‘सहकारीको सुसञ्चालनमा सदस्यको भूमिका’ विषयक प्रशिक्षणमूलक कार्यशाला सम्पन्न

रमेश पोखरेल, काठमाण्डु
२०७३।११।२८

निर्धन विकास बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिद्वारा फागुन २८ गते शनिवार बिहान ८ बजे किङ्स रुफटप रेस्टुरेन्ट, शंखमूलमा ‘सहकारीको सुसञ्चालनमा सदस्यको भूमिका’ विषयक अन्तरक्रियात्मक कार्यशालाको आयोजना गरियो ।

डिभिजन सहकारी कार्यालय, काठमाडौँका प्रमुख श्री आनन्द सारुको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त विशेष गोष्ठीको अध्यक्षता संस्थाका अध्यक्ष झपटबहादुर बोहराले गर्नु भएको थियो । संस्थाका सचिव रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त समारोहमा स्वावलम्बन लघु वित्त विकास बैङ्कका पूर्व प्रमुख कार्यकारी अधिकृत एवम् स्वावलम्बन विकास केन्द्रका निर्देशक, वरिष्ठ साहित्यकार राम विनय, योग गुरु एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता तथा साहित्यकार गोपालकुमार मैनाली, संस्थाका सल्लाहकारहरू जगदिश पोखरेल र हरि गौतम, संस्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक पशुपति अर्याल, शिक्षा उपसमितिकी संयोजक शारदा कडायत, ऋण लगानी समितिका संयोजक विन्दुप्रसाद अर्याल, सञ्चालक समितिका पदाधिकारीहरू, विभिन्न समिति उपसमितिका सदस्यहरू, वैज्ञानिक डा.हरि के.सी., लेखा परीक्षक ध्रुव निरौला, शिक्षासेवी चित्रकला चुडाल, प्रख्यात गजलकार ललिजन रावल, संस्थाकी प्रबन्धक तुलसा अधिकारी लगायत अतिथिहरू उपस्थित हुनु हुन्थ्यो ।

संस्था, संस्थाको सञ्चालक समिति र सदस्यका बिचमा विभिन्न सिर्जनात्मक र रचनात्मक कार्यक्रमहरूका माध्यमबाट समय समयमा भेटघाट हुनु, अन्तरक्रिया हुनु संस्थाको हितमा हुन्छ, सम्बन्ध एवम् चिनाजानी नवीकरण हुन्छ, विशेषज्ञबाट हुने प्रस्तुतिका माध्यमबाट ज्ञानको भण्डार बढ्छ र संस्थाको समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यताका साथ संस्थाले यस्ता गतिविधि हरेक वर्ष गरि रहेको छ । संस्थाका सदस्यका एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने छोराछोरीलाई वर्षैपिच्छे समान तथा पुरस्कार प्रदान गर्ने, असहाय बाल बालिकालाई स्तरीय शिक्षा प्रदान गर्ने कार्यका संस्थाले योगदान गरि रहेको छ र यसै वर्षदेखि संसथाका सदस्यका अभिभावकको देहावसान हुँदा समवेदना पत्रका साथ घरैमा गएर सान्त्वना सहित रु.१५,०००।– सहयोग गर्ने जस्ता कल्याणकारी कार्य सम्पादन गर्दै आएको सकेसम्म कानुनको पालनामा नचुकी सञ्चालन गर्ने, पारदर्शी ढङ्गले कम्पुटराइज्ड विधिद्वारा सञ्चालन गर्ने, सदस्यहरूका बिचमा सौहार्द सम्बन्ध राख्ने र उहाँहरूबाट प्राप्त सुझाबलाई समेत कार्यान्वयन गर्दै संस्था सञ्चालन गर्ने गरिएको जानकारी कार्यक्रम सञ्चालक रमेश पोखरेलले सुरुमै दिनु भएको थियो ।

सभाध्यक्षले प्रमुख अतिथि, अतिथिलाई माल्यार्पण गरी स्वागत गर्नु भएको थियो र आजको विशेष प्रशिक्षणमूलक कार्यशालाको आयोजना गर्नुको उद्देश्यमाथि थप प्रकाश पार्नु भयो । यस विशेष कार्यक्रममा प्रमुख अतिथि भइ दिन र प्रशिक्षण समेत दिन डिभिजन सहकारी कार्यालयका प्रमुखज्यूलाई अनुरोध गरिएकोमा उहाँले सहज रूपमा प्रस्ताव स्वीकार गरि दिनु भई उपस्थित समेत भइ दिनु भएकोमा हार्दिक आभार व्यक्त गर्नु भयो । उपस्थित अतिथि लगायत सबै सदस्य महानुभावलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

प्रमुख अतिथिले उपस्थित सबैलाई एक घण्टा लामो विशद् प्रशिक्षण दिनु हुँदै सहकारी क्षेत्रमा आफ्नो आठ वर्षे कार्यकाल चलि रहेको र यो अवधिमा आफूले महसुस गरेका कुराहरूमा संस्था क्रियाशील भयो भने र संस्थाका सदस्यहरूसँग संस्थाले सुमधुर समन्वय गरि रह्यो भने संस्था समृद्ध हुन सक्छ तर संस्था र सदस्यका बिचमा समन्वय भएन भने समस्या उत्पन्न हुन सक्छ । कहिले काहीँ केही नकारात्मक हल्ला भइ हाले भने पनि सदस्यहरूले यथार्थ बुझ्नु पर्छ र हल्लाको पछाडि लाग्नु हुँदैन । हरेक सदस्यमा संस्था हाम्रो हो र यसलाई जोगाउनु पर्छ भन्ने भावनाको विकास हुनु पर्छ र संस्थाले पारदर्शिता अवलम्बन गर्नु पर्दछ । सहकारीको भविष्य सदस्यहरूको सुझबुझ र सहयोगमा निर्भर हुन्छ, कुनै खास विषयको विद्वान व्यक्ति पनि वित्तीय विषयमा साक्षर नहुन सक्छ, हुँदैन; औपचारिक शिक्षाले मात्र वित्तीय साक्षरता हासिल हुँदैन । सहकारी भनेको सदस्य नियन्त्रित संस्था हो । वाणिज्य बैङ्क सञ्चालन गर्ने छुट्टै कानुनी व्यवस्था हुन्छ त्यसैले त्यहाँ सानो समस्या उत्पन्न हुँदैमा संस्था धराशयी भइ हाल्दैन तर सहकारीमा सदस्य शिक्षा प्रभावकारी भइ दिएन भने संस्था छिटै धराशयी हुन्छ त्यसैले सहकारीमा नियन्त्रण प्रणाली विकसित गरिनु पर्दछ । यो ठिक ढङ्गले सञ्चालन भए नभएको, सदस्यको लगानी सुरक्षित भए नभएको, आन्तरिक लेखा परीक्षण ठिकसँग भए नभएको जस्ता पक्षमा निगरानी आवश्यक हुन्छ त्यसैले सञ्चालक समिति–लेखा समिति र साधारण सभाको त्रिपक्षीय समन्वय र नियन्त्रण यसमा आवश्यक हुन्छ । संस्थामा कुनै पनि प्रकारको समस्या उत्पन्न भयो भने पनि सकारात्मक उपचार खोजिनु पर्दछ । कोही सदस्य कुनै विषयमा क्षमतावान् छ भने उसलाई उसको क्षमता अभिवृद्धि गर्ने तालिम आदिको अवसर जुटाइ दिनु पर्छ । कोही नकारात्मक सोच राख्ने छ भने उसँगको सम्पर्क बढाइ दिने र सुझाब लिने गर्नु पर्छ अनि उपचार खोज्नु पर्छ । ‘संस्थालाई हाम्रो बनाउने र संस्थाले हाम्रो बनाउने’ प्रयत्न खोजिनु पर्छ । स्वार्थ र लोभको त्याग गरिनु पर्छ, संस्था डुब्यो भने सारा सदस्यको लगानी डुब्छ भन्ने सकारात्मक सोच राखेर संस्थाको हितमा मात्र निस्वार्थ ढङ्गले काम गरिनु पर्दछ । त्यसै गरी संस्थाले नेतृत्व विकासको कार्य गर्नु आवश्यक हुन्छ । संस्थाको बारेमा हलुका टिप्पणी कहीँ कतै गरिनु हुन्न, नेतृत्व विकास गर्दै हस्तान्तरण गर्नु पर्छ । संस्था सुसञ्चालनको कार्यविधि निर्धारण गर्नु पर्छ र त्यसै अनुसार सञ्चालित हुनु पर्छ । अरू संस्थाहरूको कार्यविधि अध्ययन गर्ने र राम्रा कुराको अनुकरण गर्ने गर्नु पर्छ । सदस्यको जन्मदिनमा शुभ कामना दिने जस्ता सानातिना कुरालाई व्यवस्थित गर्न सकियो भने पनि अपनत्वको विकास हुन्छ । ‘बलिया सेना भएको टुकडीले मात्र युद्ध जित्छ’ भने झैँ सबल सदस्य निर्माण गर्नु पर्दछ । हरेक सदस्यले सकारात्मक भएर संस्थाका प्रति योगदान दिनु पर्छ । एउटै प्रकृतिको सहकारीमा धेरैतिर सदस्य हुनु हुँदैन एउटैमा रहेर त्यो संस्थालाई सबल बनाउनु पर्छ ।

