पुराना तीन साहित्यिक पत्रिका सम्मानित

 जेठ २२, काठमाण्डौ

नेपाल साहित्यिक पत्रकार सङ्घले आफ्नो स्थापना दिवसको अवसर पारेर तीन वटा पुराना साहित्यिक पत्रिकाहरूलाई सम्मान गरेको छ । राजधानीमा आयोजित सम्मान समारोहमा नेपाली त्रैमासिक, भानु मासिक र मैथिली भाषामा प्रकाशत हुँदै आएको नैध काननलाई सम्मान गरेको हो । साहित्यिक पत्रकार सङ्घका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न समारोहका मूख्य अतिथि हुनुहुन्थ्यो सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेल । अतिथिहरू हुनुहुन्थ्यो लेखक सङ्घका अध्यक्ष विष्णुविभु घिमिरे, प्रगतिशील लेखक सङ्घका अध्यक्ष अमर गिरी, वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज घिमिरे । मोहन दुवालको स्वागत मन्तव्यपछि धीरेन्द्र प्रेमर्षिले सम्मानित साहित्यिक पत्रिकाहरूले नेपाली साहित्यमा पु¥याई रहेको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

 

समारोहका मुख्य अतिथि सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले नेपाली त्रैमासिकका लागि सम्पादक कमल दीक्षित, ‘भानु नेपाली मासिकका लागि प्रकाशिका शिवानी घिमिरे र नैध काननका लागि सम्पादक रेवतीलाललाई सम्मानपत्र र दोसल्ला प्रदान गर्नुभयो । उहाँहरूलाई प्रदान गरिएको सम्मानपत्रको बेहोरा यादव भट्टराईले वाचन गर्नु भएको थियो ।

 

समारोहमा मन्त्री माधवप्रसाद पौडेलले साहित्यिक पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गर्न पाउँदा आफूलाई गौरव लागेको बताउनुभयो । उहाँले नेपाली साहित्य विश्व स्तरमा पुगिसकेको बताउँदै हाम्रा साहित्यिक कृतिहरू अनुवाद गरी विश्व साहित्यका पाठकसमक्ष पु¥याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

सम्मानित पत्रिकाका तर्फबाट नेपाली त्रैमासिकका सम्पादक कमल दीक्षितले आफूहरूलाई सम्मानित गरेर साहित्यिक पत्रकार सङ्घले तिर्नै नसकिने गुन लगाएको बताउनु भयो । सङ्घका अध्यक्ष रोचक घिमिरेले नेपाली साहित्यिक पत्रकारिताका समस्यातिर सरकारले समुचित ध्यान दिनुपर्ने बताउँदै बिसर्जन गर्नुभएको समारोहको सञ्चालन भने सङ्घका महासचिव चेतनाथ धमलाले गर्नुभएको थियो ।

(तस्विरः नरेन्द्र श्रेष्ठ, एबीसी फोटो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *