साहित्य सन्ध्यामा ‘जडताको ताण्डव’ कवितासङ्ग्रहको लोकार्पण तथा लघु कथागोष्ठी सम्पन्न

रमेश पोखरेल

साहित्य सन्ध्याको नियमित मासिक ३९१ औँ शृङ्खला माघ ५ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा वरिष्ठ कवि उमेश उपाध्यायद्वारा लिखित ‘जडताको ताण्डव’ कवितासङ्ग्रहको लोकार्पण एवम् परिचर्चा र लघु कथागोष्ठी गरी सम्पन्न गरियो । साहित्य सन्ध्याका अध्यक्ष प्राज्ञ राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन देबु लुइटेलले गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथि पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा जनगायिका एवम् माननीय सानु पहाडी, त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.भुपप्रसाद धमला, वरिष्ठ कवि कणाद महर्षि, डा.पुष्करराज भट्ट, वरिष्ठ कवि पुरुषोत्तम सुवेदी, वरिष्ठ कवि उमेश उपाध्याय, वरिष्ठ गजलकार रामबहादुर पहाडी, साहित्यकार गोविन्द घिमिरे वेदमणि, आख्यानकार सीताराम नेपाल, प्राज्ञ नर्मदेश्वरी सत्याल उपस्थित हुनुहुन्थ्यो ।
प्रमुख अतिथि शान्ता मानवीले वरिष्ठ कवि उमेश उपाध्यायको कवितासङ्ग्रह ‘जडताको ताण्डव’को लोकार्पण गर्नुभयो र उक्त लोकार्पित कृतिमाथि वरिष्ठ कवि पुरुषोत्तम सुवेदीले चर्चा गर्नुहुँदै शान्त वातावरणमा साहित्यसाधनामा लागिरहने, कम चर्चामा आउनखोज्ने तर गहिरो चेतना भएका कवि उमेश उपाध्यायले जिफन्टमा रहेर लामो समय मजदुर आन्दोलनलाई व्यवस्थित पार्ने र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने अभियान चलाउनुभयो, सयौँ कार्यपत्र प्रस्तुत गर्नुभयो । वैचारिक अभियानको नेतृत्व गरिरहँदा सिर्जनाका तहमा भने उहाँ अत्यन्त अनुशासित एवम् गहिराइका र उचाइका कवि हुनुहुन्छ । उहाँका पाँचओटा लामा कविताहरूको सङ्ग्रहका रूपमा यो कृति आएको छ । उहाँका कविता नाराबाट मुक्त छन् र विचारको गहिराइ कवितात्मक अभिव्यक्ति बनेर आएको छ । समाज, जीवन र दार्शनिक पक्षधरता, सशक्त वैचारिकता, समसामयिकता उहाँका कविताका विषय हुन् अर्थात् कविताका मूल धरातल बनेका छन् । सरलाताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्नु, माक्र्सवादी सौन्दर्यशास्त्रको सुन्दर संयोजन गर्नु, बहुल विम्बको प्रयोग गर्नु, विम्ब र प्रतीकका रूपमा विज्ञानका महत्त्वपूर्ण कुरालाई, पौराणिक रामायण र महाभारतका कुराहरूलाई सुन्दरढङ्गले अभिव्यक्त गर्नु उहाँको कविताको विशेषता हो । उहाँका कवितामा भावुकताको हार्दिक प्रस्तुति मात्र होइन मस्तिष्कचिन्तनसमेत पाइन्छ । हाम्रो मुलुक सामाजिक बेथितिको प्रयोगशाला भएको, २००७ सालदेखि नै भारतीय हस्तक्षेप भित्रिएको (भारतले गोविन्दनारायणमार्फत् राजतन्त्र स्थापित गरिदिएको तर मन्त्रीपरिषद्मा उसको प्रतिनिधि राख्ने), राजधानी झनै बेथितिको सिकार भएको भए पनि र काठमाडौँ सहिष्णु रहेको देखिएको तर राजनीतिक जडतातर्फ भने उन्मुख भइरहेको यथार्थपरक विषयवस्तु कवितामा सम्प्रेषित भएको छ । गन्तव्य बरालिएको लक्ष्यहीनता अर्थात् द्वैध चरित्रको चित्रणका प्रतिको सुन्दर व्यङ्ग्य उहाँका कविता पढेपछि पाठकलाई लाग्छ र मस्तिष्कलाई झङ्क्रित पारिदिन्छ । त्यसैगरी कवितामा