साहित्य सन्ध्यामा ‘कविवर युद्धप्रसाद मिश्रको काव्यिक व्यक्तित्व’ र ‘पर्यावरण संरक्षणमा कविता, गीत, गजलको स्थान’ विषयक परिचर्चासहित विशेष कविगोष्ठी’ सम्पन्न

विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३७ औँ विशेष शृङ्खला फागुन ६ गते शनिबार अपराह्न ठिक १ बजे रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरी ‘कविवर युद्धप्रसाद मिश्रको काव्यिक योगदान’ र ‘पर्यावरण संरक्षणमा कविता, गीत, गजलको स्थान’ विषयमा परिचर्चाका साथ विशेष कविगोष्ठी गरी सम्पन्न भयो ।


सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सन्ध्याकी सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा सन्ध्याका सल्लाहकार एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा साहित्यकार एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता डा.विजय सुब्बा उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा डा.गीता त्रिपाठी, डा.गोविन्दप्रसाद आचार्य, वरिष्ठ कविहरू उमेश उपाध्याय, गायत्रीकुमार चापागाईँ र डम्बर पहाडी ‘एलाक’, प्रगतिशील लेखक सङ्घ बागमती प्रदेशका बैरागी जेठा, महेशराज खरेल, खेमराज निरौला, साहित्यकार एवम् नेपाल राष्ट्र बैङ्कका सञ्चालक चिन्तामणि सिवाकोटी, हरिप्राद भण्डारी, डा.विनोद ढकाल र सीताराम ढकाल फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल उपस्थित हुनुहुन्थ्यो ।


समारोहमा ‘पर्यावरण संरक्षणमा कविता, गीत, गजलको स्थान’ विषयमा परिचर्चा गर्दै डा.गीता त्रिपाठीले हामी मानवजातिको अस्तित्वरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको पर्यावरण विनाशमा कुनै न कुनै रूपमा हामी मानव नै सहभागी रहेका छौँ । शक्ति राष्ट्रहरू शक्तिको होडमा लाग्दा पर्यावरणमा प्रत्यक्ष प्रभाव परेको छ र सानो मुलुक हाम्रो देशले पनि त्यसको प्रभाव व्यहोर्न बाध्य रहेको छ । सांस्कृतिक हस्तक्षेप, उपभोक्तावादी संस्कृतिबाट हामी आक्रान्त रहेका छौँ । हाम्रो समाजमा सिद्धान्त र व्यवहारका बिचको बेमेल पनि हामी भोग्दै छौँ । पितृसत्ताले नारीमाथि विभेद गरिरहेको छ तर प्रकृतिमा विभेदको परिकल्पना हुँदैन । मानवीय अहम्को बढोत्तरी भएका कारण सर्वशक्तिमान् हुने होडले वातावरणीय प्रतिकूलता भित्रिएको छ । काव्यमा कविशिरोमणि लेखनाथ पौड्यालले प्रकृतिवादको वकालत धेरै पहिले गरेका भए पनि २०४६ पछि विज्ञानले प्रकृतिको विनाश गरेको कुरामा सचेतता आउनथालेको पाइन्छ । २०५३ मा अन्नपूर्ण संरक्षण कविता सुरु भएर अभियन्ताहरूको कवितासङ्ग्रह नै आएको छ; जसमा प्रकृति र मानवको सम्बन्धका पक्षमा वकालत गरिएको छ । अहिले धेरै स्रष्टाहरू सिर्जनाका माध्यमबाट प्रकृतिको संरक्षणका पक्षमा उभिनुभएको छ । रेडियो नेपालले पनि प्रकृतिमुखी र संरक्षणमुखी अभियान चलाइरहेको छ । मानवजीवन नीरस हुनुमा प्रकृतिविमुख संस्कृतिको विकास मुख्य कारक रहेको हुँदा प्रकृति र मानवको अन्योन्याश्रित सम्बन्ध छ भन्ने शाश्वतालाई स्वीकार गरी यो अभियानमा हामी सबै स्रष्टा एकाकार हुनु आवश्यक छ, हाम्रा सिर्जनाका माध्यमबाट यो अभियानमा जुट्नु आवश्यक रहेको छ भन्ने धारणा राख्नुभयो ।


समारोहमा ‘कविवर युद्धप्रसाद मिश्रको काव्यिक योगदान’ नेपालमा ज्येष्ठ नागरिकको वर्तमान अवस्था र हाम्रो दायित्व’ विषयमा विशद चर्चा गर्नुहुँदै धारणा राख्नुभयो ।


गोष्ठीमा डा.गोविन्दप्रसाद आचार्य, मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, गोपाल नेपाल, डम्बर पहाडी ‘एलाक’, गायत्रीकुमार चापागाईँ, महेशराज खरेल, भावना न्यौपाने, प्रदीपरत्न शाक्य, लीलाराज दाहाल, उमेश उपाध्याय, देबु लुइटेल, शिवप्रसाद आचार्य, बैरागी जेठा, यदुनाथ वसन्तपुरे, प्रशान्त खरेल, नमुना शर्मा, चिन्तामणि सिवाकोटी, हरिप्रसाद भण्डारी, पूर्ण ओली, कुमार नेपाल, उर्मिला पन्त पाण्डेय, डा.विनोद ढकाल, खेमराज निरौला, जयन्ती स्पन्दन, विन्दु अधिकारी ढकाल, ममता मृदुल, डा.विजय सुब्बा र डा.गीता त्रिपाठीले आआफ्ना कविता, गीत, मुक्तक, एलाक, लघुकथा वाचन गर्नुभएको थियो ।


वाचित रचनामाथि टिप्पणीसमेत गर्नुहुँदै प्रमुख अतिथि प्रा.जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ले साहित्य सन्ध्या ऊर्जाशील संस्था हो र यसले आज ४३७ औँ शृङ्खला सम्पन्न गरिरहेको छ । आजको दिन शिवरात्रिको दिन हो । यो संस्कृतिले शिवको नायकत्व स्वीकार गरेको छ । शिव भनेको शक्ति हो । कालीदेखि मेचीसम्मको हिमवत् खण्डलाई शक्तिको स्रोत मानिन्छ । शिवलाई अर्धनारीश्वर मानिन्छ र शिव र शक्तिको मेल भएको दिनको रूपमा शिवरात्रि मनाइँने गरिन्छ । शिवमा समभावको चिन्तन पाइन्छ र त्यो साम्यवादको प्राककाल मान्नसकिन्छ । शिवको परिकल्पनामा सरलता, समानता, समभाव देखापर्छ । त्यसैगरी आज हामी प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पनि छौँ । प्रजातन्त्रमा बहुनायकत्वले अराजकता निम्तियो । प्रजातन्त्रलाई शब्दमा मात्र सीमित पारिनुहुन्न शिक्षा, चेतना, चिन्तन, व्यवहार, संस्कृति आदि समग्र पक्षमा प्रजातन्त्र आओस् भन्ने जनअपेक्षा पनि हो र हाम्रो कामना पनि हो ।


नेपाल एकीकरणका महान् नायक पृथ्वीनारयण शाह जन्मेकै दिनमा कविवर युद्धप्रसाद मिश्रको जन्म भएको हो र उनी २०४७ फागुन ६ गते ८३ वर्षको उमेरमा कीर्तिशेष भएका हुन् । उनी वि.सं.१९८४ मा दरबारमा जागिरे भएकै वेला ‘अहिंसा प्रार्थना’ लेखे । राणाशासनको ज्यादतीका बारेमा लेखिएको हुँदा भीम शमसेरले जलाइदिएपछि जागिर छाडेर राणाशासनका विरुद्धमा होमिएका उनले १९७७–७८ सालतिरै दरबारवरपर घुम्नेलाई कुकुरसरह भनेर सशक्त विद्रोही चेतना मुखरित गरेका छन् । २००४ सालको राणाविरोधी आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका कारण जेलमा परेका, राणाशासनको अन्त्य आवश्यक छ भन्ने चेतना सम्प्रेषण गर्दै सशक्त कविता लेखेका उनले १९९४ सालमा प्रकाशित गरेको ‘चरा’ कवितासङ्ग्रह अत्यन्त कलात्मक, परिष्कारपूर्ण छायावादी स्वच्छन्दतावादी सशक्त कवितासङ्ग्रह मानिन्छ । सुरुमै विद्रोही चेतना भएका उनी काङ्ग्रेसमा रहेका भए पनि दिल्ली सम्झौता गरेपछि काङ्ग्रेसलाई परित्याग गरी प्रगतिशीलतातर्फ मोडिएका र २०२१–२२ देखि सशक्त प्रगतिवादी गणतन्त्रवादी कविका रूपमा स्थापित भएका हुन् । उनका कवितामा शोषण, उत्पीडनका विरुद्धमा र जागरणका पक्षमा सशक्त वैचारिकता, क्रान्तिचेतना र सूक्तिमयता सम्प्रेषित भएको पाइन्छ । उनी स्वाभिमानी व्यक्तित्वका रूपमा स्थापित भएका छन् । उनले निर्भीकताका साथ विभेदका विरुद्धमा, धर्म र संस्कृतिका नाममा रहेका आडम्बरका विरुद्धमा कवितामा वैचारिकता सम्प्रेषण गरेका छन् । सुरुमै विद्रोही चेतना बोक्ने उनी झन् पछि क्रान्तिकारी बनेका मात्र छैनन् विचार र व्यवहारमा तादात्म्य राख्ने, दूर दृष्टि भएका, सङ्कीर्णताबाट माथि उठेका प्रतिभामा, त्यागमा, समर्पणमा, निर्भीक अभिव्यक्तिमा विराट प्रतिभा हुन्, हामी सबैका प्रेरणाका स्रोत हुन् ।


आजको यो विशेष गोष्ठीमा २९ ओटा रचना वाचन भएका छन् । तीमध्ये चारओटा लघुकथा वाचन भएका छन् । केही शास्त्रीय छन्दका, केही गीतिलयका र केही मुक्तलयका कविता वाचन गरिएका छन् । कवितामा पीतपत्रकारितामा प्रहार गर्नुका साथै सुधारको सन्देश सम्प्रेषण गरिएको छ । समाजका धेरै क्षेत्रमा स्वतन्त्रताको दुरुपयोग गर्ने अराजकता मौलाएको यथार्थ उजागर गर्दै सबै क्षेत्रमा अनुशासन आवश्यक रहेको औँल्याइएको छ । कवितामा समस्यापूर्तिको शैलीमा व्यङ्ग्यचेतना सम्प्रेषण गरिएको छ र समभावको आग्रह गरिएको छ । सकारातमक परिवर्तन गर्नसके मात्र क्रान्ति सफल हुन्छ, क्रान्तिको नाम मात्रले रूपान्तरण हुँदैन भन्ने आग्रह पनि कवितामा गरिएको छ । सांस्कृतिक परिवर्तन हुननसक्नुको पीडा कवितामा उजागर गरिएको छ । यमक अलङ्कारको र तत्सम शब्दको आधिक्य रहेको शास्त्रीय छन्दको कला र विचारका दृष्टिले सुन्दर कविता वाचित भएको छ तर सहज बोधगम्य भने रहेको छैन । नेपाली राजनीतिको समकालीन यथार्थलाई उजागर गरी जलारीको माछा मार्ने साधनजस्तो बनाइएकोमा कवितामा चिन्ताभाव व्यक्त गरिएको छ र रूपान्तरणको ध्वन्यार्थ सम्प्रेषण गरिएको छ । कवि पनि समाजका समस्याको भोक्ता हो, अझ अन्तरहृदयको भोक्ता हो त्यसैले कविको अभिव्यक्ति फरक हुन्छ भन्ने यथार्थ पनि कवितामा आएको छ । धर्मका नाममा देखिएका विकृतिका विरुद्धमा अनि सशक्त वैचारिकतालाई कवितामा सम्प्रेषण गरिएको छ । बिघ्नबाधाहरू रूपान्तरणको यात्रामा आइ नै रहन्छन् तर तिनलाई जित्ने अभियानमा इमानदार भएर समर्पित हुनुपर्दछ भन्ने आग्रह पनि कवितामा आएको छ । चरित्रमा रूपान्तरण नभएका कारण प्रजातन्त्रका प्रति गुनासो आइरहेको यथार्थलाई कवितामा उजागर गरिएको छ । एकतामा जुट्नुपर्ने जागरण र चेतनाका सुन्दर गीत गाइएका छन् । सन्तान र प्रकृतिलाई समान महत्त्वको भाव देखाउनुपर्छ भन्ने आग्रह अर्थात् समभावको आग्रह कवितामा गरिएको छ । कवितामा शान्तिको कामना गरिएको छ । सबैको अस्तित्व स्वीकार गर्नुपर्ने र मानवताभन्दा माथि उठेर जीवविज्ञानमा आधारित हुनुपर्ने आग्रहका कवितासमेत वाचित भएका छन् । प्रजातन्त्र निरीह भएकोमा चिन्ता जाहेर गर्दै संस्कृति, प्रकृति र जीवको समन्वय आवश्यक छ भन्ने सन्देश पनि कवितामा सम्प्रेषण गरिएको छ । वर्तमान हाम्रो पद्धतिका प्रति नेतृत्वकै तहमा रहेको स्रष्टाको अन्तरहृदय असन्तुष्ट रहेको दृष्टान्त पनि उजागर भएको छ । साहित्यले राजनीतिक नेतृत्वलाई झक्झक्याउने, परिवर्तनका लागि दबाब दिने कार्य गर्नुपर्दछ र यो दायित्व स्रष्टाको हो । आजको यो विशेष समारोहका प्राय: रचना सशक्त छन् र नेपाली समसामयिक सन्दर्भलाई उजागर गरेका हुँदा आजको गोष्ठी अत्यन्त सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।


गोष्ठीका अध्यक्ष राम विनयले आजको यो विशेष समारोहमा गुणस्तरीय उपस्थिति रहेको छ । प्रमुख अतिथिले आज गरिदिनुभएको चार विषयक्षेत्रको परिचर्चा, वाचित रचनामाथिको अत्यन्त प्रभावकारी समीक्षाले सर्जकलाई प्रशिक्षणसमेत भएको मलाई अनुभूत भएको छ । डा.गीता त्रिपाठीले समसामयिक विषयमा आफ्नो धारणा राखिदिनुभएर स्रष्टालाई सचेत गर्ने कार्य गरिदिनुभएको छ । आजको यो गोष्ठीबाट स्रष्टाले सिर्जना गर्दा निकै धेरै सावधानी अपनाउनु आवश्यक हुन्छ भन्ने चेतना, सन्देश प्राप्त भएको छ । आफ्नो समयको व्यवस्थापन गरी हाम्रो निम्तालाई स्वीकार गरी उपस्थित भइदिने प्रमुख अतिथि, टिप्पणीकार, परिचर्चाकार एवम् स्रष्टाहरूसमेतलाई हामी आभार व्यक्त गर्दछौँ । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । हामी मासिक शृङ्खलाका माध्यमबाट हरेक महिना भेटिन्छौँ नै । साहित्य सन्ध्या सदैव आफ्नो उद्देश्यप्राप्तिमा समर्पित भइ नै रहन्छ । हाम्रो यो अभियानमा निरन्तर जोडिइरहन यहाँहरूलाई फेरि अर्काे महिनाको पहिलो शनिबार भौतिक उपस्थितिका लागि अनुरोध गर्ने नै छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *