साहित्य सन्ध्यामा ‘असमिया नेपाली साहित्य’बारे चर्चा तथा कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, उपाध्यक्ष, साहित्य सन्ध्या
मितिः २०६९।११।५

 

साहित्य सन्ध्याको ३२४ औँ विशेष गोष्ठी आज शनिवार १ बजे नेपाल मानविकी क्याम्पस, प्रदर्शनी मार्गमा ‘असमिया नेपाली साहित्यबारे चर्चा तथा कविता गोष्ठी’ सम्पन्न भयो । अग्रज अभियन्ता एवम् साहित्यकार शान्ता मानवीको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष गोष्ठीको सञ्चालन साहित्यकार शीतल गिरीले गर्नु भएको थियो ।

 

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ विष्णु प्रभातको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रगतिशील लेखक सङ्घका का.वा.अध्यक्ष रामप्रसाद प्रदीप, वरिष्ठ कवि कणाद महर्षि, साहित्यकार तारा गाउँले, वरिष्ठ गजलकार रामबहादुर पहाडी अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

 

उक्त विशेष गोष्ठीमा ‘असमी नेपाली साहित्य’ का बारेमा प्राज्ञ विष्णु प्रभातले चर्चा गर्नु हुँदै हालको भारतको असम राज्य पहिलेको नेपाली भूभाग हो, असममा नेपालीहरूको अहिले पनि बाहुल्य छ, नेपाली साहित्य भनेको नेपालका सबै भाषामा लेखिएको साहित्य र विदेशमा रहेका नेपालीले लेखेको साहित्य हो । असम राज्यमा सात प्रमुख जाति हाल बसोबास गर्ने गर्छन् त्यसमा नेपाली एक पर्दछन् । सातौँ शताब्दीदेखि नै असम र नेपालको सामाजिक साँस्कृतिक सम्बन्ध रहँदै आएको छ भन्ने समेतको विशद् चर्चा गर्दै लामो विश्लेषण प्रस्तुत गर्नु भयो ।

 

गोष्ठीमा प्रेम सिलवाल, गोपाल नेपाल, प्रशान्त खरेल, रमेश पोखरेल, प्रदीपरत्न शाक्य, रसुवाली कवि, सरस्वती चिमौरिया, तारा गाउँले, जी.बी आचार्य, ध्रुवराज घिमिरे, मीन कौशिक, सरु आस्था, केशवराज निश्चल, डिल्लीराज अर्याल, कणाद महर्षि, केशव भट्टराई, बालकवि द्वय ससिका विष्ट र विज्ञता कार्की, गायत्री विष्ट, रामबहादुर पहाडी, जयन्ता पोखरेल, वैरागी जेठा, इन्दु अंशु जटारे, परशुराम पराजुली ‘पराशर’, राजेन्द्र तारकिणी, नारायण नेपाल, मोहनमणि पोखरेल, धनप्रसाद के.सी., एन.पी.उपाध्याय र रामप्रसाद प्रदीपले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।

 

वाचित कवितामाथि समीक्षक भागवत आचार्यले टिप्पणी गर्नु हुँदै कविताहरू समसामयिक धारामा लेखिएका, गद्यमा बढी र पद्यमा कम लेखिएका, केही शास्त्रीय छन्दमा लेखिएका निकै उत्कृष्ट समेत रहेका, विषयको विविधता रहेको र राष्ट्रियदेखि अन्तर्राष्ट्रिय विषय समेटिएका, सुन्दर बिम्ब तथा प्रतीकको प्रयोग गरिएका, प्रस्तुतिको शैैलीमा नवीनता देखा परेको, बालकदेखि वृद्धसम्मले कविता वाचन गरेको अवस्थालाई हेर्दा गोष्ठी उपलब्धिमूलक रहेको, सिकारु कविले भने कविता माझ्ने तथा वाचन कला अग्रजबाट सिक्नु पर्नेतर्फ विचार गर्नु पर्ने धारणा राख्नु भयो ।

 

उपस्थित अतिथिज्यूहरू, आमन्त्रित व्यक्तित्वहरू सबैलाई धन्यवाद दिँदै साहित्य सन्ध्याले साहित्यका माध्यमबाट सामाजिक, साँस्कृतिक रूपान्तरण गर्ने उद्देश्यले थालनी गरेको अभियानको यात्राले लामो फड्को मारेको, अविच्छिन्न मासिक गोष्ठी गरी साहित्यका माध्यमबाट समाजिक रूपान्तरणको अभियान सञ्चालन गरि रहेको यो साहित्यिक अभियानले अहिलेका नेताहरूलाई स्वार्थका पछि होइन देशको हितमा निर्णय गर्न र असक्षमताको बाटोतर्फ नमोडिन समेत साहित्यका माध्यमबाट सचेत गराउँनेतर्फ स्रष्टाको ध्यान जानु पर्ने धारणा सहित गोष्ठीको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *