साहित्यकार महेशराज खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’को लोकार्पण तथा परिचर्चा सम्पन्न

साहित्यकार महेशराज खरेलद्वारा लिखित एवम् दोस्रो कृतिका रूपमा प्रकाशित उपन्यास ‘यात्रा जिन्दगीको’को लोकार्पण तथा परिचर्चा चैत्र १४ गते मङ्गलवार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा सम्पन्न भयो । उपन्यासकारकी नब्बे वर्षीय आमा अयुद्धा खरेलको जन्मदिनको शुभउपलक्षमा आयोजित उक्त विशेष समारोहमा प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने पूर्व मन्त्री एवम् सामाजिक रूपान्तरण अभियानकी अभियन्ता तथा साहित्यकार शान्ता मानवी, उपन्यासकारकी आमा अयुद्धा खरेल विशिष्ट अतिथि हुनुहुन्थ्यो । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछाने, प्रा.डा.गोविन्दराज भट्राई विशेष अतिथि रहनुभएको उक्त समारोहमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, डा.रजनी ढकाल, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, कोषाध्यक्ष गोपालकुमार मैनाली, उपन्यासकारकी जीवनसङ्गिनी सरोजा आचार्य खरेल, छोरी आर्या खरेल, छोरा अगृमराज खरेल, प्रा.डा.रमेशप्रसाद भट्टराई, डा.मधुशूदन लामिछाने, मुकुन्द आर्याल, गायत्रीकुमार चापागाईँ, वरिष्ठ इन्जिनियरहरू खड्गबहादुर बस्नेत र द्रोण कोइराला, मधेसी आयोगकी सदस्य माननीय आभा सेतु सिंह, वरिष्ठ पत्रकार तीर्थ कोइराला, उमेश उपाध्याय, डा.बुनु दाहाल, कृष्णप्रसाद दाहाल, मित्रलाल पंज्ञानी, चिन्तामणि सिवाकोटी, कृष्णदेव रिमाल, हरिकला उप्रेती, शार्दूल भट्टराई, पोषरमण चापागाईँ, विन्दु अधिकारी ढकाल, चन्दा खतिवडा, मणिराज सिंह, लक्ष्मीप्रसाद खरेल, राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कृषि विकास बैङ्कका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, परिवारका सदस्यहरू, बैङ्क तथा वित्तीय संस्थाका व्यक्तित्वहरू अतिथिका रूपमा उपस्थित हुनुहन्थ्यो ।


शब्द संयोजन साहित्यिक मासिकद्वारा आयोजना गरिएको उक्त विशेष समारोहको अध्यक्षता शब्द संयोजनका प्रकाशक एवम् वरिष्ठ कवि वासुदेव अधिकारीले गर्नुभएको थियो । शब्द संयोजनका प्रधान समपादक रमेश पोखरेलले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा निमन्त्रणा स्वीकार गरी सभाकक्षमा खचाखच उपस्थित भइदिने प्रमुख अतिथि, विशिष्ट अतिथिलगायत सम्पूर्ण आदरणीय व्यक्तित्वलाई शब्द संयोजनकी कार्यकारी सम्पादक सुमी लोहनीले स्वागत गर्नुभएको थियो ।


प्रमुख अतिथिले पानसमा बत्ती बालेर विशेष समारोहको उद्घाटन गर्नुभएपछि उपन्यासकारकी आमा अयुद्धा खरेल आजैका दिनमा नब्बे वर्ष पूरा गरी एकानब्बे वर्षमा प्रवेश गर्नुभएको सुखद उपलक्षमा उहाँलाई दोसल्ला ओढाएर प्रमुख अतिथिले सम्मान गर्नुभएको थियो । प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई मञ्चमा आउँदै गर्दा सभाध्यक्षले माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने उपस्थित अतिथिहरूलाई साहित्यकार डम्बर पहाडीले खादा लगाएर सम्मान गर्नुभएको थियो । उपन्यासकारकी छोरी आर्या खरेलले उपन्यासकार पक्षाघात भएर थला परेपछि बिरामी भुल्न र लेखनकार्यमा सहजता थपिदिन दाहिने हातको चल्ने चोर औँलाले टाइप गर्न मिल्नेगरी मोबाइलमा युनिकोड फन्ट डाउनलोड गरेर बुबालाई साहित्यसिर्जनामा समर्पित हुने प्रेरणा प्रदान गरेकी हुँदा सभाध्यक्षले माल्यार्पण गरी आर्यालाई सम्मान गर्नुभयो ।


प्रमुख अतिथि, विशिष्ट अतिथि, उपन्यासकार, टिप्पणीकार द्वय र उपन्यासकारकी जीवन सङगिनीले संयुक्तरूपमा उपन्यास ‘यात्रा जिन्दगीको’को लोकार्पण गर्नुभएको थियो ।


लोकार्पित उपन्यास ‘यात्रा जिन्दगीको’माथि डा.फणीन्द्रराज निरौलाले उपन्यासकारको विगतदेखि वर्तमानसम्मको व्यक्तित्व, हुनेखाने परिवार कसरी आफन्त तथा इष्टमित्रबाटै तिरस्कृत हुनेसम्मको अवस्थामा पुग्यो भन्नेसम्मको यथार्थलाई उपन्यासकारले इमानका साथ प्रस्तुत गर्नुभएकोलगायत सबै पक्षबाट विशद चर्चा गर्नुभयो भने डा.रजनी ढकालले पुनरावृत्ति नगरी उपन्यासकार तथा परिवारले भोगेको विगतदेखि वर्तमानसम्मको जीवनका साथै कोरोनाकहरको सन्दर्भसमेत जोडेर उहाँकी अत्यन्त साहसी आमालाई विम्ब बनाएर यो उपन्यास लेखिएको छ । आजभन्दा पचास वर्षअगाडिको पुर्बी पहाडको समाज र त्यहाँ हुर्किएको रूपान्तरणको चेतना, आधुनिक पद्धति स्थापना गर्न गरिएका प्रयत्न, समाज परिवर्तनका निम्ति अवलम्बन गरिएको शैली, परम्परागत शैलीकै रूपमा भए पनि हजुरआमाहरूले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका उपन्यासमा अत्यन्त सशक्तढङ्गले उजागर गरिएको छ । उपन्यास आमाको त्याग, बलिदान तथा समर्पणको सम्मानका लागि लेखिएको जीवनको आशावादी यात्राका रूपमा चित्रित छ । आमालाई केन्द्र बनाएर लेखिएको यो उपन्यासले बसाइँ सराइको जीवन्त चित्र उतारेको छ । यहाँ मानिस मात्र बसाइँ सरेका होइनन् त्यो यात्रामा भैँसी र कुकुरसमेत सामेल छन् । पक्षाघातको सिकार भएर थला परेपछि दाहिने हातको चोर औँलाले मोबाइलमा टाइप गरेर तेत्तिसओटा उपशीर्षकमा विभक्त गरी यति ठुलो आकारमा लेखिएको यो उपन्यासमा घटनाको संयोजन कौसल सुन्दर देखापर्छ । अलिकति थप परिष्कार गर्नसकिएको भए अझ सशक्त हुने थियो भन्ने धारणासहित लेखनयात्राको निरन्तरताको कामना गर्नुभयो ।


उपन्यासको भूमिका लेख्नुहुने उपन्यासकारका गुरु प्रा.डा.गोविन्दराज भट्टराईले लेखेको कुरा मात्र जीवनपछि पनि रहिरहन्छ त्यसैले महेशलाई मैले लेख्ने प्रेरणा दिएको हुँ र आज यति ठुलो आकारमा उपन्यास लोकार्पण भएको छ । पछिल्ला दिनमा लेख्दै गर्दा थप परिष्कार पनि हुँदै जान्छ भन्नुभयो भने नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले उपन्यासले सामाजिक यथार्थवादलाई अँगालेको र रूपान्तणको स्पष्ट सन्देश सम्प्रेषण गर्दै विधाभञ्जनको शैली अवलम्बन गरेको छ; आगामी दिनमा थप परिमार्जनसहित दोस्रो भाग अझ परिष्कृत रूपमा आओस् भन्ने शुभकामना दिनुभयो ।


उपन्यासकारकी आमा अयुद्धा खरेलले तेत्तिस वर्षको उमेरमै श्रीमान् रुखबाट लडेर कम्मरमुनि नचल्ने अवस्था उत्पन्न भएपछि जीवन कहालीलाग्दो भएको भए पनि छजना छोराछोरी, दुईजना अशक्त सासूससुरासहितको परिवार चलाउनुको कुनै विकल्प नरहेको, रोएका भरमा पारिवारिक जहाज नचल्ने देखेपछि मैले हिममत गर्नुको अर्काे कुनै विकल्प नै थिएन त्यसैले जे सकियो त्यही गरियो र आजको यो सुअवसरसम्म सपरिवार भेला हुने मौका मिलेको छ । मेरो सबै सबैलाई आशीर्वाद छ भन्नुभयो ।
प्रमुख अतिथि सम्माननीय सभामुख देवराज घिमिरेले पारिवारिक जीवनभोगाइको पृष्ठभूमिमा लेखिएको यो उपन्यासले पुर्बी पहाडको ग्रामीण कष्टसाध्य जनजीवनको प्रकटीकरण गरेको छ । त्यो समयका हुनेखाने घिवाला गोविन्द खरेलको सम्भ्रान्त परिवार सँगै बसेको कान्छो छोरो रुखबाट लडेर अशक्त भएपछि क्रमश: कसरी ओरालो लाग्यो र जीवन्न धान्नैका लागि अनि सुखी पारिवारिक जीवन बाँच्ने आशामा बसाइँ सरेको तर पनि दु:खमाथि दु:ख थपिएको यथार्थलाई पुर्बेली जनबोली, भाषा र शैलीमा यहाँ उजागर गरेर उपन्यासकारले सत्कर्म गरेका छन् भन्नुहुँदै लेखनयात्रा निरन्तर रहोस् भन्ने शुभकामना दिनुभयो ।
उपन्यासकार महेशराज खरेलले आपूmले लेखेको उपन्यासमा दुईजना विद्वानले भूमिका मात्र लेखिदिनुभएको छैन, उपन्यासको विश्लेषण पनि गरिदिनुभएको छ । त्यसैगरी दुईजना विद्वान समीक्षकले चिरफार गरिदिनुभएको छ । यहाँ निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिनुहुने सबै आदरणीय व्यक्तित्वले मलाई हौसल्याइदिने काम गरिदिनुभएको छ । बिरामी परेको समयमा लेख्न प्रोत्साहन गर्ने छोरी आर्या, डाक्टरको सल्लाहबमोजिम घरैमा थेराफी गरिदिने छोरा अगृम, हरतरहले साथसहयोग गर्ने जीवनसङ्गिनी सरोजा, आजको यो समारोह आयोजना गरिदिने शब्द संयोजन साहित्यिक मासिक, अध्यक्षता गरिदिने वरिष्ठ साहित्यकार वासुदेव अधिकारी, उपन्यासको सम्पादन गरिदिने रमेश पोखरेल, आजको यो विशेष समारोह सम्पन्न गर्न सभाकक्ष उपलब्ध गराइदिएर सहयोग गर्ने नेपाल प्रज्ञाप्रतिष्ठानसमेत सबै सबैलाई हार्दिक धन्यवाद अर्पण गर्दछु र उपन्यास पढेर लिखित वा मौखिक प्रतिक्रिया जनाइदिन विद्वत्जनमा हार्दिक आग्रह गर्दछु भन्नुभयो ।


सभाध्यक्ष वासुदेव अधिकारीले यो उपन्यास काल्पनिक लेखन होइन, बिरामी भएपछि विगतदेखि वर्तमानसम्मको आफ्नै जीवनलाई देखेर लेखिएको कृति हो । अर्थात् यो जीवनभोगाइको लेखन हो । जीवनमा आइपर्ने हरेक चुनोतीसँग सामना गरेर लेखिने कृति नै फलदायी हुन्छन्, पठनीय हुन्छन् र यो कृति पनि त्यही कोटिको रहेको छ । आगामी दिनमा पनि लेखनको निरन्तरता रहोस् भन्ने कामनाका साथ उपस्थित सबै सबैप्रति हार्दिक आभार व्यक्त गर्दै सामारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *