आज मिति २०७९ फागुन ३ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव–नियुक्त राजप्रत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरुका लागि सञ्चालन गरिने ३६औं आधारभुत प्रशासन प्रशिक्षण (Basic Administration Training) कार्यक्रम प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालको अध्यक्षतामा शुभारम्भ गरियो । उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय श्री अमनलाल मोदी, अथितिमा मूख्य सचिव श्री शंकर दास बैरागी, संघीय मामिला तथा सामान्य प्रशासन सचिव श्री कृष्णहरि पुष्कर, महालेखा नियन्त्रक श्री हरी प्रसाद मैनाली, उप महालेखा परीक्षक श्री महेश्वर काफ्लेको उपस्थिति रहेको थियो । उक्त आधारभुत प्रशासन प्रशिक्षण कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अध्ययन निर्देशक श्री त्रिलोचन पौड्यालले गर्नु भएको थियो भने वरिष्ठ अध्ययन निर्देशक श्री तुलसी शरण सिग्देलले स्वागत मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा नेपाल सरकारका नेपाल प्रशासन (सामान्य प्रशासन ÷लेखा ÷राजस्व), लेखापरीक्षण सेवा र परराष्ट्र सेवाका गरी कूल २३९ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए ।
शुभारम्भ कार्यक्रममा माननीय मन्त्री मोदीले सार्वजनिक जीवनमा कर्मचारीहरुको लागि समयको महत्व र त्यसले पार्ने प्रभावको विषय उल्लेख गर्दै समयको सहि सदुपयोगलेलै सहि निर्णय लिन टेवा पुग्ने बताउनुभयो । साथै उहाँले नव–नियुक्त अधिकृतहरुलाई आफ्नो प्रतिभा, क्षमता र कार्यशैलिमा आवश्यक सुधारात्मक विकास गर्नुपर्ने सुझाव दिनु भयो ।
त्यस्तै मूख्य सचिव बैरागीले सरकार र कर्मचारीहरुको परस्पर सम्बन्ध हुने बताउदै कर्मचारीले सरकार संग अपेक्षा राखे जस्तै सरकारले पनि कर्मचारीहरुबाट अपेक्षा राखेको बताउँदै प्रविधीमा आउने परिवर्तन संगै सोको सहि प्रयोग गरी कार्यसम्पादनमा आवश्यक सुधार गर्न सुझाव दिनुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन सचिव कृष्णहरि पुष्करले नव–नियुक्त अधिकृतहरुलाई राष्ट्रिय, संगठनात्मक एवं जनताको हितलाई केन्द्रविन्दुमा राखि सेवा प्रवाह गर्न तयार हुनुपर्ने बताउदै प्रतिष्ठानले सञ्चालन गर्ने यस आधारभुत प्रशासन प्रशिक्षण कार्यक्रमबाट प्रशिक्षार्थीहरुले अधिकतम लाभ लिन सुझाउनु भयो ।
उप महालेखा परीक्षक श्री महेश्वर काफ्लेले नव–नियुक्त अधिकृतहरुलाई ऐन, नियम, कानुन, पद्वतिलाई अंगिकार गर्दै स्रोतको महत्तम प्रयोग गर्दै जवाफदेही रुपमा गर्दै आफ्नो तहवाट नतिजा प्राप्त हुने गरी सेवा प्रवाहमा जोड दिन सुझाउनु भयो ।
त्यस्तै महालेखा नियन्त्रक श्री हरी प्रसाद मैनालीले वित्त व्यवस्थापनको महत्व दर्शाउदै प्रशिक्षण कार्यक्रमले सो सम्बन्धि ज्ञान, क्षमताको स्तरोन्नती हुने विश्वास व्यक्त गर्नुभयो ।
अन्यमा शुभारम्भ समारोह कार्यक्रमलाई समापन गर्दै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले आधारभुत प्रशासन प्रशिक्षण कार्यक्रमले अधिकृतहरुको कार्यक्षमता र निर्णय प्रकृयालाई सहजीकरण गर्ने अपेक्षा राख्नु भयो ।