ्नो दर्शनमा समाहित गरे । अहिलेको समयमा मानिसको चेतनाले फड्को मार्दै छ, बहसका लागि पर्याप्त माध्यमहरू छन् तर बहसको गहिराइ भने फेला पर्दैन । कविता भनेको अनुभूति हो, पाठकको मनमा चट्याङ जसरी पड्किनुपर्छ, पाठको मनलाई छुनुपर्छ, आफ्ना पीडा वा समस्यालाई आफ्नै भाषामा सशक्तढङ्गले अभिव्यक्त गर्नुपर्दछ । त्यसैले कविता चिन्तन हो, अनुभूति हो, केबल शब्दहरूको संयोजन मात्र होइन । आज वाचित कवितामा राम्रो समयबोध छ, विम्बहरूको प्रयोग पनि गरिएको छ तर अझ सुन्दर विम्बको प्रयोग गर्नु चाहिँ कविको क्षमता हुनजान्छ । राजनीतिले नेतृत्वविकास गर्ननसकेको कुरा कविताले सुन्दरढङ्गले अभिव्यक्त गर्नसक्छ । कविता भनेको मौलिकता पनि हो र यसले चिमोट्न, मर्माहत पार्नसक्नुपर्छ । हाम्रो देशको सांस्कृतिक आन्दोलनमा विचारको कडा बहस हुनसकेको छैन । मानवको अन्तरमनको चेतनालाई सिर्जनाले घच्घच्याउनसक्नुपर्छ । कतिपय कुरा जीवनमा अनुभवले सिकाउँछ तर त्यही कुरालाई स्रष्टाले सुन्दरताका साथ अभिव्यक्त गर्नुपर्छ । समयचेतनालाई विस्तार गर्ने ढङ्गले बहस चलाउने हो भने सुन्दर कवितासिर्जना हुनसक्छन् । विचारको बीजारोपण महत्त्वपूर्ण कुरा हो । स्रष्टा अध्ययनशील हुनुपर्छ । आजलाई विगतसँग जोड्ने र भविष्यको सङ्केत वा निर्देश गर्नसक्नुपर्दछ । यही मान्यताका साथ समाज रूपान्तरण अभियानमा कवि ढुङ्गेल लागिरहनुहोस् । हार्दिक शुभ कामना छ भन्नुुभयो ।

धन्यवाद ज्ञापन गर्दै उपाध्यक्ष रमेश पोखरेलले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा समर्पित भएर लागिरहनुभएका शालीन व्यक्तित्व वरिष्ठ प्रगतिवादी कवि राममणि ढुङ्गेललाई हामीले आजको यो विशेष समारोहमा प्रस्तुत गर्यौँ । उहाँले विचारवान्, सुन्दर र सशक्त कविता वाचन गर्नुभयो । सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, दुःखी गरिबका पक्षमा, रूपान्तरणका पक्षमा कवितासिर्जना गर्ने, जनअपेक्षा पूरा नभएको पीडा अभिव्यक्त गर्ने, स्वार्थ र सत्तालिप्साको विरोध गर्ने, हिंसाको विरोध गर्ने, इमान र निष्ठाका पर्याय अग्रज स्रष्टा राममणि ढुङ्गेलका कविता सुन्ने यो विशेष समारोहमा हाम्रो निम्ता स्वीकार गरी प्रमुख अतिथि आदरणीय रघुजी पन्तज्यू, टिप्पणीकार प्रा.डा.यादबप्रकाश लामिछानेज्यू, खगेन्द्र राईज्यू, आदरणीय अतिथिज्यूहरू, उपस्थित विद्वान व्यक्तित्व सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछौँ । अर्काे शृङ्खलामा यहाँहरूलाई मङ्सिर महिनाको दोस्रो शुक्रवार फेरि आमन्त्रण गर्ने नै छौँ भन्नुभयो र अध्यक्षज्यूको अनुमतिले समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *