​वरिष्ठ प्रगतिवादी कवि ‘घनश्याम कँडेल’को एकल कवितावाचन सम्पन्न 

रमेश पोखरेल, काठमाडौं 

 साउन १३ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा विगत तीन वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ३९ औँ शृङ्खला सम्पन्न गरियो । वरिष्ठ प्रगतिवादी कवि घनश्याम कँडेलका एक दर्जन कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणीसमेत गर्ने उद्देश्यमूलक विशेष समारोहको आयोजना गरियो । जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले अध्यक्षता गर्नुभएको उक्त विशेष समारोहको सञ्चालन महासचिव विनोद मन्जनले गर्नुभएको थियो । वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रितज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा अतिथिहरूमा पूर्व मन्त्री शान्ता मानवी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, प्रा.केशव सुवेदी, प्रा.डा.खेम दाहाल, प्रा.जगत् उपाध्याय, प्राज्ञ नर्मदेश्वरी सत्याल, वरिष्ठ कवि वासुदेव अधिकारी, सुलोचना मानन्धर, वरिष्ठ कवि कणाद महर्षि, डा.फणीन्द्रराज निरौला, डा.विदुर चालिसे, डा.मधुशूदन गिरी, प्राज्ञ सानु पहाडी, वरिष्ठ कवि गोविन्द विनोदी, महासङ्घका सचिव कृपाराम धमलालगायत उपस्थित हुनुहुन्थ्यो ।

हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक जना प्रगतिवादी साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानको उनन्चालिसौँैँ शृङ्खला सञ्चालन गर्न लागिएको, साहित्य सिर्जना एवम् सामाजिक रूपान्तरणको अभियानका माध्यमबाट योगदान गरिरहनुभएका वरिष्ठ प्रगतिवादी कवि एवम् गुरु घनश्याम कँडेलका एक दर्जन कविता सुन्ने यो विशेष समारोहको आयोजना गरिएको जानकारी विनोद मन्जनले दिनुभयो । यो विशेष समारोहको प्रमुख आतिथ्य ग्रहण गरिदिन गरिएको अनुरोध स्वीकार गरी आइदिनुभएका वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रितलाई सभाध्यक्ष राम विनयले स्वागत गर्नुभयो र कविनायक घनश्याम कँडेललाई माल्यार्पण गरी सम्मान गर्नुभयो अनि प्रमुख अतिथिले समारोहका कविनायक घनश्याम कँडेललाई सम्मान–पत्र अर्पण गरी सम्मान गर्नुभयो । त्यसैगरी कविलाई साथ दिने कविहरू भुवनहरि सिग्देल, रमेश शुभेच्छु, रूपक अलङ्कार, नारायण निरासी, देबु लुइटेल र शर्मिला गिरी अनि टिप्पणीकारका रूपमा प्रा.केशव सुवेदीलाई आसन ग्रहण गराइयो ।        

 समारोहका नायक वरिष्ठ प्रगतिवादी कवि घनश्याम कँडेलको व्यक्तित्वमाथि प्रकाश पार्नुहुँदै जनसाहित्यिक मञ्च नेपाल, काव्य विभाग प्रमुख डा.विन्दु शर्माले कवि एवम् गुरु घनश्याम कँडेल वि.सं.२००२ सालमा धादिङमा जन्मिनुभएको र २०१८ सालदेखि समालोचनाबाट साहित्ययात्रा थालनी गरी २०२२ सालदेखि कविता लेख्नलाग्नुभएको हो । एक दर्जन कृति प्रकाशित भएका र तीमध्ये आधा दर्जन खण्डकाव्य रहेका, मानवीय जीवनका सकारात्मक र नकारात्मक पक्षलाई शास्त्रीय छन्द तथा लोकलयमा अभिव्यक्त गर्दै यथार्थवाददेखि द्वन्द्वात्मक यथार्थवादसम्म पुर्याउनुभएको, पौराणिक नायक पात्रलाई खलपात्र र खलपात्रलाई नायक पात्रको रूपमा चित्रण गरी उत्पीडितका पक्षमा कलम सोझ्याउनुभएको, कवितामा श्रमप्रतिको सम्मान व्यक्त भएको र भौतिकवादी चिन्तन उजागर भएको, अन्तरजातीय विवाहका पक्षमा वकालत गरिएको, पर्यावरणका पक्षमा, शोकका पक्षमा आबाज उठाइएको पाइन्छ । नेपाली, संस्कृत र अङ्ग्रेजीका विद्वानसमेत रहनुभएका कारण शिक्षण, लेखन र सम्पादनको भूमिका उहाँबाट निर्वाह भएको छ भन्ने धारणा राख्नुभयो । 

कविनायक घनश्याम कँडेलले आफूले सिर्जना गरिरहेका कवितामाथि विश्वास गरेर यो विशिष्ट र गरिमामय समारोहमा आफूलाई स्थान दिन पहिले नै आग्रह गरिएको भए पनि स्वास्थ्यका कारण उपस्थित हुननसकेको र अहिले अनुकूल मिलेको हुँदा आयोजकलाई धन्यवाद दिन्छु भन्नुभयो । अग्रज र विद्वान व्यक्तित्वका माझमा कविता सुनाउन पाएकोमा गौरवान्वित भएको छु । मेरो विचारमा कविता भनेको जीवनजगत्को यथार्थको कलात्मक अभिव्यक्ति हो । समाजबाट निरपेक्ष कविता हुनसक्तैन त्यसैले कवितामा समाज भित्र्याउने प्रयत्न मैले गरेको छु । समाजमा न्याय मर्यो भने र उम्कने बाटाहरू बन्द गरियो भने विद्रोह जन्मन्छ, श्रमको सम्मान गरिनुपर्दछ भन्ने मेरो मान्यतालाई पनि मैले कवितामा उन्ने प्रयत्न गरेको छु भन्ने धारणा राख्दै कविताको रचनागर्भसहित ‘कवि’, ‘प्रभात’, ‘विश्वाभित्र–मेनका खण्डकाव्यबाट’, ‘आमा यशोधरा’, ‘धृतराष्ट्र खण्डकाव्यबाट’ गरी ५ओटा ज्यादै ज्यादै शक्तिशाली, सुन्दर र वैचारिक कविता वाचन गर्नुभयो भने वाचन सहयोगी कवि भुवनहरि सिग्देलले ‘सन्ध्या’ शीर्षकको, कवि देबु लुइटेलले ‘आमा’ शीर्षकको, कवि नारायण निरासीले ‘बैँसालु जोडीलाई देख्दा’ शीर्षकको, कवि रूपक अलङ्कारले ‘मृत्युले मार्ननसकेको सम्झना’(हिरामणि शर्माको सम्मानमा लेखिएको) शीर्षकको, कवि रमेश शुभेच्छुले ‘आमाको माया’ शीर्षकको र कवि शर्मिला गिरीले ‘खोजेको छ अँध्याराले’ शीर्षकको अत्यन्त शक्तिशाली, विचारप्रधान र कलात्मक कवितावाचन गर्नुभयो । 

 वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक प्रा.केशव सुवेदीले कवि घनश्याम कँडेलेको साहित्यलेखनको उद्देश्य भनेको सामाजिक रूपान्तरण हो । उहाँका कविता अत्यन्त सरल र सुन्दर भएकाले समीक्षा आवश्यक छैन । उहाँसँग औपचारिक अध्ययनका तीन आयाम छन् । संस्कृत, अङ्ग्रेजी र नेपालीका उहाँ विद्वान हुनुहुन्छ त्यसैले उहाँको व्यक्तित्व नै प्राज्ञिक बनेको छ । त्यही प्राज्ञिकताको गहन प्रभाव सिर्जनामा परेको छ । केवल शब्दको जोडजाड मात्र होइनन् उहाँका कविता । वास्तवमा कविता भनेको अत्यन्त गम्भीरतापूर्वक गरिने साधना हो, ठट्टा होइन । त्यो गम्भीरता उहाँमा छ । लगभग चार दशक प्राध्यापन गर्नुभएका उहाँको सिर्जनात्मक सामथ्र्य ज्यादै सशक्त रहेको छ । आस्था, विचार र प्रतिवद्धता ज्यादै सशक्त र कलात्मक बनाउने क्षमता उहाँमा रहेको छ । कवितामा समाज र युगीन परिस्थितिको चित्रण गरिएको छ, सन्त्रासपूर्ण अवस्थाको चोटिलो प्रस्तुति रहेको छ, मान्छेले बाँचेको समकालीनता अभिव्यक्त भएको छ । पञ्चायती कालरात्रिको अन्त्य र सूर्याेदयको अपेक्षारूपी प्रबल आशावाद कवितामा पाइन्छ । आजको मान्छेले भोगेका द्वन्द्वको प्रकटीकरण र समाप्तिको चाहना कवितामा उजागर भएको पाइन्छ । अर्थात् समकालीनताको सार्वभौम अभिव्यक्ति सुन्दर रहेको पाइन्छ । अँध्याराका विरुद्ध र उज्यालाका पक्षमा बुलन्द वकालत गर्नुभएको छ । अविचल आस्थाका कुरा, चाकरीप्रथाको अन्तका कुरा र विद्रोहको सशक्त अभिव्यक्ति अत्यन्तै सुन्दर ढङ्गले कवितामा आएको छ । आस्था, भावना र विचारको सम्प्रेषण गर्नेहरूको जीवनमर्म र अपहेलना, आजका बुद्धिजीवीहरूको प्रवृत्तिसमेत कवितामा कलात्मकरूपमा अभिव्यक्त भएको छ । आडम्बर र ढोँगको विरोध, स्वान्त सुखायको पक्षपोषण अनि सशक्त अनेकार्थ सम्प्रेषण उहाँका कविताको विशेषता बनेर आएको पाइन्छ । देशभक्तिको भावना, जननी र जन्मभूमिप्रतिको आस्था र बन्दना गर्ने अनि हृदयले कविता सिर्जना गर्नसक्ने सशक्त कवि हुनुहुन्छ घनश्याम कँडेल । सित्तिमिती अरूलाई झङ्कृत पार्ने कविता लेख्न सकिँदैन । प्रेम र प्रणयका सम्बन्धमा पनि शालीनता र भद्रताको प्रस्तुति उहाँका कवितामा पाइन्छ । कवितामा सामाजिक चेतना अत्यन्त सशक्त छ, घाम नलागेको आजको अवस्थाको प्रकटीकरण सुन्दर तरिकाले चित्रण गरिएको छ । समकालीनताको सशक्त प्रकटीकरण भएकै कारण उहाँको कवित्व पनि सशक्त रहेको छ । कवितामा पुनर्निर्माण, रूपान्तरण, धरतीको सुन्दरता, मानवताको सार्वभौम मूल्यको स्थापना; मितव्ययी, सरल तर शालीन भाषाको प्रयोग, अर्थगाम्भीर्य, सूक्तिमयता अनि कविताप्रतिको साँच्चै निष्ठा कवि घनश्याम कँडेलका विशेषता हुन् । त्यसैले उहाँका कविता ज्यादै सुन्दर र सुललित लाग्छन् भन्नुभयो ।   

प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रितले तीन वर्षदेखि अविच्छिन्नरूपमा सञ्चालन भइरहेको अविरल जनसाहित्य यात्राको आजको यो शृङ्खलामा कवितालेखनमा परिपक्वता प्रदर्शन गर्दै आइरहेका आप्mना बनारसकालीन मित्र एवम् सशक्त कवि घनश्याम कँडेललाई प्रस्तुत गरिएको र यो विशेष समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुने र आफ्ना धारणा राख्ने अवसर दिनुभएकोमा आयोजक जनसाहित्यिक मञ्च नेपाललाई धन्यवाद दिन्छु भन्नुहुँदै साधनामा निरन्तर लागेका साधकको आज सम्मान भएको छ । थोरै लेखेर चाँडै चर्चामा आउनखोज्ने प्रवृत्ति वास्तवमै बेठिक छ भन्ने सन्देश दिने अनि गहिराइमा गएर साधना गर्ने कुशल शिल्पीलाई आज सुनियो । उहाँ प्रचारबाट टाढा रहन रुचाउने र महाभारतकालीन पात्र छनोट गर्दा पनि देवयानी, धृतराष्ट जस्ता विशिष्ट पात्रको चयन उहाँले गर्नुभएको छ । कीर्तनबाट मोक्ष प्राप्त हुन्छ भन्ने तर अन्वेषण नगर्ने, विज्ञानको उपासना नगर्ने अहिले विकसित भएको प्रवृत्ति नरुचाउने व्यक्ति हुनुहुन्छ घनश्याम कँडेल । इतिहासलाई गहिरोसँग विश्लेषण नगर्नुको पीडा अहिले हामी भोगिरहेका छौँ । विश्वका स्रष्टा, वैज्ञानिक, अनुसन्धातालाई केन्द्रविन्दुमा राखेर लेखिनु आवश्यक छ । त्यस्तै खाले विचार राख्ने स्रष्टा र त्यस्तै विश्लेषकको छनोट आजको कार्यक्रममा गरिएको पाउँदा मलाई खुसी लागेको छ भन्नुभयो । 

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका महासचिव प्रेमनाथ अधिकारीले आजको कार्यक्रमले कवितामाधुर्य र कवित्वको सशक्तता पुष्टि गरेको छ । यस्ता विशिष्ट विद्वान र अग्रजहरूबाट धेरै कुरा सिक्नुपर्ने हुँदा आजको यो समारोह ज्यादै गमिामय रहेको छ भन्नुभयो । 

 सभाध्यक्ष राम विनयले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा चार दशकभन्दा बढी समयसम्म आफूलाई समर्पित गर्दै नेपाली समाजको रूपान्तरण अभियानमा समाहित गर्नुहुने अनि देश र समाजलाई सहयोग गर्ने असल कविलाई हामीले आजको यो विशेष समारोहमा प्रस्तुत गर्यौँ । चार दशकदेखि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा स्पष्ट उद्देश्यका साथ लागिरहेका र सहयात्रा गरेका इमान्दार कविलाई उहाँका एक दर्जन कविता सुन्ने र उहाँको विशिष्ट कवि व्यक्तित्वका बारेमा समेत चर्चा गर्ने सोद्देश्यमूलक यो विशेष समारोहमा निम्ता गर्यौँ । उहाँले पनि निम्ता स्विकारेर आइदिनुभयो ।  प्रमुख अतिथि आदरणीय अग्रज डा.मोदनाथ प्रश्रितज्यू, टिप्पणीकार समालोचक प्रा.केशव सुवेदीज्यू, व्यक्तित्व चर्चाकार डा.विन्दु शर्मा, अतिथिज्यूहरू, उपस्थित विद्वान व्यक्तित्व सबै सबैलाई हार्दिक स्वागत गर्नुभएको थियो ।

  कार्यक्रमको समापनमा रमेश पोखरेलले व्यवस्थितता, गम्भीरता, जिम्मेवार र प्रबुद्ध कवित्वशैली भएका अग्रज स्रष्टा एवम् आदरणीय गुरु घनश्याम कँडेलको कवितालेखनमा विषयको विविधता रहेको छ । पौराणिक पात्रको चयन र नकारात्मक मानिएका पात्रका पक्षमा वा अन्याय भोगेकाका पक्षमा वकालत गर्ने, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, गहिरो ध्वन्यार्थ र अनेकार्थ प्रस्तुत गर्नसक्ने र पाठकलाई झङ्कृत पार्नसक्ने, श्रमको सम्मान गर्ने अनि रूपान्तरणको सशक्त सन्देश सम्प्रेषण गर्ने अग्रज स्रष्टा एवम् आदरणीय गुरुका एक दर्जन कविता सुनिदिन हामीले गरेको निमन्त्रणा स्विकारेर आइदिनुहुने सबै सबैलाई हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्दछौँ र आगामी चालिसौँँ शृङ्खलामा तीजलाई जोडेर केही महिला स्रष्टालाई प्रस्तुत गरिने अनि सोको जानकारी पनि गराइँने व्यहोरा निवेदन गर्दै समारोह समापन भएको जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *