युद्दप्रसाद मिश्र स्मृति प्रतिस्ठानद्वारा झापाका साहित्यकार पुण्यप्रसाद खरेललाई पुरस्कार तथा सम्मान अर्पण

रमेश पोखरेल
मितिः २०७१।११।७

फागुन ७ गते बिहीवार अपराह्न १ बजे स्टाफ कलेज, जावलाखेलमा आयोजित एक विशेष समारोहमा युद्दप्रसाद मिश्र स्मृति प्रतिष्ठानले मिश्रको २५ औँ स्मृति दिवस पारेर प्रतिष्ठानद्वारा स्थापित ‘युद्दप्रसाद स्मृति पुरस्कार तथा सम्मान’द्वारा झापाका प्रखर प्रगतिवादी साहित्यकार पुण्यप्रसाद खरेललाई सम्मानित गरियो । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी विशेष अतिथि हुनु हुन्थ्यो भने अतिथिमा सम्मानित स्रष्टा पुण्यप्रसाद खरेल, पूर्व प्रशासक तथा मिश्र प्रतिष्ठान स्थापना गरिएको सिरुटारको जग्गाको भोगाधिकार दिलाउन महत्त्वपूर्ण योगदान पुर्याउने गेहनाथ भण्डारी, मिश्रका कान्छा छोरा महेश्वरप्रकाश मिश्र, प्राज्ञद्वय नर्मदेश्वरी सत्याल र मातृका पोखरेल, स्रष्टा चयन समितिका संयोजक कलाधर काफ्ले उपस्थित हुनु हुन्थ्यो ।
image

मिश्र प्रतिष्ठानका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षता र भगवानचन्द्र ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा उपस्थित सम्पूर्ण विशिष्ट व्यक्तित्वलाई डा.बालचन्द्र मिश्रले स्वागत गर्नु हुँदै मिश्र प्रतिष्ठान स्थापना गर्न जग्गा प्राप्त गर्दा महत्त्वपूर्ण सहयोग गर्नु हुने पूर्व प्रशासक गेहनाथ भण्डारी तथा मिश्र प्रतिष्ठानको निम्ता स्विकारेर आइ दिनु हुने सबैलाई स्वागत गर्नु भयो र प्रगतिशील आन्दोलनको अगुवाइ गर्ने व्यक्ति तथा संस्थालाई मिश्र प्रतिष्ठानले सम्मान गर्ने परम्परा रहि आएको र यसले २०४९ सालदेखि अविच्छिन्न रूपमा सम्मान गरि रहेको जानकारी पनि दिनु भयो ।
image

प्रमुख अतिथि तथा अतिथिहरूले युद्दप्रसाद मिश्रको तस्बिरमा माल्यार्पण तथा पुष्पार्पण गर्नु भयो । त्यसपछि प्रशासक भएर पनि विभिन्न दबाबका बाबजुद मिश्र प्रतिष्ठानलाई जग्गा उपलब्ध गराइ दिन आफ्नो तर्फबाट महत्त्वपूर्ण योगदान गर्नु हुने गेहनाथ भण्डारीलाई प्रमुख अतिथिले सम्मापन पत्र अर्पण गर्नु भयो, दोसल्ला ओडाएर सम्मान गर्नु भयो । सम्मानित व्यक्तित्व भण्डारीले सिरुटारमा रहेको अहिले मिश्र प्रतिष्ठानले उपभोग गरेको जग्गा महादेव मन्दिरको नाममा राखिनु पर्छ भन्ने आबाज आइ रहेको, राजाको प्रत्यक्ष शासनको दबदबा रहेको, सेनाका तत्कालीन उपत्यका पृतनापतिबाट समेत दबाब आएको भए पनि समाजको रूपान्तरणमा निस्वार्थ योगदान गरेका वरिष्ठ स्रष्टाको नाममा प्रतिष्ठान खडा भएर सम्पत्तिको संरक्षण हुन्छ भने ठिकै छ भनेर तत्कालीन गृह सचिव आफ्ना साथी समेत भएको आधारमा आफूले सहयोग गरेको र त्यो वेलाभन्दा तेर वर्ष पछाडि आएर आफ्नो त्यो समयको योगदानको सम्मान गर्दै खोजी खोजी बोलाएर सम्मान गरेकोमा प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिनु भयो ।
image

पुरस्कृत स्रष्टा पुण्यप्रसाद खरेलको साहित्यिक व्यक्तित्वका बारेमा स्रष्टा चयन समितिका संयोजक कलाधर काफ्लेले आधुनिक नेपाली साहित्यको जन पक्षीय आयाम निर्धाण गर्ने वा भनौँ नेपाली प्रगतिवादी साहित्यमा युगान्तकारी नेतृत्व प्रदान गर्ने कविवर युद्दप्रसाद मिश्रको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले हालसम्म बिस जना व्यक्ति तथा संस्थालाई सम्मानित गरि सकेको, आफ्नो संयोजकत्वमा सहप्रा.हेमनाथ पौडेल र कमलप्रकाश मिश्र रहेको स्रष्टा चयन समिति गठन भएको, मेचीदेखि महाकालीसम्मका स्रष्टाको सूची बनाइएको, प्रगतिशील लेखनमा निष्ठावान् स्रष्टाको खोजी गरिएको, मिश्रको आदर्शलाई अवलम्बन गरेको र साधनारत रहेको स्रष्टा छान्ने भन्ने मापदण्ड तयार पारी सबैतिरबाट छनोट र मूल्याङ्कन गर्दा २००& चैत्र २५ गते ताप्लेलुङमा जन्मिएर २०३१ सालमा ‘छोरोको हत्या’ कथाबाट नेपाली प्रगतिवादी साहित्यमा यात्रारत पुण्यप्रसाद खरेलले दुई कविता सङ्ग्रह, तिन कथा सङ्ग्रह, दुई उपन्यास, दुई यात्रा संस्मरण, एक निबन्ध गरी दश ओटा कृति प्रकाशित गर्नु भएको, झण्डै चार दशक शिक्षण पेसामा संलग्न रहेर निष्ठाको धरोहर खडा गर्नु भएको, धेरै पत्रिकाको सम्पादन समेत गर्नु भएको, राष्ट्रिय जन सांस्कृतिक मञ्च, प्रगतिशील लेखक सङ्घ जस्ता संस्थाको केन्द्रीय सदस्यका रूपमा काम गरि सक्नु भएको र चेतना सहकारीको दुई कार्यकाल अध्यक्ष समेत रहेर निष्ठापूर्वक सेवा गर्नु भएको पाइएकाले ‘विगत चार दशकदेखि अविच्छिन्न सिर्जनाका माध्यमबाट नेपाली समाजको रूपान्तरणका लागि उल्लेख्य योगदान गर्नु भएको’ ठानी २०&० सालको ‘युद्दप्रसाद मिश्र स्मृति पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गर्न सिफारिस गरिएको र त्यही सिफारिसलाई कार्य समितिले अनुमोदन गरी आजको यो विशेष समारोहको आयोजना भएकाले स्रष्टालाई हार्दिक बधाई दिन्छु र प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिन्छु भन्नु भयो ।
image

त्यसपछि रु.दश हजार राशिको ‘युद्दप्रसाद मिश्र समृति पुरस्कार’ प्रमुख अतिथिले सम्मानित व्यक्तित्व पुण्यप्रसाद खरेललाई अर्पण गर्नु भयो, सम्मान पत्र अर्पण गर्नु भयो, माला लगाइ दिनु भयो  र दोसल्ला ओडाएर सम्मान गर्नु भयो ।
image

सम्मानित व्यक्तित्व पुण्यप्रसाद खरेलले नेपाली प्रगतिवादी साहित्यका शीर्षस्थ धरोहर युद्धप्रसाद मिश्रका नाउँमा स्थापित प्रतिष्ठानले उहाँको त्याग र बलिदानलाई सदैव स्मरण गर्न बाध्य पार्ने गरी त्यो सम्मानित पुरस्कार तथा सम्मानका लागि आफूलाई चयन गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु, यतिखेर आफू माथिल्लो कक्षामा चढे जस्तो अनुभूति भइ रहेको, पुरस्कारको राशि कति छ भन्ने कुराले होइन कस्तो व्यक्तित्वको नामको पुरस्कार आफूले ग्रहण गर्दै छु भन्ने कुराले गौरवानुभूति हुन्छ, आज मलाई त्यस्तै गौरव बोध भइ रहेको छ । यो पुरस्कारका लागि आफ्ना सिर्जनामा आगाका ज्वाला बर्साउन सक्ने स्रष्टा पनि थिए होलान् तर मैले सुदूर पूर्वको मेचीमा बसेर गरेको सामान्य साहित्य साधनालाई पनि मूल्याङ्कन गरी यस्तो गरिमामय पुुरस्कार दिने निर्णय गर्नु भएकोमा आफूलाई कता कता डर पनि लागि रहेको छ ( कतै भविष्यमा यो सम्मानको लागि रहेनछ भन्ने अवस्था त आउँदैन ? तर नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा देखिएका विकृति र स्खलन रोक्न एक्लै मेरो मात्रै प्रयत्न त सार्थक नहोला, हामी सबैको सामूहिक प्रयत्न हुनु पर्छ, हामीले सामूहिक सङ्कल्प गर्नु पर्छ, त्यसमा म दृढताका साथ उभिने छु भन्ने प्रण चाहिँ म आजको यो विशेष समारोहमा गर्न चाहन्छु । ती शिखर व्यक्तित्वका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु भन्नु हुँदै मिश्रको देहावसान भएको भोलिपल्ट प्रजातन्त्र दिवसका दिन मिश्रलाई सम्झेर लेखिएको कविता वाचन गर्नु भयो ।
image

युद्धप्रसाद मिश्रका कान्छा छोरा महेश्वरप्रकाश मिश्रले तत्कालीन निरङ्कुश शासन व्यवस्थाको विरोध गरे वापत नेपालबाट सपरिवार अत्यन्त दुखका साथ भागेर बनारस जानु परेको, त्यहाँ कष्टसाध्य जीवन निर्वाह गर्नु परेको, जीविकोपार्जनका लागि औषधि बनाएर सडक सडकमा बेच्दै हिड्नु परेको, पिताजी बिरामी पर्नु भएकाले र राजतन्त्रको अन्त्य नभएसम्म नेपाल नफर्कने अडानका कारण उपचारको बहाना गरी पाल्पामा ल्याएको र पत्र पत्रिकाले मिश्र नेपाल आए भन्ने हल्ला फैलाएकाले काठमाडौँ ल्याएर उपचार पनि गराएको र पिताजीलाई नेपाल फर्काउन झुक्याउनु परेको जानकारी दिनु भयो ।
image

विशेष अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले आज सम्मानित स्रष्टा पुण्यप्रसाद खरेल झापामा बसे पनि उहाँ पूर्वाञ्चलको खम्बा रहेको, शिक्षाका क्षेत्रमा पनि विशिष्ट योगदान पुर्याउनु भएको, आफूले २०३० सालमा दरभङ्गामा आयोजना भएको किसान आन्दोलनको भेलामा कविवर मिश्रसँग भेट्ने अवसर पाएको, उमेरले वृद्ध भए पनि अत्यन्तै जोशिला कविवर मिश्रसँग पछिल्लो चरणमा काठमाडौँमै भेट भयो, उहाँ विरामी पर्दा आर्थिक अभावका कारण ज्यादै कष्ट भोग्नु परेको, नेपाली साहित्यको विकासमा उहाँ सुरुमा स्वच्छन्दावादी भए पनि उहाँका रचनामा मुक्तिको चाहना रहेको, निम्न वर्गका प्रतिको प्रेम, छुवाछूतको विरोध जस्ता प्रगतिशीलता देखा परेका, पछि काङ्ग्रेस छाडेर पुष्पलालको सङ्गतमा आउनु भएको र कम्युनिस्ट विचार ग्रहण गरी प्रखर प्रगतिवादी कवि मात्र बन्नु भएन नेतृत्व नै प्रदान गर्नु भयो । यस्ता वैचारिक अभियानका अग्रज नायकको नाममा स्थापित पुरस्कार तथा सम्मान प्राप्त गर्ने आजका स्रष्टा पनि नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनका अगुवा हुनु हुन्छ त्यसैले उहाँलाई हार्दिक बधाई दिन्छु भन्नु भयो ।
image

प्रमुख अतिथि आनन्ददेव भट्टले स्मृति र श्रवण शक्ति दुबै कमजोर भएका कारण आजको यति महत्त्वपूर्ण समारोहका सबै कुरा आफूले ग्रहण गर्न नसकेकोमा दुखी छु भन्नु हुँदै आज सम्मानित हुनु हुने स्रष्टा पुण्यप्रसाद खरेलको व्यक्तित्वको निर्धारण उहाँले प्रकाशित गरेका दश ओटा कृतिले नै गरि सकेका छन्, उहाँ योग्य व्यक्तित्व हुनु हुन्छ । आगामी पाँच वर्षमा उहाँको लेखन थप समृद्ध होस् र त्यो समृद्ध नयाँ इतिहासको अध्ययन गर्ने अवसर मलाई पनि प्राप्त होस् भन्ने शुभ कामना दिनु हुँदै बधाई ज्ञापन गर्नु भयो ।

सभाध्यक्ष वासुदेव अधिकारीले कविवर मिश्रले स्थापित गर्नु भएको मूल्यको जगेर्ना हामीले गर्न नसकेको, समाज र राष्ट्रले गर्न नसकेको; फिलिपिन्सको स्वाधीनता आन्दोलनका अगुवा जोजे रिजालको सम्मान त्यहाँ राष्ट्रिय स्तरमा गरिएको छ तर पहिलो राजा विरोधी प्रखर साहित्यिक नायक मिश्रजीको सम्मान गणतन्त्र आइ सकेपछि पनि राज्यले गर्न नसकेको हुँदा हामी सबैको प्रयत्नले नेपालको प्रथम गणतान्त्रिक कविका रूपमा उहाँको नाम घोषणा गरिनु पर्दछ, उहाँको योगदानको सार्वजनिक रूपमा मूल्याङ्कन गरिनु पर्दछ त्यस निम्ति हामी सबै लाग्नु पर्छ भन्नु हुँदै सम्मानित व्यक्तित्व झापादेखि आइ दिनु भयो, निम्ता स्विकारेर यहाँसम्म यतिका विद्वान व्यक्तित्व आइ दिनु भयो, सभाकक्ष प्राप्त भयो सबै सबैलाई हार्दिक धन्यवाद भन्दै कार्यक्रमको समापन गर्नु भयो ।
(तस्बिरहरू : वासुदेव अधिकारी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *