मनका डोबहरुमा—“क्षितिज रोइरहेछ”

मनका डोबहरुमा—“क्षितिज रोइरहेछ”
– राम प्रसाद प्रसाइ

अहिलेको पाठ पाब्लो पिकासो कला र सिर्जनाका सन्दर्भमा भनेको एउटा तथ्यबाट शुरु गर्छु। “हामी सबैलाइ यो थाहा छ कि कला सत्य होइन। कला भनेको ढंटाइ हो जसले हामीलाइ सत्यको महशुस मात्र गराउंछ, कम्तीमा हामीलाइ केही बुझाउन दिइएको हुन्छ। त्यसैले कलाकारसंग त्यो तरिका र क्षमता हुनु पर्छ, जसले कलाको ढंटाइलाइ सत्यताको अनुभूति गराउंछ,” भन्छन् पिकासो।

जीवनका मिहिन अभिव्यक्तिमा साहित्य रमाउँछ। मनका अन्तर कुन्तरहरुमा विचार, भावना, अभिव्यक्तिको मन्थन असल साहित्यका रुप र स्वरुप हुन्। सामजका समान सामुदायिक चेतना र तिनीहरुको पदार्थसंगको समन्वयात्मक र द्वन्दात्मक सम्बन्धभित्र साहित्य उर्वरशील हुन्छ। समतल र बक्ररेखामा इतिहासको निर्माण हुन्छ। विनिर्माण हुन्छ। अनि साहित्य यही सेरोफेरोमा सिर्जित हुन्छ। साहित्य समाजको दर्पण मात्र होइन, जीवन पनि हो।

श्रमशिविरमा बसेर मान्छेभित्र चेतना बग्दो छ, बढ्दो छ अनि प्रवासी साहित्यमा श्रम डायस्पोराको नाम भित्रिँदो छ। यसरी सिर्जना, समय र पसिनाको विनिमय गर्ने सशक्त व्यक्तित्व हुन, कवि नेयोङ्गहाङ्ग। श्रमशिविरमा बसेर साहित्य साधना र जनजीविकाको रथ अनवरत दगुराइ रहन सफल कविको रूपमा हेरिन्छ, उनलाइ।

“मनभित्रका दुःख र सुखलाइ शब्दमा उतार्न र चित्रण गर्नुलाइ म साहित्य भन्न रुचाउँछु” भनेर लेखनयात्रा अनुभूत गरेका नेयोङ्गहाङ्ग, सतासीधाम झापामा जन्मेर मोरङ्गको पत्थरीमा बसोबास गर्छन्। हाल उनी बैदेशिक रोजगारीका क्रममा यु.ए.ई.को अबुधाबी श्रम शिविरमा कार्यरत छन्। उनका ४४ वटा भिन्ना भिन्नै कविताहरूको सङ्ग्रह “क्षितिज रोइरहेछ”को सर्वदा वाङ्मय प्रतिष्ठान, यु.ए.ई. शाखाले वि. सं. २०६७ भदौमा प्रकाशित गरेको छ। उनका प्रकाशोन्मुख कृतिहरु “संयुक्त यात्रा” (गजल सङ्ग्रह) र “धर्ती उज्यालो हुनुभन्दा पहिले” (कथा सङ्ग्रह) हुन्। उनका अन्य फुटकर कविताहरु विभिन्न साहित्यिक तथा सामाजिक संजालहरु र अन्य वेब साइटहरुमा पनि प्रकाशित भएकाछन्।

कवि बाँचेको समय, सन्दर्भ र संस्कार विविध भएर हुन सक्छ, कविताहरु भिन्न भिन्न पक्ष, रङ्ग, भावना र स्परुपमा फैलिएकाछन्। उनको सङ्ग्रह त “मोजाइक” नै बनेको छ, जीवनका विम्व र प्रतिविम्वहरुको। अलग अलग चेतना भएका मान्छेहरुसंगको घुलनशील क्षमताका कारणले नि भन्नु पर्छ, यी कविमा कूपमण्डुकता भन्दा विश्वचेतना, मानसिकतामा फराकिलोपना, मान्छेका साझा भावनाहरु नै कवितांशहरुका भावभूमिमा यत्र तत्र बर्गेल्ती पोखिएकाछन्। कविका चेतनाका कोलाजहरु मान्छे मान्छेका टाउके प्रवृतिभन्दा मानवीय कमजोरीका रुपमा लिएको पाइन्छ। मान्छेका ब्यक्तिगत कमी र कमजोरीले मानवतामा ह्रास ल्याउने कुरामा कवि प्रतिबद्ध छन्। मानवीयताको साझा धारणा निर्माणको पहलकदमीमा उनी सधै सचेत देखिन्छन्।

कवि प्रशान्त खरेलको “विचलन यात्रा”मा पाठकीय टिप्पणीमा यो पंक्तिकारले राखेको भावना यहाँ कवि नेयोङ्गहाङ्गका सन्दर्भमा पनि उचित लागेको छ। जसमा भनिएको थियो, “समाजिक संरचनाहरू र यसका अवयवहरूको दर्पण साहित्य। मनदेखि भित्री र बाहिरी जीवन जगतमा भएका, रहेका अनि श्रृजित अन्तरविरोधहरूको ब्यष्टि वा समष्टिगतरूप पनि साहित्य। समाज चलायमान स्वरूप, प्रकृति, प्रवृति, समाज, विचार, दर्शन, युगबोध र सम्प्रेषकीय चेतना राम्रो साहित्यको दायराभित्र निश्चितरूपले पर्छन् अनि पर्नु पर्छ। पुनश्चः मानव जीवनभित्रका उतावचढावको अभिव्यक्ति साहित्य। साहित्य समाजको प्रतिरूपण। अनि कविता जीवन र जीवनसंग इर्दगिर्द घनचक्करहरूको प्रभाषण। अक्षरहरूकोको गुरू ‘अक्षर ब्रह्म’ (लोगोस्) स्वयम् एक काव्यखोलाको मुहान मानिन्छ। अक्षरहरूको बान्कीमा चेतनाका बेर्नाहरू रोपिइएका हुन्छन्, कुनै सर्छन् वातावरणले अनि कुनैले मार्छन् अविवेकका अन्धवेगहरूलाई। शब्दहरूको ताण्डवमा काब्य छेलोखेलो गर्नु त कविको धर्म नि भइ गो।” यस सङ्ग्रहमा पनि मैले यही भनें।

जीवनको मूल्यको खोजी नै जीवनबोध अनि त्यही बोधको खोजीको चेतनाले मान्छे असतित्वबोधको नजिक पुग्छ। कवि दीपराज पनि युगबोध नै कविताको चुरो हो भन्नुहुन्छ। “चिया पिलाउने बहानामा सहित्य पिलाएको” भन्दै कवि मित्रतामा कविताको संवाद कसरी गर्नुहुन्छ भनेर मित्र कृष्ण देवकोटा ‘दयालु’ विचार राख्नु हुन्छ।

अचानक दृष्टि
चलिरहेको काँटामा भन्दा पहिले
हल्लिरहेको पेण्डुलममा ठोकिन्छ
(पृ. २७)

यी हरफहरुले कवि मनको चेतनालाइ दुखाउँछ। समय, घडी र सन्दर्भमा कवि चेतना चक्कर लगाउँछ। स्वयँ, परिवार, समुदाय, समाज, राष्ट्र र विदेशका सापेक्ष चिन्तन मननका कारणले कविताहरु रुप र सार पक्षमा विश्वजनिन् समीचिन चेतनाको साझा अनुभव र अनुभूतिको अनुमोदन गरेको देखिन्छ।

वाद, विवाद, प्रभाव, बहाव, सिद्धान्त र दर्शन नकोचरिकनै सुन्दर कविताको सिर्जना हुन सक्दो रहेछ भन्ने मुद्दामा यो सङ्ग्रह एक सशक्त र सफल दृश्टान्त हो। कला वा विचार पक्ष तथा रूप वा सार परिष्कृत र सम्भ्रान्त नहुँदा नहुँदै मैले हेरेका, देखेका र पढेका डायस्पोरिक नेपाली लेखनमा यो संगालो अग्रस्थानमा नै पर्छ। जीवन जस्तै छन्दविहिन छन्, कविताहरु। गद्यशैलीमा पनि लय र ताल प्रशस्त पाइन्छ, यिनमा। यी कवताहरु सङ्कलित हुनुको श्रेय अग्रज दाजुहरु ठाकुर बेलबासे र लक्ष्मण सापकोटा दुवैको भूमिका र योगदानले स्थान पाउनै पर्छ।

“देशको माया, माटोको मायाले उहाँहरु सबैलाइ एउटै धागोमा बाँध्न सकेको अनुभूति दीपराज भाइका कविता पढेपछि देख्न सकिन्छ”, अग्रज कवि तथा जनवादी साहित्यकार मञ्जुल “क्षितिज रोइरहेछ”को भूमिकामा लेख्नु हुन्छ।

कवि स्वयं सोच्दछन्, सोध्दछन् र खोज्दछन् किन टुट्छन्, फुट्छन् विश्वासहरु सिसाहरुजस्तै। मानव, समाज, संस्कार, प्रणय सम्बन्ध तथा मित्रतामा जुट, फुट, गुट र हरेक खालका संकीर्ण तिक्डमबाजीहरुप्रति कवि शालिन तरिकाले कर्के नजर लाउँछन्:

किन फुट्छन् सिसाहरू
किन टुट्छन् विश्वासहरू

आफ्नै प्रतिबिम्ब खण्डहर बनाएर
छरपस्ट यत्रतत्र
मूल्यहीन देखिन्छन् मान्छेहरू सिसामा

खण्डित बनेका अनुहारहरू
टुक्रा-टुक्रा उठाउँदै
जोड्ने प्रयाससँगै
थकित बन्छन् मान्छेहरू
नमिल्दा आफ्नै अनुहार
(पृ. २३)

“विश्वास” शीर्षक कवितामा उनले विश्वास नै अविश्वासको कठघरामा उभिएको ठहर गर्छन्। सिसामा आफ्नै प्रतिविम्व देख्नु अनि आफू र प्रतिविम्व बीचमा स्पष्टताको अभाव रहनु कविको पोएटिक पर्सनामाथिको अस्तित्वबोधमा देखिएको भ्रमपूर्ण अवस्था हो। घरदेश र परदेशको दुइचिरे तथा उभयचरिय चेतनाले भित्र्याएको असहज र असजिलो समय हो।

“मेरा कलमका डोबहरु”मा कवि नेयोङ्गहाङ्ग विचार, चिन्तन, काव्यकारिता, कल्पनातीत घायल समय र अक्षरहरुको कुरा गर्दै खुंखार राष्ट्रवादी बनेकाछन्। कलम शक्तिको विम्व। कलम समात्ने मान्छेहरु क्षणिक भए पनि कलमबाट उब्जिएका विचारहरु अजर, अमर अनि अनन्त हुन्छन्। उनी यसरी भन्छन्,

नियाली हेर
मेरा कलमका डोबहरू
कतै मुटुको आकृति देखिन्छ
कतै देश दुखेको चित्र भेटिन्छ
(पृ. २९)

विश्वास, सिर्जना र जल प्रवाह एउटै खालको हुन्छ। पानी चलायमान् भएर अचल सतहमा बग्छ। यसले सजिलो निकास नपाए ठोस सतहलाइ भत्काएर बग्छ। सम्बन्ध पनि एकल नभइ बहुपक्षीय हुन्छ। सिर्जनाकारिता पनि सहजानुभूति र सरल बाटाबाट निक्लदैनन्। कविको विश्वास छ,

विश्वास पानीको
अचल सतहमा बाँच्दोरहेछ
विश्वास कच्चा काँचमा
निहित हुँदोरहेछ
(पृ. २४)

मुग्लान यात्राको अनुभव र अनुभूति पनि कवितामा प्रखर छ। श्रमशिविरका मानसिक, शारीरिक तथा संवेगात्मक भोगाइहरु कविमा पाइन्छ। घरबाट हिंड्दा सजाइएका सपनाका स्तम्भहरु र यथार्थताका प्राप्तिहरु बीचमा रहने खाइ र त्यसबाट निःसृत ब्रह्मज्ञानद कविले तलका हरफहरुमा उतारेकाछन्। स्वानुभूतिबाट प्राप्त सत्यहरुबाट जीवनका प्रकिर्या निरन्तर रहन्छन्।

सपनाका जीवहरू
केवल सपनाभित्र
जीवित रहन्छन्
वास्तविकताको अञ्जुलीमा
कतिबेर अडिन्छ र !
सपनारूपी पानी
(पृ. २६)

घडी र समय, मान्छे र मानवता कविका निम्ति फराकिला र उर्बरिला फाँट भएकाछन्। विश्वको अभूतपूर्व विकास र प्रगतिमा कवि खुशी हुन्छन् तर तिनका गलत प्रयोगले निम्त्याउन सक्ने दुखाःन्त पक्षहरुमा उनी प्रहार गर्छन्। मानव जाति पानीमाथि तैरिरहेको जतिखेर जे पनि हुन सक्ने अवस्थाको आंकलन गर्छन् कविः

सगरमाथामा शरण माग्नेहरूको
भीड पन्साउँदै
धूलैधूलोको चुचुरोबाट
हेर्दा
विकासका प्रकाष्ठा छुने
मानवहरू तैरिरहेछन् पानीमाथि
(पृ. ३२)

कल्पनाशीलतामा कविता जन्मिन्छन्। भावुकतामा जीवनका तिक्त र कठोर भावहरु विनिमय हुन्छन्। भय र करुणाको माध्यमबाट पीडाहरु विरेचित हुन्छन्। अक्षरहरुसँगको मिलेमतोमा असजिला लाग्ने जीवन गीतका पहेलीहरु खुल्दछन्। हराउनुको आशय विलुप्त हुनु होइन। वास्तविकताहरुसँग जीवनले लुकामारी खेल्नु हो। जीवनको गहिराइतिर जाँदा यो नितान्त एक्लो र निर्जन लाग्छ। मान्छेहरुको बिचमा मानिसले अति निरासपनाको महशुस गर्छ। यिनै कुराहरु तलका उद्गारमा भेटिन्छः

बाहिर आएर आगो बाल्न थालेँ
आगो बल्दै गयो
उडेको धुवाँलाई हेर्दै गएँ
त्यो मडारिँदै जान्थ्यो
आकाशतिर
हराउँथ्यो शुन्यमा
(पृ. ३७)

एक्कासी चिसो बतासका झोँकाहरूले
मेरा कल्पनाहरू भताभुङ्ग पार्दा
वास्तविकता बोध हुन्छ
आखिर म एक्लो नै छु
(पृ. ४३)

त्यसैले त म अचेल
प्रत्येक रात तिम्रो मुहारमा
उदाउँदो जूनको
प्रतीक्षामा हुन्छु।
(पृ. ४४)

अहिले पहिचान र परिधान महत्वपूर्ण भएको छ, चर्चा र परिचर्चाभन्दा। मरुभूमिको उँटजस्तो कवि स्वत्व र स्वकीय चिन्तनधर्मिताको लागि विचारका, दर्शनका र स्थान-सामयिक विम्वहरुका पछि लाग्छन्, गल्ली-गल्ली चहार्दै।

गल्ली-गल्ली चहार्दै हिँड्छु
तर सुनिदैन कहीँ पनि
मृदुल परिचित आवाजहरू
(पृ. ४५)

परदेश रहरको बसाइ होइन। देशमा अमन चैन, सुब्यवस्था, शान्ति र रोजगारीको प्रबन्ध भएदेखि कुनै पनि ब्यक्ति सहज ढंगले अरुको गुलामी गर्दैन। त्यसैकारणले डायस्पोरा साहित्य, त्यसमा पनि मध्यपूर्वका श्रमशिविरमा जन्मिएको साहित्य त मलाइ अोयसिस र सिउँडीको फूलजस्तो पो लाग्छ। यस साहित्य र लेखनलाइ रेमिट्यान्स साहित्यका रुपमा नहेरी जीवन पद्धतिको अभिन्न पक्षमा हेर्ने समय भएको छ। यो तलको अनुभूति उच्छवास् मात्र नभइ परदेशी कान्छाहरुको जीवन यथार्थ होः

गह्रुँगो भारीले म थिचिँदा
कसले पुस्छ आँशु-पसिना मेरो
मुग्लानमा म रूँदा।
(पृ. ३५)

अन्तमा, “मान्छेले स्वयंलाइ प्रष्फुटन गर्ने इच्छा कलामा हुन्छ, कलाकार बसेको स्थानिक समय र सन्दर्भमा उसको व्यक्तित्वको अभिलेखीकरण नै साहित्य हो”, आमी लोवेलका विचारमा। कवि दीपराज पनि उनी बसेको स्थानिक समय र सन्दर्भमा उनको व्यक्तित्वको अभिलेखीकरण गर्दैछन्।

Leave a Reply

Your email address will not be published.