‘प्रगतिशील लेखन र सांस्कृतिक रूपान्तरण’ विषयक बृहत् परिचर्चा सम्पन्न

रमेश पोखरेल, काठमाण्डौ

भदौ १४ गते शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको देवकोटा सभाकक्षमा नेपाल प्रज्ञाप्रतिष्ठान र प्रगतिशील लेखक सङ्घ नेपालको संयुक्त आयोजनामा ‘प्रगतिशील लेखन र सांस्कृतिक रूपान्तरण’ विषयक अन्तरक्रियात्मक बृहत् परिचर्चा कार्यक्रम सम्पन्न भयो । प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री माननीय चित्रबहादुर के.सी. हुनुहुन्थ्यो भने विशेष अतिथिमा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति माननीय डा.जगमान गुरुङ, प्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्याय उपस्थित हुनुहुन्थ्यो । उल्लेखित विषयमा छलफलपत्र प्रस्तोता प्रा.डा.पशुपतिनाथ तिमिल्सिना हुनुहुन्थ्यो भने टिप्पणीकारका रूपमा विन्दा मैनाली आमन्त्रित हुनुहुन्थ्यो । अतिथिहरूमा नेपाल कम्युनिस्ट पार्टीका सथायी समिति सदस्य मणि थापा, नेकपा केन्द्रीय सदस्य एवम् जनसांस्कृतिक महासङ्घका संयोजक खगेन्द्र राई, महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, प्राज्ञ प्रा.डा.गोपीन्द्र पौडेल, अन्य दुई प्रज्ञाप्रतिष्ठानका कुलपतिहरू रायन र के.के.कर्माचार्य, प्रगतिशील लेखक सङ्घका निवर्तमान अध्यक्ष मातृका पोखरेल, प्रलेस सल्लाहकारहरू प्रा.डा.बद्रीविशाल पोखरेल, वासुदेव अधिकारी, प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा.यादबप्रकाश लामिछाने, माननीय डा.विजय सुब्बा, माननीय खेम नेपाली, प्राज्ञ राम विनय, प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमला, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, डा.विन्दु शर्मा, नारदमणि हार्तमछाली, साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेल, नेपाल राष्ट्र बैङ्कका डेपुटी गमर्नर चिन्तामणि सिवाकोटी, पारिजात स्मृति प्रतिष्ठानका स्नेह सायमी, प्राज्ञ लक्ष्मी माली, पुण्य गौतम ‘विश्वास’, जनसांस्कृतिक महासङ्घका सहसंयोजक सरल सहयात्री, पूर्व प्राज्ञ नर्मदेश्वरी सत्याल, साहित्यकार शार्दूल भट्टराई उपस्थित हुनुहुन्थ्यो ।

उक्त विशिष्ट समारोहमा उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले स्वागत गर्नुहुँदै साहित्यले सामाज र संस्कृतिको चित्रण गर्नुपर्दछ । बालकृष्ण समको चिसो चुल्हो, डा.मोदनाथ प्रश्रितको मानव महाकाव्य जस्ता कृतिहरूले समाज रूपान्तरणको आग्रह गरेका छन् । गीत, कविताका माध्यमबाट विचारको सम्प्रेषण ह्ुनु चेतना जगाउने कर्म हो । समाज रूपान्तरण निम्ति पुराण वाचनको परम्परागत शैलीमा पं.नारायणप्रसाद पोखरेलले परिवर्तन ल्याएका थिए । हाम्रो समाजका विसङ्गतिमा परिवर्तन ल्याउन सामाजिक सांस्कृतिक रूपान्तरण गर्नु आजको आवश्यकता हो र साहित्यकारहरूले सिर्जनाका माध्यमबाट त्यस दिशामा केन्द्रित हुनुपर्दछ । समाज रूपान्तरण हुनुपर्दछ, अन्धविश्वासमा बस्नुहुँदैन भन्दा आपूmलाई जातीय बहिष्कार गरिएको छ तर पनि म सङ्कीर्णर्णतामा परिवर्तन होला कि, सद्बुद्धि पलाउला कि भन्ने अभियानमा छु, सत्यको पक्षमा छु भन्नुभयो ।

कार्यक्रमको शुभारम्भ राष्ट्रिय गानबाट भएको थियो भने प्रमुख अतिथिले पानसमा बत्ती बालेर औपचारिक समुद्घाटन गर्नुभएको थियो । गोष्ठी आयोजनाको औचित्यमाथि प्रकाश पार्नुहुँदै प्रगतिशील लेखक सङ्घ नेपालका महासचिव समीर सिंहले संस्कृतिमा विकृति मडारिइरहेको, मानवनिर्मत संस्कृतिलाई देवत्वकरण गर्ने प्रवृत्ति बढेको, ढोँग र आडम्बरको प्रदर्शन भइरहेको वर्तमानमा प्रगतिशील लेखनको के दायित्व रहेको भन्ने बहस आजको आवश्यकता हो भन्ने ठानेर यो विशेष कार्यक्रमको आयोजना गरिएको हो भन्नुभयो ।

उक्त विशेष समारोहमा प्रा.डा.पशुपतिनाथ तिमिल्सिनाले ‘प्रगतिशील लेखन र सांस्कृतिक रूपान्तरण’ विषयक छलफलपत्र प्रस्तुत गर्नुहुँदै प्रकृति र संस्कृति रूपान्तरण हुन्छन् । सामाजिक सांस्कृतिक रूपान्तरण साहित्यले मात्र गर्नसक्दछ । समाजको यथार्थलाई जसले राम्रोसँग बुझ्छ र सिर्जनामार्फत अभिव्यक्त गर्नसक्छ त्यसैले रूपान्तरण गर्नसक्छ । अहिलेको युगलाई बेठिक भनियो भने पनि गलत हुन्छ । हामीकहाँ सांस्कृतिक टकराब छ । कम्युनिस्ट पार्टीका नेता पैसाको अभियानमा दौडिएकाले अपेक्षाकृत रूपान्तरण हुननसकेको हो । हामी स्रष्टाले समाजका माग र आवश्यकता बुझेर लेख्नु अहिलेको प्रमुखदायित्व हो भन्दै भन्दै आठ पृष्ठ लामो बृहत् छलफलपत्र प्रस्तुत गर्नुभयो । उक्त छलफलपत्रमाथि समालोचक विन्दा मैनालीले सामान्य टिप्पणी गर्नुहुँदै विषय अति सैद्धान्तिक रहेको, साहित्यका प्रायः सबै विधाको इतिहास खोतल्ने काम छलफलपत्रले गरेको भए पनि गहन विश्लेषण भने नरहेको, हाम्रा संस्कृतिका नराम्रा पक्ष छाडेर राम्रा पक्ष ग्रहण गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । तर छलफलपत्रका कमीकमजोरी के के हुन् र के कस्ता सुधार आवश्यक छ भन्ने पक्षमा प्रवेश गर्नुभएन ।

छलफलपत्रमाथि विभिन्न व्यक्तिहरूले टिप्पणी गर्नुहुँदै राजनीतिले साहित्यलाई महत्त्व नदिएको समस्या नसमेटिएको, सिर्जना मात्र प्रगतिशील भएर हुँदैन विचारले निर्देशित हुनुपर्छ भन्ने पक्षमा जोड दिनुपर्ने, लेखन र व्यवहारमा तालमेल नमिल्नु पनि रूपान्तरणको समस्या हो, खस भाषा बाहेकका भाषाका सिर्जनाको कुरा र अभियानका कुरा छलफलपत्रमा नसकेटिएको, उत्पीडनमा परेका वर्गले गरेका सिर्जना र सङ्घर्षका कुरा नआएका, नवसामन्तवादका विरुद्धमा साहित्यले कसरी कलम चलाउने भन्ने कुरा पनि आउनुपर्ने, विषयवस्तुको गहनतातर्फ छलफलपत्र नगएको, रूपान्तरणका लागि विकल्प दिनुपर्ने, लेखन वर्गसापेक्ष हुनुपर्छ भन्ने पक्षमा जोड नपुगेको, इतिहासको कालखण्डमा संस्थागत योगदान गर्ने संस्थाहरूको नामोल्लेख पनि नभएको, व्यक्तिका नाम पनि कि त सबैका उल्लेख हुनुपर्ने कि त नाम हटाउनुपर्ने, सङ्घर्षपूर्ण आन्दोलनले गरेको योगदानको उल्लेख नभएको, अबको संस्कृति कस्तो हुनुपर्छ भन्ने निष्कर्ष नआएको, साहित्यबाहेकका विधाको कुरा पनि आउनुपर्ने, छलफलपत्रमा प्रगतिशील र प्रगतिवाद के हो भन्ने स्पष्ट खुट्याउनुपर्ने, ठिक लाई ठिक र बेठिकलाई बेठिक भनेर लेख्नसक्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्यायले २०६६ सालपछिको प्रज्ञाप्रतिष्ठान पहिलेको प्रतिष्ठान होइन, अहिले प्रतिष्ठान रूपान्तरणका पक्षपातीहरूसँग सहकार्य गर्न तयार छ । यहाँ अब विचारको निषेध हुँदैन । वेज्ञानिक एवम् भौतिकवादी दृष्टिले लेख्ने लेखकहरूलाई हामी सहकार्यको आग्रह गर्दछौँ । आजको यो बहस महत्त्वपूर्ण विषयमा थालिएको छ, एउटै गोष्ठीले सम्पूर्ण रूपान्तरण हुने होइन । अवैज्ञानिक चिन्तन हटाएर वैज्ञानिक र सारभूत कुरा ग्रहण गर्नुपर्दछ । सांस्कृतिक रूपान्तरणका लागि विकल्प पनि दिनसक्नुपर्दछ । गर्नसक्ने गर्ने र गर्ननसक्ने नगर्ने नीति अवलम्बन गरिनुपर्दछ । सबै नेता पनि दार्शनिक हुँदैनन् । अहिले पनि हाम्रो प्रगतिशील लेखनमा विरोधाभास छन् त्यसैले सरकारलाई पनि कार्यान्वयनका तहमा जानसक्नेगरी बौद्धिक लेखन अहिलेको आवश्यकता हो, प्रगतिशील स्रष्टाको अहिलेको दायित्व पनि यही हो भन्ने धारणा राख्नुभयो ।

जनसांस्कृतिक महासङ्घका संयोजक खगेन्द्र राईले आजको यो विषयको बहसको थालनी अत्यन्त सकारात्मक छ । सांस्कृतिक रूपान्तरणको समस्या हाम्रो चिन्तनमा रहेको छ । विचार र चिन्तन कमजोर भयो भने पनि हाम्रो सिर्जनाले रूपान्तरण गर्नसक्तैन । अहिले समाजका फरक धारकाहरूलाई पनि भौतिकवादको दबाब पर्ने गरेको पाइन्छ, यो सकारात्मक पक्ष हो । जातपात र छुवाछु्तका नाममा विभाजित समाजलाई जोड्नु स्रष्टाहरूको अहिलेको प्रमुख दायित्व हो भन्ने धारणा राख्नुभयो ।

नेकपा स्थायी समिति सदस्य एवम् कला संस्कृति विभाग प्रमुख मणि थापाले स्रष्टाले लेखनको उचाइ निर्माण गर्नुपर्दछ । संसारको वैचारिक आन्दोलनभन्दा नेपालको वैचारिक आन्दोलन फरक छ । हाम्रो समस्या के हो र समाधान के हो भनेर हामीले नै विचार दिनसक्नुपर्दछ । कम्युनिस्ट पार्टीको सरकार निर्माण भए पनि पुराना सरकारी संरचना, शैली, पूर्वाधार आदिका कारण जनअपेक्षा पूरा गर्ननसकेको अवस्था छ । हाम्रा आफ्ना कमजोरीको पनि व्यवस्थापन आवश्यक छ । एउटा लेखक लेखक मात्र नभएर सामाजिक व्यक्ति पनि हुन्छ त्यसैले माक्र्सवादले लेखक, साहित्यकार समाजसँग जोडिन्छ र समाज लेख्छ, रूपान्तरण लेख्छ भन्ने मान्यता राख्दछ । रचनात्मक बहसका माध्यमबाट रूपान्तरणका तहमा पुग्नु आवश्यक छ । विचारसहितको गहन लेखनका माध्यमबाट स्रष्टाले दबाब दिनु आवश्यक छ भन्नुभयो ।

प्रमुख अतिथि माननीय चित्रबहादुर के.सी.ले आजको बहसको विषय बढी गम्भीर तर समय छोटो भएको मलाई अनुभूति भएको छ । राजनीतिले नै नेतृत्व गर्ने हो तर त्यसलाई ठिकढङ्गले नेतृत्व गर्ने भनेको चाहिँ संस्कृतिले हो । नेपालको सन्दर्भमा चाहिँ नेपाली राजनीतिमा सामन्तवादको अवशेष वा जड अहिले पनि कायम रहेको छ । नेपाली जनताका आधारभूत समस्याको समाधान भएको छैन । सांस्कृतिक अगुवा आफैँले उदाहरण बन्नुपर्छ र रूपान्तरणका पक्षमा लाग्नुपर्दछ । सांस्कृतिक रूपान्तराण न त आदेश दिएर हुन्छ, न त कानुन बनाइदिएका भरमा हुन्छ, यो त जनताको अन्तस्करणको चेतना जगाएर मात्र हुनसक्छ त्यसैले यस दिशामा स्रष्टाको महत्त्वपूर्ण भूमिका र दायित्व रहन्छ र सचेत लेखन आवश्यक छ भन्नुभयो ।

गोष्ठीका अधयक्ष प्रा.डा.जीवेन्द्रदेव गिरीले प्रगतिशील लेखकहरूले सामाजिक रूपान्तरणमा योगदान गर्नुपर्दछ, यो यथार्थ हो । तर यसको विधि, शैली, तरिका के हुनुपर्दछ ? सामूहिक प्रयास कस्तो हुनुपर्दछ ? ककसको कति कति योगदान हुन्छ भन्नेसमेतका विषयमा बहस चलाउने र निष्कर्ष पुग्ने अनि सरकारलाई पनि सोहीअनुसार घच्घच्याउने प्रयासस्वरूप आजको यो विशेष समारोह नेपाल प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा गरिएको हो । हाम्रो निमन्त्रणा स्वीकार गरी यो भव्य उपस्थिति यहाँहरूले जनाइदिनुभयो, प्रा.डा.पशुपतिनाथ तिमिल्सिनाले मिहिनेतपूर्वक छलफलपत्र तयार गरिदिनुभयो र उक्त पत्रमाथि यहाँहरूले सक्रियतापूर्वक बहस चलाइदिनुभयो; यस सकारात्मक कार्यले हामीलाई हौसल्याएको छ । म सबै सबैमा हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद अर्पण गर्दछु भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.