जन संस्कृतिको उत्थानमा सङ्घसंस्थाको योगदान

डा. भोलानाथ पोखरेल

१. प्रस्तावना
मानिसका दैनिक जीवनसँग सम्बद्ध सबै कुराहरू संस्कृतिभित्र पर्दछन् । संस्कृति समाजको त्यस्तो संघटना हो जसमा समाजका खानपान, रहनसहन, आचारविचार, चिन्तन मनन,  साहित्य सङ्गीत आदि सबै पर्दछन् । संस्कृतिलाई रचना गर्ने मानिस हो र मानिससँगै यो परिष्कृत हुन्छ र साथै मानिसलाई पनि परिष्कृत तुल्याउँछ । संस्कृत भाषामा संस्कृति शब्दको अर्थ संस्कार वा परिष्कार भन्ने हुन्छ । बृहत् नेपाली शब्दकोशले यसको शाब्दिक अर्थ कुनै वस्तुलाई परिमार्जन गरेर चम्किलो, उज्यालो र निखुट बनाउने काम हो भन्ने दिएको छ । संंस्कृतिको अनुकरण गर्नाले मानिस सुसंस्कृत हुन्छ । सामान्य अर्थमा राम्रो व्यवहारलाई संस्कृति भनिन्छ जुन सामूहिक विश्वासमा आधारित हुन्छ । वास्तवमा संस्कृतिसँग संस्कार, साहित्य, कला, सङ्गीत, आचार बेवहार बौद्धिकता आदि गाँसिएर आएका हुन्छन् । त्यसैले संस्कृति सामाजिक जीवनको उच्चतम चेतना हो जो भाषा, साहित्य, कला आदिका माध्यमले प्रकट भएको हुन्छ । संस्कृतिभित्रै संस्कार,चाडपर्व, जात्रा, वाद्य वादन, नृत्य, गाना, अभिनय, साहित्य आदि पर्दछन् । यी वस्तुहरूबाट मानिसहरूले सौन्दर्यानुभूति र मनोरञ्जन प्राप्त गर्दछन् । त्यसैले संस्कृतिको भौतिक रूप र परिणाम देख्न अनुभव गर्न सकिन्छ (रेग्मी, २०६६ ः १४५) । लामो समयका क्रममा निर्माण भएका कतिपय संस्कृतिहरू समयानुकूल नहुनाले हराएका छन् हराउँछन्, जसलाई जोगाउन  सकिँदैन । पुराना संस्कृतिहरू जो प्रयोगमा आएका छैनन् ती प्रतीकका रूपमा आउन   सक्छन् । यसको अर्थ संस्कृतिको अन्त्य भएको भने होइन । कतिपय मानिसहरू धार्मिक रूढि, अन्धविश्वास, जातपात, छुवाछुत, उचनीच आदिको भेदभावलाई पनि संस्कृति  भन्दछन् । वास्तवमा त्यस्ता समाजलाई हानि नोक्सानी पु¥याउने प्रचलनहरू संस्कृतिका नाउँमा विकृति मात्र हुन् । माक्र्सवादी चेतनाका दृष्टिले संस्कृति राजनीतिलाई डो¥याउने आधार हो । संस्कृतिको अस्तित्व समाजसँग गाँसिएर आएको हुन्छ र समाजको विकाससँगै संस्कृतिको परिवर्तन एवम् विकास हुँदै जान्छ । त्यसैले संस्कृतिभित्र जीवन शैली, खानपान, रहनसहन, जातीय रीतिथिति, सामूहिकताको बोध आदि पर्दछन् । समाजका नीति नियम, व्यक्तिका स्थापित बानी बेहोरा, आचरण आदि संस्कृतिका विषय वस्तु हुन् । कुनै पनि संस्कृतिका आआफ्ना विशेषता हुन्छन् । उदाहरणका रूपमा तराईको भात र रोटी खाने संस्कृति र हिमाली प्रदेशको ढिँडो, रोटी खाने संस्कृति सबैको आआफ्नो महत्त्व छ । समान महत्त्वका विकसित रूप मानिन्छन् । मगर समाजमा रक्सीलाई स्वीकार गर्ने संस्कृति छ भने ब्राह्मण परिवारमा रक्सी निषेधको संस्कृति छ । वास्तवमा यी दुबै संस्कृति आआफ्ना जातिका महत्त्वपूर्ण निधि हुन् ।

जन साहित्य भन्नाले जन साधारणले बुझ्ने भाषामा जनताको उत्थानका निमित्त लेखिएको जनपक्षीय साहित्य हो । माक्र्सवादी सिध्दान्तमा आधारित कला र साहित्यका मूल्यहरूमा पूँजीवादका कुप्रभावको विरोध गर्ने प्रगतिशील एवम् प्रगतिवादी साहित्य जन साहित्यको उच्च रूप हो । बृहत् नेपाली शब्दकोशमा जन साहित्यको अर्थ देशको अधिकतम जनताका अवस्थालाई चित्रण गर्ने र तिनको उत्थानमा सन्देश दिने जन साधारणका भाषामा लेखिएको साहित्य हो (पोखरेल र अन्य, २०४० ः ४७१) भनिएको छ ।

मानव जातिले भौतिक र मानसिक श्रमबाट सिर्जना गरेका सबै मूल्यवान् वस्तुहरू संस्कृतिभित्र पर्दछन् (चापागाईं, २०५९ ः १) । त्यसैले समाज विकासका लागि संस्कृतिले महत्त्वपूर्ण काम गरेको हुन्छ ।  कुनै पनि समाजको संस्कृति त्यस समाजको साझा सम्पत्ति हो । साझापन हुनु संस्कृतिको महत्त्वपूर्ण विशेषता हो । शिक्षा, संस्कार, सदाचार, साहित्य, सङ्गीत, नृत्य, कला, कानुन, कर्मकाण्ड आदि सबै संस्कृतिकै अङ्ग हुन् । जन्म संस्कारदेखि मृत्यु संस्कारसम्मका सबै सामाजिक कार्यहरू संस्कृतिभित्र समेटिन्छन् । त्यसैले मानिस मात्र त्यस्तो प्राणी हो जसले भौतिक अभौतिक संस्कृतिको निर्माण गर्दछ । संस्कृतिको परिचय हामी कुनै पनि देशको भाषा, साहित्य कला, गीत, नाच, लवाइ, खवाइ आदिमा पाउन सक्छौं । ज्ञानको विकास सरलबाट जटिलतर्फ अघि बढे जस्तै संस्कृतिको विकास पनि यसै किसिमले अगाडि बढ्छ ।

प्रगतिशील र प्रगतिवादी साहित्य जन साहित्यका उन्नत अवस्था भएकाले तिनका बारेमा केही चर्चा गर्नु उपयक्त नै हुने छ

२. प्रगतिशील एवम् प्रगतिवादी साहित्य
२.१ प्रगतिशील साहित्य
प्रगतिशीलताको अर्थ सामाजिक प्रगतिमा विश्वास राख्ने धारणा हो । यो विकासवादी दृष्टिकोण भएर पनि विकासको वास्तविक आधार ठम्याउन नसक्ने अवस्था पनि हो । प्रगतिशीलता जातीय विभेद जस्ता कुराको विरोध  गरेर तथा छुवाछुत विरूद्ध गएर पनि मानवको वर्गीय चरित्र ठम्याउन असमर्थ भएको हुन्छ (प्रभात, २०६३ ः ११) । यो माक्र्सवादबाट स्वतन्त्र रहँदै सुधार र परिवर्तनको कामनामा सीमित रहन्छ । समाजमा भएका अन्याय, अत्याचार, शोषण, दमन, अन्धविश्वास आदिको विरोध गर्दै सामाजिक परिवर्तनका निमित्त सहयोग गर्ने, अग्रगतिका विरोधी प्रतिगामीहरूसँग साँठगाँठ नगर्ने र प्रतिगमनका विरोधमा रहने प्रवृति नै प्रगतिशील प्रवृत्ति हो । समाजलाई वैज्ञानिक किसिमले रूपान्तरण गरेर समुन्नत समाज स्थापना गर्ने माक्र्सवादी चिन्तन पध्दतिसँग समाहित भइ नसकेको अवस्था नै प्रगतिशीलताको अवस्था हो (पोखरेल, २०६० ः १९) । प्रगतिशील साहित्यिक स्रष्टा माक्र्सवादी चिन्तन पध्दतितिर उन्मुख हुन्छन् । यस्ता साहित्यकारहरूले समाजलाई यथास्थितिमा राख्ने प्रवृत्तिको विरोध गर्दछन् । त्यसैले प्रगतिशील भन्नाले जीवन जगत्को परिवर्तनको निरन्तरतामा विश्वास गर्ने प्रतिगमनको विरोधी, अग्रगमनका कारक तत्त्वको सहयोगी साहित्यिक प्रवृत्ति भन्ने बुझिन्छ । प्रगतिशीलताका पनि अग्रगामी, अनुगामी र ढुलमुले जस्ता उपप्रवृत्तिहरू देखिन्छन् ।

२.२ प्रगतिवादी साहित्य
प्रगति शब्दसँग ‘वाद’ जोडिएर प्रगतिवाद शब्द बनेको छ । यस शब्दको अर्थ उन्नति वा विकास हो जसलाई राम्रोसँग अगाडि बढ्ने क्रिया हो भन्न सकिन्छ । ‘वाद’ को अर्थ दर्शनसँग सम्बन्धित हुनाले प्रगतिवाद शब्दको अर्थ विशिष्ट हुन गएको छ । त्यसैले प्रगतिवादी भन्नाले सोचाइले दार्शनिक सीमा ग्रहण गरेको अवस्था हो । प्रगतिवाद भन्नाले माक्र्सवादी वा द्वन्द्वात्मक भौतिकवादमा आधारित साहित्य सिद्घान्त भन्ने बुझिन्छ । माक्र्सवाद जीवन जगत्को वैज्ञानिक किसिमले व्याख्या गर्ने र जीवन जगत्लाई बदल्न चाहने, जीवन जगत्का परम्परागत नराम्रा स्वरूपलाई बदलेर नयाँ रूप दिन चाहने दर्शन हो (गौतम, २०४९ ः २८) । यस कारण माक्र्सवादी दर्शन भौतिकवादी दर्शन हो । साहित्यमा जसलाई प्रगतिवाद भनिन्छ, त्यो माक्र्सवादकै साहित्यिक अवतरण हो । मानव समाजको इतिहास वर्ग सङ्घर्षयुक्त छ र त्यस वर्ग सङ्घर्षमा सर्वहारा तथा आम श्रमजीवी वर्गको पक्ष लिने, शोषण, उत्पीडन, दमन, अन्याय, अत्याचारका विरुध्द विद्रोही क्रान्तिको आह्वान गर्ने साहित्य नै प्रगतिवादी साहित्य हो (भण्डारी, २०५५ ः २५)।े  त्यसैले प्रगतिवादले नवीन समाज सिर्जनाका निमित्त सहयोग गर्दछ । यो समाजको उत्तरोतर प्रगतिमा विश्वास राख्तै अगाडि बढ्ने दार्शनिक सोचाइको सीमा ग्रहण गरेको अवस्था हो । माक्र्सवादी वैज्ञानिक चिन्तन पद्घतिको माध्यमबाट समाजलाई अध्ययन गर्ने र यसलाई व्यवस्थित रूपले परिवर्तन गर्ने क्षमता प्रगतिवादमा हुन्छ । प्रगतिवादी साहित्यकार आफ्नो दृष्टिकोणमा प्रतिबद्घ र माक्र्सवादी दर्शन लागु गर्ने सङ्गठनको अनुशासनमा बाँधिएको हुन्छ ( भण्डारी र अन्य, २०५७ ः ३४) । वास्तवमा श्रमजीवी जनताप्रति सम्मान, सामूहिक भावनाको विकास र सिङ्गै देश र समाजको उत्थान गर्ने खालको साहित्य कला नै प्रगतिवादी साहित्य हो । प्रगतिवादी भन्नु समाजवादी यथार्थवाद नै हो । यथार्थलाई इमानदारीपूर्वक विकास क्रमको सापेक्षतामा व्याख्या विश्लेषण गर्नु समाजवादी यथार्थवादको मूल विशेषता हो, जसले पुँजीवादी विकृतिहरूको आलोचना र भन्डाफोर गर्दछ । नेपाली साहित्यमा माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्ग दर्शक सिद्घान्त मान्ने प्रतिस्पर्धी वा बहुलवादी सिर्जनात्मकता एकातिर छ भने अर्कातिर माक्र्सवाद ,लेनिवाद, माओवाद र प्रचण्डपथलाई मार्गदर्शक सिद्घान्त मान्ने कट्टरता छ (पोखरेल, २०६७ ः ६) । अतः छोटकरीमा भन्दा प्रगतिवाद भन्नाले यथार्थवादको उच्च, उन्नत र परिष्कृत मान्यता हो । यथार्थवादले माक्र्स, एङ्गेल्सका द्वन्द्वात्मक भौतिकवादी मान्यता प्राप्त गरेपछि यथार्थवाद पुनः निर्माण र परिष्कार हुन पुग्छ । यही परिष्कृत यथार्थवाद नै प्रगतिवाद हो ।

२.३ प्रगतिशील एवम् प्रगतिवादी साहित्यमा भिन्नता
सामान्य प्रगति वा उन्नतिका तात्पर्यमा प्रगतिशीलता बुझिन्छ भने प्रगतिवादी साहित्यले द्वन्द्वात्मक वा ऐतिहासिक भौतिकवादमा आधारित साहित्य बुझाउँछ । यसैले यी दुई साहित्य समान धर्मका हुँदाहँुदै पनि फरक छन् । प्रगतिशील साहित्यले समाजमा रहेका शोषण, दमन, अन्याय, अत्याचार, रूढिवादी धारणा, असमानता आदि समाजका विद्यमान विकृतिहरूको विरोध गरे तापनि दृष्टिकोणको ढुलमुलपनबाट मुक्त भएको हुँदैन । समग्र विकासका सन्दर्भमा यो सुधारात्मक अग्रगमनको पक्षधर हुन्छ । लेखक ईश्वरवादी भए पनि उसले सिर्जना गरेका रचनाहरू सामाजिक रूपमा प्रगतिशील बन्न पुग्छन् (प्रभात, २०६३ ः १४,१५) । प्रगतिशील साहित्यलाई जनवादी साहित्य, लोकतान्त्रिक साहित्य र जनपक्षीय साहित्य पनि भन्ने गरेको पाइन्छ । प्रगतिवादी साहित्यले भने ईश्वरप्रति विश्वास राख्तैन र सबै खाले धार्मिक सम्प्रदायको विरोध गर्दछ । यस्तो साहित्य वैज्ञानिक समाजवादको पक्षधर हुन्छ र निरन्तर आशामा अघि बढ्छ । यसको साम्यवादी समाजको परिकल्पनालाई साकार पार्ने लक्ष्य हुन्छ । त्यसैले प्रगतिशील गुण र प्रगतिवादी मान्यताबिचको भेदलाई अलग अलग ढङ्गले हेर्नु आवश्यक छ ।

३. नेपाली साहित्यमा सङ्गठित लेखनको परम्परा
नेपाली साहित्यमा सङ्गठित लेखनको परम्पराको थालनी मोतीराम भट्ट (१९२३–१९५३)बाट भएको पाइन्छ । यस लेखको उद्देश्य सङ्गठित रूपमा जन साहित्यको विकास क्रम औंल्याउनु भए तापनि पूर्व प्रसङ्गका रूपमा नेपाली साहित्यमा सङ्गठित लेखन परम्पराको थालनीलाई यहाँ सङ्क्षिप्त चर्चा गर्नु आवश्यक ठानिन्छ ।

नेपाली साहित्यको विकास गर्ने हेतुले सङ्गठित रूपमा साहित्यको सिर्जना गर्ने पहिलो संस्था मोती मण्डली नै थियो । यसले नेपालीमा लेख्ने कवि लेखकहरूलाई जम्मा गरेर कविता रचना गर्ने गराउने तथा सुनाउने, छलफल टीका टिप्पणी गर्ने गराउने, समस्यापूर्ति गर्ने गराउने परम्परा बसालेको देखिन्छ । एक्लै होइन सामूहिक रूपले अगाडि बढे मात्र नेपाली साहित्यको विकास हुन्छ भन्दै अगाडि बढेका मोतीरामले पहिले बनारसमा र त्यसपछि काठमाडौंमा मोती मण्डली गठन गरेर नेपाली साहित्य लेखनको सामूहिक अभियान सञ्चालन गरेका थिए । वनारसको मोती मण्डली (१९३८)मा मोतीराम भट्ट, तेज बहादुर राना, पद्म विलास पन्त, काशीनाथ शर्मा, रङ्गनाथ र चेतन सिंह थिए भने त्यसपछि काठमाडौंमा गठन भएको मोती मण्डली (१९४८ तिर)मा मोतीराम भट्ट, राजीवलोचन जोशी, लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, नरदेव पाण्डे, तीर्थराज पाण्डे, अमजद हुसैन थिए (शर्मा, २०३९ ः ५३) । यसरी एक्लै होइन सामूहिक रूपले अगाडि बढे मात्र नेपाली साहित्यको विकास हुन्छ भन्दै  बनारस र काठमाडौंमा मोती मण्डली गठन गरेर नेपाली साहित्यको अभिवृद्घि गरेका थिए । यही मोती मण्डलीका सदस्य मोतीराम भट्टले बनारसमा छँदा नेपाली पुस्तकहरू प्रकाशित गरे । उनले काठमाडौंमा पनि कृष्णदेव पाण्डेसित मिलेर मोतीकृष्ण धीरेन्द्र कम्पनी (१९४५) प्रकाशन संस्था खोलेर पुस्तकहरू प्रकाशित गरेका थिए । पछि पशुपति छापाखाना (१९५०) पनि खोलिएको पाइन्छ । यसरी साहित्यको विकासका निमित्त छापाखाना एवम् कम्पनी सञ्चालन गरेर पुस्तकहरू प्रकाशित गर्नु र प्रकाशित पुस्तकहरूको मूल्याङ्कन र विश्लेषण गर्नु पनि सङगठित प्रयत्नकै प्रतिफल हो । यसपछि बनारसकै रसिक समाज (१९६२÷६३)ले सुन्दरी (१९६३) पत्रिका प्रकाशित गरेको थियो (शर्मा, २०६४ ः ११) जुन पत्रिकाका माध्यमबाट विभिन्न रचनाहरू प्रकाशित भएका देखिन्छन् । रसिक समाजले गरेको यस कार्यलाई जनस्तरबाट भएको दोस्रो साङ्गठनिक प्रयास मानिन्छ । यस कार्यमा खास गरेर देवीदत्त पराजुली (१९२९–२०१०), सोमनाथ सिग्देल (१९४१–२०२९), चक्रपाणि चालिसे (१९४०–२०१४), दुर्गा प्रसाद घिमिरे आदि संलग्न रहेको पाइन्छ । काठमाडौंमा भने जोगवीर सिंह कंसाकारको घरमा उनकै अग्रसरतामा जोग मण्डली (१९६७) सञ्चालित भएको देखिन्छ, जसले नेपाली र नेवारी भाषामा रचना लेख्न एवम् लेख्ने प्रेरणा दिने काम गरेको भेटिन्छ (प्रभात, २०६३ ः ३१) ।

साहित्यको संस्थागत विकास गर्ने क्रममा गोरखा भाषा प्रकाशिनी समिति (१९७०)को स्थापना हुनु अर्को मत्त्वपूर्ण पाइला हो । यस संस्थाबाट गोरखा पहिलोको मूल्याङ्कन (१९७२) र दुर्गाभक्त तरङ्गिणी नाटकको समालोचना (१९७३) जस्ता रचनाहरू प्रकाशित भएका छन् (शर्मा, २०३९ ः ७७) । यस संस्थाबाट प्रकाशित हुने रचनाहरू चन्द्र शमशेरको सेन्सर बोर्डले स्वीकृति दिएपछि मात्र प्रकाशित हुन्थे । यस समितिमा सत्तामुखीको नेतृत्व राममणि आदिबाट र विपक्षको नेतृत्व जयपृथ्वी बहादुर सिंहबाट भएको देखिन्छ । यसै गरेर नेपाली साहित्यका पुस्तकहरूको प्रकाशन गर्ने उद्देश्यले सूधपाको सक्रियतामा नेपाली साहित्य सम्मेलन (१९८१) नामक संस्था पनि स्थापित भएको देखिन्छ । यसै क्रममा काठमाडौंमा भाषा परिषद् (१९९४) को स्थापना हुन पुग्छ । यस परिषद्ले अङ्ग्रेजी नेपाली शब्दकोश, उखान टुक्का सङ्ग्रह र नेपाली व्याकरण जस्ता कृतिहरू प्रकाशित गरेको छ । निजी क्षेत्रमा रत्न पुस्तक भण्डार (२०००), साहित्य परिषद्(२००४) गठन भएर यी संस्थाहरूबाट पुस्तक एवम् पत्रिकाहरू प्रकाशित हुन थाल्छन् । साहित्य परिषद्ले २००४ जेठ १५,१६ र १७ गते बृहत् कवि सम्मेलन आयोजना ग¥यो जुन नेपाली साहित्यको इतिहासमा पहिलो राट्रिय सम्मेलन हुन गएको छ (प्रभात, २०६३ ः २३) ।

चन्द्र शमशेरका पालामा स्थापित गोर्खा भाषा प्रकाशिनी समिति (१९७०) पछि गएर नेपाली भाषा प्रकाशिनी  समिति बन्दै २०२१ सालमा आएर साझा प्रकाशनका नाममा परिवर्तित भएको छ । नेपाली भाषा साहित्यको अभिवृद्घि गर्ने उद्देश्यका साथ स्थापित यस संस्थाले स्थापना कालदेखि नै मत्त्वपूर्ण भूमिका खेल्दै आएको छ (शर्मा, २०३९ ः २५०) । वर्तमान समयमा आएर यसले राष्ट्रभरिका विद्यालयीय पाठ्य पुस्तकहरू विक्री वितरण गर्नुका साथै आपूmले वर्षभरि प्रकाशित गरेका रचनाहरूमध्ये श्रेष्ठलाई हरेक वर्ष पुरस्कार पनि दिँदै आएको छ ।

निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र ल्याउने अभियानमा लागेका कैयौँ नेपाली योद्घाहरू सहिद बन्न पुग्छन् । १९९७ सालको सहिद पर्वबाट  सहिदहरूले देखाएको त्याग, बलिदान र साहसबाट प्रभावित भएर लक्ष्मी प्रसाद देवकोटा, सिध्दि चरण श्रेष्ठ, गोपाल प्रसाद रिमाल, युद्घ प्रसाद मिश्र जस्ता साहित्यकारहरूले जन साहित्यको सिर्जना गरेका छन् । यसै क्रममा लक्ष्मी नन्दन चालिसे (१९७०–२००२) ले बी.ए.को उत्तर पुस्तिकामा नपुंसक राणा लेखेका हुनाले निरङ्कुश राणातन्त्रले उनलाई ठिँगुरा ठोकी उनको जीवनलाई अन्त्य गरि दिएको थियो । नेपालमा यो काण्ड नपुंसक राणापर्व (१९९८) का नामले परिचित छ । यस पर्वका नायक कवि चालिसे क्रान्तिचेत भएका कवि भएको प्रमाण उनका उद्योग (१९९२) पत्रिकामा प्रकाशित लब्धे बौलाहा र प्रार्थना शीर्षक कविताहरूमा भएको विद्रोह चेतबाट प्रमाणित हुन्छ (शर्मा, २०४६ ः ४२,४३) । यस कालका कल्पवृक्ष प्रकाशन जस्ता साहित्यिक सङ्गठनहरू उलेख्य छन् (प्रभात, २०६३ ः २६) । यसै बिचमा विभिन्न सङ्घसंस्था क्लबहरूले विविध खालका रचनाहरू प्रकाशित गरेर नेपाली साहित्यको भण्डार पुष्ट गर्दै आएका छन् । यसरी यी संस्थाहरूले छिटपुट रूपमा भए तापनि प्रगतिशील एवम् प्रगतिवादी पुस्तक, पत्र पत्रिकाहरू प्रकाशित गरेर जन साहित्यको विकासमा मत्त्वपूर्ण योगदान गरेका छन् ।

४. जन साहित्यको विकासमा संघसस्थाको योगदान
नेपालमा जन साहित्यको विकासमा विभिन्न समयमा विभिन्न सङ्घसंस्थाहरूले मत्त्वपूर्ण योगदान दिँदै आएका देखिन्छन् । समयक्रम अनुसार जन साहित्यको विकासमा विभिन्न सङ्घसंस्थाहरूले निर्वाह गरेका भूमिकालाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ः

४.१ प्रारम्भिक योगदान २००६ सालदेखि २०४५ सालसम्म
राणाकालमा निरङ्कुश तन्त्रको अन्त्यका निमित्त नेपाली जनता एकातिर राजनीतिक सङ्गठनहरू स्थापित गर्दै आएका थिए भने अर्कातिर साहित्यकारहरू विभिन्न सङ्घ सङ्गठन एवम् पुस्तकालयहरू खोलेर, पत्रिका एवम् किताबहरू प्रकाशित गरेर जन चेतनाको अभिवद्घि गर्दै आइ रहेका थिए । यसै क्रममा २००५ सालमा भारतको रक्सौलमा नेपालीहरूद्वारा जन प्रकाशनालय स्थापना गरिएको थियो । यस संस्थाले सर्वप्रथम लक्ष्मी प्रसाद देवकोटाको पहाडी पुकार कविता प्रकाशित गरेको देखिन्छ । यस प्रकाशनको मुख्य उद्देश्य प्रगतिशील क्रान्तिकारी विचार भएका मौलिक तथा अनूदित किताबहरू प्रकाशित गर्नु रहेको पाइन्छ । यस समयमा राजनैतिक व्यक्तिहरू पनि साहित्यतर्फ आकर्षित हुँदै आएका देखिन्छन् । यसै क्रममा श्रमजीवी जनताको सक्रियतामा नयाँ जनवादी नेपालको निर्माण गर्न नेपाल कम्युनिस्ट पार्टी (२००६) को स्थापना हुन्छ । यसको स्थापनाले माक्र्सवादी अध्ययनको गति तीव्र भएको पाइन्छ । यस अध्ययनबाट माक्र्सवाद सिर्जनात्मक वैज्ञानिक प्रयोग हो भनेर ज्ञात गर्ने पाठकहरूको सङ्ख्या बढ्दै जान्छ र वैचारिक अभियानसँगै सङ्गठित लेखन अघि बढाउन प्रगतिशील अध्ययन मण्डल पनि स्थापित हुन्छ । यस वादले कला साहित्यमा विशिष्ट खालको मार्ग दर्शन गर्ने हुनाले माक्र्सवादी साहित्य सिर्जनामा झन् प्रेरणा मिल्छ ।

यसै क्रममा हलो क्रान्ति (२००६) नामक एक अभियानले पनि नेपाली समाजमा नयाँ चेत ल्याएको छ । यस क्रान्तिमा ब्राह्मणहरूले हलो जोतेर परम्परित समाजका विरुद्घ देखा परेका छन् । बाहुनहरूले हलो जोत्न हुँदैन भन्ने परम्परालाई यस अभियानले विरोध गरेको छ । यस क्रान्तिबाट मौखिक लिखित साहित्य सिर्जना भएका छन् । यसै क्रान्तिबाट उब्जिएको केवलपुरे किसानको एउटा कविताको टुक्रा यस्तो छ ः

लामीडाँडा केवल पुरमा नयाँ पाइलो सारेँ
‘हलो जोत्न हुन्छ’ भन्दै गोरु मैले नारेँ
दुई हजार छ साल हो–फागुन हो मैना
तेइस गते बिहीवार तिथि थाहा छैन
गर्नु ग¥यो यो हलाले लेखी साध्य छैन
त्यो वेलाको चलनमा सानो कुरा होइन
(शर्मा, २०६४ ः ४७) ।

तत्कालीन समयमा जेलमा परेका प्रगतिशील एवम् प्रगतिवादी साहित्यकारहरू सङ्गठित हुँदै जेलभित्रै जन साहित्यको सिर्जना गर्न थाल्छन् । यसै क्रममा २००७ साल भदौ ९ गते नक्खु जेलमा श्याम प्रसाद शर्माको पहलमा जन साहित्य मण्डल खोलिएको पाइन्छ । नक्खु जेलमा नै प्रगतिशील तरmण नामक अर्को संस्था पनि क्रियाशील भएको भेटिन्छ (प्रभात, २०६३ ः २८) । साहित्यकार श्याम प्रसादकै अगुवाइमा वीरगन्जमा सेवा सदन नामक पुस्तक पसल खोलिन्छ । सो पुस्तक पसलबाट सेवा (२००८) नामक मासिक पत्रिका पनि प्रकाशित भएको छ (श्रेष्ठ र शर्मा, २०४० ः २४२) । यही पत्रिका नै नेपालको पहिलो प्रगतिशील पत्रिका मानिन्छ । यस पत्रिकाको दोस्रो अङ्कमा प्रगतिशील साहित्यका बारेमा चर्चा गरिएको छ । सेवा पत्रिकाको बनारस शाखा समेत खोलेर नेपाली साहित्यको विकास गरेको देखिन्छ । वि.सं. २००७ मा नै जयतु संस्कृतम् आन्दोलनका रूपमा  देखा पर्यो ।

२००९ साल असोज ५ गते साहित्यकार श्याम प्रसाद शर्माको अगुवाइमा वीरगन्जमा  प्रगतिशील लेखक सङ्घको स्थापना हुन्छ । यो संस्था स्थापना गर्नुको उद्देश्य जनवादी साहित्यको प्रचार प्रसार गर्ने हो भन्ने उल्लेख यसको पहिलो अपिलमा भनिएको छ । श्याम प्रसाद शर्माबाट हस्ताक्षरित यस अपिलमा देशको उन्नति गर्नका लागि लेखकहरूलाई केन्द्रीय रूपमा सङ्गठित गर्न पनि यो संस्था खुल्न गएको हो भन्ने उल्लेख छ । यही पर्चा प्रलेसको पहिलो दस्तावेज बन्न पुगेको छ । अहिलेको प्रगतिशील लेखक सङ्घ उपर्यृुक्त सङ्घकै निरन्तरताको उत्तराधिकारी संस्था हो (भण्डारी र अन्य, २०५७ ः ३२) । यसै संस्थाका माध्यमबाट श्याम प्रसाद शर्माले स्रष्टाहरूलाई लेखन कलाका बारेमा ज्ञान दिँदै लेखक कसरी बन्ने ? भन्ने पुस्तिका पनि प्रकाशित गर्दछन् । यस पुस्तकको विमोचन युद्घ प्रसाद मिश्रबाट भएको थियो । प्रगतिशील लेखक सङ्घको स्थापनापछि यसको विकास यात्रा निरन्तर अघि बढ्दै आएको पाइन्छ । प्रलेस सङ्गठित लेखन परम्परामा वैचारिक प्रतिबद्घताका साथ अगाढि बढ्दै आएको छ । यसले सुरुमा पत्र पत्रिका प्रकाशनमा प्राथमिकता दिएको भए तापनि आज आएर व्यवस्थित ढङ्गले पत्रिका प्रकाशन, साहित्यिक छलफल, पुस्तक प्रकाशन, रचनाको विवेचन जस्ता कार्यहरूमा जोड दिँदै आएको छ । जन साहित्यकै विकासका क्रममा सन् १९५२ जनवरीमा प्रगतिशील अध्ययन मण्डल काशीद्वारा प्रकाशित कमरेड जाने होइन ? नामक प्रगतिवादी कथा सङ्ग्रह प्रकाशित भएको छ । कथात्मकताका दृष्टिले परिष्कारको आवश्यकता पर्ने यी प्रगतिवादी कथाहरू महत्त्वपूर्ण छन् । यसै क्रममा हृदय चन्द्र सिंह प्रधानको सम्पादकत्वमा प्रकाशित साहित्य स्रोत (२००४) र जन चेतना (२०११) भवानी प्रसाद शर्माद्वारा सम्पादित जनयुग (२००९), नारायण बास्कोटाद्वारा सम्पादित प्रगति (२०१०), श्याम प्रसादको सम्पादनमा जनमत साप्ताहिक (२०१०) ,पुष्कर शमशेर, बालकृष्ण सम आदिको संलग्नतामा जन साहित्य (२०११), ईश्वर बराल र भवानी भिक्षूको सम्पादनमा इन्द्रेणी (२०१३), श्याम प्रसादकै प्रकाशकत्वमा स्वास्नीमान्छे (२०१५), सत्यमोहन जोशीद्वारा सम्पादित निर्माण (२०१६), पुष्पलालद्वारा सम्पादित कम्युनिष्ट पाक्षिक आदि साहित्यिक पत्रिकाहरू मत्त्वपूर्ण छन् (प्रभात, २०६३ ः ५०) । यी पत्रिकाहरूमा प्रकाशित लेख रचनाहरूले नेपाली साहित्यमा प्रगतिवादी चिन्तनलाई स्थापित गर्न मद्दत पु¥याएका छन् । यस्तै अन्य पत्रिकाहरूमा सङ्कल्प, वेदना, हिमाली आवाज, जस्केलो, छात्रप्रभा, उजेली, बिगुल, द्यौराली, मुक्तिज्वाला, पञ्चामृत, लालुपाते, आवाज, घोषणा, अनुभूति, नौलो हाँक, हलकारा, सेरोफेरो, कटिबद्घ, उत्साह आदि पत्रिकाहरूले पनि जन साहित्यको विकासमा विभिन्न रचनाहरू प्रकाशित गरेर मत्त्वपूर्ण भूमिका खेलेका छन् । यसरी पुस्तक एवम् पत्र पत्रिकाहरूमा प्रकाशित प्रगतिशील रचनाहरूले सुरुदेखि नै प्रतिक्रियावादीहरूसँग जुद्घै र जनताका न्यायोचित सङ्घर्षहरूलाई समर्थन गर्दै आएका छन् । यसरी प्रकाशित हुने पत्रिकाहरूका माध्यमबाट प्रगतिशील एवम् प्रगतिवादी रचनाहरूले प्रकाशित हुने अवसर पाएका छन् । यसै क्रममा २०१०÷११ सालतिर काठमाडौंमा जन सहित्यिक सङ्घ नामक संस्था खुल्छ । यस संस्थाले दुई महिने पत्रिका जन साहित्य (२०११) प्रकाशन गरेको देखिन्छ । यसै गरी जन सांस्कृतिक सभा नामक सङ्गठित संस्थाले नौलो पाइलो (२०१३) त्रैमासिक पत्रिका पनि प्रकाशित गर्दछ । यस पत्रिकाले झर्रो आन्दोलनको गतिलो स्तम्भको काम गरेको छ । जन सांस्कृतिक सभाका केही शाखाहरू उपत्यका बाहिर पनि खुलेका देखिन्छन् । यसका विभिन्न शाखाहरूमध्ये चैनपुर शाखाले केही पुस्तकहरू पनि प्रकाशित गरेको पाइन्छ (प्रभात, २०६३ ः २४) । यसै क्रममा २०१७ सालमा राजा महेन्द्रबाट तानाशाही शासन सुरु गरेपछि सम्पूर्ण राजनीतिक पार्टीहरू लगायत सङ्घसंस्थाहरू प्रतिबन्धित हुन्छन् तर पनि अन्तर्विरोध, प्रतिरोध र परिवर्तन हुने क्रमलाई यस व्यवस्थाले पनि रोक्न सकेन । साहित्य संगम आठराई(२०२३), नेपाली साहित्य परिषद्, धरान,(२०२३), रेलिमै सांस्कृतिक मण्डल , बुटवल(२०२४), सिद्धार्थ साहित्य परिषद्, भैरहवा आदि सङ्घसंस्था क्रियाशील रहेका देखिन्छन् ।  युद्ध प्रसाद मिश्र, मोदनाथ प्रश्रित, मदन भण्डारी आदिले नेपाली जनवादी क्रान्तिकारी  सांस्कृतिक  सङ्घमा सङ्गठित रहेर मुक्तिमोर्चाका साथै विभिन्न प्रकाशनका माध्यमबाट  योगदान गरे । मोदनाथ प्रश्रित सहितको पचास रुपैयाँको तमसक(२०२८), देवासुर सङ्ग्राम २०३०), देशभक्त लक्ष्मीवाई (२०३१),जीवाणुदेखि मानवसम्म (२०३२), आमाको काखमा (२०३२),नारी ः बन्धन र मुक्ति(२०३३) वैचारिक विकासको सन्दर्भमा लक्ष्मी प्रसाद देवकोटा (२०३३), यद्ध प्रसाद मिश्रका  मुक्त सदामा (२०२९), बाढी (२०२९) यसैै वेला प्रकाशित भए ।

२०३० को दशकमा बाग्मती, लुम्बिनी, मेची, कोसी, नारायणी, गण्डकी आदि अञ्चलमा त व्यापक गतिविधि छँदै थिए, मध्य पश्चिममा पनि सांस्कृतिक गतिविधि बढे । नेकपा (पुष्पलाल समूह) मा सङ्गठित बुद्धिजीवी मोर्चाले वि.सं.२०३१ मा सुर्खेतमा सांस्कृतिक कार्यक्रम र पस्तकालय सञ्चालनका साथै विभिन्न सांस्कृतिक गतिविधि गरेको पाइन्छ । त्यहाँ जीवेन्द्र देव गिरी, महेन्द्र प्रसाद गिरी, लीलाधर गौतम, बालाराम शर्मा आदिको सक्रियता रहेको थियो ।  त्यतिखेर बाँकेमा पनि  केही ठाउँमा प्रगत्शिील नाटक मञ्चन भए ।दाङमा गोचाली परिवार र सन्देश परिवारको सक्रियता देखा पर्यो जसमा सगुनलाल चौधरी, महेश चौधरी , टीकाराम चौधरी आदि संलग्न थिए । त्यहाँ नेत्रलाल अभागी,नारायण प्रसाद शर्मा जस्ता साहित्यकार पनि देखा परे । नेपाली समाजमा रहेका कुपरम्परा, शोषण, दमन, अन्याय अत्याचारको विरोधमा यी आन्दोलन जन्मिएका हन् ।

राल्फा आन्दोलन(२०२४) र झापा विद्रोह (२०२८)ले जन संस्कृतिको उत्थानमा महत्त्वपूर्ण योगदान गरेका छन् ।  पहिले राल्फा आन्दोलन गायनसँग सम्बन्धित थियो भने पछि यसले साहित्यिक आन्दोलनको रूप लिएको पाइन्छ । यसको घोषणा भने रसायन (२०२७) पत्रिकामा प्रकाशित भएको पाइन्छ । यो आन्दोलन वामपन्थी चिन्तनबाट प्रभावित आन्दोलन नै हो । यस आन्दोलनसँग सम्बन्धित लेख रचनाहरू आक्रोश, मकालु, सङ्कल्प आदि पत्रिकामा प्रकाशित भएका पाइन्छन् । यस आन्दोलनबाट जन्मिएका कृतिहरूमा महत्ताहीन (२०२५), छेकुडोल्मा (२०२६), बैँसको मान्छे (२०३४), आदिम देश (२०२५), सडक र प्रतिभा (२०३२), राल्फाका गीतहरू आदि मुख्य छन् ( शर्मा, २०६४ ः ६५) । राल्फा आन्दोलनसँग आबद्घ पारिजात, निनु चापागाईं, रायन, रामेश, मञ्जुल आदिले आफ्ना नामका पछाडि राल्फा जोड्ने गरेको पनि पाइन्छ । यसै क्रममा चिनियाँ सर्वहारा सांस्कृतिक आन्दोलनको प्रभावमा भारतको पश्चिम बङ्गालमा नक्सालबाडी किसान आन्दोलन चर्किन्छ जसको प्रभाव नेपालमा पर्नु स्वाभाविक थियो । यसै क्रममा झापा, धरान, भक्तपुर, चितवन, पोखरा, दाङ र सुर्खेतमा सांस्कृतिक जागरणका नयाँ सङ्गठित रूपहरू देखा पर्छन् । थुप्रै युवा जमातहरू यस क्षेत्रमा अगाडि बढेका देखिन्छन् । यसरी नेपालमा प्रगतिशील साहित्यिक साङ्गीतिक आन्दोलन विकास हुँदै गएको पाइन्छ । कम्युनिस्ट पार्टी नयाँ किसिमले सङ्गठित र पुनर्गठित हुने क्रमसँगै सांस्कृतिक आन्दोलनमा पनि नयाँ किसिमका संगठनात्मक स्वरूपहरू देखा पर्न थाल्छन् ।

वि.संं २०३६ पछि प्रगतिशील लेखक कलाकार सङ्घ रघु पन्तको संयोजकत्वमा क्रियाशील हन्छ । साहित्य सन्ध्या, सडक कविता क्रान्ति जस्ता आन्दोलन सङ्गठित रूपमा अगि बढ्छन । साहित्य सन्ध्याको स्थापनामा अनिरूद्ध तिमसिना, गङ्गा प्रसाद उप्रेती, केशव प्रसाद उपाध्याय जस्ता साहित्यकारको विशिष्ट भूमिका रहेको छ । सुस्केरा, सङ्कल्प, वेदना, आस्था, पञ्चामृत, झिसमिसे, लहर, सङ्गम, सुधा जस्ता  पत्रिका प्रकाशित हन्छन् । पारिजातको नेतृत्वमा अखिल नेपाल राष्ट्रिय जन सांस्कृतिक सङ्घ (२०३८) निर्माण भयो । मोदनाथ प्रश्रितको नेतृत्वमा राष्ट्रिय जन सांस्कृतिक मञ्च (२०४४)  स्थापना हुनु अर्को महत्त्वपर्ण घटना हो । यसका संस्थापकमा अध्यक्ष मोदनाथ प्रश्रित, महासचिव रघु पन्त, सदस्यहरू जे.बी.टुहुरे, रामचन्द्र भट्टराई, राम प्रसाद प्रदीप, प्रचण्ड बहादुर बुढाथोकी, रविलाल अधिकारी, विजय सुब्बा, विष्णु प्रभात, नारायण ढकाल, त्रिरत्न शाक्य, श्यामलाल दिवाकर, मोहन श्रेष्ठ र रेख ब्लोन रहेका थिए । राष्ट्रिय जन सांस्कृतिक मञ्चले देशभरि आपm्ना  विविध गतिविधि सञ्चालन गरेर जन संस्कृतिको उत्थानमा विशेष योगदान गर्यो ।

४.२ जन आन्दोलन २०४६ र त्यसपछिको योगदान
२०४६ सालको जन आन्दोलन भन्नाले निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्घ नेपाली जनताले गरेको आन्दोलनलाई बुझाउँछ । यस आन्दोलनले जन सङ्गठनहरू विस्तार गर्दै खुल्ला रूपमा कार्यक्रम गर्न पाउने वातावरण ल्यायो । यस फराकिलो वातावरणमा सङ्गठनहरू निर्माण गर्ने र ती निर्माण भएका जन सङ्गठनहरूले कार्यक्रम गर्ने अवसर पाएका छन् ।

वि.सं.२०४६ कोे आन्दोलनमा राष्ट्रिय जन सांस्कृतिक मञ्चको विशिष्ट भूमिका रह्यो । यसले जन आन्दोलनमा ऊर्जा थप्न २०४६ पौष १५मा पञ्चायत विरोधी समूयका स्वरहरू शीर्षकको कविगोष्ठी आयोजना गर्यो । २०४६ माघ १८ मा प्रस्तावित जन आन्दोलनमा लेखक, कलाकार र बुद्धिजीवीहरूको दायित्व विषयक गोष्ठी आयोजना गर्न लाग्दा दमन गरियो । यसले २०४६ माघ २८ मा संयुक्त जन आन्दोलनका पक्षमा नैतिक, बौद्धिक र हार्दिक सहयोग  समर्थन जुटाउन लेखक कलाकारहरूको हस्ताक्षर अभियान सञ्चालन गर्यो । यसका शाखाहरू जिल्लाहरूमा पनि क्रियाशील छन् । यसले मेचीकाली, कर्णाली लगायत विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । वि.सं.२०६२÷२०६३ को आन्दोलनमा पनि यसको अग्रिम भूमिका रह्यो । प्रश्रितपछि रघु पन्त, प्रदीप ज्ञवाली र जे.बी.टुहुरेको नेतृत्व यसले पाएको थियो र अहिले  विजय सब्बाको नेतृत्वमा यो सञ्चालित छ । यसले आन्दोलन, पुस्तक, पत्रिका र क्यासेट प्रकाशन तथा गोष्ठी, गीति प्रस्तुति आदिका माध्यमबाट निरन्तर  गतिविधि गर्दै आएको छ ।

साहित्य सन्ध्याको अहिले ३०६ औँ शृङ्खला पुरा भएको छ । वासुदेव अधिकारीको विशेष अग्रसरता तथा राम विनयको नेतृत्वमा यो निरन्तर गतिशील छ । साहित्यिक आन्दोलनमा यसले आफ्न्ौ इतिहास बनाएको छ । युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठानले युद्ध प्रसाद मिश्रका कविताहरू, कृष्णराम श्रेष्ठ ः एक बहु आयामिक व्यक्तित्व, कुलमान सिंह भण्डारी स्मृतिग्रन्थ, जनक प्रसाद हुमागाईं ः स्रष्टा एक द्रष्टा अनेक, युद्ध प्रसाद मिश्रका कविताहरू जस्ता ग्रन्थ र युद्ध पत्रिकाको प्रकाशनका साथै गोष्ठीहरू सञ्चालन गर्दै आएको छ ।

यसै क्रममा राष्ट्रिय जनवादी सांस्कृतिक सङ्घ,इन्द्रेणी सांस्कृतिक समाज,नेपाल प्रगतिशील सांस्कृतिक सङ्घ, का्रन्तिकारी सांस्कृतिक सङ्रघ ,रक्तिम सांस्कृतिक परिवार,जनकला सृजना समाज जस्ता पार्टी सम्बद्ध सांस्कृतिक सङ्गठन तथा गण्डकी साहित्य सङ्गम, मध्य पश्चिमाञ्चल साहित्य परिषद्, प्रतिभा प्रवाह, भ्याली सांस्कृतिक सङ्गम, अभियान, अभ्युत्थान महिला समाज, सिस्नोपानी नेपाल जस्ता सांस्कृतिक संस्थाहरू निरङकुश राजतन्त्र विरूद्ध सक्रिय हुन्छन् । रक्तिम सांस्कृतिक परिवारले २०४६ सालको जन आन्दोलनमा जागरणमूलक गीत मार्फत क्रान्तिलाई सघाएको पाइन्छ । यस परिवारले २०४७ सालमा रक्तिमका गीतहरू प्रकाशनमा ल्याएको छ । ठुली गीति नाटक पनि यस परिवारले प्रस्तुत गरेको छ । २०६२÷६३ को जन आन्दोलनमा मत्त्वपूर्ण भूमिका खेल्ने यस परिवारले ४५ दिनको मेची  महाकाली सांस्कृतिक यात्रा पनि गरेको छ । २०६३ को परिवर्तनसँगै रक्तिम सांस्कृतिक अभियान गणतान्त्रिक अभियानमा सक्रिय भएको देखिन्छ ।

सांस्कृतिक क्षेत्रलाई सङ्गठित गर्दै लाने क्रममा २०४७ सालमा कृष्णसेन इच्छुकको संयोजकत्वमा शक्ति लम्साल, खुसीराम पाख्रिन, मणि थापा, हितमान शाक्य, ऋषिराज बराल, पूर्ण घर्ती, अमर गिरी, आहुती, ताराकान्त पाण्डेय, घनश्याम ढकाल, नवीन राई आदि रहेको अखिल नेपाल जनवादी सांस्कृतिक सङ्घको निर्माण हुन्छ । २०४८ सालमा भएको भेलाले यसको नामबाट राष्ट्रिय शब्द हटाएको छ (बराल, २०६६ ः २१०) । गठन भएदेखि नै यो संस्थाले देशका विभिन्न भागमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसै क्रममा २०५९ साल जेठ १३ गते सङ्कट कालका नाममा चलाएको हत्या अभियानमा यस सङ्घका अध्यक्ष कृष्णसेन इच्छुकको हिरासतमै हत्या गरिन्छ । यस सङ्घले साहित्य एवम् साङ्गीतिक क्षेत्रलाई अभियानकै रूपमा अगाडि बढाउन २०४८ सालमा कलम को प्रकाशन र सामना परिवारको गठन गरेको पाइन्छ ।

साहित्यको विकासमा नेपाल एवम् प्रवासमा स्थापित विभिन्न प्रकाशन मण्डलले पनि पुस्तक एवम् पत्रिकाहरू प्रकाशित गर्न मत्त्वपूर्ण भूमिका खेलेका छन् । यी प्रकाशन संस्थाहरूमा प्रगतिशील प्रकाशन मण्डल (काशी र काठमाडौं), प्रगति प्रकाशन (काठमाडौं), जनप्रिय पुस्तक भण्डार (पाटन), सिर्जना प्रकाशन (पोखरा), जोशिलो प्रकाशन (नारायणगढ), कल्पवृक्ष प्रकाशन (काठमाडांै), प्रभात जन साहित्य परिवार (विराटनगर), पसिना प्रकाशन (लुम्बिनी), काठमाडौंकै लालीमा, पैरवी, नुनिलो, शृङ्खला, स्रष्टा, बालकोसेली , परिवेश आदि प्रकाशनहरूले थुप्रै कृतिहरू प्रकाशित गरेका छन् । २०३६ सालपछि थुप्रै स्रष्टाहरूले निजी रूपमा स्वयम् प्रकाशक रहेर प्रगतिशील एवम् प्रगतिवादी फुटकर रचना एवम् पुस्तकहरू प्रकाशित गरेका छन् । उदाहरणका रूपमा वामदेव पहाडीको कैदी र झ्यालखाना (२०३६), रामेशको सम्पादनमा निस्केको जनताका गीतहरू भाग– १–५ (२०३६ –४६), कृष्णदास श्रेष्ठको माक्र्सवाद चिन्हारी माला भाग–१ (२०३६–०४६), रमेश विकलको अविरल बग्छ इन्द्रावती (२०४०), पारिजातको अनिदो पहाडसँगै (२०३८), श्याम प्रसादको थुनुवाको डायरी (२०३८), जनक प्रसाद हमागाई्रंको गोरे घर्तीको सवाई(२०३२), भक्तबहादुर नेपालीको जेलभित्र (२०३८), मदनमणि दीक्षितको माधवी (२०३९),मोदनाथ प्रश्रितका सहिदको रगत(२०३९),  गोलघरको सन्देश(२०४०), भूतप्रेतको कथा(२०४१), सञ्जय थापाका खइते कडरिया(२०४०), पार्टीकी आमा(२०४२) देउमाईको किनारमा(२०४७), ऋषिराज बरालको प्रगतिवादी नेपाली उपन्यास(२०४०) हीरामणि शर्मा पौडेलको समालोचनाको बाटोमा (२०४१), रायनको सिम्मा (२०४१), राजेन्द्र सुवेदीको स्रष्टा सृष्टि ः द्रष्टा दृष्टि (२०४३), रविलाल अधिकारीको प्रगतिवादी नेपाली कविता (२०४४), विष्णु प्रभातको चिन्तन र सौन्दर्य (२०४६), सरोज ओलीको विद्रोह र मुक्ति (२०४८) आदि रहेका छन् । पत्र पत्रिकाहरूमा प्रगतिशील लेखक सङ्घको केन्द्रीय मुखपत्रका रूपमा प्रलेस र शाखाहरूबाट विभिन्न प्रकाशन भएका छन् । गण्डकी सङ्गम, जुही, जनमत, नौलो कोसेली, रातो थुङ्गा, शब्द संयोजन, शब्दाङ्कुर, भानु, शब्दसिन्धु, नव प्रज्ञापन लगायत अनेक पत्रिका सङ्गठित रूपमा प्रकाशित छन् ।

२०५२ सालमा सशस्त्र द्वन्द्व आरम्भ भएपछि तत्कालीन सरकारले लेखक, कलाकारहरूमाथि गरेको हत्याको विरोध गर्न अनेकोट काण्ड (२०५५) नामक संस्था स्थापित भएको पाइन्छ । २०६३ मा प्रगतिशील र प्रजातान्त्रिक स्रष्टाहरूले संयुक्त रूपमा प्रतिगमन विरूद्ध स्रष्टाहरूको आबाज अन्तर्गत सङ्गठित भएर काठमाडोैंका सडकहरूमा कविता वाचन गरे जसको अभिलेख राष्ट्रिय जन सांस्कृतिक मञ्चको संस्कृतिका पानामा संरक्षित छ । २०६२÷२०६३ को आन्दोलनमा लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च काठमाडौँ र काठमाडौँ बाहिर सक्रिय रह्यो । २०६३ सालमा गणतान्त्रिक सांस्कृतिक अभियान स्थापित हुन्छ । यस अभियानमा सामना सांस्कृतिक बटालियन, रक्तिम सांस्कृतिक परिवार, इन्द्रेणी सांस्कृतिक परिवार अदि संस्थाहरू संलग्न भएका देखिन्छन् । यस अभियानको बारेमा कलम पत्रिकामा प्रकाशित गणतान्त्रिक संस्कृतिका लागि पूर्ण प्रतिबद्घता आवश्यक शीर्षकमा वर्णन गरिएको छ (शर्मा, २०६४ ः १५९) । पुष्पलाल स्मृति प्रतिष्ठान, मदन भण्डारी फाउन्डेसन, कृष्णसेन इच्छक प्रतिष्ठान, मदन भण्डारी कला साहित्य प्रतिष्ठान आदिबाट पनि जन स्ांस्कृतिको उत्थानका कामहरू भइ रहेका छन् ।

जन साहित्यिक मञ्च, नेपालको गठन
साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो । यसले गतिशील यथार्थको उद्बोधन गर्दै समाजको समतामूलक रूपान्तरणको  लागि सहयोग प¥याउँछ । कला साहित्यका क्षेत्रमा वैज्ञानिक चेतनाले सुसज्जित समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व र पक्षपोषण गर्ने साङ्गठनिक रूपमा प्रतिबद्घ साहित्य सर्जकहरूको क्रियाशील राष्ट्रिय स्तरको सङ्गठन जन साहित्यिक मञ्च, नेपाल हो । यो मञ्च राष्ट्रिय जन सांस्कृतिक महासङ्घ अन्तर्गतकै नेतृत्वदायी साहित्यिक संस्थाको रूपमा रहेको विषयमा जन साहित्यिक मञ्च, नेपालको विधान–२०६६ को प्रस्तावनामा उल्लेख गरिएको छ । राष्ट्रिय जन सांस्कृतिक मञ्चको विगत २०६५ पुस १९ देखि २१ गतेसम्म सम्पन्न राष्ट्रिय  अधिवेशनबाट सो मञ्च राष्ट्रि महासङ्घमा परिणत भयो । यस अन्तर्गत जन साहित्यिक मञ्च, नेपाल, नेपाल ललित कला मञ्च, जननाट्य मञ्च, सामाजिक सांस्कृतिक अध्ययन मञ्च, राष्ट्रिय जन सङ्गीत मञ्च, जनपक्षीय चलचित्र कर्मी सङ्घ, भाषा तथा लोक साहित्य मञ्च रहेका छन् । आरम्भमा यी सबेै मञ्चबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय संयोजन समितिको गठन गरी त्यसको आयोजनामा एउटा भेला भएको पाइन्छ । त्यस भेलाले २०६६ वैशाख १९ गतेका दिन राम विनयको अध्यक्ष्।तामा ५ सदस्यीय जन साहित्यिक मञ्च, केन्द्रीय समिति र सल्लाहकार समितिको चयन गर्दछ । मञ्चको गठन भएको केही महिनापछि  डा.जीवेन्द्र देव गिरीलाई सो पदको जिम्मेवारी दिइन्छ । यस मञ्चको प्रथम राष्ट्रिय सम्मेलन २०६६ चैत्र २७ गते काठमाडौंमा भएको थियो । सम्मेलनबाट डा. जीवेन्द्र देव गिरीकै अध्यक्षतामा पुनः केन्द्रीय समिति एवम् सल्लाहकार समितिको चयन हुन्छ । यस संस्थाले गठन भएदेखि नै जन संस्कृतिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

सारांशमा भन्ने हो भने जन साहित्यको विकासमा अगाडिदेखि नै संघसंस्थाले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । १९९७ सालमा दशरथ चन्द, गङ्गालाल आदिसँग गाँसिएको सहिद काण्डले सांस्कृतिक चेतनालाई थप ऊर्जा दिएको देखिन्छ । नेपालमा सर्वप्रथम कम्युनिस्ट पार्टीको स्थापना भएपछि माक्र्सवादी अध्ययनको वैचारिक अभियानसँगै सङ्गठित लेखन परम्परा अगाडि बढाउन प्रगतिशील अध्ययन मण्डलहरू खुल्दै गएका देखिन्छन् । भारतमा बस्ने नेपालीहरूबाट सङ्गठित रूपले जन साहित्यको विकास गर्न थालेको समय यकिन गर्न नसकिए तापनि २००५ सालमा भारतको रक्सौलमा जन प्रकाशनालय स्थापना गरी सर्व प्रथम लक्ष्मी प्रसाद देवकोटाको पहाडी पुकार प्रकाशन गरेको देखिन्छ । यसपछि श्याम प्रसाद शर्माले जन साहित्यको विकासमा संघसंस्था खोलेर एवम् व्यक्तिगत रूपमा मत्त्वपूर्ण योगदान गरेको पाइन्छ । २०१५–१६ सालसम्म कलम चलाउने प्रगतिशील साहित्यकारहरूमा लक्ष्मी प्रसाद देवकोटा, हृदय चन्द्र सिंह प्रधान, युद्ध प्रसाद मिश्र, गोपाल प्रसाद रिमाल, श्याम प्रसाद, केवलपुरे किसान, गोकुल जोशी, भवानी घिमिरे,आनन्द देव भट्ट, गोविन्द भट्ट, गोविन्द लोहनी, बल्लभमणि दाहाल, कृष्ण प्रसाद श्रेष्ठ, चूडामणि रेग्मी आदिको भूमिका उल्लेखनीय छ । वि.सं.२०१७ पछि  भूमिगत र खुला रूपमा  जन साहित्यका गतिविधि  देखा परे । कम्युनिस्ट पार्टीसँग सम्बद्ध र अन्य अनेक सङ्घसंस्थाले यसको विकास गर्दै लगेका छन् । माथि विभिन्न प्रसङ्गमा उल्लिखित साहित्यकारहरूका अतिरिक्त मोहन विक्रम सिंह, शान्तदास मानन्धर, मुक्तिनाथ शर्मा, हरि बहादुर श्रेष्ठ, खगेन्द्र सङ्ग्रौला, गङ्गा प्रसाद उप्रेती, रुद्र खरेल, अग्नि शिखा, लेखनाथ ज्ञवाली आदिका साथै अनेकयुवा पुस्ताका सिर्जनाबाट जन साहित्य लाभान्वित छ । जन साहित्यको विकासमा पत्र पत्रिकासँग सम्बन्धित संस्थाहरूले पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । यसरी निरन्तर रूपमा जन साहित्यको विकासमा पत्र पत्रिकाको योगदान रहँदै आएको र भविष्यमा पनि रहि रहने देखिन्छ ।

सन्दर्भ सामग्री सूची
गौतम, देवीप्रसाद ,२०४९, प्रगतिवाद ः परम्परा र मान्यता, काठमाडौं ः श्रीमती मुना गौतम ।
चापागाईं, निनु ,२०५९, सन्दर्भ ः संस्कृति र सांस्कृतिक रूपान्तरण. काठमाण्डौं ः विवेक सिर्जनशील प्रकाशन प्रा. लि
पोखरेल, बालकृष्ण र अन्य (सम्पा.), २०४०, नेपाली बृहत् शब्दकोश. काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
पोखरेल, भोलानाथ, २०६० ,“प्रगतिवादी साहित्य” प्रलेस ४÷२ (सुनसरी), पृ. १९ ।
               ०६८ ,“सुनसरी जिल्लाको मगर साहित्य र संस्कृति ः एक अध्ययन” ,अप्रकाशित लघु अनुसन्धान, काठमाडौं ः ने. सं. वि. अनुसन्धान केन्द ।
प्रभात, विष्णु ,  २०६३ ,प्रलेसको संक्षिप्त इतिहास. काठमाडौं ः विवेक सिर्जनशील प्रकाशन ।
बराल, ऋषिराज, २०६६ ,सत्ता र संस्कृति, काठमाडौं ः अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन प्रा. लि. ।
भण्डारी, जगदीश चन्द,. २०५५, प्रगतिवादी नेपाली कविता ः रेखाङ्गन र विष्लेषण. काठमाडौं ः मुन्नी भण्डारी ।
भण्डारी, जगदीश चन्द्र र अन्य, (सम्पा.), २०५७ प्रलेस ५÷११ (काठमाडौं ः बैशाख ÷ जेठ ). पृ. ३२ ,३४ ।
रेग्मी, दिनेश चन्द्र, २०६६ ,“संस्कृति र राष्ट्रिय एकता.” ज्ञानविन्दु पूर्णाङ्क–३. (काठमाडौं ः कात्तिक), पे १४५ ।
शर्मा, तारानाथ,२०३९, नेपाली साहित्यको इतिहास. (दो.सं.), काठमाडौंः  संकल्प प्रकाशन ।
शर्मा, सुकुम, २०६४, नेपाली भाषा साहित्यमा आन्दोलन, कीर्तिपुर ः एकेडेमिक बुक सेन्टर ।
श्रेष्ठ, दयाराम र मोहनराज शर्मा, २०४० नेपाली साहित्यको संक्षिप्त इतिहास, काठमाडौं ः साझा प्रकाशन ।

२०६८।५।३१

Leave a Reply

Your email address will not be published.