साहित्य सन्ध्यामा ‘सुन्दर सिर्जना’ कविता सङ्ग्रह लोकार्पित

रमेश पोखरेल,

image

साहित्य सन्ध्याको ३४२ औँ कार्यक्रम असोज ४ गते शनिवार अपराह्न १ बजे ‘नेपाल ल क्याम्पस’मा ‘शुभ कामना कविगोष्ठी’ तथा दृष्टि विहीन कवि गोमाकुमारी मैनालीको कविता सङ्ग्रह ‘सुन्दर सिर्जना’ लोकार्पण गरी सम्पन्न भयो । साहित्य सन्ध्याका कार्य वाहक अध्यक्ष रमेश पोखरेलको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको सुन्दर एवम् विशेष समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी हुनु हुन्थ्यो भने अतिथिका रूपमा प्राज्ञहरू नर्मदेश्वरी सत्याल, माधव प्रधान, सानु पहाडी, पूर्ण विराम, वरिष्ठ कविहरू कणाद महिर्ष, डम्बर घिमिरे र अतृप्त पाण्डे तथा विमोचित कविता सङ्ग्रहकी कवि गोमाकुमारी मैनाली उपस्थित हुनु हुन्थ्यो ।

image

गोष्ठीको प्रारम्भमै सञ्चालक गोपालकुमार मैनालीले साहित्य सन्ध्याका सल्लाहकार आदरणीय प्रा.डा.जीवेन्द्र देव गिरीज्यू नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा, सन्ध्याकी अभियन्ता नर्मदेश्वरी सत्याल सोही प्रतिष्ठानको प्राज्ञ परिषद्को सदस्यमा नियुक्त हुनु भएकोमा, माधव प्रधान सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्यमा नियुक्त हुनु भएकोमा र सानु पहाडी सोही प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा नियुक्त हुनु भएकोमा साहित्य सन्ध्याको तर्फबाट हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभ कामना दिनु भयो । प्राज्ञ एवम् वरिष्ठ कवि पूर्ण विरामका छानिएका १३ ओटा कविताको श्रव्य(दृश्य सिडी प्राप्त भएकाले अर्काे कुनै एउटा कार्यक्रममा ती कविता देखाइने जानकारी पनि दिनु भयो ।

image

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीज्यूले दृष्टि विहीन कवि गोमाकुमारी मैनालीद्वारा लिखित ‘सुन्दर सिर्जना’ कविता सङ्ग्रहको लोकार्पण गर्नु भयो र साहित्य सन्ध्याले धेरै स्रष्टा जन्माएको, आफ्ना विविध कठिनाइका बाबजुद संस्था विगत तिन दशकभन्दा लामो समयदेखि अविच्छिन्न रूपमा क्रियाशील भइ रहेको र देशका प्रति चिन्ता गर्ने मान्छेहरू भेला भएर सामाजिक रूपान्तरणको आन्दोलन र अभियान सञ्चालन गरि रहेको हुँदा यस संस्थामा धेरै स्रष्टा गाँसिन आएका र यसै संस्था मार्फत माथि पुगेका दृष्टान्त दिँदै आज लोकार्पित कृतिकी स्रष्टा आफू दृष्टि विहीन भएर पनि सिर्जनामा लाग्नु भएको, सिर्जनाको मात्रा बढ्दै गएपछि गुण पनि बढ्दै जाने हुँदा यो कृतिकी स्रष्टाको सिर्जना पनि नेपाली वाङमयलाई समृद्ध पार्न आएको, स्रष्टाले जहिले पनि असल विचारको बीज जगाउने र राम्रो पार्दै जानु पर्ने; विचार, लय, शब्द चयनमा ध्यान दिनु पर्ने; अरूका राम्रा कुरा ग्रहण गर्नु सक्नु पर्ने हुँदा यी पक्षमा ध्यान दिनु होस् र सन्ध्याले प्रदान गर्ने मञ्चको सदुपयोग गर्नु होस् भन्ने शुभ कामना दिनु भयो । सन्ध्याको अभियानमा समाहित हामीहरू प्रज्ञा प्रतिष्ठानमा पुगेका छौँ, रचनात्मक सल्लाह, सुझाब र सहयोग सदैव प्राप्त भइ रहोस् भन्ने अपेक्षा समेत गर्नु भयो ।

image

लोकार्पित कृतिका बारेमा चर्चा गर्दै प्राज्ञ नर्मदेश्वरी सत्यालले कविको पहिलो प्रयासका लागि धन्यवाद दिनु भयो । जम्मा २८ पृष्ठको सङ्ग्रहमा १० ओटा गजल र बाइस ओटा कविता सङ्ग्रहित भएका, छोटो संरचनामा आफ्ना मनका अभिव्यक्ति समेटिएका, विषयको विविधता रहेको, सिर्जनामा अल्मलिएको अभिव्यक्तिदेखि सुन्दर अभिव्यक्ति समेत समेटिएको, कुनै कवितामा सचेतता र साहस भेटिन्छ भने कुनैमा अलमल र द्विविधा भेटिने हुँदा विचार अल्मलिएको, कतै दार्शनिकता पनि पाइन्छ । प्रगतिवादले सङ्घर्ष र क्रान्तिका कुरा गर्छ त्यसैले नअल्मलिइकन साहित्य सन्ध्याको मासिक कार्यशाला रूपी गोष्ठीमा उपस्थित भई आफूलाई परिष्कृत पार्ने कार्यमा कविको ध्यान जाओस् । छपाइमा अशुद्धि ज्यादै रहेको पाइएबाट दृष्टि विहीन कविलाई सहयोगी हातले धेरै सहयोग गरेको नदेखिएकाले पछिल्ला दिनमा कृति प्रकाशन गर्दा बरु हामीसँग सहयोग लिनु होस् भन्ने सल्लाह सहित शुभ कामना दिनु भयो ।

image

कृतिकार गोमाकुमारी मैनालीले प्राज्ञ नर्मदेश्वरी सत्यालले पुस्तकको मसिनो समीक्षा गरि दिनु भई बाहिरी आँखा नभएकी आफूलाई हृदयका आँखा खोलि दिनु भएको, किताब पढेर थप प्रतिक्रिया पाए पछिल्ला दिनमा आफूलाई सुधार गर्न सहयोग पुग्ने, सानैमा अन्ध विश्वासमा परेर अभिभावकको लापरवाहीले आँखाको ज्योति गुमाएकी आफूले सङ्घर्ष गरेर २०६८ सालमा बारा जिल्लाबाट प्रथम श्रेणीमा एस.एल.सी.उत्तीर्ण गरी कक्षा १२ सम्मको अध्ययन गरेको र अबका दिनमा साहित्य सिर्जनामा लागि रहने धारणा व्यक्त गर्नु भयो र एउटा कविता वाचन गर्नु भयो ।

image

गोष्ठीमा प्रेम सिलवाल, पुण्य गौतम विश्वास, वैरागी जेठा, पूर्ण विराम, माधव प्रधान (२०३९ सालमा ल क्याम्पसमै सुनाएको गीत सुनाउनु भयो र त्यस वेला दृष्टि विहीन गायिका कमला श्रेष्ठले गाएको गीत पनि सुनाउनु भयो र आज त्यस्तै सन्दर्भ परेको बताउनु भयो), उर्मिला पन्त पाण्डेय, पुनाराम गिरी, डम्बर पहाडी, गोपाल नेपाल (मैथिलीमा कविता सुनाउनु भयो), कणाद महर्षि (संवाद कविता सुनाउनु भयो), प्रिन्स प्रमोदकुमार ढकाल, अतृप्त पाण्डेय, गणेश घिमिरे मार्मिक (अहिलेका कविको प्रवृत्ति विषयक कविता सुनाउनु भयो), लीला विश्वकर्मा, डम्बर घिमिरे र रमेश पोखरेलले आआफ्ना कविता, गीत गजल प्रस्तुत गर्नु भयो ।  

image

गोष्ठीको समापन गर्दै अध्यक्ष रमेश पोखरेलले गोष्ठी सुरु हुने वेलैमा मुसलधारे पानी परेकाले स्रष्टाहरू आउनै समसया परेको, आर.आर.मा गर्ने गरेको यो गोष्ठी आज कोरियाली भाषा परीक्षाका कारण यता सार्नु परेको कारण पनि र ल क्याम्पसमा मुस्किलले प्राप्त भएको ठाउँ सानो समेत भएकाले आजको कार्यक्रम धेरै सहज हुन नसके पनि उपस्थिति गुणात्मक रहेको, सन्ध्याको गोष्ठी एक प्रकारको कार्यशाला भएकाले यहाँ नियमित सहभागी भएर आफूलाई परिष्कार गर्न सकिने, विचार निर्माण गर्न सकिने हुँदा सबैलाई नियमित उपस्थितिका लागि आग्रह गर्दै आजको उपस्थितिका लागि सबै सबैमा हार्दिक आभार सहित गोष्ठीको समापन गर्नु भयो ।

image

Leave a Reply

Your email address will not be published. Required fields are marked *