२०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ विख्यात भाषावैज्ञानिक, प्रखर समालोचक एवम् सशक्त निबन्धकार प्रा.डा.माधवप्रसाद पोखरेललाई अर्पण गरिने
साहित्य सन्ध्याको कार्यसमितिको मिति २०८२ भदौ १२ गते शुक्रवार साँझ बसेको बैठकले २०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ विख्यात भाषावैज्ञानिक, प्रखर समालोचक एवम् सशक्त निबन्धकार प्रा.डा.माधवप्रसाद पोखरेललाई अर्पण गरिने भएको छ ।
२४ सेप्टेम्बर १९४८ मा सुनसरी जिल्लाको धरान, विजयपुरमा पिता गङ्गाधर पोखरेल तथा माता कृष्णादेवी पोखरेलका सुपुत्रका रूपमा जन्मिनुभएका प्रा.डा.माधवप्रसाद पोखरेल नेपाली साहित्यमा भाषा अनुसन्धता एवम् विशेषज्ञका अतिरिक्त प्रखर समालोचक, निबन्धकारका रूपमा समेत सम्मानित र सुप्रतिष्ठित विशिष्ट व्यक्तित्व हुनुहुन्छ । ‘नेपाली साउन्ड सिस्टमको प्रयोगात्मक विश्लेषण’ विषयमा डेकन कलेज युनिभर्सिटी महाराष्ट्र, भारतबाट पोस्टग्राजुयट गर्नुभएका उहाँले नेपाल तथा भारतका प्रतिष्ठित संस्थाबाट विज्ञताको तालिमसमेत हासिल गर्नुभएको छ । जापानको कोबे युनिभर्सिटीबाट नेपाली तथा जापानी वाक्य व्याकरणको तुलनात्मक अध्ययन गर्नुभएको छ । सोही विश्वविद्यालयबाट ‘नेपाली र जापानी कोटिकारको अवधारणामा समानता’ विषयमा थप अनुसन्धान गर्नुभएको छ । चाइना इन्टरनेसनल बेइजिङमा नेपाली भाषा विशेषज्ञका रूपमा समेत काम गर्नुभएको छ । त्यसैगरी सेन्ट्रल इन्स्टिच्युट अफ इन्डियन ल्याङ्ग्वेजेज, मैसुर, इन्डियामा रहेर नेपाली भाषा विशेषज्ञका रूपमा पनि काम गर्नुभएको छ । नेपाली, अङ्ग्रेजी, हिन्दी, संस्कृत, जापानिज, प्राकृत, पाली, चाइनिज, कुसुन्डा, मराठी, सिंहालिज भाषाका जानकारसमेत रहनुभएका उहाँले झापाको लाफाती र खोटाङको किराती भाषाको अन्वेषणसमेत गर्दै नेपालका ४० भन्दा बढी भाषाको स्थलगत अनुसन्धान पनि गर्नुभएको छ । अलिखित रूपमा रहेका नेपालका ६९ भाषाका लेख्य रूप तयार पारिदिनुभएको छ । दर्जनभन्दा बढी विद्यावारिधिका अनुसन्धानको निर्देशन गर्नुभएको छ । भाषाविज्ञान तथा समालोचनाका दर्जनौँ गहनतम् अनुसन्धानमूलक लेख प्रकाशित गर्नुभएको छ ।
नेपाली भाषामा द्विरुक्ति प्रक्रिया, सङ्ख्या र सार्वनामिक शब्दका आधारमा नेपाली भाषिकाको निर्धारण, क्रियाको रूप र तत्त्वका आधारमा नेपाली भाषिकाको निर्धारण, वाक्यतत्त्वका आधारमा नेपालीका भाषिकाको सर्वेक्षण, उच्चारणका आधारमा नेपालीका भाषिकाको निर्धारण, नेपाली र मैथिलीका पदसङ्गतिको तुलना, नेपालका भाषामा आत्मने पद र परस्मै पदका व्यतिरेकको अध्ययन, नेपाली शब्दको आवृत्ति गणना, नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण, गोरखा भाषा व्याकरण चन्द्रिकाको भाषा वैज्ञानिक अध्ययन, नेपाली भाषाका पारिभाषिक शब्दावली, नेपाली राष्ट्रिय दैनिक अखबारमा संस्कृत शब्दको आवृत्ति गणनालगायत दर्जनौँ गहनतम् अनुसन्धान गर्नुभएको छ ।
उहाँले विद्यालयदेखि विश्वविद्यालयसम्म र बेइजिङ विश्वविद्यालयमा नेपाली भाषा र साहित्यको अध्यापन गरी आफ्नो विशेषज्ञताको पुष्टि गर्नुभएको छ । नेपाल, भारत, जापान, चीन, स्विजरल्यान्ड, जर्मनी, अमेरिका र स्विडेनको भ्रमण गर्नुभएका तपाईँका भाषाविज्ञान, निबन्ध र समालोचनाका दर्जनौँ कृति प्रकाशित भएका छन् । जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास (पहिलो ठेली)लगायत दर्जनौँ कृतिको तपाईँले सम्पादनसमेत गर्नुभएको छ । पूर्र्वीय दर्शन, व्याकरणका गहन अध्येता, वस्तुपरक समालोचना सिद्धान्तका विद्वान एवम् भाषाविज्ञानका नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित आधिकारिक विद्वान हुनुका साथै नेपाल सरकारको भाषा आयोगका विशिष्ट सल्लाहकारसमेत रहनुभई उहाँले भाषा विज्ञानका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट योगदान एवम् निर्माण गर्नुभएको अन्तर्राष्ट्रिय छवि, नेपाली वस्तुपरक समालोचनाका क्षेत्रमा पु¥याउनुभएको अतुलनीय, अनुकरणीय र विशिष्ट योगदान तथा नेपाली निबन्धका माध्यमबाट स्थापना गर्नुभएको गहकिलो मानकसमेत अत्यन्त अनुकरणीय रहेको मूल्याङ्कन गरी यी समग्रक्षेत्रमा उहाँले गर्नुभएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै उहाँलाई वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा स्थापित पचास हजार द्रव्यराशिको साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान (२०८२) अर्पण गर्ने निर्णय गरिएको हो र उल्लिखित पुरस्कार तथा सम्मान यही २०८३ असोज २४ गते शनिबार अपराह्न १ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा आयोजना हुने विशेष समारोहमा अर्पण गरिने छ ।