अविरल जनसाहित्य यात्रा–६९ मा प्रगतिवादी कवि डा.भागवत आचार्यका एक दर्जन कविता तथा गीत गुञ्जिए

असार ११ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ६९ औँ शृङ्खलामा प्रगतिवादी कवि डा.भागवत आचार्यका एक दर्जन कविता तथा गीत गुञ्जिए ।


राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, महासङ्घका सचिव राममणि ढुङ्गेल, प्रगतिशील लेखक सङ्घका केन्द्रीय महासचिव डा.देवी दुलाल क्षेत्री, प्रा.डा.ऋषिराम शर्मा, वासुदेव अधिकारी, नर्मदेश्वरी सत्याल, कवि नायक डा.भागवत आचार्य र उहाँकी जीवनसङ्गिनी उर्मिला पोखरेल, डा.गोविन्दप्रसाद आचार्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


अविरल जनसाहित्य यात्रा संयोजन समितिकी संयोजक यशोदा अधिकारीको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा सङ्घका महासचिव प्रकाश सिलवालले डा.भागवत आचार्यको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै वि.सं.२०२८ असार २३ गते खोटाङ जिल्लाको राजापानी खाम्तेलमा जन्मिएका आचार्यले नेपाली साहित्य तथा अर्थशास्त्रमा स्नातकोत्तर गर्नुको साथै नेपाली साहित्यमा विद्यावारिधि उपाधि हासिल गरेका, लगभग बार वर्ष प्राध्यापन गरेका, नेपाल राष्ट्र बैङ्कको उपनिर्देशकका रूपमा हाल कार्यरत रहेर पनि नेपाली प्रगतिवादी साहित्यको साधनामा समर्पित रहेका, ‘कविता सिद्धान्त र नेपाली कविता’ समालोचना २०५८, ‘स्नातक अनिवार्य नेपाली (व्याकरण र समीक्षा’ २०६५, ‘मनलाई सम्बोधन’ कवितासङ्ग्रह २०६६, ‘उज्यालोतिर’ गीत–गजलसङ्ग्रहलगायतका कृतिको प्रकाशन गरिसकेका, हाल पनि नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित ‘मिर्मिरे’ अर्धवार्षिक साहित्यिक पत्रिकाको सम्पादन गरिरहेका र विभिन्न सङ्घसंस्थाद्वारा सम्मानितसमेत भएका स्रष्टा आचार्यलाई आजको विशेष समारोहमा एकल कवितावाचनका लागि प्रस्तुत गरिएको धारणा राख्नुभयो ।


समारोहको अध्यक्षता गर्दै राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ बिचमा केही समय रोकिएको थियो तर फेरि यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिनुपर्छ भनेर अगाडि बढाइएको छ । साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको छ । आजको शृङ्खलामा भने दुई नम्बर प्रदेशमा राष्ट्रिय जनसाहित्यिक मन्चको सङ्गठन निर्माणमा विशेष योगदान गरेका र साहित्यसिर्जनामा जमिरहेका डा.भागवत आचार्यलाई प्रस्तुत गरिएको धारणा राख्नुभयो र कविनायक, जीवनसङ्गिनीलाई माल्यार्पण÷खादार्पणसमेत गर्नुभयो । राष्ट्रिय जनसाहित्यिक सङ्घका अध्यक्ष राम विनय र सचिवालय सदस्य डा.हरिप्रसाद सिलवाललाई नेपाल सरकारले हालै अध्यक्षलाई एक लाख राशिको देवकोटा पुरस्कार दिने र डा.सिलवाललाई पचास हजार राशिको क्षेत्रीय पुरस्कार दिने निर्णय गरेकोमा बधाई ज्ञापन गर्दै प्रमुख अतिथिले खादार्पण गर्नुभएको थियो ।


कविनायक डा.भागवत आचार्यले विगत छ वर्षदेखि अविरल सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा आज आफू प्रस्तुत हुने अवसर पाएकोमा कृतज्ञता जाहेर गर्दछु । कविताले युगको चेतना अभिव्यक्त गर्ने सामथ्र्य राख्दछ भन्ने आफ्नो मान्यता रहेको छ । मुलुकबाट युवा विदेश पलायन भइरहेका छन् तर तिनीहरू सिप सिकेर जाउन् भन्ने चाहना आफ्नो रहेको छ । बालुवाको देशमा हाम्रा युवा समृद्धि खोज्न गइरहेका छन् तर चिन्ता गरिदिनुपर्नेले देशको पटक्कै चिन्ता नगरेकोमा दुःख लाग्छ र आफ्ना सिर्जनाका माध्यमबाट अभिव्यक्त हुने गरेको रचनागर्भको जानकारीसहित सबै कविता आफैँले वाचन गर्दै ‘के अर्थ भो ?’ शीर्षकको शार्दूलविक्रीडित छन्दको, ‘विदेशिएका युवासँग’ शीर्षकको शार्दूलविक्रीडित छन्दको, ‘मेरो लुम्बिनी’ शीर्षकको शार्दूलविक्रीडित छन्दको, ‘हत्केलामा लिएर समृद्धि’ शीर्षकको अनुष्टुप छन्दको, ‘पूर्णिमा बोधीवृक्ष’ शीर्षकको, ‘बिर्खे दर्जीको विज्ञप्ती’ शीर्षकको, ‘सारङ्गीको धुन’ शीर्षकको, ‘लाटोकोसेरोलाई अँध्यारो मन पर्छ’ शीर्षकको, ‘थाल’ शीर्षकको, आफ्नै लयको पर्खाइमा’ शीर्षकको र ‘बुद्ध निर्यात गरिएपछि’ शीर्षकका गरी सातओटा गद्यलयका कविता अनि ‘आजको प्रार्थना’ शीर्षकको शार्दूलविक्रीडित छन्दको कविता वाचन गर्नुभयो । बिचमा डा.आचार्यद्वारा लिखित शिशिर योगाीको गायन रहेको गीत पनि प्रस्तुत भएको थियो ।


महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपानेले अविरल जनसाहित्य यात्राको यो अभियान कला, साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान हो । साहित्यका माध्यमबाट सामाजिक यथार्थको प्रतिविम्बन गर्दै ऐतिहासिक अभिभारा पूरा गर्ने र साहित्यका माध्यमबाट समाजवादसम्म पुग्ने यात्राका लागि गर्नुपर्ने क्रान्तिको प्रतिनिधित्व गर्ने यो कार्यक्रम ज्यादै महत्त्वको रहेको र आजका कविका सिर्जनाले स्पष्टरूपमा रूपान्तरणको आग्रह गरेका हुँदा कार्यक्रम गरिमामय भएको धारणा राख्नुभयो ।
वाचित कवितामाथि टिप्पणीसमेत गर्नुहुँदै प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले आजको यो विशेष महत्त्वपूर्ण कार्यक्रममा तेरओटा कविता र गीत सुन्यौँ । सिर्जनामा दृष्टिकोण अनिवार्य सत्य हो । वस्तुको स्वरूप एउटै हुन्छ तर त्यसलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । साहित्य, राजनीति वा अन्य जुनसुकै क्षेत्र होस् त्यहाँ दृष्टिकोण हुन्छ नै । माक्र्सवादले निम्न वर्गको पक्षधरता लिन्छ । इतिहासका पक्षलाई हेर्ने द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद र माक्र्सवादको अध्ययन, परिमार्जन र चिन्तन गरेर अगाडि बढ्दा नै माक्र्सवादले सार्थकता पाउँछ । त्यसैले चिन्तनपरम्परामा बौद्धिक पुनर्जागरण आवश्यक छ । वैदिक काल र उपनिषद् कालका चिन्तनमा महानता छ त्यसपछि विशदरूपमा चिन्तन गरिएकै पाइँदैन । सांस्कृतिक रूपान्तरणका लागि यी सबै चिन्तनमा पनि परिमार्जन आवश्यक छ । हामीकहाँ राजनीतिक क्रान्ति सफल भयो भने सबै ठिक हुन्छ भन्ने र सांस्कृतिक चिन्तनमा रूपान्तरण नगर्ने प्रवृत्ति आफैँमा गलत रहेको छ । सफल भएको भनिएको राजनीतिक क्रान्तिपछि पनि द्वन्द्व सिर्जना भएको देखिनु सांस्कृतिक र वैचारिक रूपान्तरणका पक्षमा चिन्तन नगरिएकाले हो । विचार निर्माण गर्ने बौद्धिकहरूले नै हो, सत्य र न्यायका पक्षमा बोल्नु र लेख्नु आवश्यक छ अनि मात्र समाज रूपान्तरणको यात्रा तय हुन्छ । नेपालको जेठो प्राज्ञिक गौरव वेद, उपनिषद्, बुद्ध दर्शन, मीमांसा दर्शनको खोजी र अनुसन्धान अहिले भएको छ । इतिहास मासेर वर्तमान निर्माण हुनसक्तैन ।


आजको यो विशेष समारोहमा केन्द्रीय बैङ्कका प्रशासक पनि कवि पनि रहेका डा.भागवत आचार्यका कविता हामीले सुन्यौँ । अर्थशास्त्रका पनि र नेपाली साहित्यका पनि साधक रहेका कविले शिक्षानुसारका योगदान गरेको देखिन्छ । छओटा छन्दका र छओटा गद्यका कविता, एउटा उठान कविता अनि एउटा गीत हामीले सुन्यौँ । कवितामा कविको दृष्टि स्पष्ट अभिव्यञ्जित भएको छ । चिन्तनमा यदाकदाबाहेक स्पष्टता छ । समष्टि चिन्तन व्यक्त भएको छ । हाम्रो समाजमा चरम पुँजीवाद, चरम उपभोक्तावाद हुर्किएको छ, नेपालको संविधानमा समाजवाद उल्लेख भएको भए पनि वर्तमानमा समाजवाद छँदै छैन । गणतन्त्र वा लोकतन्त्रअनुसारको आचरण नभएको आक्रोशका माध्यमबाट कविले समाजवादी चिन्तनको आवश्यकताको वकालत गरेका छन् । धर्म भनेको प्रतिज्ञा हो, धर्मले विरोधाभाष सिर्जना गर्दैन तर प्रचलनमा रहेको धर्मको बुझाइ चाहिँ परम्परा हो । कविले राष्ट्रप्रेम र राष्ट्रिय उद्यमशीलताका पक्षमा वकालत गरेका छन् । नेपाली भूमि सबै नै ऊर्वर रहेको छ, प्रकृतिले आफैँ बनाएको देशलाई हामीले उपभोग गर्ननसकेको मात्र हो भन्ने कविको ठम्याइ सही रहेको छ । बुद्ध नेपाल तथा एसियाका मात्र तारा होइनन् संसारकै तारा हुन् भन्ने यथार्थबोध गराउनखोजिएको छ । पञ्चशीलको सिद्धान्तको मूल तत्त्व बुद्ध दर्शनबाट लिइएको हो । कवितामा सूक्तिमयता पाइन्छ । दर्शन र विज्ञानलाई आधार बनाएर कविता सिर्जना गरिएको छ, आशावादी जीवनदृष्टि सम्प्रेषण गरिएको छ । कवितामा पौराणिक, दार्शनिक विम्बको प्रयोग भएको छ; भाव, कला, विचार र शिल्पको संयोजन भएको छ । दलितमाथिको विभेद र शोषणका प्रति निर्मम आक्रोश व्यक्त गरिएको छ र समाजमा छुवाछुत कायम रहेसम्म समुन्नत समाज निर्माण हुनसक्तैन भन्ने सन्देश सम्प्रेषण गरिएको छ । कवितामा श्रमको सम्मान नभएकोमा चिन्ता पनि जाहेर गरिएको छ । मनोवैज्ञानिक रूपान्तरण आवश्यक छ भन्ने सन्देशका साथ कविता विम्ब र प्रतीकमय हुँदाहुँदै पनि सुबोध्य रहेका छन् । कवितामा युद्ध बाहुबलले होइन विचारले गर्नुपर्छ भन्ने आशय अभिव्यक्त गरिएको छ । समाजमा लाटोकोसेराको प्रवृत्ति जताततै छ, स्वार्थपूर्ण यात्रा र फरबदल घातक कुरा हो, घिनलाग्दो कुरा हो भन्दै मान्छे स्वार्थी भएकामा चिन्ता व्यक्त गर्नुका साथै राष्ट्रिय भावना, विश्वबन्धुत्वका पक्षमा वकालत गरिएको छ । पौरत्स्य परम्पराका सारभूत कुराहरूलाई ग्रहण गर्नुपर्छ तर शोषण र विभेदको भने अन्त्य गरिनै पर्छ भन्ने स्पष्ट मान्यता कवितामा अभिव्यक्त भएको छ । संसारमा मानवतावादी भावना जयपृथ्वीबहादुर सिंहले फैलाएका तर उनको त्यो सद्विचारको कदर नभएको सत्य हो । हामीले आपूmलाई प्रकृतिअनुरूप ढाल्नुपर्छ, प्रकृति मिच्नुहुन्न, प्रकृतिको सम्मान गरिनुपर्दछ भन्ने मान्यता अघि सारिएको छ । विचार र कलाका दृष्टिले; विम्ब, ध्वनि, रस, अलङ्कारको सुन्दर प्रयोगका दृष्टिले कविता सशक्त छन् । तुलनात्मकरूपमा हेर्दा पद्य कविताभन्दा गद्य कविता बढी सशक्त छन् । पद्यमा कविको अझ बढी साधना आवश्यक छ । गीत असाध्यै सुन्दर रहेको छ भन्ने धारणा राख्नुभयो ।
विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, टिप्पणीकार, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने र आफ्ना सिर्जनामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्ने डा.भागवत आचार्यले आफ्ना सिर्जनामा जनजीवनका सम्पूर्ण भोगाइको जीवन्त चित्रण गरेका, सबै सिर्जनामा सामाजिक रूपान्तरणको स्पष्ट आग्रह रहेको, नेपाली समाजमा समस्याका रूपमा रहेको युवापलायनले सिर्जिएको पीडाको अत्यन्त कारुणिक र मार्मिक अभिव्यक्ति कवितामा भएको, सामाजिक उत्पीडन र शोषणको जीवन्त चित्रण गर्दै रूपान्तरणको स्पष्ट आग्रह गरिएको, लोकतन्त्रको प्राप्तिपछि पनि समाज अपेक्षितरूपमा रूपान्तरण नभएको अनि गरिब दुःखीको जीवनस्तर नबदलिएको अवस्थाका प्रति चिन्ता जाहेर गरिएका उत्कृष्ट रचना सुन्न पाइयो । स्रष्टाले समाजमा मौलाएको नक्कल गर्ने प्रवृत्तिको विरोध गरेका छन् । राम्रा स्रष्टाको प्रभाव ग्रहण गर्ने कार्य सकारात्मक रहेको छ । अर्काे महिनामा ७० औँ ‘अविरल जनसाहित्य यात्रा’मा प्रगतिवादी साहित्यमा योगदान गरिरहनुभएका डा.गोविन्दप्रसाद आचार्यलाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *