दिप्सको ‘मुस्कानी फूलहरु’ विमोचित

काठमाडौं– इजरायल रहँदै आएकी दिप्स शाहले आफ्नो साहित्यिक यात्रालाई निरन्तरता दिइरहेकी छन् । केही बर्ष अघि मात्रै ‘आगो’ नामक कविता संग्रह निकालेकी उनले दोस्रो कृति ‘मुस्कानी फूलहरु’ बजारमा ल्याएकी छन् । साहित्यकार डा. गोविन्दराज भट्टराईले शनिबार राजधानीमा कृति विमोचन गरे । शब्दाहार क्रियशनले आयोजना गरेको कार्यक्रममा ‘मुस्कानी फूलहरु’को इ–बुक पनि पाण्डुलिपि बुक्समार्फत सार्वजनिक समेत गरिएको थियो । कवि श्रवण मुकारुङ र अमर गिरीले क्लीक गरेर इ–बुक सार्वजनिक गरेका हुन् ।

प्रवासमा रहेर पनि निरन्तर साहित्य कर्ममा लागिरहनु प्रशंसनीय रहेको दावी गर्दै प्रमुख अतिथि गोविन्दराज भट्टराईले दिप्सको नयाँ कृति नेपाली डायस्पोराकै उत्कृष्ट कृति रहेको दावी गरे । ‘उनको कवितामा पर्यवरणीय चेत शक्तिशाली देखिन्छ’ पछिल्लो समय मुलुकबाहिरबाट नेपाली साहित्यिक कृतिहरु आउने क्रम बढेको बताउँदै उनले भने, ‘यी मध्ये दिप्स अब्बल स्रष्टाको पंक्तीमा पर्न सफल छिन् ।’

कार्यक्रममा कवि अमर गिरी, श्रवण मुकारुङ, गीता त्रिपाठी र लेखक प्रतीक ढकालले पनि दिप्सको कवितामाथि टिप्पणी गरेका थिए । उनीहरुले दिप्सको लेखन परिपक्व बन्दै गएको दावी गर्दै विशेषगरि प्रेमका कवितामा उनी निकै नै मनछुने देखिएको बताए । इजरायलमै रहेकी दिप्सले आफ्नो कृति सार्वजनिक समारोहमा आएका साहित्य पारखीहरुलाई फोनबाटै धन्यवाद दिएकी थिइन् । ‘म नेपालमै भएको अनुभुति भइरहेको छ’ उनले फोनमा भनिन् । कृति गोदावरी बुक्स सेन्टरले बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *