असोज २१/२०७१
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान रत्ननगर चितवनले राजधानीमा वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई ‘पद्मश्री साधना सम्मान २०७०” र कथाकार एवं गजलकार मनु ब्राजाकीको कथासङ्ग्रह ‘अन्नपूर्णाको भोज’का लागि ‘पद्मश्री साहित्य सम्मान २०७०’ विशेष समारोहमा प्रदान गरेको छ । प्रतिष्ठानका संरक्षक साहित्यकार जीवा लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा समालोचक कृष्ण गौतमले सम्मानित स्रष्टाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो भने पुरस्कृत व्यक्तित्वहरू ध्रुवचन्द्र गौतमले पनि मन्तव्य दिनुभएको थियो ।
सम्मानित स्रष्टा मनु ब्राजाकीको सम्मान उहाँको अनुपस्थितिका कारण उहाँका सुपुत्र अमितसिंह भण्डारीले ग्रहण गर्नुभयो । समारोहको आरम्भमै स्वागत मन्तव्य दिँदै
जीवा लामिछानेले ‘आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष निर्णय गर्न प्रतिबद्ध रहेका छौँ ।’ भन्नुभयो । उहाँले नेपाली आख्यानका शिखर पुरुषलाई सम्मान गर्न पाउँदा खुसी र गौरव लागेको बताउनु भयो । साहित्यकार श्रीओम श्रेष्ठ द्वारा सञ्चालित कार्यक्रममा संस्थाका उपाध्यक्ष धनराज गिरीले धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रतिष्ठानको नाममा उल्लेखित खेमलाल लामिछानेको तीन महिनाअघि निधन भइसकेको हुनाले उहाँप्रति श्रद्धा व्यक्त गर्दै एक मिनेटको मौनधारण गरिएको थियो भने अर्को नाम हरिकला लामिछाने चाहिं समारोहमै उपस्थित हुनुहुन्थ्यो र उहाँलाई पनि मञ्चमा ससम्मान राखिएको थियो ।
(फित्कौली डटकमबाट)