साहित्य सन्ध्या पुरस्कार २०७६ घोषणा
साहित्य सन्ध्याले हरेक वर्ष प्रदान गर्दै आएका विभिन्न पाँच पुरस्कारहरू २०७६ का लागि ५ जना स्रष्टालाई प्रदान गर्नेगरी निर्णय भएको छ । गुल्मी जिल्लाको खुर्काेटमा जन्मिएर लामो समयदेखि स्वास्थ्य सेवाका क्षेत्रमा रही स्वास्थ्य साहित्यमा कलम चलाउँदै नेपाली साहित्यका विविध विधामा र विशेषगरी लघु कथामा सशक्त सिर्जना गरिरहनुभएका प्रगतिशील साहित्यकार डा.रवीन्द्र समीरलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, एसओएस बालग्राममा कक्षा १० मा अध्ययन गरिरहनुभएकी र पढाइका अलावा बालसाहित्यका क्षेत्रमा समेत योगदान गरिरहेकी मेधावी छात्रा श्री बन्दुमाया राईलाई ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’, दैलेखमा जन्मनु भई नेपालगन्जलाई कर्मक्षेत्र बनाएर प्राध्यापन, वैचारिक अभियान, साहित्यिक संस्थाको नेतृत्वसमेतमा सक्रिय रही विविध विधामा नेपाली प्रगतिवादी साहित्यमा उल्लेख्य योगदान गरिरहनुभएका श्री हरिप्रसाद तिम्सिनालाई ‘साहित्य सन्ध्या–कृवा (कृष्णचन्द्र–बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान’, तेह्रथुम जिल्लामा जन्मिएर सुनसरी जिल्लाको चक्रघट्टीमा स्थायी बसोवास भई नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै नियात्रालेखन तथा प्रकाशनमा सक्रियताका साथ लागिरहनुभएका श्री खेमनाथ दाहाललाई ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ र नौओटा मासिक शृङ्खला सम्पन्न गरिएकोमा आठओटा शृङ्खलामा सक्रियताका साथ सहभागी हुनुभएका साहित्यकार श्री सीताराम नेपाललाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गर्ने निर्णय भएको छ।
उल्लिखित सबै पुरस्कारहरू यही २०७७ चैत्र १४ गते शनिबार अपराह्न ठिक १ बजे जुम क्लाउड मिटिङका माध्यमबाट आयोजना गरिने विशेष समारोमा अर्पण गरिने छ र उक्त विशेष समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती रहनु हुने छ भने विशिष्ट अतिथिमा प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी रहनु हुने छ ।