ओछ्यान सुरक्षित र आरामदायी स्थल हो तर यो पनि धेरै बेथितिबाट बिथोलिएको छ, यसको सदुपयोग तथा सदुरुपयोग भएको छ भन्ने उहाँको वैचारिकता एवम् वर्गीय पक्षधरता अत्यन्त सुस्पष्टताका साथ कवितामा अभिव्यक्त भएको छ । कवितामा सूत्रात्मकताको प्रयोग गरिएको छ र अक्षर, अङ्कका माध्यमबाट मानवमा ज्ञान, बुद्धि, विवेक पैदा भएको छ; मान्छेले प्राप्त समग्र चेतनाबाट रूपान्तरणको अभियान चलाउने सपना कवितामा अभिव्यक्त भएको छ । नेपाली समाजको मनोवृत्ति, राजनीतिक यथार्थको प्रस्तुति, धर्ती बिर्सनेका प्रति चेतावनीका साथ स्रष्टा र समाजले भोगेको यथार्थको जीवन्त चित्रण गर्दै रूपान्तरणको यात्रा जारी छ भन्ने सन्देश उपाध्यायका कविताका माध्यमबाट सम्प्रेषित भएको पाइन्छ त्यसैले सुन्दर वैचारिक, दार्शनिक एवम् कलात्मक कृतिका लागि कविलाई हार्दिक बधाई दिन्छु भन्नुभयो ।
गोष्ठीमा ललिता दोषी, रामकुमार पण्डित, लीलाराज दाहाल, मुकुन्द न्यौपाने, गोपाल नेपाल, जयन्ती स्पन्दन, गङ्गा कर्माचार्य पौडेल, सीताराम नेपाल, गोविन्द घिमिरे वेदमणि, गोपाल मैनाली, केशवराज अर्याल, नर्मदेश्वरी सत्याल, डम्बर पहाडी, सुनील पुरी, रश्मि रिमाल, देवकी के.सी., गणेश घिमिरे ‘मार्मिक’, डम्बर घिमिरे, सुरज आचार्य, कात्यायन, हरि पौडेल र कणाद महर्षिले आआफ्ना लघु कथा वाचन गर्नुभएको थियो ।
नेपाली लघु कथाको इतिहासदेखि वर्तमानसम्मको अवस्थाका बारेमा सङ्क्षिप्त जानकारीसहित वाचित लघु कथामाथि टिप्पणी गर्नु हुँदै डा.पुष्करराज भट्टले २००७ सालको पूर्णप्रसाद ब्राह्मणको ‘झिल्काहरू’ शीर्षकको पहिलो लघु कथादेखि २००८ सालको जयनारायण गिरीको, २०१९ को शशीकला शर्माको हुँदै नेपाली लघु कथाको यात्रा २०४० पछि गोजी पात्रोको रूपमा विकसित भएको र २०५३ सालमा झापाको धुलाबारीमा तत्कालीन प्रज्ञाप्रतिष्ठानसमेतको आयोजनामा सम्पन्न भएको गोष्ठीमा राजेन्द्र सुवेदीले नेपाली लघु कथाको सैद्धान्तिक स्वरुप प्रस्तुत गर्नुभएपछि एउटा दिशा प्राप्त भएअनुसार हालसम्म करिब ३०० लघु कथाका कृति प्रकाशित भएका छन र नेपाली लघु कथा गतिवान् बनेको छ ।
साहित्य सन्ध्याको आजको यो विशिष्ट समारोहमा बाइसओटा लघु कथा वाचन भएका छन् र यस विशिष्ट गोष्ठीले पनि नेपाली लघु कथालेखन यात्रामा रहेका स्रष्टा खुट्याउने काम गरेको छ, महत्त्वपूर्ण काम गरेको छ । आज वाचित लघु कथाहरूमा स्थापितदेखि नवसिर्जनासम्म सुनिए । केहीमा परिमार्जन आवश्यक छ । यद्यपि लघु कथामा सहरी समाजको अव्यवस्थित ट्राफिक समस्या अभिव्यक्त भएको पाइन्छ भने साहित्यिक क्षेत्रमा देखिएको पुरस्कारका नामको बेथिति उजागर गरिएको छ, पारिवारिक अनुशासन भङ्ग भइरहेको प्रति व्यङ्ग्य गरिएको छ, अनैतिक प्रेमप्रसङ्गका कुरा आएका छन्, समाजको संवेदना व्यक्त भएका छन्, राजनीतिक सङ््घर्षको संवादात्मक अभिव्यक्ति कथामा आएको छ, अन्धविश्वासका कुरा आएका छन्, पारिवारिक विखण्डनका कुरा आएका छन्, रोजगारीका समस्याका कुरा पनि आएका छन्, सामाजिक असमानताका कुरा आएका छन्, सामाजिक मनोवैज्ञानिक कुरा पनि आएका छन् । केही कथामा वर्णनात्मकता बढी पाइन्छ, केहीमा चरित्रचित्रण बढी पाइन्छ भने केहीमा अन्त्य फितलो बनेर आएको छ । लघु कथामा थोरैबाट धेरै भन्न र अर्थ लगाउन मिल्ने सूत्रात्मकता आवश्यक हुन्छ । यो पक्षमा भने आख्यानकार सचेत हुनु जरुरी छ भन्ने धारणा राख्नुभयो ।
लोकार्पित कवितासङ्ग्रहका स्रष्टा उमेश उपाध्यायले कवितासिर्जना यात्रामा लाग्दा कतिपय अवस्थामा आफ्ना मनका कुरा एउटै कवितामा समेट्ननसकेकोले पनि लामा कवितामा पुग्नुपरेको र यस्तै लामा कविताहरूका तीनओटा सङ्ग्रहको तयारी गरिरहेको, आफ्ना कविताका बारेमा पुरुषोत्तम सुवेदीले विशद चर्चा गरिदिनुभएकाले अब तपाईँ पाठकहरूको प्रतिक्रिया पढ्ने अपेक्षा गरेको छु । यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना र मेरो कवितासङ्ग्रहको लोकार्पण तथा परिचर्चाको अवसरका लागि आदरणीय शान्ता मानवीज्यू तथा साहित्य सन्ध्या परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु, आभार प्रकट गर्दछु भन्नुभयो ।
प्रमुख अतिथि शान्ता मानवीले साहित्य सन्ध्याको यो अविश्रान्त यात्रामा आज वरिष्ठ कवि उमेश उपाध्यायको कवितासङ्ग्रहको लोकार्पणको अवसर मलाई प्राप्त भयो । नेपाली लघु कथाका बारेमा इतिहासदेखि वर्तमानसम्म जानकारी प्राप्त भयो र झण्डै दुई दर्जन लघु कथा सुनिए र तिनको विस्तृत समीक्षासमेत सुन्न पाइयो । साहित्यकारले सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्ने, सचेत पार्ने, घच्घच्याउने र राजनीतिलाई दिशानिर्देश गर्ने काम गर्नुपर्दछ तर अहिले साहित्य अल्मलिएको वा बिरोलिएको पो हो कि भन्ने मलाई लागिरहेको छ । यसमा तपाईँ स्रष्टाहरू सचेत हुनुहुने छ भन्नुभयो ।
समारोहका अध्यक्ष राम विनयले साहित्य सन्ध्याले हरेक महिनामा कुनै न कुनै समसामयिक विषयमा गम्भीर बहस गर्ने र कवितावाचन गर्ने विशेष समारोहको आयोजना गर्ने गरेको छ । आजको यो विशेष समारोहमा हामीले लघु कथाका बारेमा चर्चासहित लघु कथावाचन गर्ने, वरिष्ठ कवि उमेश उपाध्यायको ‘जडताको ताण्डव’ कवितासङ्ग्रहको लोकार्पण तथा परिचर्चा गर्ने कार्यक्रम गर्यौ । २०५४ सालताका उमेश उपाध्यायले साहित्य सन्ध्याका लागि महत्त्वपूर्ण योगदान र दौडधुप गर्नुभएर गुन लगाउनुभएको छ । उहाँ वरिष्ठ वैचारिक स्रष्टा हुनुहुन्छ । हाल उहाँ नेपाल बिमा कम्पनीको अध्यक्षसमेत रहनुभएको छ । म उहाँलाई बधाईसमेत दिन्छु, उहाँको लोकार्पित कवितासङ्ग्रहमाथि वरिष्ठ कवि पुरुषोत्तम सुवेदीले विशद चर्चा गरिदिनुभयो, उहाँलाई पनि हार्दिक धन्यवाद दिन्छु । लघु कथाको इतिहासदेखि वाचित लघु कथाको समीक्षासमेतको कार्यका लागि डा.पुष्करराज भट्टलाई हार्दिक धन्यवाद दिन्छु । साहित्य सन्ध्याका अविश्रान्त अभियन्ता वरिष्ठ कवि वासुदेव अधिकारी नेपालको पहिलो र सबैभन्दा ठुलो सञ्जाल रहेको नेपाल बैङ्क लिमिटेडको सञ्चालक समितिको अध्यक्ष नियुक्त हुनुभएको छ, उहाँलाई म साहित्य सन्ध्याको तर्फबाट हार्दिक हार्दिक बधाई ज्ञापन गर्दछु र सफल कार्यकालको शुभ कामना दिन्छु । उपस्थित सबै सबै साहित्यिक मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आगामी महिनामा फेरि हामी कुनै समसामयिक विषयमा बहस गर्नेगरी उपस्थित हुने छौँ र यहाँहरूलाई आमन्त्रण गर्ने छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.