काठमाडौँ, २०७२ जेठ २२
नेपालमा बोलिने तेस्रो ठूलो भोजपुरी भाषाको इतिहास र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल भोजपुरी समाजको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल भोजपुरी समाजका अध्यक्ष भउच प्रसाद यादवको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङगा प्रसाद उप्रेतीले हुनुहुन्थ्यो । उप्रेतीले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन भएको समारोहमा उप्रेतीले बहुभाषा र बहुसंस्कृति मिलेर नेपाल बनेको बताउनु भयो । उहाँले भाषा र संस्कृति निर्माण गर्न भोजपुरी भाषाले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नु भयो ।
भोजपुरी भाषाका विद्वान् सन्त कविरको ६१६ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सन्ते कविरप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै आध्यात्मिक, भाषिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कविरको जन्म जयन्ती सहकार्यमा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यस प्रकारको गोष्ठीले भोजपुरी भाषाले अरुलाई पनि चिनाउने अवसर प्राप्त गर्ने बताउनु भयो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीद्वारा स्वागत गरिएको कार्यक्रममा उपकुलपति डा.विष्णुविभु घिमिरे, कविर पन्थी, प्राज्ञ सदस्यहरु, प्राज्ञ सभाका सदस्य लगायत अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति थियो ।
कार्यक्रममा प्रा.डा. श्वेता दीप्ति र भउचप्रसाद यादवबाट क्रमशः कविर एकः व्यक्ति अनेक’ र ‘नेपालमा भोजपुरी भाषाको इतिहास र वर्तमान अवस्था’ शीर्षकमा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमाथि विभिन्न सहभागीहरूले विविध कोणबाट आआफ्ना धारणा राखेका थिए ।