साहित्य सन्ध्या पुरस्कार तथा सम्मान जन कलाकार ‘सानु पहाडी’लाई

मितिः २०६९।५।२
रमेश पोखरेल, काठमाण्डु

साहित्य सन्ध्याको वार्षिक तथा ३१९ औँ विशेष कार्यक्रम नेपाल बार एसोसिएसनको सभाकक्ष, रामशाह पथमा आयोजना गरी कवि, गीतकार, गायिका, सङ्गीतकार तथा जन कलाकार सानु पहाडीलाई २०६८ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गरियो । ठिक १.१५ बजे सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालन र सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष समारोहका प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशी हुनु हुन्थ्यो भने विशिष्ट अतिथिमा नेकपा एमाले स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री एवम् साहित्यकार सुरेन्द्र पाण्डे उपस्थित हुनु हुन्थ्यो । त्यसै गरी अतिथिहरूमा पुष्पलालका समकालीन भूपि शेरचनलाई कम्युनिस्ट बनाउँने राजनीतिज्ञ तथा कवि ८५ बर्से हर्ष स्याङ्बो, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् साहित्य सन्ध्यालाई राजविराजमा स्थापना गर्ने परिकल्पनाकार गङ्गाप्रसाद उप्रेती, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, प्राज्ञ सुलोचना मानन्धर, प्राज्ञ विष्णु प्रभात, साहित्य सन्ध्याका सल्लाहकार द्वय डा.जीवेन्द्र देव गिरी र वासुदेव अधिकारी, साहित्य सन्ध्या पुरस्कार छनोट समितिकी संयोजक प्राज्ञ नर्मदेश्वरी सत्याल र सदस्य सहप्रा. कृष्णप्रसाद घिमिरे, प्रगतिशील लेखक सङ्घका कार्य वाहक अध्यक्ष रामप्रसाद प्रदीप, साझा प्रकाशनका सञ्चालक अनिल पौडेल, सम्मानित स्रष्टा सानु पहाडी र उहाँका काकाकाकी लालबहादुर शिवा र कृष्णमाया शिवा उपस्थित हुनु हुन्थ्यो ।

साहित्य सन्ध्याका सदस्य भागवत आचार्यको स्वागतबाट प्रारम्भ भएको विशेष समारोहका प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले पानसमा बत्ती प्रज्ज्वलन गरेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।

सम्मानित स्रष्टा सानु पहाडीले आरम्भ गीत गाएर थालनी गरिएको समारोहमा पुरस्कार चयन समितिका सदस्य सहप्रा.कृष्णप्रसाद घिमिरेले देशभरिका धेरै स्रष्टाहरू छनोटमा परेका र यस पटक महिला स्रष्टा चयन गर्ने निष्कर्षमा पुगेपछि आफ्नो सिङ्गो जीवन नेपाली प्रगतिवादी कविता, गीत रचना गायन तथा सङ्गीतमा लगाउनु भएकी, दुइटै मृगौला खराब हुँदा पनि र एउटा प्रत्यारोपण गरी पुनर्जीवन प्राप्त गरेपछि फेरि अविच्छिन्न रूपमा अविचलित भई निरन्तर एउटै विचारमा प्रतिवद्ध भई सिर्जनारत रहनु भएकीले यस पटक २०६८ सालको साहित्य सन्ध्या पुरस्कार जन कलाकार सानु पहाडीलाई दिने निर्णय गरी सिफारिस गरिएको जानकारी दिनु भयो ।

यस पटकको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण गर्ने प्रयोजनका लागि प्राज्ञ नर्मदेश्वरी सत्यालको संयोजकत्वमा सहप्रा.कृष्णप्रसाद घिमिरे र साहित्यकार कलाधर काफ्ले सदस्य रहेको स्रष्टा चयन समिति गठन गरिएको जानकारी सञ्चालक रमेश पोखरेलले गराउनु भयो । त्यसपछि सम्मानित स्रष्टा सानु पहाडीलाई साहित्य सन्ध्याका अध्यक्ष राम विनयले माला लगाइ दिनु भयो, विशिष्ट अतिथि सुरेन्द्र पाण्डेले दोसल्ला ओडाइ दिनु भयो र प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले साहित्य सन्ध्या पुरस्कार राशि रु.दश हजार र सम्मान पत्र अर्पण गर्नु भयो । त्यसै गरी राविराजमा साहित्य सन्ध्या सञ्चालन हुँदा सहयोग गर्नेहरू तत्कालीन अञ्चल न्यायाधिस स्व. चूडामणि अधिकारी (निजका छोरा चन्द्रमणि अधिकारीलाई), पत्रकार शिशु देवकोटा, पत्रकार अनिलकुमार अनल र डा.भरतबहादु कार्की (हाल सर्वाेच्च अदालतमा मा.न्यायाधिस) लाई विशिष्ट अतिथिले दोसल्ला ओडाएर र प्रमुख अतिथिले सम्मान पत्र प्रदान गरेर सम्मानित गरिएको थियो ।

सम्मानित स्रष्टा सानु पहाडीले जन कलाकार भएर आफूले कलिलै उमेरदेखि गायनमा विशेष सक्रियता देखाएको र विचार बोकेका कारण प्रशासनले प्रताडना दिएको भए पनि सामाजिक साँस्कृतिक रूपान्तरण आप्mनो लक्ष्य रहेकाले सदैव एउटै विचारमा अडिक रहेको धारणा राख्नु भयो र आफूले सकेसम्मको प्रयत्न गरेको पक्षलाई योगदान मानी सम्मानित गर्ने निर्णय गर्नु भएकोमा साहित्य सन्ध्यालाई हार्दिक आभार व्यक्त गर्दछु भन्नु भयो र यस पुरस्कारले आफूमा अझै दायित्व थपिएको महसुस गरेको धारणा सहित दुइटा गीत गाउनु भएको थियो ।

सोही समारोहमा साहित्य सन्ध्याका सल्लाहकार डा.जीवेन्द्र देव गिरीद्वारा लिखित र साहित्य सन्ध्याले प्रकाशित गरेको अभिव्यक्ति र सिर्जना ः व्यक्तित्व र समालोचना शीर्षकको समालोचना सङ्ग्रहको विशिष्ट अतिथि सुरेन्द्र पाण्डेले लोकार्पण गर्नु भयो । उक्त विमोचित कृतिका बारेमा साहित्यकार एवम् समीक्षक वासुदेव अधिकारीले टिप्पणी गर्दै स्पातिलो विचार र प्रवाहपूर्ण लेखन शैलीका धनी डा.गिरीको यो समालोचना सङ्ग्रहमा वस्तुवादी चिरफार युक्त लेखनीले पाठकको मन र चेतनालाई छाम्न सक्ने विशिष्ट क्षमताको प्रदर्शन गरेकाले कृति पठनीय रहेको धारणा व्यक्त गर्नु भयो ।

विशिष्ट अतिथि सुरेन्द्र पाण्डेले २०३९ सालताका साहित्य सन्ध्यालाई काठमाडौँमा सुरु गर्दा कसरी गर्ने, के गरी स्रोत जुटाउने, कसरी सामाजिक साँस्कृतिक आन्दोलनलाई साहित्यका माध्यमबाट प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने योजनामा आफू पनि संलग्न रहेको तर त्यो संलग्नता आज इतिहास बनेको स्मरण गर्नु भयो । साथै अबको साहित्य लेखन मुलुक निर्माणको पक्षमा केन्द्रित हुनु पर्ने, साहित्यले आर्थिक सामाजिक पक्षलाई पनि समेट्नु पर्नेतर्फ पनि सोच्नु पर्छ भन्नु हुँदै अत्यन्त प्रतिकूल निरङ्कुश समयमा थालिएको यो अभियानलाई यहाँसम्म ल्याउने सारथिहरू पनि बधाईका पात्र हुनु हुन्छ अनि यस पटकको पुरस्कारका लागि छनोट गरिएकी स्रष्टा पनि अत्यन्त उपयुक्त रहेकीले हार्दिक बधाई दिन्छु भन्नु भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् साहित्य सन्ध्यालाई राजविराजमा थालनी गर्ने अभियन्ता गङ्गाप्रसाद उप्रेतीले अत्यन्त प्रतिकूल वेलामा नेपाली भाषाको संरक्षण गर्ने बाहिरी उद्देश्य र भित्री रूपमा भने साहित्यका माध्यमबाट सामाजिक साँस्कृतिक रूपान्तरणको अभियान थाल्ने गरी साहित्य सन्ध्या प्रारम्भ गरिएको भए पनि यस संस्थाले साढे तिन दशक लामो यात्रा तय गरेको मात्र नभई नेपाली साहित्यको इतिहासमा थोरै सक्रिय संस्था मध्येको क्रियाशील संस्थाको रूपमा स्थापित हुँदै अविच्छिन्न रूपमा ३१९ औँ कार्यक्रमको रूपमा आज यो विशिष्ट समारोह आयोजना गरेकाले पनि संस्था हाँक्ने सारथि विचारले प्रशिक्षित र निष्ठावान भए भने संस्था राष्ट्रकै निधि बन्न सक्दो रहे छ भन्ने कुराको साक्षी साहित्य सन्ध्या बनेको र यस संस्थाले आज राजविराजमा सँगै अभियानको थालनी गर्ने चार जना सहकर्मी मित्रहरूलाई जीवितमै र मरणोपरान्त सम्मान गरेकोमा अत्यन्त खुसी लागेको छ भन्ने धारणा व्यक्त गर्नु भयो ।

प्रमुख अतिथि सस्कृतिविद् सत्यमोशन जोशीले सरकारले बजेट विनियोजन गरेर चलाएको प्रज्ञा प्रतिष्ठानले पनि मासिक रूपमा यति लामो साढे तिन दशकसम्म अविच्छिन्न रूपमा कार्यक्रम तथा नियमित वार्षिक कार्यक्रम गर्न नसकेको अवस्थामा साहित्य सन्ध्याले यस्तो अविच्छिन्नता कायम राखेको कुरा सुनेर म ज्यादै अचम्मित भएको छु र यो संस्थाको भविष्य उज्ज्वल भई देशैभरि फैलिन सकोस् भन्ने कामना गर्दछु । राणाहरूले पनि साहित्य, कला, संस्कृतिको उत्थान नभई देशको उत्थान हुन सक्तैन भनेर यस क्षेत्रमा दृष्टि पुर्याएका थिए तर वर्तमानमा सरकारले यस्ता सक्रिय संस्थालाई पनि सहयोग गर्न नसक्नु, हौसल्याउन नसक्नु दुखको कुरा हो । तथापि एउटा सोद्देश्यमूलक यात्रामा लागेको यस्तो संस्थाले अरुको मुख ताक्ने पनि होइन र लगनशील, इमान, निष्ठा भएका क्षमतावान् व्यक्तिले सञ्चालन गरेको यस्तो संस्था अवश्यै जीवन्त हुन्छ र समाज रूपान्तरणमा ज्यादै ठुलो सघाउ पुग्छ, त्यसपछि योगदानको पनि मूल्याङ्कन त हुन्छ नै भन्नु हुँदै आफ्नो पुरै जीवन समाज परिवर्तनका लागि भनेर समर्पित गर्ने सानु पहाडी जस्ता जन कलाकारलाई छानी साहित्य सन्ध्या पुरस्कार प्रदान गर्ने निर्णय गरेको र यस्तो गरिमामय कार्यक्रममा मलाई प्रमुख अतिथि बनाउनु भएकोमा पनि हार्दिक धन्यवाद दिन्छु भन्नु भयो ।

समारोहमा सानु पहाडी, देवी नेपाल, रमेश पारखेल, जगन्नाथ आचार्य, जयन्ती स्पन्दन र श्यामबहादुर भावुकले आआफ्ना गीत कविता गाउनु भएको थियो ।
उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिज्यूहरू, आमन्त्रित व्यक्तित्वहरू सबैलाई धन्यवाद दिँदै साहित्य सन्ध्याको साहित्यका माध्यमबाट सामाजिक, साँस्कृतिक रूपान्तरण गर्ने उद्देश्य तथा अभियानले लामो फड्को मारेको, २९ जना स्रष्टा सम्मानित भइ सकेका, मासिक गोष्ठी गरी नियमितता प्रदान गरिएको जानकारी दिँदै सम्मानित स्रष्टा सानु पहाडीलाई बधाई दिनु भयो र चियापनका लागि सबै सहभागीलाई आग्रह गर्दै गोष्ठीको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *