विलक्षण फरक प्रतिभा वियोग सापकोटाको सिडी एलबम लोकार्पित

रमेश पोखरेल, काठमाडौं

वैशाख १३ गते सोमवार राष्ट्रिय नाचघरको प्रेक्षालयमा एक विशिष्ट समारोहका बिच वि.सं.२०२६ सालमा मोरङ जिल्लामा आमा राधा सापकोटा तथा बुबा गणेश सापकोटाका सुपुत्रका रूपमा जन्मिएका, ढाडको हाडै बलियो नभएका कारण अशक्त भएका, अभिभावकका अनेक प्रयत्नका बाबजुद पनि उपचारै हुन नसकी बोल्न नसक्ने, हिँड डुल गर्न नसक्ने, हातखुट्टाले बिल्कुलै काम नगर्ने, श्रीमती कमला सापकोटा, छोरा भानु र छोरी एलिना सापकोटा रहेको परिवारमा उनले वेला वेलामा बोलेका केही कुरा श्रमिती र छोरीले बुझ्न सक्ने र छोरीले बुझेका आधारमा फुर्सदमा लेखि दिएका कुरा नै विशिष्ट साहित्य बन्न सक्ने विलक्षण प्रतिभाका धनी फरक प्रतिभा वियोग सापकोटाका आठ ओटा गीतहरूको सिडी एल्बम प्रमुख अतिथि सञ्चार सचिव दिनेशकुमार थपलियाले लोकार्पण गर्नु भयो ।
image

सांस्कृतिक संस्थान र बसि बियाँलो कार्यक्रमको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त विशेष समारोहमा समाजमा लुकेर रहेका तर क्षमतावान् प्रतिभावान् व्यक्तित्वको सिर्जनात्मक क्षमता उजागर गरी राष्ट्रिय एवम् अन्तर्राष्ट्रियकरण गर्ने ‘बसि बियाँलो’ कार्यक्रम सञ्चालन गर्दै आएका वरिष्ठ कवि एवम् साहित्यकार, बसि बियाँलो कार्यक्रमका अभियन्ता तथा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलले अध्यक्षता गर्नु भएको थियो भने रमेश पोखरेलले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । उक्त विशेष सामारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, संस्थानका अध्यक्ष उद्योग राई, प्राज्ञ उदय श्रेष्ठ, प्राज्ञ एवम् वरिष्ठ कवि पूर्ण विराम, स्रष्टा समाज, नेपालका अध्यक्ष अतृप्त पाण्डेय, वरिष्ठ साहित्यकार सुलोचना मानन्धर, डा.अरुणा उप्रेती, वरिष्ठ गायिका लोचन भट्टराई, डा.सनत वस्ती, वरिष्ठ कवि कणाद महर्षि, कथाकार दिलीप शर्मा, डा.चक्र खड्का, लक्ष्मी निरौला, प्रकाश सायमी, सिस्नुपानी नेपालका अध्यक्ष एवम् हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे, नेपाल सरकारका पूर्व सचिव दीपबहादुर स्वाँर, विजया स्वाँर, अनिल उपाध्याय, साहित्य सन्ध्याका अध्यक्ष एवम् वरिष्ठ कवि राम विनय, घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल, जन गायक रामकृष्ण दुवाल, चर्चित कवि डा.देवी नेपाल, वरिष्ठ साहित्यकार रामप्रसाद पन्त, यज्ञराज उपाध्याय, वियोगकी जीवन साथी कमला सापकोटा, भावना पौडेल अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।
image

स्रष्टा वियोग सापकोटालाई प्रमुख अतिथिले माल्यार्पण गर्नु भई समारोहको समुद्घाटन गर्नु भएको थियो भने उपस्थित सम्पूर्ण व्यक्तित्वलाई स्वागत गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले राष्ट्रिय नाचघरलाई कलाकारहरूको गानाबजानाको केन्द्र मात्र नबनाएर विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा साहित्य, कला, संस्कृतिलाई अगाडि बढाउने अभियानमा संस्थान लागेको, फरक र विलक्षण प्रतिभा भएका तर समाजमा व्यक्तित्व उजागर गर्न असमर्थ रहेका स्रष्टालाई ल्याई उनको क्षमता उजागर गर्ने कार्य गरिएको र आगामी दिनमा पनि सबैको सल्लाह तथा सुझाबमा सहकार्य गरिने जानकारी सहित निमन्त्रणा स्वीकार गरी उपस्थित हुनु भएका सबै सबैलाई हार्दिक स्वागत गर्नु भयो ।

प्रमुख अतिथि सञ्चार सचिव दिनेशकुमार थपलियाले फरक तथा विलक्षण प्रतिभा वियोग सापकोटाद्वारा रचित आठ ओटा कवितालाई सङ्गीतकार एवम् गायिका लोचन भट्टराईद्वारा स्वरवद्ध गरिएका गीतहरूको सिडी लोकार्पण गर्नु भयो र शारीरिक दुर्बलता हुँदाहुँदै पनि भिन्न ढङ्गले क्षमतावान् रहेका वियोग सापकोटाका मनमा बगेका भावनालाई अर्काले लेखि दिएका भरमा तयार पारिएका रचनालाई विख्यात गायिका लोचन भट्टराईले स्वरवद्ध गरि दिनु भएका कारण वियोग सापकोटाको व्यक्तित्व उजागर भएको मात्र होइन अन्तर्राष्ट्रियकरण नै हुन पुगेकोमा ज्यादै खुसी लागेको; वास्तवमा जीवन भनेको बाँच्ने पद्धति रहेछ, आफ्नो जीवनलाई सारवान् बनाउने प्रयत्न रहेछ भन्ने कुरा मैले आज वियोग सापकोटाको शारीरिक अवस्था देखेर र उहाँको अरूले पढि दिएको उत्कृष्ट अभिव्यक्ति सुनेर अनुभव गर्न पाएँ । अर्थात् मलाई प्रेरणा प्राप्त भयो । वियोग सापकोटाले बाँचेको परिवेश, भोगाइ, राष्ट्रियता, सद्भाव र स्वाधीनताका प्रखर स्वर यी गीतमा सम्प्रेषण गरेको मैले पाएँ । यस्ता विलक्षण क्षमताका तर पहुँचभन्दा पर रहेका स्रष्टाको यो क्षमतालाई प्रचार प्रसार गरि दिएर, स्रोताले सुनि दिएर, गायकले गाइ दिएर, छायाङ्कन गर्ने कार्यमा सहयोग गरेर हामीले सहयोग गर्न सके ज्यादै उत्कृष्ट हुने थियो । त्यसका लागि सबैले पहल गरौँ । सृष्टिको प्रारम्भदेखि नै गीत, सङ्गीत समृद्ध रहेको पाइन्छ, यो कहिल्यै पनि भूतपूर्व नुहने बरु अभूतपूर्व चिनारी हुने विधा हो त्यसमा पनि वियोगका हकमा त जन्मिदै आएको क्षमता पनि हो । गीत सङ्गीतले जाति, भाष, वर्ण, लिङ्गको विभेद राख्दैन, गीतमा सङ्गीत, ताल र सुरको तालमेल वा अनुशासन रहेको हुन्छ । शासनमा बरु अनुशासन रहेको पाइँदैन । हाम्रो संस्कृति, सम्पदा र मूल्य मान्यताको लोप भयो भने हाम्रो पहिचान हराएर जान्छ त्यसैले यो क्षेत्रलाई र यस्ता विशिष्ट स्रष्टालाई माया गरौँ, सम्मान गरौँ अनि सकेको सहयोग पनि गरौँ भन्ने आग्रह समेत गर्नु भयो ।

स्रष्टा वियोग सापकोटाको बाल्यकालदेखि हालसम्मको अवस्था र उनको सिर्जनाका बारेमा परिचय दिँदै लक्ष्मी निरौलाले ‘खुकुरी’ २०५२, ‘खुला पानामा छरिएका अक्षरहरू’ २०६६ र ‘वियोग सापकोटाका कविता’ २०७२ गरी तिन ओटा कविता सङ्ग्रह प्रकाशित रहेका; फुटकर कथा, कविता, नाटक विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका, साहित्य भनेको ‘कलकल बग्ने खोलाको सङ्लो पानी हो, जुन सरल र स्वादिलो हुन्छ’ भन्ने मान्यताका साथ सिर्जना गर्ने अनि जीवनका बारेमा ‘कहिल्यै नभोग्नु पर्ने ज्वलन्त भोगाइ हो जिन्दगी’ भन्ने मूल्याङ्कन गर्ने वियोगको  दृष्टिकोण सहित समग्र जीवनको परिचय दिनु भयो अनि वियोगले लेखेको मन्तव्य पढेर सुनाइ दिनु भयो जुन ज्यादै उत्कृष्ट भनी सभाकक्षमा चर्चा गरिएको थियो ।

सिडीमा रहेका आठ ओटामध्ये तिन ओटा गीत गायिका लोचन भट्टराईले गाएर सुनाउनु भयो अनि ती गीतहरू समेतका बारेमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले अनुभूति प्रस्तुत गर्नु भयो । उहाँले नारी बेदनाका विम्ब गीतमा आएका, गीतमा नाटकीयता रहेकाले गीतहरू उत्कृष्ट रहेका, प्रवाह पूर्ण, गहिरा र मानवीय सम्वेदनाको नजिक रहेका गीतहरू अहिलेको चलन चल्तीका भन्दा माथिका र उत्कृष्ट पनि रहेका; गायिका एवम् सङ्गीतकार लोचन भट्टराईले पद र पैसा नभएका, कुनामा बसेका, अशक्त स्रष्टालाई माथि ल्याउने, उनको व्यक्तित्व उजागर गर्ने कार्य गरेकी, गीतहरूमा ताल, सुर मिलेको; शास्त्रीय, झ्याउरे र आधुनिक सङ्गीतको प्रयोग गरिएको अनि असल कर्मको असल प्रकटीकरण भएको भन्दै हार्दिक बधाई दिनु भयो ।

डा.सनत वस्तीले वियोगको यो सिडी वास्तवमा वियोग होइन संयोग हो । सुन्दर फुल बगैँचामा रोइ रहेको हुन्छ तर चिन्ने व्यक्ति पाइँदैन भने झैँ लुके छिपेका प्रतिभाको खोजी गर्ने र व्यक्तित्व उजागर गर्ने प्रवृत्ति अत्यन्त सराहनीय छ , यो ज्यादै पुनित कार्य हो भन्नु भयो ।

सभाध्यक्ष अनिल पौडेलले गायिका एवम् सङ्गीतकार लोचन भट्टराईले निःशुल्क, निःस्वार्थ सहयोग गर्नु भएको, गणेश रसिक, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा जस्ता उदारमना व्यक्तित्वको सहयोगमा सम्पन्न गरिएको आजको यो विशेष समारोह नाफामूलक रह्यो किनभने वियोगको व्यक्तित्व उजागर भयो, एउटा राम्रो सिर्जना बजारमा आयो । सुविधा भोग्नु त कता हो कता कल्पनासम्म नगरेकालाई राज्यले पहिचान गरि दिए हुन्थ्यो र समानुपातिक हिसाबले सबैलाई सहयोग गरि दिए हुन्थ्यो तर यस्तो विशिष्ट कार्यक्रमका लागि मन्त्रीहरू खोज्दा समेत अतिथि पाइएन । राज्यले दिने पुरस्कार, पुस्तक प्रकाशनमा सहयोग जस्ता सहयोग यस्ता विलक्षण प्रतिभाका धनीले पाए नेपाली साहित्य नै समृद्ध हुन्थ्यो । स्रष्टा वियोगको एउटा मात्र आग्रह छ –‘म शारीरिक रूपले असक्षम भए पनि मभित्रको साहित्यिक व्यक्तित्व सक्षम छ, त्यसलाई बाहिर ल्याउनका लागि एक जना लेखनदास पाए हुन्थ्यो ।’ मैले यो आग्रह सार्वजनिक गर्नासाथ गुणग्राही समाजका घोस्ट राइटिङका अध्यक्ष कमल ढकालले एक वर्षका लागि दैनिक ३÷४ घण्टा सेवा दिने गरी घरैमा लेखनदास उपलब्ध गराइ दिने वचनवद्धता जाहेर गर्नु भएको छ । उहाँलाई हार्दिक धन्यवाद छ । निमन्त्रणा स्वीकार गरी आइ दिनु हुने सबै सबैलाई हार्दिक धन्यवाद छ भन्नु हुँदै सभाको समापन गर्नु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *