रमा–कृष्ण सृजना प्रतिष्ठानको सम्मान अर्पण एवम् पुस्तक लोकार्पण समारोह

रमेश पोखरेल, काठमाण्डु

फागुन २१ गते शनिवार अपराह्न ठिक १२.४५ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा रमा–कृष्ण सृजना प्रतिष्ठानको आठौँ वार्षिकोत्सवको अवसर पारेर पुरस्कार तथा सम्मान अर्पण एवम् पुस्तक लोकार्पणको विशेष समारोह आयोजना गरियो ।

प्रतिष्ठानका अध्यक्ष ई.महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि हुनु हुन्थ्यो भने विशेष अतिथिमा सुश्री भद्रकुमारी घले र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थित हुनु हुन्थ्योे । अतिथिहरूमा प्रा.डा.वासुदेव त्रिपाठी, प्रतिष्ठानका सल्लाहकार द्वय डा.ध्रुवचन्द्र गौतम र वासुदेव अधिकारी, कथाकार भागिरथी श्रेष्ठ, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, ई.रमेश रानाभाट, समालोचक डा.लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, प्राज्ञ उन्नति बोहोरा शिला उपस्थित हुनु हुन्थ्यो ।
प्रतिष्ठानकी लक्ष्मी उप्रेतीले सञ्चालन गर्नु भएको उक्त विशेष समारोहमा ‘कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान तथा रु.१५,०००।–राशिको पुरस्कार’ २०७२ वरिष्ठ विद्वान प्रा.डा.वासुदेव त्रिपाठीलाई अर्पण गरिएको थियो भने २०७३ सालको सोही सम्मान तथा पुरस्कार आख्यानकार भागिरथी श्रेष्ठलाई अर्पण गरिएको थियो । ‘वीर झागल गुरुङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन सम्मान तथा रु.१०,०००।–राशिको पुरस्कार’ २०७२ नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई अर्पण गरिएको थियो भने २०७३ सालको सोही सम्मान तथा पुरस्कार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्पण गर्ने घोषणा गरिएको थियो । ‘श्री हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञान प्रविधि युवा सम्मान तथा रु.१०,०००।–राशिको पुरस्कार’ २०७२ पुलचोक इन्जिनियरिङ क्याम्पसका ई.रमेश रानाभाट समेतको टोलीलाई हेलिकोप्टर बनाउने प्रविधि आविष्कारका निम्ति प्रदान गरिएको थियो भने २०७३ सालको सोही पुरस्कार पुलचोक इन्जिनियरिङ क्याम्पसकै ई.आदित्य न्यौपाने र उनको समूहलाई अल्लोको प्रशोधन यन्त्र तथा कारखाना निर्माणको प्रविधि विकास गरेको अनुसन्धानका लागि प्रदान गरिएको थियो । सबै पुरस्कार राशि तथा सम्मान पत्र प्रमुख अतिथिले अर्पण गर्नु भएको थियो भने सम्मानित व्यक्तित्वलाई माला अध्यक्षले लगाइ दिनु भएको थियो ।

चारै जना सम्मानित व्यक्तित्वका बारेमा वरिष्ठ साहित्यकार वासुदेव अधिकारीले सङ्क्षित परिचय प्रस्तुत गर्नु भएको थियो । चारै जना सम्मानित व्यक्तित्व र आविष्कारकहरू स्थापित, आफ्नो कर्मका माध्यमबाट समाजमा अनुकरणीय छाप पार्न सफल रहनु भएको, प्रतिष्ठानले विविधतालाई र सत्कार्य एवम् अनुकरणीय कार्यलाई सम्मान गर्ने परम्पराको विकास गरेको धारणा राख्नु भयो ।

सोही विशेष समारोहमा ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘अमेरिकामा इन्द्रेनी’ नियात्रा सङ्ग्रह, लक्ष्मी उप्रेतीद्वारा लिखित ‘स्मृतिमा टेम्स’ नियात्रा सङ्ग्रह, कवि वासुदेव अधिकारीद्वारा लिखित ‘च्यातिएको तमसुक’ कविता सङ्ग्रह र ई.महेन्द्र गुरुङद्वारा भावानुवाद गरिएको अध्यात्म सङ्ग्रह ‘लक्ष्य चिन्तन’को प्रमुख अतिथिले लोकार्पण गर्नु भयो । लोकार्पित दुइटा नियात्रा सङ्ग्रहका बारेमा समालोचक डा.लक्ष्मणप्रसाद गौतमले समीक्षा गर्नु भयो भने लोकार्पित ‘च्यातिएको तमसुक’ कविता सङ्ग्रह र ‘लक्ष्य चिन्तन’ भावानुवाद अध्यात्म ग्रन्थमाथि समीक्षक ज्ञानु अधिकारीले टिप्पणी गर्नु भएको थियो ।

पुरस्कार तथा सम्मान प्राप्त गर्नेमध्येबाट प्रा.डा.वासुदेव त्रिपाठीले नेपाली वाङ्मयको, नेपाली व्यवस्थापन क्षेत्रको र विज्ञान र प्रविधिको क्षेत्रको यथोचित मूल्याङ्कन गरी तिन थरिको सङ्गम बनाइएको र सम्मान गरिएको यो विशिष्ट कार्यक्रम आयोजना गरिएको महसुस भयो । आफूले जीवनको सम्पूर्ण साधना नेपाली साहित्यमा गरेको र नेपाली साहित्यमा व्याप्त विद्वेषलाई कसरी स्वच्छ र शालीन बनाउन सकिन्छ ? कसरी गहन ढङ्गले समालोचना गर्न सकिन्छ भन्नेतिर आफू समर्पित रहेको पक्षलाई यहाँहरूले मूल्याङ्कन गरि दिनु भएको; एउटै मञ्चमा चार ओटा नेपाली साहित्यका कृति त्यसमा पनि स्थापित स्रष्टाका लोकार्पित हुनु र त्यसको साक्षी आफू हुन पाउनु गौरवको कुरा भएको; परिमाणात्मक विकासबाटै गुणात्मक विकास हुन्छ भन्नेमा आफू विश्वस्त रहेको र अबको हाम्रो लेखनले विश्व साहित्यमा हामी कहाँ छौँ भन्ने ठम्याउन सक्ने अवस्था निर्माण गर्नु पर्दछ भन्नु भयो ।

लोकार्पित कृतिका कृतिकारमध्येबाट डा.ध्रुवचन्द्र गौतमले आज लोकार्पित नियात्रा सङ्ग्रह अमेरिकाबाट नेपाल फर्केर आएपछि यहीँ लेखेको र आफू अमेरिकामा रहँदा टिपोट समेत नगरेको हुँदा संस्मरणमा रहेका तथ्यलाई मात्र जस्ताको तस्तै उजागर गरेको भए पनि कतिपय छुटे पनि होलान् तैपनि पढि दिनु होस्, पक्कै पनि पाठकलाई दिक्क लाग्ने छैन भन्दै आज लोकार्पित सबै कृति पढि दिनु होस् भन्ने आग्रह गर्नु भयो ।

प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले रमा–कृष्ण सृजना प्रतिष्ठान स्थापनाको आठ वर्ष पार भएको छ र यो अवधिमा यो प्रतिष्ठानले समाज उत्थानमा उल्लेख्य योगदान गर्दै आएको छ, साहित्यको सेवा गर्दै आएको छ, साहित्यलाई सम्मान गर्ने कार्य गरेको छ, कहिले देश दर्शन गराउने कार्यको आयोजना गरेको छ, नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याउने साधकलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने, साहित्यिक कृति प्रकाशन गर्ने जस्ता अत्यन्त महत्त्वपूर्ण काम यो प्रतिष्ठानले गरि रहेको छ । प्रतिष्ठान पारिवारिक पृष्ठभूमिमा स्थापना गरिएको भए पनि सत्कर्मलाई उद्देश्य बनाउने यस्तै संस्थाहरूले मुलुकमा योगदान गर्न सकेका छन् र यो प्रतिष्ठानले पनि गरि रहेको छ । आफू प्राविधिक इन्जिनियर भएर पनि आफ्ना आमाबुबाले गरेका सत्कर्मको सम्मान र सम्झना गरि रहनका लागि साहित्य र कलासँग जोडेर समाजमा योगदान गर्ने कार्य अत्यन्त उच्च कोटिको र अनुकरणीय रहेको छ । आजको यो विशेष समारोह हेर्दा प्रतिष्ठानले सम्मान तथा छनोट प्रक्रियालाई नै विशिष्ट बनाएको छ र बहुल क्षेत्रको पहिचान गरी सम्मान अर्पण गरिएको छ, इतिहासको मूल्याङ्कन गरी पुरस्कारको स्थापना गरिएको छ । नेपाली साहित्यमा स्थापित धरोहर भवानी घिमिरे, नेपाल एकीकरण अभियानका अभियन्ता वीर झागल गुरुङ, विज्ञान र प्रविधि मुलुकको आवश्यकता हो भन्दै नेपालको विकासमा चिन्तनशील रहने डा.हर्क गुरुङ जस्ता व्यक्तित्वको सम्मानमा पुरस्कार तथा सम्मान स्थापना गरिएको छ । कार्यशैलीको आफ्नोपन र विचित्रता प्रतिष्ठानले अवलम्बन गरेको छ । इतिहासका धरोहरका नाममा स्थापित पुरस्कार नेपाली समालोचना क्षेत्रका शिरोमणि प्रा.डा.वासुदेव त्रिपाठीलाई अर्पण गरिनुले अग्रज पुस्तालाई सम्मान गर्ने र युवा पुस्ताले उहाँहरूका योगदान खोज्न बाध्य पार्ने कार्य गरेको छ । त्यसै गरी नेपाल नयाँ बनाउने भन्ने तर काम भने पुरानै गर्ने परिपाटी बेठिक भएको सबैको मूल्याङ्कन छ । यसमा पर्यटनको, इन्धनको र विद्युतको ठिक व्यवस्थापन गर्नेमध्येका नेपाली जनतालाई अन्धकारबाट उज्यालोमा ल्याउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अँध्यारोका कारण विकासका सम्भावना अवरुद्ध भएका अवस्थामा राम्रो व्यवस्थापकीय कुशलता प्रदर्शन गरी कुलमान विम्ब बन्नु भएका व्यक्तिलाई सम्मान गरेर सत्कार्यमा अझ उहाँलाई ऊर्जा प्रदान गर्ने कार्य भएको छ । त्यसै गरी नेपाल टेलिकममा रहेर उच्च व्यवस्थापकीय कौशल प्रदर्शन गरी कर्पाेरेट प्रबन्धकको ख्याती आर्जन गर्नु भएका सुगतरत्न कंसाकारले विश्वभर राष्ट्रिय ध्वजा वाहकको परिचय दिन सक्ने नेपाल वायुसेवा निगमको पुरानो छवि फिर्ता ल्याउन सक्नु होस् भन्ने अपेक्षा गर्दै उहाँको पूर्व कौशल तथा वर्तमानमा उहाँले चालेका कदमका माध्यमबाट उहाँलाई थप हौसला र ऊर्जा प्राप्त होस् भनेर सम्मान गरिएको छ । हाम्रो मुलुकले प्रतिभा पलायनको पीडा भोगि रहेको छ तापनि पुलचोक क्याम्पसका युवा वैज्ञानिकहरूलाई प्रोत्साहन र ऊर्जा प्राप्त होस् भन्ने सदाशयताका साथ सम्मान तथा पुरस्कार अर्पण गर्ने कार्य पनि प्रतिष्ठानले गरेको छ । अर्थात् सबै क्षेत्रलाई समेटेर सम्मान अर्पण गर्ने सत्कार्य गरेको छ । सँगसँगै चार ओटा नेपाली साहित्यमा महत्त्वपूर्ण स्थान राख्ने कृतिहरू लोकार्पित भएका छन् । प्रखर कवि वासुदेव अधिकारी आफू स्वयम् उच्च प्रशासक भएर पनि नेपाली साहित्यमा विशिष्ट योगदान गरि रहनु भएको छ । प्राविधिक भएर पनि महेन्द्र गुरुङले अध्यात्मका माध्यमबाट जीवन पद्धतिका बारेमा दार्शनिक ग्रन्थ लेख्नु भएको छ । यसरी आजको यो विशिष्ट समारोहमा उपस्थित हुन पाएर यसको विविधता र विशिष्टता हेर्दा प्रतिष्ठानले सम्पन्न गरेको यो र यसअघिका पनि कार्यक्रमहरू ज्यादै अनुकरणीय, ज्यादै प्रशंसनीय र उदाहरणीय रहेको मैले अनुभूत गरेको छु । वास्तवमा यस्तै सत्कर्मका माध्यमबाट सामाजिक रूपान्तरण सम्भव छ भन्ने विश्वास मैले लिएको छु । मलाई अत्यन्तै गौरव बोध भएको छ भन्नु भयो ।

सभाध्यक्ष महेन्द्र गुरुङले प्रतिष्ठानले गरेको सम्मान स्वीकार गरि दिनु भएकोमा सबैमा आभार व्यक्त गर्नु भयो । निमन्त्रण स्वीकार गरी आइ दिनु हुने सबैमा आभार व्यक्त गर्नु भयो । विज्ञान एउटा सोच र परिकल्पना हो तर त्यसलाई प्रविधिमा रूपान्तरण नगर्दासम्म सार्थक हुँदैन । त्यसैले आआफ्ना क्षेत्रमा त्याग, तपस्या र साधना गरि रहनु भएका व्यक्तित्वलाई थप हौसला र ऊर्जा प्रदान गर्नु पर्छ भन्ने हामीले ठानेका छौँ । अध्यात्मले पनि सत्कर्म सिकाउँछ र यसले प्रयोजनविना कोही कसैले केही गर्दैन, प्रयोजन भनेको सुख हो र सुख भगवानमा प्राप्त हुन्छ, सुख भनेको आनन्द हो भन्ने मान्यता राख्छ भन्ने सार सहितको पोखरामा विदुषीबाट प्रवचन सुनेपछि त्यो हिन्दीको प्रवचनको भावानुवाद नेपालीमा गरेको हुँदा पढि दिन आग्रह गर्दै समारोहको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *