साहित्य सन्ध्यामा जनपक्षीय गीतसङ्गीतको प्रभावकारिता विषयक चर्चा तथा कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाडौं

साहित्य सन्ध्याको नियमित मासिक ३९३ औँ शृङ्खला चैत्र २ गते शनिबार अपराह्न १ बजे आर आर कयाम्पसको सभाकक्षमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलामा नेकपा केन्द्रीय सदस्य एवम् सांस्कृतिक अभियन्ता मणि थापा प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा नेकपा केन्द्रीय सदस्य एवम् संस्कृति विभाग प्रमुख खगेन्द्र राई उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा नेकपा संस्कृति विभागका सचिव प्रा.केशव सुवेदी, प्रा.डा.कृष्णप्रसाद घिमिरे, कणाद महर्षि, रामबहादुर पहाडीलगायतको उपस्थिति रहेको थियो ।

सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा ‘नेपाली प्रगतिशील (जनपक्षीय) गीतसङ्गीतको प्रभावकारिता’ विषयमा दृष्टिकोण प्रस्तुत गर्नुहुँदै प्रमुख अतिथि मणि थापाले नेपाली समाजको रूपान्तरण अभियानमा नेपाली प्रगतिशील प्रगतिवादी गीतसङ््गीतले सारै ठुलो भूमिका निर्वाह गरेका छन् । नेपालको सामाजिक रूपान्तरणको आन्दोलन राजनीतिले मात्रै हाँकेको होइन, यसमा जनताको प्रत्यक्ष संलग्नता रहेको छ, लेखककलाकारको चेतनामूलक लेखन तथा गायनले ठुलो प्रभाव पारेको छ । हाम्रा जनपक्षीय गीतसङ्गीत स्तरीय छन् । केहीले स्तरीय हुँदैमा लोकप्रिय हुँदैन पनि भन्ने गरेका छन्, फरक धारले भन्ने यो भनाइ बहसको विषय हुनसक्छ । प्रभावकारिता उद्देश्यसँग जोडिनुपर्छ, अन्तिम गन्तव्ययुक्त उद्देश्य पुग्ननसके प्रभावकारिता नहुनसक्छ । उद्देश्ययुक्त लेखन भएन, केका निम्ति र कसका लागि भन्ने सोच राखिएन भने जनपक्षीय हुँदैन । हामीले पनि स्तरीकरणमा नै ध्यान दिनुपर्छ । हाम्रो जस्तो जनपक्षीय गीतसङ्गीतको सशक्त चेतना अन्य मुलुकमा पाइँदैन । परिवर्तनको आन्दोलन पनि हाम्रो देशमा व्यवस्थितरूपमा चलेको हो । राजनीतिले बाटो बिराउँदा बिराउँदै पनि जनपक्षीय गीतसङ्गीतले बाटोमा ल्याउने काम गरेका छन् । अबको जनपक्षीय गीतसङ्गीतले नयाँ प्रविधिको प्रयोग र नयाँ र सचेत दृष्टिकोणका साथ, क्रान्तिकारिताविना प्रगतिशीलता हुँदैन भन्ने मान्यताका साथ अगाडि बढ्नु आवश्यक रहेको छ । अबका दिनमा पनि पार्टीको विचार भत्किन नदिन जनतालाई सकारात्मक पार्दै हिमाल, पहाड र मधेसलाई एकताबद्ध पार्दै समृद्धिको दिसातिर लाने र कर्णालीलाई कसरी उकास्ने भन्ने विषयमा गम्भीर हुँदै साम्राज्यवादको अहिलेको आक्रमणबाट कसरी बच्नसकिन्छ भन्ने समेतको सचेततासहित अघि बढ्नु आवश्यक रहेको छ । वास्तवमा जनपक्षीयता भनेको विचार हो । यससँग विचार जोडिएको हुन्छ । जनपक्षीयताको सम्बन्ध माक्र्सवादसँग रहेको हुन्छ, वर्गपक्षधरतासँग हुन्छ । जनपक्षीयताले एउटा भूगोल, राष्ट्र मात्र नलिई अन्तर्राष्ट्रिय जगत्लाई समेटेको हुन्छ । वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय उत्पीडनका विपक्षमा वकालत गर्नु जनपक्षीयताको उद्देश्य रहेको हुन्छ । नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीको स्थापना हुनुभन्दा अघि पनि जनपक्षीय गीतसङ्गीतको अस्तित्व रहेको थियो र पार्टी गठनपछि यसलाई आन्दोलनको रूपमा विकसित गरिएको हो । जनपक्षीय गीतसङ्गीतमा कहिलेकाहीँ नारा मात्र पनि आवश्यक पर्ने हुन्छ किनकि त्यही नाराका माध्यमबाट जनताको चेतनास्तर बढाउने र आन्दोलनमा समाहित गर्नुपर्ने हुन्छ । गीत, सङ्गीत र साहित्यमा शान्ति र अशान्तिको पक्षसमेत रहेको हुन्छ । कहिलेकाहीँ कलाविहीन भएर पनि मूल उद्देश्यमा केन्द्रित रहेको सिर्जनाले रूपान्तरणमा योगदान गरिरहेको हुन्छ । मुख्य कुरा भनेको जनपक्षीयता विचार हो र यसको प्रभावकारिता, स्तरीकरण र कलात्मकताका माध्यमबाट मापन हुन्छ । हाम्रो देशको सन्दर्भमा भने जनपक्षीय गीत, सङ्गीत र साहित्यले सामाजिक रूपान्तरणका तहमा अत्यन्तै सशक्त हतियारको काम गरेको पाइन्छ भन्ने विचार व्यक्त गर्नुभयो ।

गोष्ठीमा डम्बर पहाडी, डा.प्रदीप मैनाली, गोपाल नेपाल, भोलानाथ सुवेदी, मुकुन्द न्यौपने, ऋषिराम अर्याल, कणाद महर्षि, गणेश घिमिरे ‘मार्मिक’, कात्यायन, डा.भागवत आचार्य, भावना शर्मा, रामबहादुर पहाडी, मदन भण्डारी, एल.बी.भण्डारी, मातृका पौडेल, गोपाल मैनालीले आआफ्ना कविता, गजल, गीत, हाइकु, एलाक वाचन गर्नुभएको थियो ।
वाचित सिर्जनामाथि टिप्पणी गर्नुहुँदै प्रा.केशव सुवेदीले कवितामा आलोचना मात्र होइन अस्तित्वको खोजी गरिनुपर्दछ । समृद्धि बिलखबन्दमा परेको भन्ने सतही कुरा मात्र होइन के कस्ता आधारहरू रहेका छन् र के गरिनुपर्दछ भन्ने कुरामा पनि कवि सचेत भएर लेख्नुपर्दछ । कविता सोझो होइन विम्ब र व्यञ्जनायुक्त हुनुपर्दछ । सरदर मान्छेले दिने जस्तो मात्र प्रतिक्रिया कविले दिने होइन । अब साहित्य सन्ध्याको योगदान के हो र यस संस्थाले के गर्यो भन्ने पनि हेर्नुपर्ने वेला आएको छ । यहीँबाट सिकेर साधनाले खारिएका को को हुन् ? उनीहरूको स्थान कहाँ छ ? र संस्थाको स्थान कहाँ छ ? त्यो पनि मूल्याङ्कन गरिनुपर्दछ । अनि कविले कविता भनेको लेखन र वाचन दुबै हो भन्ने बुझ्नुपर्दछ । कविले आफ्नो सिर्जनालाई जनपक्षीय मान्ने तर समाजलाई त्यो बोध हुने खालको भयो कि भएन भन्ने पनि हेक्का राखिनुपर्दछ । प्रतिस्पर्धामा जानका लागि समाजको अध्ययन गर्ने र समाजको गहिराइमा जानु आवश्यक छ । अबको स्रष्टाको दायित्व भनेको नवनिर्माणको हो, चेतना विस्तारको हो, फगत विद्रोह मात्र होइन । सांस्कृतिक रूपान्तरण नभएका कारण राजनीतिक परिवर्तन र संविधान निर्माणपछि पनि अपेक्षाकृत रूपान्तरण हुननसकेको हो । आजको मान्छे विलासी बनिरहेको र विलासको लालच नपाउँदा कुण्ठाको अभिव्यक्ति भइरहेको छ । कविले आफ्नो कविता साधना, तपस्या र आराधनाको उपज हो भन्ने मान्नुपर्दछ । समकालीन समाजका मानक के हुन् ठम्याउनुपर्दछ र यत्रतत्र धुलैधुलो छ भने त्यसलाई सफा गर्ने चेतनाले आफ्ना कवितामा भर्नसक्नुपर्दछ । अनि मात्र साँचो अर्थमा सिर्जनाले सामाजिक रूपान्तरणमा सहयोग गर्नसक्दछ । आज वाचित कविताको स्वर बढी विद्रोही देखिएको छ । सिर्जना फगत उपदेशात्मक हुनसक्तैन भन्ने यथार्थलाई स्रष्टाले मनन गर्नुपर्दछ । समसामयिक यथार्थको उद्घाटन भने आजका कविताले गरेका छन् तर यथार्थको सपाट वर्णन वा उपदेश मात्रले कविताको स्तरीयता कायम हुनसक्तैन । यो पक्षमा स्रष्टाले ध्यान पुर्याउनु आवश्यक छ । आज जनपक्षीय साहित्य, गीतसङ्गीतको प्रभावकारिता जस्तो गहन विषयमा परिचर्चासमेत भएको छ । यस अर्थमा पनि आजको गोष्ठी उपलब्धिमूलक रहेको छ भन्ने धारणा राख्नुभयो ।

विशिष्ट अतिथि खगेन्द्र राईले साहित्य सन्ध्याले झण्डै चार दशकदेखि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको छ । सामाजिक सांस्कृतिक रूपान्तरणकै लागि जनसांस्कृतिक माहसङ्घले जनसाहित्यिक मञ्च, नेपालको गठन गरेको छ । हाम्रो सांस्कृतिक अभियान जनपक्षीय साहित्य, गीत, सङ्गीतका माध्यमबाट मात्र सम्भव छ । यति लामो इतिहास बोकेको साहित्य सन्ध्या पनि अझै धुलैमा छ । हामीले चाहेको पार्टीलाई सरकारमा पु्र्याउँदा पनि हामै्र सिर्जनाका माध्यमबाट असन्तुष्टि जाहेर गर्नुपर्ने अवस्था किन आइरहेको छ ? यो पक्षमा पनि बहस गर्नुपर्ने वेला आएको छ । राजनीतिक पार्टीलाई मुलुक सञ्चालन गर्ने तहमा पुर्याउँदा पनि त्यस्तो भूमिका निर्वाह गर्ने संस्था भने किन उपेक्षित भइरहने हो भन्ने पक्ष बडो पेचिलो छ । जनअपेक्षा पूरा गर्ने हिसाबले काम होस् भन्ने अपेक्षा राखिनु स्वभाविक हो तापनि मुलुकको समृद्धिका पक्षमा स्रष्टाले निरन्तर कलम चलाउनु र घच्घच्याउनु चाहिँ आवश्यक छ । सरकारले के कस्तो हिसाबले कार्यसम्पादन गरिदिए प्रगतिशील साहित्यिक आन्दोलनले उचाइ प्राप्त गर्नसक्छ ? कसरी प्राज्ञिक उचाइ प्राप्त हुनसक्छ ? भन्ने खालका सिर्जना पनि स्रष्टाले गर्नु आवश्यक रहेको छ । सांस्कृतिक अभियानका अभियन्ताले पनि स्वार्थबाट विमुख भएर नेतृत्व गर्नसक्नुपर्दछ । त्यसो भयो भने मात्रै हामीले खोजेको रूपान्तरण हुनसक्दछ र समृद्धिको अभियानलाई सघाउ पनि पुग्दछ भन्ने धारणा राख्नुभयो ।

समारोहका अध्यक्ष राम विनयले साहित्य सन्ध्याले हरेक महिनामा कुनै न कुनै समसामयिक विषयमा गम्भीर बहस गर्ने र कवितावाचन गर्ने विशेष समारोहको आयोजना गर्ने गरेको छ । आजको यो विशेष समारोहमा हामीले यो मुलुकको समग्र रूपान्तरण अभियानमा ज्यादै नै ठुलो योगदान गरेको ‘जनपक्षीय गीतसङ्गीतको प्रभावकारिता’ विषयमा परिचर्चा गर्ने र कविगोष्ठी गर्ने निर्णय गर्यौँ र परिचर्चाका लागि सांस्कृतिक रूपान्तरण अभियानका प्रखर अभियन्ता मणि थापाज्यूलाई आग्रह गर्यौँ, उहाँ आइदिनुभयो र विशद परिचर्चा गरिदिनुभयो । विशिष्ट अतिथि नेकपा संस्कृति विभाग प्रमुख खगेन्द्र राई आइदिनुभएर हाम्रो अभियानमा हौसला थपिदिनुभयो । त्यसैगरी वाचित रचनामाथि टिप्पणी गरिदिन आदरणीय गुरु प्रा.केशव सुवेदीज्यूलाई अनुरोध गर्यौँ । उहाँ पनि आइदिनुभयो र सैद्धान्तिक पक्षसहित विशद चर्चा गरिदिनुभयो । म उहाँहरू तीनै जनालाई हार्दिक धन्यवाद दिन चाहन्छु । उपस्थित कविहरू तथा सबै सबै साहित्यिक मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आगामी महिनामा फेरि हामी कुनै समसामयिक विषयमा बहस गर्नेगरी उपस्थित हुने छौँ र यहाँहरूलाई आमन्त्रण गर्ने छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.