२५ साउन । २०७४ सालको साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई प्रदान गरिने भएको छ । साहित्य सन्ध्याको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यसैगरी, मन साहित्य सन्ध्या पुरस्कार भने मनोहर मावि, गाेंगबुमा कक्षा १२ मा अध्ययनरत सविता राणालाई दिइने निर्णय गरिएको छ । प्राध्यापक जगत प्रेक्षित संयोजक र जयन्ती स्पन्दन र लेखनाथ गुरागाई सदस्य रहेको मूल्यांकन समितिले पुरस्कृत प्रतिभाहरुका नाम छनोट गरेको हो । पुरस्कार आगामी भदौ ३ गते प्रदान गरिने जनाइएको छ ।
लामो समयदेखि कविता, निबन्धलगायत विधामा कलम चलाउँदै आएका श्यामल वर्तमान पुस्ताका जल्दाबल्दा सर्जकमा गनिन्छन् । उनका ‘तपाईहरु मार्फत’ (२०४४), ‘लयब्रम्ह’ (२०५९) र ‘हतारमा यात्रा’ (२०६८) कवितासंग्रह र ‘रित्तो गाउँ’ (२०६८) निबन्धसंग्रह प्रकाशित छन् ।
साहित्य सन्ध्या पुरस्कार २०४३ सालदेखि प्रदान गर्दै आएको सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिए । सन्ध्या २०३९ सालमा स्थापित साहित्यिक संस्था हो ।