सहकारीबाट धेरै ब्याज र लाभांश होइन संस्थालाई कति दीर्घजीवी बनाउन सकिन्छ र बढीभन्दा बढी कल्याणकारी कार्य कसरी गर्न सकिन्छ भन्ने सोचिनु पर्छ । बढीभन्दा बढी कार्यक्रम गर्दा खर्च हुन्छ भन्ने सोच्नु हुन्न । बढी कार्यक्रम गर्नु भनेको सदस्यका बिचमा अन्तरक्रिया हुने र सम्बन्धको विकास हुने, समस्याको न्यूनीकरण गर्नमा सहयोग हुने र प्रकारान्तरले संस्थाको समृद्धि हुन्छ भन्ने सोचिनु पर्छ । संस्थालाई आफूले राम्रो भन्ने होइन अरूले राम्रो भनि दिने बनाउनु पर्छ । संस्थाको बजारीकरण र सदस्यका बिचको सम्बन्ध विकासका लागि छुट्टै शैली विकास गर्न सकिन्छ । संस्थाका सदस्यको भावना समेटेर, संस्थाको सफलताको कसी भनेकै सदस्य हुन् भन्ने ठानेर सदस्यको बढोत्तरी गर्दै गइयो भने, प्रचलित नियम कानुनको पालना गरियो भने र विधि निर्माण औ पारदर्शिता अवलम्बन गरियो भने संस्था समृद्ध हुन्छ । छोटो अवधिको यो कार्यशालामा प्रस्तुत गरिएका थोरै कुराहरूमध्ये यति मात्र ग्रहण गर्न सक्नु भयो भने संस्था सबल हुन्छ र सदस्यको पनि हित हुन्छ भन्नु भयो । पुष्ट्याइँका लागि स्वदेशी र विदेशी धेरै दृष्टान्तहरू पनि दिनु भयो ।

अतिथि राम विनयले संस्थाको समृद्धिको चिन्ताका साथ आयोजित यो अन्तरक्रियात्मक कार्यक्रम आफैँमा सकारात्मक रहेको, यसले हरेक सदस्यलाई ऊर्जा प्रदान गर्ने, कुनै पनि संस्थाको समुन्नति त्यसै संस्थाका सदस्यको क्रियाशीलताले र सकारात्मक सोचले मात्र सम्भव हुने अनुभव आफूले सिङ्गो जीवन वित्तीय क्षेत्रमा समर्पण गर्दा स्वदेश तथा विदेशमा सिकेका कुराबाट सँगालेको धारणा व्यक्त गर्नु भयो र शुभ कामना दिनु भयो ।
गोपालकुमार मैनालीले संस्था र सदस्यका बिचको सुमधुर सम्बन्ध नै संस्थाको सफलताको सेतु हो । त्यसका लागि संस्थाले हाल गरि रहेका कल्याणकारी कार्यहरूका अलावा सदस्यका बाल बालिकाको जन्मदिनमा संस्थाले सम्झिने, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने जस्ता कार्य थप्न सकिन्छ भन्ने उदाहरण दिनु भयो । सहभागीहरू विन्दुप्रसाद अर्याल, ध्रुव निरौला, कमल भट्टराई र रमेश पोखरेलले केही जिज्ञासा राख्नु भयो र प्रमुख अतिथिले जबाफ दिनु भयो । त्यसपछि अध्यक्षज्यूले कार्यक्रमको समापन गर्नु भयो र खानाका लागि सबैलाई आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *