शब्द संयोजन साहित्यिक मासिकलाई लक्ष्मी कार्की पत्रकारिता पुरस्कार तथा सम्मान प्राप्त

रमेश पोखरेल, काठमाण्डु

विगत सोर वर्षदेखि अविच्छिन्नरूपमा प्रकाशित भइरहेको ‘शब्द संयोजन साहित्यिक मासिक’लाई ‘चेतकी राज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठान’ पाटन, ललितपुरले स्थापना गरेका विभिन्न छ विधाका विशेष पुरस्कार, मेधावी विद्यार्थी २१ जनालाई प्रदान गरिने छात्रवृत्तिका साथ साहित्यिक पत्रकारितामा योगदान गर्ने पत्रिका तथा व्यक्तिलाई प्रदान गरिने पुरस्कारमध्येको रु.३०,०००।– राशिको २०७५ सालको ‘सुश्री लक्ष्मी कार्की स्मृति नेपाली पत्रकारिता पुरस्कार तथा सम्मान’द्वारा आज पुस २३ गते बुधबार चाकुपाट ललितपुरमा आयोजित विशेष समारोहमा सम्मानित गरेको छ । समारोहका प्रमुख अतिथि इतिहासपुरुष संस्कृतिविद् श्री सत्यमोहन जोशीज्यूबाट सम्मानित हुने अवसर प्राप्त भएको छ । 

हामीले गरेको सोद्देश्यमूलक पत्रकारिता अर्थात् नेपाली प्रगतिशील साहित्यको उत्थानमा सकेको योगदान गर्ने उद्देश्यका साथ वरिष्ठ कवि साहित्यकार वासुदेव अधिकारीको परिकल्पनानुसार उहाँकै नाममा दर्ता भएको यो पत्रिकाका माध्यमबाट नेपाली साहित्य र प्रगतिशील साहित्यको उत्थानमा हामीले आप्mनो क्षमतानुसार गरेको योगदानलाई बाहिरबाट स्वतन्त्र मूल्याङ्कन गरी पुरस्कारयोग्य ठानी पुरस्कृत गर्ने प्रतिष्ठानका प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ, कृतज्ञता जाहेर गर्दछौँ ।

प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त विशेष समारोहमा २०७६ सालको इतिहासतर्फको ‘चेतकी प्रज्ञा सम्मान’ श्री संशोधन मण्डल, काठमाडौँलाई; २०७६ सालको संस्कृतितर्फको चेतकी प्रज्ञा सम्मान नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति डा.जगमान गुरुङलाई; २०७५ सालको हिन्दु धर्मदर्शन प्रज्ञा सम्मान प्रा.डा.दधिराज घिमिरेलाई, २०७४ सालको ललितकलातर्फको चेतकी प्रज्ञा सम्मान नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति श्री के.के.कर्माचार्यलाई, २०७३ सालको बौद्ध धर्मदर्शनतर्फको प्रज्ञा सम्मान प्रा.डा.शङ्कर थापालाई, २०७२ सालको नेपाली भाषातर्फको प्रज्ञा सम्मान प्रा.डा.चूडामणि बन्धुलाई अर्पण गरिएको थियो र ती छओटै पुरस्कारहरूको राशि जनही रु.पचास हजार रहेको थियो ।

त्यसैगरी २०७६ सालको ‘सुश्री लक्ष्मी कार्की स्मृति नेपाली साहित्यिक पत्रकारिता पुरस्कार तथा सम्मान’ कौशिकी साहित्यिक द्वैमासिकका प्रधान सम्पादक श्री चेतनाथ धमलालाई, २०७४ सालको सोही पुरस्कार नवप्रज्ञापन साहित्यिक त्रैमासिकलाई, २०७३ सालको सोही पुुरस्कार विराटनगरबाट प्रकाशित सङ्गम अभियान साहित्यिक मासिकलाई, २०७२ सालको सोही पुुरस्कार शृङ्खला साहित्यिक मासिकलाई प्रदान गरिएको थियो र ती सबै पुरस्कारको राशि जनही रु.तिस हजार तथा ताम्रपत्र रहेको थियो । समारोहमा जेहन्दार विद्यार्थी २१ जनालाई जनही रु.छ हजार राशिको छात्रवृत्ति प्रदान गरिएको थियो भने रु.१२,०००।–राशिको श्री रत्नबहादुर नैनकुमारी कार्की स्मृति छात्रवृत्ति श्री ज्ञानप्रकाश उ.मा.वि.ओखल्ढुङ्गामा अध्ययनरत १२ जना कक्षा १ देखि १२ सम्मका पथम विद्यार्थीलाई जनही रु.१,०००।– ले प्रदान गर्नेगरी उक्त विद्यालयका प्रतिनिधिलाई प्रदान गरिएको थियो ।

समारोहको अध्यक्षता वरिष्ठ चलचित्र निर्देशक श्री चेतन कार्कीले गर्नुभएको थियो भने प्रमुख अतिथि इतिहासपुरुष संस्कृतिविद् श्री सत्यमोहन जोशी हुनुहुन्थ्यो, विशिष्ट अतिथिमा ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरीकाजी श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा साहित्यकार रोचक घिमिरे, नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, प्राज्ञ प्रा.डा.चूडामणि बन्धु, प्राज्ञ दिनेशराज पन्त, प्रा.डा.दीर्घराज घिमिरे, प्रा.डा.शङ्कर थापा, शब्द संयोजनका प्रधान सम्पादक रमेश पोखरेल, चेतनाथ धमला, नवराज रिजाल, प्रवीण जोशी, गायत्रीकुमार चापागाईँ, प्रा.विद्याधर शर्मा भट्टराई, प्रतिष्ठानका महासचिव युवराजसिंह कार्की, जनरल ताराबहादुर कार्की, जनरल सुरेन्द्र कार्की, पत्रकार तुलसीहरि कोइराला, माक्र्सवादी चिन्तक निनु चापागाईँ, प्रा.डा.गार्गी शर्मा, प्रा.डा.कुमार कोइराला, मुडुला कार्की समाजका अध्यक्ष कैलाश कार्की, डा.टी.पी.धमला उपस्थित हुनुहुन्थ्यो ।

डा.टी.पी.धमलाले प्रतिष्ठान स्थापनाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने प्रतिष्ठानका महासचिज युवराजसिंह कार्कीले २०५३ सालमा बाआमाको स्मृतिमा पुुरस्कार स्थापना गरेको र २३ बर्से छोरीको देहावसान भएपछि छोरीकै नाममा प्रतिष्ठान खडा गरी पुरस्कारको व्यवस्था गरेको, साढे दुई वर्षमै दिवङ्गत भएकी बहिनी लक्ष्मी कार्कीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्नुको साथै करिब चालिस हजार पुस्तक तथा पत्रपत्रिका रहेको ‘चेतकी राज्यलक्ष्मी कार्की स्मृति सांस्कृतिक पुस्तकालय’ सञ्चालन गरिएको, सबै पुरस्कार व्यवस्थापनका लागि आफ्नै रगतपसिनाको कमाइको अंश पर सारेर एक करोड रुपेयाँको अक्षयकोष स्थापना गरिएको जानकारी दिनुभयो ।

समारोहमा विशिष्ट अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीकाजी महर्जनले भाषा, साहित्य, संस्कृतिको जगेर्नाको थालनी महानगरपालिकाले संस्कृतिविद् सत्यमोहन जोशीको सम्मानको कार्यबाट गरेको र यो क्षेत्रमा थप सहयोग गर्ने वचनवद्धता जाहेर गर्नुभयो । सम्मानित व्यक्तित्वका तर्फबाट प्रा.डा.चूडामणि बन्धुले व्यक्तिका प्रयत्नबाट यति ठुलो अक्षयकोष नै खडा गरी यतिका धेरै क्षेत्रलाई समेटेर भाषा, साहित्य, संस्कृति, ज्ञानविज्ञान, पत्रकारिताका क्षेत्रमा पुरस्कार तथा सम्मानका माध्यमबाट ऊर्जा थप्ने कार्य अत्यन्तै प्रशंसनीय र सराहनीय रहेको धारणा राख्नुभयो । प्रमुख अतिथि सत्यमोहन जोशीले बाबुआमा, बहिनी र छोरीको सम्झनामा र सम्मानमा पुरस्कार दिने र वार्षिक श्राद्धस्वरूप विभिन्न विधामा योगदान गर्ने व्यक्तित्वलाई सम्मानित गर्ने स्तुत्य परम्परा स्थापित गर्ने युवराजसिंह कार्कीको यो सत्कर्म अनुकरणीय रहेको धारणा राख्नुभयो र आज सम्मानित यति धेरै व्यक्तित्वहरूलाई बधाई दिन्छु भन्नुभयो । समारोहका सभाध्यक्ष चेतन कार्कीले मान्छेकै सत्कर्मले इतिहासको निर्माण हुने हो । छोरी, बहिनी र बुबाआमालाई हरेक वर्ष सम्झेर उहाँहरूका नामबाट पुरस्कार स्थापना गरी अमरत्व प्रदान गर्ने अविस्मरणीय प्र्रयत्न ज्यादै स्तुत्य रहेको छ । परिवर्तनशील संसारमा मृत्यु अवश्यंभावी छ तर खानदानको नाम उच्च पार्दै भाषा, साहित्य, कला र ज्ञानविज्ञाानको विकासमा पुरस्कारका माध्यमबाट युवराजसिंह कार्कीले अतुलनीय योगदान गर्नुभएर कुलको, समाजको र राष्ट्रको नाम उच्च राख्ने प्रयत्न गर्नुभएकोमा हार्दिक धन्यवाद दिन्छु, आभार व्यक्त गर्दछु भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *