मितिः २०७०।३।१५
रमेश पोखरेल, उपाध्यक्ष–साहित्य सन्ध्या
जन साहित्यिक मञ्च, नेपाल’को आयोजनामा आज असार १५ गते शनिवार अपराह्न १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा ‘कविता, गीत, गजल प्रशिक्षण कार्यशाला’ सम्पन्न गरियो । जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा साहित्यकार प्रदीप ज्ञवाली हुनु हुन्थ्यो भने अतिथिहरूमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, प्राज्ञ एवम् वरिष्ठ गायक रामकृष्ण दुवाल, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका सल्लाहकार द्वय रामप्रसाद प्रदीप र शान्ता मानवी, वरिष्ठ गीतकार एवम् सङ्गीतकार श्याम तमोट, महासङ्घका सचिव द्वय कालिका पाठक र कृपाराम धमला, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, समालोचक डा.यादबप्रकाश लामिछाने र प्रशिक्षक देवी नेपाल उपस्थित हुनु हुन्थ्यो ।
प्रमुख अतिथि प्रदीप ज्ञवालीले स्वीच अन गरेर सभाकक्षका बिजुली बत्ती बाली समुद्घाटन गर्नु भएको र जन साहित्यिक मञ्च, नेपालका महासचिव विनोद मञ्जनले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा उपस्थित सबै आदरणीय विद्वत् वर्गलाई मञ्चकी काव्य विभागकी संयोजक डा.विन्दु शर्माले स्वागत गर्नुका साथै कविता, गीत, गजल कसरी लेखिन्छन्, कसरी लेख्नु पर्छ र आफ्ना सिर्जनालाई सुन्दर पार्न स्रष्टाले के कस्ता कुरामा ध्यान दिनु पर्छ भन्ने विषयमा सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान स्वयम् स्रष्टा समेत रहेका विज्ञ व्यक्तित्वबाट सबै स्रष्टालाई दिनु पर्ने आवश्यकता रहेको ठानी जन साहित्यिक मञ्च, नेपालले यस्तो खाले विशेष कार्यशालाको आयोजना गरेको भन्ने समेतको जानकारी गराउनु भयो ।
साहित्यमा विचार पक्ष विषयमा प्रशिक्षण दिँदै राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले राजनीतिक अभियानलाई डोर्याउने शक्ति संस्कृतिमा हुन्छ । राजनीतिक अभियानको भन्दा निकै लामो कालखण्ड पार गरेर मात्र सांस्कृतिक रूपान्तरण हुन सक्छ, त्यसका लागि निश्चित लक्ष्य र गन्तव्य सहितको वैचारिकता आवश्यक हुन्छ र त्यो वैचारिकता चाहिँ कलात्मक पनि हुनु पर्छ । साहित्य सिर्जना समाजको उन्नति, प्रगति र विकासका लागि हुनु पर्छ । जनताको अन्तरमनको चेतना जागृत गराउँने, समाज विकासका बाधक कुरालाई रूपान्तरण गर्ने र विना जोर जबरजस्ती सिर्जनाका माध्यमबाट वा प्रभावबाट समाज परिवर्तन गर्न सक्नु पर्दछ, त्यसैले साहित्यमा विचारको पक्ष ज्यादै शक्तिशाली हुन्छ भन्ने धारणा राख्नु भयो ।
कविता, गीत, गजल लेखन सम्बन्धी समग्र प्रशिक्षण दिँदै प्रशिक्षक, कवि एवम् शास्त्रीय छन्दका विज्ञ सहप्रा.देवी नेपालले मान्छेले बाल्यकालमा कस्तो, युवा अवस्थामा कस्तो र उमेर ढल्केपछि कस्तो साहित्य सिर्जना गर्छ ? मुक्तक भनेको के हो र कसरी लेखिनु पर्छ ? कविता भनेको के हो र कसरी लेखिनु पर्छ ? गीत भनेको के हो र कसरी लेखिनु पर्छ ? गजल कसरी लेखिनु पर्छ ? लय भनेको के हो र कविता, गीत, गजलमा त्यसको महत्त्व के हुन्छ ? शास्त्रीय छन्दका न्यूनतम् मानक के हुन् ? भन्ने समेतका पक्षमा लगभग दुई घण्टा विस्तृत प्रशिक्षण दिनु भयो । उहाँको सरल, सम्मोहनकारी शैली र गम्भीर कुरालाई पनि सजिलो गरी सिकाउने विधिबाट प्रभावित भई हलभरि रहेका सबैले अझै लामो प्रशिक्षणको कार्यक्रम राख्नु पर्ने माग समेत गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी समिति सदस्य एवम् साहित्यकार प्रदीप ज्ञवालीले साहित्य आत्म सन्तुष्टिका लागि लेखिने कुरा होइन, सामाजिक जागरण एवम् रूपान्तरणका लागि लेखिनु पर्छ । प्रगतिवादीहरूलाई विचारको आरोपण मात्र गर्ने कला पक्ष कमजोर पार्ने भन्ने आरोप रहेको छ तर विचार नै महत्त्वपूर्ण कुरा हो साथसाथै कला पक्ष पनि त्यतिकै महत्त्वपूर्ण हुन्छ । कलाका नाममा जनताले बुझ्नै नसक्ने गरी दुरुह पार्नुको कुनै अर्थ हुँदैन । हरेक मान्छेको निजी जीवन हुन्छ र त्यो जीवनमा दुख–सुख, आँसु–हाँसो, आशा–निराशाका कुरा हुन सक्छन् तर पनि स्रष्टाले निराशाका कुरालाई पन्छाएर आशावादी दृष्टिकोण सम्प्रेषण गर्नै पर्छ किनभने निराशा समाज रूपान्तरणको हतियार हुँदै होइन । २०४६ पछिका रचनामा कुण्ठा, आक्रोश तथा निराशाको पक्ष बढी देखिएको छ । नायकत्व खलनायकमा अवतरित भएको, जन अपेक्षा ठुकरिएको अवस्था सत्य हो तर पनि अन्ततोगत्वा समाज रूपान्तरण नगरी त गन्तव्य प्राप्त गर्न सकिँदैन । अबको सिर्जनामा स्रष्टाले बिम्ब प्रयोगमा समेत सचेतता अपनाउनु आवश्यक छ । जात, धर्म, सम्प्रदाय आदिका पहिचानमा भन्दा राष्ट्रिय पहिचानका पक्षमा सिर्जना गरिनु पर्दछ । स्थानीय पहिचान खोज्ने निहुँमा राष्ट्रिय पहिचान गुम्यो भने के हुन्छ ? भन्ने विषमा स्रष्टाले गम्भीर भएर चेतनामूलक सिर्जना गर्नु पर्दछ । अहिले धेरैजसो स्रष्टामा प्रकाशनको हतारो देखिएकाले प्रकाशनपूर्व नै आफ्ना समूहमा छलफल तथा चर्चा गरेर परिष्कार गर्ने अनि छपाउने पद्धतिको विकास गर्न सके सिर्जना स्तरीय हुने हुँदा यसतर्फ पनि स्रष्टा सचेत हुनु पर्छ भन्ने धारणा राख्नु भयो ।
साना नानीहरू प्रलिसा अधिकारी र प्रजिसा सत्यालले बाल कविता वाचन गरे भने सभाध्यक्ष राम विनयले जन साहित्यिक मञ्च, नेपालको वार्षिक कार्य योजना मुताबिक मदन जयन्ती पारेर कविता, गीत, गजलका बारेमा प्रशिक्षणमूलक कार्यशालाको आयोजना गरिएकोमा उपस्थित भएर सहयोग गर्ने सबैलाई, प्रमुख अतिथिलाई, अतिथि एवम् प्रशिक्षक द्वयलाई धन्यवाद दिनु भयो । साथै आगामी साउन ५ गते शनिवार अपराह्न १ बजे जन साहित्यिक मञ्च, नेपाल र साहित्य सन्ध्याको संयुक्त आयोजनामा सिर्जनामा विचार विषयक चर्चा तथा कविगोष्ठी गरिने र स्थानका बारेमा भने पछि जानकारी गराइँने जानकारी सहित कार्यशालाको समापन गर्नु भयो ।