‘अविरल जन साहित्य यात्रा ‘३’ मा बूँद रानाको एकल गजल वाचन

जेठ ९ गते शुक्रवार अपराह्न ठिक ३ बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा(३’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने र हरेक महिना महासङ्घका सात ओटा घटकमध्ये कुनै एकको केही न केही विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियान अन्तर्गतको तेस्रो शृङ्खला रहेको जानकारीका साथ महासङ्घका महासचिव राजेश थापाले कार्यक्रमको सञ्चालन गर्दै यस विशेष समारोहको अध्यक्षता गरि दिन महासङ्घका अध्यक्ष खगेन्द्र राईलाई अनुरोध गर्नु भयो । समारोहका विशेष आकर्षण वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् विख्यात गजलकार बूँद राना उपस्थित हुनु हुन्थ्यो । अतिथिहरूमा महासङ्घका उपाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, प्राज्ञ विष्णु प्रभात, समालोचक भोला ओझा उपस्थित हुनु हुन्थ्यो । समारोहमा विराटनगरका शंकर पोखरेल र साहित्यकार धीरेन्द्र प्रेमर्षिलाई स्वागत गरिएको थियो ।

 कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले स्रष्टाहरूका बिचमा हार्दिकता बढाउने, नयाँ पुराना स्रष्टालाई एकै ठाउँमा भेला गरी पुरानाबाट नयाँले सिक्ने अवसर दिलाउँने, इतिहासको सम्मान गर्ने, हाम्रो देशको सामाजिक, सांस्कृतिक रूपान्तरणको अभियानमा सिर्जनाका माध्यमले सशक्त रूपले लाग्ने र समृद्ध समाजको निर्माण गर्ने उद्देश्यले थालनी गरिएको यस अभियानमा महासङ्घका अन्य घटकहरूका विशिष्ट कार्यक्रम महिनाभरि नै सञ्चालन गरिने जानकारी दिनु भयो ।

 जन साहित्यिक मञ्च, नेपाल, काव्य विभागकी संयोजक डा.विन्दु शर्माले गजलकार बूँद रानाको साहित्यिक व्यक्तित्वमाथि चर्चा गर्दै नेपाली गजलमा शास्त्रीय छन्द, मौलिक छन्दको प्रयोग गरी प्रगतिवादी चिन्तन सम्प्रेषण गर्ने र सरलताका माध्यमबाट गम्भीर राष्ट्रवादी भाव सम्प्रेषण गर्ने उहाँ उत्कृष्ट र अत्यन्त सफल गजलकारका रूपमा स्थापित हुनु भएको धारणा राख्नु भयो ।

 विशेष समारोहका आकर्षण बूँद रानाले राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र जन साहित्यिक मञ्च, नेपालको आयोजनामा सम्पन्न हुने गरेको यो अभियानको तेस्रोे शृङ्खलामा नै आफूलाई छनोट गरी अवसर प्रदान गरिएकोमा खुसी प्रकट गर्नु भयो र यही अवसरको सदुपयोग गर्न आफू भैरहवादेखि आएको जानकारी पनि दिनु भयो अनि आफ्ना सात ओटा गजल उत्कृष्ट एवम् मनमोहक शैलीमा गाउनु भयो । देवी नेपाल, नारायण निराशी, इन्दु अंशु, रूपक अलङ्कार  जय गौडेलले उहाँका एक एक ओटा गजल सुन्दर लयमा गाएर साथ दिनु भयो ।      

बिचमा गजलकार बूँद रानालाई र उहाँको दुबैपट्टि उल्लेखित पाँच जना कविहरू राखी विशेष तरिकाले व्यवस्थित रूपमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रारम्भमै राष्ट्रिय जन सास्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले गजलकार बूँद रानालाई खादा ओडाएर सम्मान गर्नु भएको थियो ।

 वाचित एक दर्जन गजलका बारेमा जनमैत्री क्याम्पसका प्रमुख भोला ओझाले वाचित गजल राष्ट्रवादी भएका, सबै गजलमा वर्तमानप्रतिको आक्रोश र सुदूर भविष्यप्रतिको आशा अभिव्यक्त भएको, अत्यन्त सरलताका माध्यमबाट जयादै गम्भीर भाव व्यक्त भएको र गायन पनि उत्कृष्ट रहेको धारणा व्यक्त गर्नु भयो ।   

विशेष समारोहको समापन गर्दै जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले बूँद रानासँग २०४२ सालमा भैरहवामा परिचय भएको, त्यतिखेरै गजलकारका रूपमा उहाँ स्थापित र चर्चित भइ सक्नु भएको, जन पक्षीय प्रतिनिधिका रूपमा काम गरि रहनु भएको र जन पक्षीय नै गजल लेख्ने गर्नु हुन्थ्यो भन्ने जानकारीका साथ यो विशेष कार्यक्रम सम्पन्न पार्न भैरहवादेखि आइ दिने गजलकार बूँद राना, सहयोग गर्ने सङ्गीत सुब्बा, लालकाजी लामा लगायत सबै सबैमा हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *