मातृभाषा दिवसको सन्दर्भ र मातृभाषा सङ्गोष्ठी

काठमाडौँ, फागुन ८

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा नेपाल प्रज्ञा-प्रतिष्ठानको आयोजना र युनेस्को काठमाडौँको सहआयोजनमा मातृभाषा सङ्गोष्ठी एवम मातृभाषा कविता महोत्सव आरम्भ भएको छ । दुई दिन चल्ने उक्त कार्यक्रमको पहिलो दिन आज प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा संस्कृति, पर्यटन मन्त्री दीपकचन्द्र अमात्यले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नु भयो ।

image

समुद्घाटन मन्तव्यका क्रममा मन्त्री अमात्यले बहभाषिक नेपालमा सबै मातृभाषाको संरक्षण संवर्धन र विकास आवश्यक भएको र बहुभाषिक नेपालको फुलबारीबाट कुनै फुल नवैलावस् भन्ने धारणा राख्नु भयो । प्रज्ञा प्रतिष्ठानले मातृभाषाको क्षेत्रमा राष्ट्रिय महत्त्वको भूमिका निर्वाह गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नु भयो ।

image

कार्यक्रमको उद्घाटन सत्रमा नेपालका लागि बङ्गलादेशीय राजदूत मासेफी बेन्ते साम्स (Mashfee Binte Shams) ले दिवसको सान्दर्भिता बारेमा बोल्नु भएको थियो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले नेपालमा मातृभाषाको विकासका लागि केही प्रयास भए पनि तिनमा व्यापकता ल्याउन आवश्यक रहेको विचार व्यक्त गर्नु भयो ।

image

कार्यक्रममा युनेस्को काठमाडौंका प्रमुख तपनाथ पन्तले युनेस्कोका महानिर्देशक इरिना बोकोभाद्वारा मातृभाषा दिवसका अवसरमा विश्वव्यपी रूपमा जारी गरिएको सन्देश वाचन गर्नु भयो । सन्देशमा युनेस्कोले स्थानीय तथा अन्य संस्कृतिलाई समावेश गर्नका लागि द्विभाषीय अन्तरसांस्कृतिक पद्धतिद्वारा समावेशी शिक्षालाई प्रवद्र्धन गरिरहेको उल्लेख छ ।

उपकुलपति विष्णुविभु घिमिरेद्वारा स्वागत मन्तव्य प्रस्तुत भएको उद्घाटन सत्रको सभाध्यक्षता प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गर्नु भएको थियो । उहाँले विषयक्षेत्रसँग सम्बद्ध सङ्संस्थासँग सहकार्य गर्दै प्रज्ञा-प्रतिष्ठान भाषिक, साहित्यिक र सांस्कृतिक विकासमा क्रियाशील रहेको चर्चा गर्नुभयो ।

image

मातृभाषा सङ्गोष्ठीको आजको पहिलो सत्रको सभापतित्व प्रा.डा. हेमाङ्ग राज अधिकारीले गर्नु भएको छ । यस सत्रमा डा. लवदेव अवस्थी, तपनाथ पन्त र धीरन्द्र प्रेमर्षिले प्रस्तुत गर्नु भएका विषयगत कार्यपत्रमाथि सहभागीहरूद्वारा जिज्ञासा एवम् प्रश्नोत्तर गरिएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा प्रा.डा. योगेन्द्र प्रसाद यादव, अमृत योञ्जन र अमर तुम्याहाङद्वारा कार्यपत्र प्रस्तुति एवम् प्रा.डा. माधवप्रसाद पोखरेल र कृष्णराज सर्वहारीले टिप्णी गर्नु हुने छ ।

image

शनिवार दिउसो १ बजे सम्माननीय प्रधानमन्त्री सुशील कोइरालालको प्रमुख आतिथ्यमा विविध मातृभाषामा रचना गरिएका कविता प्रस्तुति हुने राष्ट्रिय मातृभाषा कविता महोत्सवको आयोजना हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *