सिन्धुपाल्चोकका साहित्यकारको पीडामा ‘साहित्य सन्ध्या’ र ‘सुनकोसी साहित्य प्रतिष्ठान’को मलम

यही २०७२ वैशाख १२, १३ र २९ गते गएका महाविनाशकारी भूकम्पका कारण लगभग ध्वस्त भएको सिन्धुपाल्चोक जिल्लाका साहित्यकारहरूका पनि घर संरचना ध्वस्त भएका, बस्ने बास र खाने व्यवस्था नभएको, आफन्त समेत गुमाउनु परेको, दुर्गम स्थान भएका कारण आवश्यक राहत समेत नपुगेको जानकारी प्राप्त भएपछि ‘साहित्य सन्ध्या’ र ‘सुनकोसी साहित्य प्रतिष्ठान’को संयुक्त प्रयासमा २०७२ जेठ १६ गते शनिवार राहत सहित सद्भाव आदानप्रदान गर्ने, दुख साट्ने र पीडामा मलम लगाउने प्रयत्न गरियो ।

काठमाडौँबाट बिहान ७ बजे एउटा जिप व्यवस्था गरी साहित्य सन्ध्याका तर्फबाट अध्यक्ष राम विनय र भागवत आचार्य, सुनकोसी साहित्य प्रतिष्ठानका तर्फबाट अध्यक्ष मोहन दुवाल र भारद्वाज मित्र, जन गायक रामकृष्ण दुवाल र स्थानीय जानकार उत्तम कोइराला सिन्धुपाल्चोकतर्फ जानु भएको थियो । मेलम्चीमा विनाककारी भूकम्पले आमा र काकी गुमाउनु भएका साहित्यकार पीताम्बर भण्डारीलाई समवेदना व्यक्त गर्दै साहित्य सन्ध्याका अध्यक्ष राम विनयमले रु.५,०००। सहयोग र समवेदना पत्र अर्पण गर्नु भयो भने सुनकोसी साहित्य प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले रु.२,५००।सहयोग राशि अर्पण गर्नु भएको थियो । वाँणे गाउँ विकास समितिमा बसोवास गर्ने घरवास भत्केर पाताल भएका वरिष्ठ साहित्यकार जगन्नाथ आचार्य र त्यसै क्षेत्रका साहित्यकार यदुनाथ वसन्तपुरेलाई पनि साहित्य सन्ध्याका अध्यक्ष राम विनयले जनही रु.५,०००। र सहानुभूति पत्र अर्पण गर्नु भयो भने सुनकोसी साहित्य प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले जनही रु.२,५००। सहयोग राशि अर्पण गर्नु भयो । त्यसै गरी पाका साहित्यकार राजेन्द्र भट्टराई (….वाशिष्ठ) लाई सुनकोसी साहित्य प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले रु.२,५००। सहयोग राशि अर्पण गर्नु भयो ।

दुबै संस्थाका अधयक्ष राम विनय र मोहन दुवालले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको  अभियानमा होमिनु भएका तपाईँ स्रष्टाहरू पीडामा हुनु हुन्छ भन्ने जानकारी पाएर हामी सद्भाव र सहानुभूति प्रकट गर्न र पीडामा थोरै भए पनि मलम लगाउन उपस्थित भएका हौँ र यो विपत्तिबाट निराश नभई जीवन व्यवस्थित गर्न सफल हुनु होस् भन्ने कामनाका लागि तपाईँहरूको घरैमा उपस्थित भएका छौँ भन्नु भयो भने उल्लेखित चारै जना स्रष्टाले सहयोगको रकम के कति भन्ने कुरै होइन, त्यति टाढाबाट हाम्रो दुख सम्झेर साटासाट गरौँ र पीडामा सकेको मलम लगाऊँ भन्ने अभिप्रायले आइ दिनु भयो हामी हार्दिक आभार व्यक्त गर्दछौँ भन्नु भयो ।

काठमाडौँबाट ती स्थानसम्म जाने व्यवस्थाका लागि साहित्यकार, समाज सेवी एवम् सुनकोसी साहित्य प्रतिष्ठानका सहृदयी व्यक्तित्व भारद्वाज मित्रले गाडीको व्यवस्था गर्नु भएको थियो र गाडीको लाग्ने भाडा रु.११,०००।मध्ये आफूले रु.५,०००। समेत व्यहोरि दिनु भएको थियो भने बाँकी रु.६,०००। चाहिँ साहित्य सन्ध्या र सुनकोसी साहित्य प्रतिष्ठानले आधा आधा व्यहोरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *