साहित्य सन्ध्याको ४८०औँ शृङ्खलामा चाडपर्वको रूपान्तरण र ‘सत्ताको मान्छे’माथि चर्चा

काठमाडौं, असोज ३ । साहित्य सन्ध्याको ४८०औँ नियमित शृङ्खलाअन्तर्गत ‘नेपाली समाजमा प्रचलित चाडपर्व र रूपान्तरण’ विषयमा विमर्श तथा गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासङ्ग्रह ‘सत्ताको मान्छे’माथि परिचर्चासहित विशेष कविगोष्ठी आयोजना गरिएको छ।

शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा सम्पन्न कार्यक्रम साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा भएको थियो। कार्यक्रममा संस्कृतिविद् प्रा. डा. सोमप्रसाद खनाल प्रमुख अतिथि तथा प्रा. डा. हेमनाथ पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

प्रमुख अतिथि खनालले नेपाली समाजमा चाडपर्वको सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै समयअनुसार तिनको रूपान्तरण आवश्यक रहेको बताए। नेपालमा प्रचलित चाडपर्व र जात्राहरू सामाजिक तथा सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै उनले परम्पराको मौलिकता जोगाउँदै बदलिँदो समयअनुकूल अभ्यास गर्नुपर्ने धारणा राखे।

उनले काठमाडौं उपत्यकाका चाडपर्वमा तान्त्रिक तथा नेवारी संस्कृतिको प्रभाव रहेको उल्लेख गर्दै कतिपय परम्परा समयक्रममा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे। चाडपर्वको गरिमा कायम राख्न सरकारी तहबाट मात्र नभई जनस्तरबाट समेत सचेत प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

विशिष्ट अतिथि प्रा. डा. हेमनाथ पौडेलले वरिष्ठ पत्रकार तथा साहित्यकार गोपालप्रसाद थपलियाको कवितासङ्ग्रह ‘सत्ताको मान्छे’माथि समीक्षा गर्दै कृतिमा राजनीतिक विसङ्गति, सत्ताप्रतिको आलोचना, सामाजिक यथार्थ, राष्ट्रियता र मानवीय संवेदनाका विषय सशक्त रूपमा अभिव्यक्त भएको बताए।

कृतिमा समेटिएका १६४ कविताले लोकतन्त्रप्रतिको प्रतिबद्धता, श्रमको सम्मान, सामाजिक–सांस्कृतिक रूपान्तरण, जनउत्तरदायित्व र राष्ट्रिय स्वाधीनताका विषय उठाएको उनको भनाइ थियो। कवितामा सत्ताको अहङ्कार, मूल्यहीनता, जनअपेक्षा पूरा नहुँदाको निराशा र सामाजिक अन्यायप्रति प्रतिरोधी चेतना अभिव्यक्त भएको उनले उल्लेख गरे।

समीक्षक उपप्रा. रूपक अलङ्कारले कार्यक्रममा वाचित कवितामाथि टिप्पणी गर्दै समसामयिक राजनीतिक परिवेश, प्राकृतिक विपत्ति र व्यक्तिगत अनुभूतिसँग सम्बन्धित सिर्जनाहरूको चर्चा गरे। साहित्यले सामाजिक विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा विभिन्न साहित्यकार तथा कविहरूले कविता, गीत, गजल र मुक्तक वाचन गरेका थिए। वाचित सिर्जनामा समसामयिक राजनीति, सामाजिक न्याय, मानवीय संवेदना, राष्ट्रियता र सांस्कृतिक चेतनाका विषय समेटिएका थिए।

सभाध्यक्ष राम विनयले साहित्य सन्ध्याले विगतदेखि नै साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गर्दै आएको बताए। संस्थाले हरेक महिना महत्त्वपूर्ण समसामयिक विषयमा बहस, छलफल र कविगोष्ठी आयोजना गर्दै आएको उल्लेख गर्दै उनले सामाजिक विकृति तथा शासकीय विसङ्गतिविरुद्ध साहित्यिक आवाज उठाउने अभियान निरन्तर रहने बताए।

कार्यक्रममा साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। साहित्य र सिर्जनाका माध्यमबाट सामाजिक यथार्थको उजागर तथा सकारात्मक रूपान्तरणका पक्षमा आवाज उठाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *