रमेश पोखरेल, काठमाण्डौ
यही २०६९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन अपराह्न २ बजे विश्वभाषा क्याम्पसको सभाकक्षमा २०६८ सालको कविवर युद्धप्रसाद मिश्र स्मृति पुरस्कार कवि राम विनयलाई अर्पण गरियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् कविवर युद्धप्रसाद मिश्रका बनारस कालीन सहकर्मी नारायणमान बिजुक्छे ‘रोहित’को प्रमुख आतिथ्य, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षता र डा.नारायण गड्तौलाको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती विशिष्ट अतिथि हुनु हुन्थ्यो भने कविवर मिश्रका बनारस कालीन अर्काे सहकर्मी गोविन्द ज्ञवाली, वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट, रोचक घिमिरे, प्राज्ञ द्वय बूँद राना र सुलोचना मानन्धर, सम्मानित व्यक्तित्व राम विनय अतिथिका रूपमा मञ्चमा हुनु हुन्थ्यो ।
डा.मुकेशकुमार चालिसेले उपस्थित प्रमुख अतिथि, अतिथि तथा अन्य विशिष्ट व्यक्तित्वलाई स्वागत गरी प्रारम्भ भएको उक्त विशेष समारोहमा हालसम्म १९ जना संस्था तथा व्यक्तिलाई युद्धप्रसाद स्मृति पुरस्कार अर्पण गरिएको, कविवरकै गाउँमा स्मृति भवन तथा पुस्तकालय निर्माण गरिएको, वार्षिक प्रकाशन ‘युद्ध’ नियमित प्रकाशित भइ रहेको समेतको जानकारी पनि डा. चालिसेले दिनु भएको थियो । प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा अन्य सहभागीले कविवर मिश्रको तस्बिरमा माल्यार्पण, पुष्पार्पण गर्नु भएको थियो ।
युद्धप्रसाद स्मृति पुरस्कार तथा सम्मानद्वारा सम्मानित व्यक्तित्वका बारेमा साहित्यकार कलाधर काफ्लेले २०२१ सालदेखि नेपाली प्रगतिवादी साहित्यका फाँटमा निर्भीक एवम् समर्पित भएर लागेका राम विनयका आधा दर्जन कविता सङ्ग्रह प्रकाशित भइ सकेका, कथा, निबन्ध पनि लेख्नु भएको भन्दै विस्तृत रूपमा प्रकाश पार्नु भएको थियो । त्यसपछि प्रमुख अितथिले सम्मानित व्यक्तित्व राम विनयलाई माल्यार्पण गरी सम्मान पत्रका साथमा रु.दश हजार राशिको पुरस्कार अर्पण गर्नु भएको थियो ।
सम्मानित स्रष्टा राम विनयले मिश्रको दृढ आस्था, साम्यवादी विचारप्रतिको निष्ठा अनुकरणीय रहेको, जन आकाङ्क्षाको स्पन्दन नभएको कविता शब्दको भण्डार मात्र हो भन्ने अटल मान्यता राख्ने विराट स्रष्टा कविवर मिश्रको नाममा संस्थापित पुरस्कार प्राप्त भएकोमा गौरव बोध भएको मात्र होइन अझ बढी जिम्मेवारी थप भएको महसुस गरेको धारणा राख्नु भयो । समारोहमा डा.रामप्रसाद ज्ञवालीले कविवर मिश्रको कविता वाचन गर्नु भएको थियो । त्यसै गरी मिश्रका बनारस कालीन सहकर्मी गोविन्द ज्ञवालीले बनारसमा पहिले ‘कङ्गनकी हबेली’मा र पछि ‘मुमुक्सी भवन’मा कष्टसाध्य जीवन गुजारा गरेर पनि क्रान्तिका निम्ति, जनताका निम्ति र देशको मुक्तिका निम्ति समर्पित तर राज्यबाट कहिल्यै केही नलिएका बरु दिएका, अत्यन्त प्रेरणादायी व्यक्तित्व हुन् कविवर मिश्र भन्ने धारणा राख्नु भयो । जन गायक प्राज्ञ रामकृष्ण दुवालले कविवर मिश्रद्वारा रचित ‘रक्तक्रान्तिको ज्वालामुखीमा …’बोलको सर्वाधिक चर्चित गीत गाउनु भएको थियो ।
प्रमुख अतिथि नारायणमान बिजुक्छे ‘रोहित’ले देशमा विद्यमान तमाम विकृति र विसङ्गतिका विरुद्धमा कविवर मिश्रले कविता लेख्नु भएको, गोर्खा भर्ती केन्द्र बन्द गर्नु पर्छ भन्ने सशक्त आबाज कवितामा गुञ्जाउँनु भएको, स्वाभिमान कायम राखेर आत्म समर्पण नगरी युवा पुस्तालाई परिचालन गरेर सङ्घर्ष गर्ने हो भने हाम्रो देशले कथित ठुला देशका सामु घुँडा टेक्नु पर्ने छैन भन्ने मिश्रको विचार शाश्वत छ । त्यसैले कविवर मिश्रबाट हामीले प्रेरणा लिनु पर्छ । तर दुखलाग्दो कुरा वर्तमान सत्ता कथित ठुलाको धम्कीका भरमा आत्म समर्पण गरि रहेको छ भन्ने धारणा राख्नु भयो ।
सभाध्यक्ष वासुदेव अधिकारीले कविवर मिश्रको त्यागमय व्यक्तित्व, युद्ध र क्रान्तिका नायक बनेका मिश्र सदैव निरङ्कुशताका विरुद्ध वैचारिक प्रशिक्षण प्राप्त गरी परिवार तथा विलास त्यागेर लोभ लालच विहीन समर्पित व्यक्तित्वका धनी बनेका हुनाले अजरअमर बनेका छन्, बन्दनीय बनेका छन्, उनको आदर्श एवम विचारसँग सम्झौता नगर्ने स्वाभिमान सर्वाेच्च शिखरका रूपमा स्थापित छ । त्यसमा पनि ८४ वर्षको उमेरमा समेत २०४६ सालको जन आन्दोलनमा अगुवा नेतृत्व प्रदान गर्नु उनको महान् कर्म भएकैले अनुकरणीय रहेको छ भन्दै उपस्थित सबैलाई हार्दिक धन्यवाद सहित सभा विसर्जन गर्नु भयो ।