अनुपम सिर्जना प्रतिष्ठान नेपालको छब्बीसौँ सिर्जना वाचन श्रृङ्खला श्रावणको १७ गते शनिबार राजधानीको कलङ्कीस्थित एड मार्क कलेज परिसरमा सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो प्रतिष्ठानका उपाध्यक्ष भगवती रोका ‘भूमिका’ले । प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी सुरु भएको उक्त कार्यक्रममा नयाँ पुराना दुई दर्जन सर्जकहरूले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । संस्थाका साहित्य विभाग प्रमुख जगदीश्वर पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेपछि कार्यक्रमले औपचारिक रूप लिएको थियो ।
कार्यक्रममा भाग्यशाली अधिकारी, विनुबाबा घिमिरे, भगवती रोका भूमिका, विजयध्वज थापा, हरि खनाल, पूर्णप्रसाद पन्त, जितु खड्का—लगायतका स्रष्टाहरूले आफ्ना सिर्जनात्मक प्रस्तुति दिनुभएको थियो । गद्य, पद्य दुवै शैलीले उत्तिकै स्थान पाएको उक्त कार्यक्रममा कविता, गीत, गजल, मुक्तक, हाइकुजस्ता साहित्यका बहुविध क्षेत्रलाई समेटिएको थियो । करिब तीन घण्टासम्म चलेको कार्यक्रममा सहभागी कविहरूले जीवन, प्रेम, समाज, विसङ्गति र विद्रोह चेतना आदि विषयलाई केन्द्रमा राखेर आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख अतिथिले आफ्नो मन्तव्यका क्रममा अनुपमको सिर्जनात्मक गतिविधिको प्रशंसा गर्दे यस कार्यको निरन्तरताको कामना गर्नुभयो । उहाँले आफ्नो छन्दोबद्ध कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालनमा रहनुभएका संस्थाका सचिव जितु खड्काले कवि दुवालको एउटा कविता वाचन गरी कार्यक्रममा रौनकता थप्नुभएको थियो ।