गजल लेखनमा कति गहिराइसम्म जाने भन्ने कुराले यसको सजिलो गार्‍होको सीमा तोक्छ

परिचय:
नामः करूण थापा
जन्ममितिः २०२२ साउन ३१ (August 15, 1965)
जन्मस्थानः बेनी बजार, म्याग्दी
बसोबासको स्थानः बसुन्धरा¸काठमाडौं
शिक्षाः कम्प्युटर साइन्स
फोन: 9851001468
इमेल: karunthapa@yahoo.com
विधाः कम्प्युटर सफ्टवेयर¸ श्रव्य दृश्य मिडिया, इ­-मिडिया प्रशिक्षक, गजल, गीत लेखन

प्रकाशित कृतिहरूः
प्रकाशनका लागि तयार
क. गजल संग्रह १
ख. गीत संग्रह १
ग. Elementary Computer Science (for class 7, 8, 9) – पाठ्य पुस्तक

सामाजिक, संस्थागत संलग्नताः
CEO, Mantra Network Pvt. Ltd.,
CEO, eMedia Consultancy,
President, Computer Graphics Association of Nepal
Secretary General, Academy of Audio Visual Arts and Sciences
eMedia Consultant, Panos South Asia
Media Faculty, WLC College

कवि / गजलकार करूण थापाको सङ्क्षिप्त चिनारीः

स्कूले जीवन (२०३६ साल देखि) नै कविता¸ गीत¸ गजलहरु लेखनमा रुची भएको र निरन्तर आफ्नै लागि भए पनि अनुसन्धान गर्दै गजल लेखन गरिरहने व्यक्ति । संगीतलाई सार्‍है मन पराउने र संगीतको एक तहसम्म ज्ञान पनि राख्‍ने तथा करीब १३० गीतहरु रेकर्ड भइसकेको गीतकार ।

तपाइ आफुलाइ कवि वा गजलकार मध्ये कुन रूपमा चिनाउन चाहानुहुन्छ?

म आफूलाई कवि कम, गीतकार अलि बढी र गजलकार धेरै बढी भन्न रुचाउँछु । कविता र गजल लेखन गर्न थालेको करीब तीन दशक भए पनि कार्य व्यस्तताका कारण गजलको प्रकाशन र गायनलाई अघि नबढाएको कारण गजलमा आफूलाई पछि परेको अनुभव गरेकोछु ।


नेपाली साहित्यका विभिन्न विधाहरू मध्ये तपाइले गजल विधानै किन रोज्नुभयो?

स्कूले जीवनमा एक पटक मोतिराम भट्टको “दुई आँखीभौं तयार छन्” भन्ने गजलमा स्टेजमा एक कार्यक्रममा नृत्य भएको थियो । यसका शब्द र संरचनाले मलाई धेरै प्रभावित पारेको थियो । त्यही बेला गजल भन्ने शब्दसंग म परिचित भएको थिएँ ।

जुन बेला गजल लेख्‍न शुरू गरें त्यति बेला नेपाली गजलको पुनर्जागरण काल थियो र गजलकारहरु ज्ञानुवाकर, मनु ब्राजाकी र ललिजन रावल आदि गजलकारहरु गजलको उत्थानमा लागिसक्नुभएको थियो । नयाँ विधा भएकोले पनि त्यसताका मलाई गजल लेखन प्रति मोह जागेको हो ।
अर्को कुरा, म संगीतको एकदम ठूलो पारखी हुँ । संगीतको ज्ञान पनि राख्‍छु । यसले गर्दा गीत लेखन र गजल लेखनमा मेरो बढी रुची बढेको हो । गीत अलि स्वतन्त्र हुन्छ भने गजलमा सीमा हुन्छ लेखाइमा । तर गीतमा भन्दा गजलमा भनिने कुरामा वजन बढी लाग्छ यसको संरचनाले गर्दा । यसका साथै गजल लेखन एक कला हो जुन लेख्‍नका लागि धेरै समय खर्चिनु पर्दैन र गजलमा हुने भाव चतुरताले गर्दा पाठकको मन सानो रचनाले पनि सजिलै जित्‍न सकिन्छ । साथै यसको पाठकीय परिधी अन्य विधाको भन्दा बढी पनि छ ।

माथिका कारणहरुका साथै म अर्को एकदम व्यस्त व्यवसायको मान्छे भएको हुँदा गीत र गजल लेखनमा अन्य विधाभन्दा समय निकाल्न सजिलो भएर पनि म गीत र गजल विधा रोजेकोहुँ ।

गजल लेख्न त गाह्रो हुन्छ भन्छन् नि ? यसमा शास्त्रिय (प्राविधिक) नियमहरूको पालना गर्नु पर्दछ भनिन्छ नि, प्रष्ट पारिदिनुहुन्थ्यो कि ?

गजल लेखनमा कति गहिराइसम्म जाने भन्ने कुराले यसको सजिलो गार्‍होको सीमा तोक्छ । साथै गजल लेख्‍ने व्यक्तिमा कतिसम्म लय विधानको ज्ञान छ, त्यसले पनि गजल लेखन गार्‍हो वा सजिलोको सीमा तोक्छ ।

गजलका संरचना बारे धेरै लेखहरु आइसकेकाछन् । गजलमा एकै लय या बहर, एकै काफिया र एकै रदीफमा हुनुपर्छ सबै मतला, शेरहरु अनि मक्तासम्म । यति भएमा गजल गजल हुन्छ । तर गजलको प्राण भनेकै भाव हो र भावहरु व्यक्त गर्ने सबै शेरहरु एकै लय या बहर, एकै काफिया र एकै रदीफमा आउनु नै पर्छ । कुनै कुनै गजलमा रदीफ नहुन पनि सक्छ । जसलाई हामी गैरमुरद्दफ गजल पनि भनिन्छ ।

गजललाई मुख्यतः मुसलसल र गैरमुसलसल भनेर छुट्याइन्छ । एकै भावमा गजलका सबै शेर लेखिएकोछ भने मुसलसल र हरेक शेरका भावमा फरक भए गैरमुसलसल भनिन्छ । गाइएका धेरै नेपाली गजलहरु मुसलसल नै गजलहरु छन् ।

काफियाको कुरा गर्दा, गजलमा हरेक शेरमा एकै ठाउँमा अनुप्रास मिल्ने शब्दलाई काफिया भनिन्छ । काफिया पूर्ण, आंशिक या एकाक्षरी हुन सक्छन् । यी कुराहरु सबै वर्णन गरिएका लेखहरु इन्टरनेट र पत्र­-पत्रिकामा धेरै ने लेखहरु भएकाले यहाँ यति मात्र भन्न चाहन्छु ।

गजल प्रमुखतः गाइने विधा हो । गाइने भएको हुनाले नै गजलमा लय विधानका बारेमा बढी चर्चा हुने गर्छ र लय विधानमा बाँधिन नयाँ गजल लेखनमा लागेकाहरुका लागि अलि गार्‍है मान्ने गरेकाछन् । नेपालमा बढी स्वनिर्मित लयमा गजल लेखिने चलन छ । तर अझ बहरबद्ध या भनुँ छन्दोबद्ध गजल लेखनमा बढी लयात्मकता र शाश्त्रीय संगीतलाई सुहाउने गजल बन्ने गर्छन् । यसैले उर्दू र हिन्दीमा बढी गजलहरु बहरबद्ध नै हुने गर्दछन् किनकि उनीहरुको संस्कारमा गजल भन्नासाथ बढी शाश्त्रीय संगीतलाई महत्व दिइन्छ । तर नेपाली गजलमा पनि बहरबद्ध गजल नलेखिएका भने हैनन् । गजलभरिका शेरहरुमा समान लय भए राम्रो गजल हुनका लागि बहर नै चाहिन्छ भन्ने चाहिं हैन । शब्द चयन र शब्दका वजनमा चाहिं निकै ध्यान पुर्‍याउनै पर्छ । नत्र गेय गजल बन्दैन र गेय हुन सकेन भने गजल गजल हुँदैन भन्ने मान्यता म राख्छु ।

गजललाइ बुझ्न गाह्रो हुन्छ, सामान्य मानिसले सजिलै बुझ्न सक्दैन भन्छन्, यसमा कतिको सत्यता छ ?

यसमा कदापि सत्यता छैन र म यसमा सहमत छैन । सबैभन्दा बुझ्न सकिने र सजिलै मनभित्र बास गर्न सक्ने विधा नै गजल हो । माथि भने झैं यो गाइने विधा भएकाले शब्दमा सरलता हुन्छ तर भावमा कहिलेकाँही सटीकपन र भाव चातुर्यका कारणले बुझ्न गाह्रो लागेको हुन सक्ने सम्भावना नरहेका हैनन् । तर समग्रमा गजल सरल र बुझ्न सजिलो विधा नै हो । तर केही गजलका नाममा शब्दका भारी गजलहरु पनि प्रकाशित र प्रसारित हुने गर्छन् जुन मेरो नजरमा गजलका मर्म नबुझी लेखिएका गजल हुन् र यिनले गजललाई बदनाम गरेकाछन् ।

गजलमा प्रयुक्त प्राविधिक भाषा उर्दु बाट आएका हैनन् ? यसका नेपाली भाषामा समअर्थि शब्दहरूको खोजि वा प्रयोग कतिको आबश्यक होला ?

एकदम समसामयिक र राम्रो प्रश्न राख्‍नुभयो । गजल अरबी फारसी हुँदै उर्दु र हिन्दीमा तथा नेपालीमा प्रवेशको हुँदा गजलमा प्रयोग हुने प्राविधिक भाषा उर्दू या फारसी या अरबी भाषामा छन् । गजल भन्ने शब्द नै अरबी हो (भनिन्छ) । जब गजलको शुरुवात नै मध्य पूर्वमा भएको हो भने त्यससँग सम्बन्धित प्राविधिक शब्दहरु त्यहींको भाषामा हुनु अनौठो पक्कै हैन । तर उर्दू प्राविधिक शब्दहरुका नेपाली या हिन्दीमा पनि समअर्थी शब्द केही त पक्कै छन् । बहरलाई हामी छन्द भन्न सक्छौं । यस्ता शब्दहरु नेपालीमा पनि छन् । सबैको समअर्थी शब्द भए सबैलाई बुझ्न सजिलो पक्कै हुन्छ । तर विज्ञानका प्राविधिक शब्दहरुका अनुवाद कम भए झैं गजलका प्राविधिक शब्दहरु यत्तिकै राख्दा पनि फरक नपर्ला भन्ने धारणा मेरो छ ।

गजललाइ छन्दको कविता भन्दा हुन्न र ? गजल र छन्दको कविताको विचमा के कस्तो फरक रहेको छ ?

पहिलो कुरा त गजलको संरचना नै फरक छ । गजललाई कविता भन्न सकिएला तर कवितालाई गजल भन्न सकिन्न संरचनागत हिसाबले । कविता छन्दमा लेखिए पनि र गजल छन्दमा लेखिए पनि संरचना र बनावटले दुवैलाई विधागत रुपमा प्रष्टसँग छुट्टाउँछ । कवितामा छन्द एकै हुन सक्लान्, तर काफिया र रदीफ हुँदैनन् । अनि प्रत्येक दुई हरफको एक शेर (मिसरा-ए-उल र मिसरा-ए-सानी) आफैमा पूर्ण भावका हुन्छन् जुन कवितामा हुन पनि सक्छन् र नहुन पनि ।

नेपाली भाषाका प्रथम गजलकार मोतिराम भट्ट हुन भनिन्छ । त्यो भन्दा अगाडिको गजलको लिखित इतिहास साँच्चै नभएको हो ?

नेपाली गजलमा मोतिराम भट्ट भन्दा अघि गजलको इतिहास देखिंदैन । यसर्थ मोतिराम भट्ट नै नेपाली प्रथम गजलकार हुन् ।

गजलमा सँधै माया पिरतिका मात्रै कुराहरू गर्नुपर्छ भन्ने र साहित्यको कुनै पनि विधालाइ यसरि सिमित गरिनु हुँदैन भन्ने विच वेलावेलामा द्वन्द हुने गरेको देखिन्छ । तपाइ यसलाइ कसरि लिनु हुन्छ ?

गजलको शुरुवात र गजलको अर्थ पनि प्रेमिकासँगको वार्तालाप नै हो भनिन्छ । तर समय र परिस्थितिको परिवर्तनसँग धेरै कुरामा परिमार्जन भए झैं गजल पनि माया र पिरतीका कुरा भन्दा बाहिर निस्केकोछ । देशप्रेम, असन्तुष्टी, वातावरण, राजनीति आदि विषयमा धेरै गजल लेखिएकाछन् र लेखिनु पनि पर्छ । गजल जस्तो सशक्त विधालाई श्रृंगारमै सीमित गर्नुपर्छ भन्ने कुरामा म सहमत छैन । गजललाई फराकिलो पार्न यसलाई अलि सीमा बढाइनु पर्छ । माया प्रेमबाट उर्दू र हिन्‍दीका वरिष्ठ गजलकारहरुले पनि धेरै वर्ष अघि नै बाहिर निस्केका छन् र अहिले नेपाली गजलमा पनि माया प्रेमभन्दासँगै अरु विषयमा पनि प्रशस्त गजल लेखिएकाछन् र लेखिनु पर्छ ।

अहिलेको विषम परिस्थितिलाइ कसरि विश्लेषण गरि रहनु भएको छ ?

नेपाल अहिले विषम परिस्थितिबाट गुज्रेको अवस्था छ । जनता अहिले निराश छन् । राणा शासनकालमा शहीद भएर प्रजातन्त्र आए पछि देखि अहिलेसम्म जनताले कहिल्यै साँचो प्रजातन्त्र पाएनन् । जति पनि प्रजातन्त्र भनेर आए सबै हात्ती आयो फुस्सा मात्र भएकोछ । राणा शासन हटाइयो, पञ्चायत हटाइयो, राजा हटाइयो तर जनताका मुहारबाट र जीवनबाट कैले पनि दुःख हटाउन सकेनन् नेताहरुले । जनताले आशा गरेको २०४६ सालको प्रजातन्त्र पनि फापेन र अहिलेको गणतन्त्रसम्म आइपुग्दा पनि साधारण जनतामा उदासीनता हटेकोछैन । सबैलाई एक पटक पालो दिएर हेरौं भन्ने जनता अब कसैलाई पनि विश्वास गर्ने पक्षमा छैनन् । सबै सत्ताको लुछाचुँडी बढी र काम कम गर्ने पार्टी र नेताले नै यो देशको यो गति र अधोगति भइरहेकोछ । नयाँ नेपाल भन्ने नारामा मात्र सीमित छ । जनताको जीवनस्तर र देशको आर्थिक अवस्था गए गुज्रेको भएकोछ । जनताको पसिनाबाट तिरेको करको दुरुपयोग भएकोछ । संविधान लेख्‍ने नाउँमा देशले अरबौंको घाटा र ऋणको भार बोक्नु परेकोछ । जनताको विश्वासमा कुठाराघात र आशामा तुषारापात भएकोछ ।

नेपाली राजनिति र साहित्य कुनै न कुनै रूपमा एकआपसमा जोडिएका छन् । अहिलेको विषम राजनैतिक परिस्थितिमा साहित्य (गजल) को कस्तो प्रभाव हुनु पर्दछ ?

विषम परिस्थितिमै साहित्य मौलाउँछ । यति बेला देशको परिस्थिति जटील छ । यो जटीलतामा कविता गीत गजल सबैले नै देशको परिस्थितिको चिन्ता देखिएकोछ छ र दवाव बनेकोछ नेपाली साहित्य । जनयुद्धकालमा शान्ति गीत गजल र अहिले केही पनि नगर्ने सरकार र नेताहरु प्रतिको दवाव बनेर हजारौं गजल लेखिएकाछन्, असन्तुष्टी पोखिएका छन् गजलका माध्यमबाट । यसको प्रभावको लेखाजोखा नभए पनि साहित्य समाजको दर्पण हो र यो कालमा लेखिएका गजलले यो कालका छवि उतारेर पक्कै राखेकाछन् जुन इतिहासका एक पाटोमा पक्कै लेखिएका हुनेछन् ।

केहि पहिले देखि जातिय, लैङ्गिक, सामाजिक तथा राजनैतिक मुक्ति तथा समानताका कुराहरू उठ्न थालेका छन् । तर नेपाली गजलले यि कुराहरूको उठान अलिक कम गरे जस्तो लाग्दैन तपाइलाइ ? अब यसमा गजलको भुमिका कस्तो हुनु पर्दछ भन्ने लाग्दछ तपाइलाइ ?

जातिय, लैङ्गिक, सामाजिक तथा राजनैतिक मुक्ति तथा समानताका कुराहरूमा गजलले उठान नगरेका हैनन् भन्न पक्कै मिल्दैन । जातीय र लैङ्गिक समानतामा धेरै गजल लेखिएकाछन् । भन्ने हो भने यी विषयमा नै बढी गजलहरु केन्द्रित भएको महशुश मैले गरेकोछु ।

जनतामा जागरण आएकोछ र साहित्यले समाज बोल्ने भएकोले सबै असमानता, जातिय, लैङ्गिक, सामाजिक तथा राजनैतिक मुक्ति सबैमा गजल त्यत्ति नै बोलेकोछ जुन अरु विधामा बोलेकोछ । मलाई लाग्छ गजलमा अझ बढी बोलिएको होला ।
यो संक्रमणकालिन समयमा परिवर्तन वा नयाँ युगलाइ कसरी सम्बोधन गरिरहेको छ समकालिन नेपाली गजल साहित्यले ?

जनतालाई सुसूचित गर्ने, पदमा भएकालाई खबरदारी गर्ने, शान्तिको चाहना र नयाँ नेपालको सपनालाई साकार पार्नका लागि हरेक प्रकारले सम्बोधन गरेकोछ नेपाली गजलले ।
जटिल राजनैतिक परिस्थितिमा नेपाली गजल साहित्यको हस्तक्षेप हुनु पर्छ वा पर्दैन ? यसमा तपाइको मान्यता कस्तो रहेको छ ?

माथि नै भनिसकेकोछु कि हरेक सामाजिक, राजनैतिक, साँस्कृतिक तथा अन्य कुनै पनि परिवर्तनमा जनताको बोली भएर साहित्यले पत्यक्ष या परोक्ष रुपमा हस्तक्षेप गरेकै हुन्छ । गजलले पनि राम्रो कामलाई सह्राना गर्ने र नराम्रो काममा हस्तक्षेप गरेकैछ । तर हस्तक्षेपको नाउँमा अतिवाद र नारा भने हुनु हुँदैन गजल । गजल साहित्य हो र नारा भयो भने साहित्य साहित्य रहँदैन । नारा र अतिवादबाट बचेर र साहित्य भएर गजलले हस्तक्षेप पक्कै गर्नुपर्छ हरेक परिवर्तनका लागि ।

नेपाली गजल साहित्यमा आँचलिक भाषाहरूको उपस्थिति र स्थिति कस्तो रहेको छ ?

पहिले पनि आँचलिक भाषाहरूमा गजल साहित्य लेखिंदै नआएको हैन । तर बदलिंदो परिस्थितिसँगै नेपालका अन्य भाषामा बढी रुपमा गजल साहित्य आएकाछन् । जुन खुशीको कुरा हो ।

नेपाली गजलहरू तुलनातमक रूपमा कति स्तरिय छन् ?

नेपाली गजलको स्तर कुनै पनि अन्य भाषा, अझ भन्नु पर्दा हिन्दी र उर्दूका गजलसँग उभिनसक्ने किसिमले स्तरीय छन् । अझ धेरै गर्न बाँकी छ किनभने गजल लेखनको इतिहास हाम्रो छोटो छ । मोतिरामदेखि भीमनिधी तिवारीसम्म आइपुग्दा पनि धेरै गजल लेखिएनन् र पुनर्जागरणकालदेखि ज्ञानुवाकर पौडेल, मनु ब्राजाकी, ललिजन रावलदेखि अहिलेसम्म पनि धेरै गजलहरु जति आउनु पर्ने थियो अझै आएका छैनन् । संख्यात्मक मात्र हैन गुणात्मक गजलहरु अझै आउनु पर्छ । निरन्तर गजलहरु आइरहे गजलको स्तर अझै माथि उठ्नेमा पक्कै शंका छैन ।

गजल पुर्विय साहित्यमा मात्रै सिमित छ वा यसको उपस्थिति पश्चिमा साहित्यमा पनि छ ?

गजल पूर्वीय मात्र हैन गोथेको गजल मोहका कारण जर्मन भाषामा यो अति प्रचलित भएको इतिहास छ । अंग्रेजीमा पनि गजलको संरचनाले धेरै लेखकलाई आकर्षित गरेको हुँदा अंग्रेजीमा पनि धेरै गजलहरु लेखिएकाछन् ।

केहि समय अगाडि कवि विक्रम सुब्बासँगको अन्तर्वार्तामा नेपाली साहित्यको डिजिटल लाइब्रेरीको कुरो उठान भएको छ । तपाइ यस सम्बन्धि प्रविधिक ज्ञान भएको मान्छे, यसलाइ कसरि सुरू गर्नु पर्ला, के कस्ता स्रोतहरू जुटाउनु पर्ला र अन्यथा नभएमा यसमा तपाइको कस्तो भुमिका रहन सक्छ ?

अबको युग इन्टरनेटकै युग हो । यस युगमा पनि हामीले डिजिटल लाइब्रेरीका बारे सोचेनौं भने साहित्यको विकासको कुरामा पछि पर्छौं नै । डिजिटल लाइब्रेरी बनाउने कल्पना साकार पार्नका लागि Wikipedia.org या Gurenberg Project (gutenberg.org) जस्तो साइटबाट शुरुवात गरिनु पर्छ जहाँ लेखक आफै या कुनै साहित्यिक सम्बर्धन गर्ने संस्थाका व्यक्तिहरुले त्यसमा रचनाहरु सम्प्रेषण गर्दै जान सकुन । सकेसम्म आफ्नै सर्भरको व्यवस्था गर्न सकियो भने र सबैले आ-आफ्ना किताब, रचनाहरु त्यसमा सामुहिक रुपमा अपलोड गर्न सके एक चरणको डिजिटल लाइब्रेरी बन्छ । साहित्य र कलाका उत्थानमा लागेका संस्थाहरुले पनि यसमा चासो देखाउने या डिजिटल लाइब्रेरीको पहल गरे पनि यो सम्भव हुन सक्छ । सामुहिक या कुनै संस्थाको पहलविना यो कार्य त्यति सजिलो भने छैन । सबै प्रकाशनका किताबहरुलाई डिजिटलमा परिवर्तन गर्ने काम नै धेरै समय र रकम खर्च हुने काम हो ।

म साहित्य र कम्प्युटर दुवै क्षेत्रको भएको हुँदा मैले डिजिटल लाइब्रेरीको सफ्टवेयर निर्माण, इन्टरनेटको प्राविधिक पक्ष तथा संचालनका लागि तालीम आदिमा मैले आफ्नो भूमिका हुन सक्ने देखेकोछु । यसको विकास गर्न परे मैले आफ्नो क्षमताले भ्याए अनुरुप सहयोग गर्न पाए मेरो अहोभाग्य सम्झनेछु ।

व्यक्तिगत रूपमा तपाइ आफैलाइ साहित्यिक मोर्चामा कसरी विश्लेषण गर्नुहुन्छ ?

म गीतमा भिजेकोछु गजललाई आत्मसात गरेकोछु । तर नेपाली साहित्यको आकाशमा अझै अपरिचित छु जस्तो लाग्छ । अब २५ वर्ष अघि देखि अहिलसम्मका गजल र गीत संग्रह प्रकाशित गरेपछि नेपाली साहित्यमा परिचित हुने जमर्को गर्दैछु । साहित्यमा भन्दा चलचित्रमा एभिड प्रविधि (कम्प्यूटरबाट फिल्म सम्पादन प्रविधि) भित्र्याउने व्यक्ति, पहिलो एभिडबाट चलचित्र सम्पादन गर्ने व्यक्ति, पहिलो 3D animation शुरु गर्ने व्यक्ति, पहिलो Video Editing शुरु गर्ने व्यक्ति, पहिलो नेपाली अक्षर र कम्प्युटरमा नेपाली मै डाटा प्रशोधन गर्ने व्यक्ति, लिम्बू भाषाको अक्षर बनाउने पहिलो व्यक्ति, गीतकार, आदिका रुपमा बढी मलाई चिन्ने गर्छन् । तर साहित्य र विशेषतः गजल लेखनमा आफूलाई चिनाउन अझै मेहनत धेरै गर्नुछ र गरिरहेकैछु ।

नवोदित गजल स्रष्टाहरूलाई के कस्तो सल्लाह सुझाव दिन चाहनुहुन्छ ?

गजलको प्राविधिक पक्षको अध्ययन गर्दै, गजलका विद्वानका गजलका अध्ययन गर्दै, निरन्तर लेखिरहने र कोशिश गरिरहने गरे राम्रा गजल लेख्‍न सकिन्छ । क्षणिक, छिटो र सस्तो नाम कमाउनेतिर नलागी नेपाली गजल साहित्यमा लागिरहनेछु र हालको गजलको फूलबारीमा एउटा भए पनि भिन्नै रंगको गजलको गुलाव फुलाउनेछु भन्ने अठोट लिनु भयो भने नेपाली गजलको फूलबारीमा यहाँको नाम सजिइरहनेछ । अग्रजहरुबाट सल्लाह र सुझाव लिने र तिनलाई मनन गरी पहिले गरेका भूलहरु मात्र सच्याउन सके गजल लेखनमा ठूलो फड्को मार्न पनि सकिन्छ । हतार गर्दैमा केही हुँदैन । म नै २५ वर्षदेखि लेख्दै आएको भए पनि अझै सिक्दैछु । सिक्ने कुरा जिन्दगीभर नै सिक्दा पनि सकिंदैन रहेछ । केही दिन सिकेर “जान्ने भएँ” भन्ने घमण्डले आफूलाई गाँज्न दिनु भएन भने धेरै माथि पुगिन्छ कुनै पनि क्षेत्रमा । आफूले जानेको कुरा बाँड्दा आफू सानो भईंदैन । ज्ञान भन्ने कुरा जति बाँड्यो उति बढ्छ । यसरी नेपाली गजलको विकास हुन्छ र गजलकार हुँ भन्दा गर्व गर्न पाइन्छ ।
अन्त्यमा, केहि नसोधिएको वा भन्न छुटेको कुरा भन्न चाहनुहुन्छ ?

साहित्यमा राजनीति र गुटबन्दी सार्‍है खट्किन्छ मलाई । राजनीतिले कलाका संस्था र प्रतिष्ठानहरुमा गिजोलेर साहित्यलाई पनि धमिल्याउने गरेकोछ । साहित्यमा साहित्य एकातिर र राजनीति एकातिर भए साहित्यले मौलाउने मौका पाउँथ्यो । साहित्यकारको मूल्यांकन राजनैतिक आदर्श भन्दा साहित्य सिर्जनाबाट गरे साहित्यलाई बाहिरबाट हेर्नेको नजरमा उच्च हुने थियो ।

Leave a Reply

Your email address will not be published.