जुही मोदनाथ प्रश्रित विशेषाङ्क काठमाडौँ तयारी मूल समिति
अनामनगर, काठमाडौँमितिः २०६८।२।३१
मोदनाथ प्रश्रित विशेषाङ्क विमोचनको काठमाडौँमा भव्य तयारी
सुदूर पूर्वको झापाबाट लगभग तिन शदक अघिदेखि लगातार वरिष्ठ साहित्यकार चूडामणि रेग्मीको सम्पादकत्वमा प्रकाशित भइ रहेको जुही साहित्यिक पत्रिकाले यस पटक वरिष्ठ प्रगतिवादी साहित्यकार, राजनीतिज्ञ, विचारक, चिन्तक, अन्वेषक, आयुर्वेदाचार्य डा. मोदनाथ प्रश्रितको विशेषाङ्क प्रकाशित गर्ने उद्देश्यले देशभरिका सबै खाले लेखक तथा साहित्यकारलाई प्रश्रितका बहु आयामिक व्यक्तित्वका बारेमा लेख्न आग्रह गर्यो ।
करिब १,२०० (एक हजार दुई सय) पृष्ठको बृहत् आकारको विशेषाङ्क प्रकाशित गर्ने निक्र्याेल गरी झापा, इटहरी, भैरहवा, पोखरा र काठमाडौँमा अलगअलग सहयोग समिति बनाई रचना माग गरेकोमा प्रश्रितका बारेमा लेख्नेहरूको बाढी नै आयो र लगभग दुई हजार पाँच सय पृष्ठ हुने सामग्री जम्मा भए । प्राप्त सामग्री मध्ये उपत्यका बाहिरबाट प्राप्तलाई स्तर हेरेर प्रायः सबै राख्ने र उपत्यकाका सामग्री मध्ये अहिले नअटेका लाई भाग दुईको रूपमा अर्काे निकाल्ने तय गरियो । सोही अनुरूप विशेषाङ्को सम्पादनको कार्य अन्तिम अवस्थाम पुगेको र छाप्ने कार्य सुरु भएको छ ।
उक्त बृहत् विशेषाङ्कको विमोचन यही २०६८ असार ६ गते राष्ट्रिय सभा गृहमा अपराह्न २ बजे सम्माननीय प्रधानमन्त्री झलनाथ खनालले गर्नु हुने कार्यक्रम तय भएको छ ।
उक्त कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्न डा. जीवेन्द्र देव गिरीको संयोजकत्वमा १५१ सदस्यीय काठमाडौँ तयारी मूल समिति गठन भएको छ । त्यस अन्तर्गत आर्थिक समिति, प्रचार प्रशार समिति, आवास व्यवस्थापन समिति, स्वागत तथा मञ्च व्यवस्थापन समिति, खाजा व्यवस्थापन समिति, स्वयम सेवक परिचालन समिति गठन भएका छन् । त्यसै गरी वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको संयोजकत्वमा २५ (पच्चिस) सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । उक्त विशेष समारोहमा झापा, भैरहवा, पोखरा लगायत देशका विभिन्न स्थानबाट ठुलो सङ्ख्यामा साहित्यकार उपस्थित हुने व्यवस्था समेत मिलाइएको जानकारी जुहीका सम्पादक तथा प्रमुख व्यवस्थापक चूडामणि रेग्मीले दिनु भएको छ ।
………………………
(रमेश पोखरेल )
संयोजक
प्रचार प्रशार समितिकेही मुक्तक
– गोपालकुमार मैनाली
(१)
स्वार्थ मिले जुट्छ
भागवण्डा नमिले फुट्छ
छ्या ! कस्तो गन्हायो राजनीति
हरेक दलभित्र गुट छ ।
(२)
चुरीफुरी गरेछ
चरी जालमा परेछ
सेरोफेरो मेरो भन्ने
सेखी पनि झरेछ ।
(३)
कति मिठो आँसु
कति खल्लो हाँसो
अभिशप्त जिन्दगी
अरुकै भो नासो ।
(४)
युरोपम जहिल्यै विकास
नेपालमा दिनहुँ विनाश
सत्ताको फोहोरी खेलले
नेपालीको भविष्य सत्यानाश ।
(५)
विदेशी भूमिमा तिमी रुनु
स्वदेशको माटोमा म रुनु
दुबैलाई दुख्नुको एउटै अर्थ छ
माटोको मायामा हामी रुनु ।
शान्तिनगर, काठमाडौँ
मो. ९८४१ २५३३३३