विगत चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४५२औँ शृङ्खला असार १ गते शनिबार अपराह्न ठिक १ बजे ‘पुष्पलालको विचार, दर्शन, व्यवहार र नेपाली राजनीतिमा उनले पुर्याएको योगदान’ विषयमा विशद चर्चासहित विशेष कविगोष्ठीको आयोजना गरी सम्पन्न गरियो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथि एवम् विषयप्रस्तोताका रूपमा पुष्पलाल जन्मशताब्दी समारोह समितिका संयोजक राजनीतिक–सामाजिक रूपान्तरण अभियानका अभियन्ता लोककृष्ण भट्टराई उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा मधेसी आयोगकी सदस्य माननीय आभा सेतु सिंह, पुष्पलाल जन्मशताब्दी समारोह समितिका सदस्यसचिव मुकुन्द आचार्य, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, चीनका लागि पूर्व नेपाली राजदूत डा.महेश मास्के, पुष्पलालको अभियानका अभियन्ता एवम् अग्रज कवि जगन्नाथ आचार्य, सिद्धेश्वमान अक्षलोक साहित्यिक प्रतिष्ठानकी अध्यक्ष डा.सावित्री श्रेष्ठ, नागार्जुन साहित्य प्रतिष्ठानका अध्यक्ष दिल पौडेल, प्रगतिशील लेखक सङ्घ बागमती प्रदेशका बैरागी जेठा, वरिष्ठ स्रष्टाहरू लक्ष्मण तिमिल्सिना, गायत्रीकुमार चापागाईँ, कणाद महर्षि, डा.राजेन्द्रप्रसाद अधिकारी, रत्न उप्रेती, लीलाराज दाहाल, खेमराज दाहाल, महेशराज खरेल, डम्बर पहाडी, वरिष्ठ गीतकार तथा सङ्गीतकार माधव प्रधानलगायतको उपस्थिति रहेको थियो ।
‘नेपाली वामपन्थी राजनीतिक आन्दोलनका शिखर पुरुष पुष्पलालको विचार, दर्शन, वयवहार र उनले नेपाली राजनीतिमा पुर्याएको योगदान’का बारेमा प्रमुख अतिथि लोककृष्ण भट्टराईले विशद चर्चा गर्नुहुँदै पुष्पलाल नेपाली वाम आन्दोलनका मात्र नभएर वाम–लोकतान्त्रिक आन्दोलनकै साझा व्यक्तित्व हुन् । साथै नेपालमा दक्षिणपन्थ हाबी भयो भने लोकतन्त्रको प्राप्तिमा र यसको संरक्षण एवम् प्रबर्धनमा खतरा हुन्छ भन्ने मान्यता राख्ने र सानाठुला दलका रूपमा विभाजन हुने वामन्थीको एकता आवश्यक छ साथै लोकतन्त्रको स्थापनाका निमित्त वा प्रजातन्त्रको स्थापनाका निमित्त वाम–लोकतान्त्रिक संयुक्त सङ्घर्ष आवश्यक छ भन्ने अत्यन्त स्पष्ट विचार राख्ने र आफ्नो विचारमा अत्यन्त अडिक रहने नेता पनि हुन् पुष्पलाल । आपूmले पुष्पलालसँग २०२८ सालदेखि मृत्युपर्यन्त नै सङ्गत गरेको र उनका बारेमा धेरैले शोधअनुसन्धान गरी विद्यावारिधि उपाधि ग्रहण गरेका छन् भने उनको निर्देशनमा भारतीय विद्वान नेता जोन अफ केनेडीले समेत विद्यावारिधि गरेका छन् । बनारसको दशपुत्र गल्लीमा बसेर नेपालको निरङ्कुशता अर्थात् राजतन्त्रको अन्त्य नगरेसम्म जनता र देशलाई समृद्ध पार्नसकिँदैन भन्ने विचार प्रवाह गर्ने उनी बसेको घरलाई अहिले जीर्णरूपमै भए पनि सङ्ग्रहालयजस्तै राख्ने घरधनीकी छोरी मञ्जुषा नायक अहिले पनि व्यवस्थित सङ्ग्रहालय निर्माणको पहलका लागि नेपाली वामपन्थीहरूसँग अपेक्षा गरिरहेकी छिन् । सादा जीवन, उच्च विचार राख्ने पुष्पलाल दर्शनका हिसाबले द्वन्द्वात्मक दृष्टिकोण राख्ने, अत्यन्त स्पष्ट आर्थिक दृष्टिकोण भएका र बत्तिसओटा पुस्तक नै लेखेका विशिष्ट विद्वान् हुन् । विपीले हरेक गरिबको घरमा एउटा लैनो गाईको परिकल्पना गरेका छन् तर त्यसको जोहो कसरी हुन्छ भन्ने स्पष्ट दृष्टिकोण आएको छैन तर पुष्पलालले आर्थिक समृद्धिका आधार तथा गर्नुपर्ने कार्यादेशका बारेमा अत्यन्त स्पष्टताका साथ दृष्टिकोण दिएका छन् । वि.सं.२००७ सालमा दिल्लीमा गरिएको सम्झौतालाई सबैभन्दा पहिले पुष्पलालले ‘यो धोका हो’ भनेर स्पष्टरूपमा विरोध गरेका छन् । साथै धोकापूर्ण सम्झौताले हाम्रो देश र देशवासीको समृद्धि सम्भवै छैन भन्ने विचारसहित चेतना फैलाउने अभियानमा पनि उनी समर्पित भएर लागेका हुन् । सन १९६० मा मस्कोमा भएको कम्युनिस्ट पार्टीहरूको सम्मेलनमा ‘स्टालिनजस्तो साम्यवादी नेता नभएको भए साम्राज्यवादीले निल्थ्यो त्यसैले स्टालिनको अपमान होइन सम्मान गरिनुपर्छ र उनको सालिक सुरक्षित राख्नका लागि हामीलाई देओ’ भनेर बुलन्द आबाज उनले उठाएका थिए । हाम्रो देशको हावापनी कृषिअनुकूलको रहेको छ र हाम्रो ऊर्जाको सदुपयोगले मुलुकको समृद्धि गर्नसकिन्छ मात्र होइन ग्यास तथा पेट्रोलियम पदार्थको विस्थापन नै गर्नसकिन्छ भन्ने दूर दृष्टिकोण उनको रहेको थियो, जो आज सान्दर्भिक ठहरिएको छ । यसरी मुलुकको समृद्धि कसरी हुन्छ भन्ने योजनासहितको विचार दिने महान् नेताको विचारअनुसार २०४६ पछिको नेपाली राजनीति चाहिँ हिँडेन ! अन्धाधुन्द निजीकरणको कमिसने हिँडाइले र वर्तमान संविधानले समाजवादमा पुग्नसकिँदैन, यो पुष्पलालको अगृम घोषणा थियो । अहिले पनि मुलुक अत्यन्त अप्ठ्यारो अवस्थामा रहेको छ । पुष्पलालको विचारअनुसारको राजनीतिक सुझबुझ र इमानदार कार्यान्वयन अहिले पनि अपरिहार्य छ । मुलुकको हितरक्षाका निम्ति वाम–लोकतान्त्रिक शक्तिहरूको एकता वा सहकार्यका माध्यमबाट मुलुकको समृद्धिको यात्रा आवश्यक छ तर विदेशी शक्तिहरू त्यसो हुननदिन समर्पित रहेका देखिन्छन् । यसका लागि साहित्यिक अभियान एउटा बलियो हतियार भएको हुँदा साहित्यकारले यो दिशामा समर्पित भएर कलम चलाउने र खबरदारी गरिरहने कार्य अत्यावश्यक रहेको छ । यो पनि पुष्पलालकै दृष्टिकोण हो । मुटुको बिरामीका कारण दिल्लीमा गोविन्दबल्लभ अस्पतालमा उपचाररत रहँदा त्यहाँ क्याबिनमा बसेर उपचार गरौँ र त्यसको खर्च भारत सरकारले व्यहोर्छ भनेर त्यहाँका नेता आउँदा पनि उनले ‘होइन म सामान्य बेडमै रहेर उपचार गर्छु, अर्काले दिएको दानले उपचार गर्दिन भनेका’ र नेपालबाट पैसा उठाएर त्यहाँ पुर्याउँदा ढिला भइसकेको र बेलायतमा उपचारका लागि लानुपर्ने भनिएको थियो तर तत्काल लैजान सम्भव नभएका कारण उनको देहावसान भयो । त्यसैले विचार, व्यवहार, दूर दृष्टिकोण सबै सबै कोणबाट पुष्पलाल नेपाली राजनीतिका शिखर व्यक्तित्व हुन् भन्ने धारणा राख्नुभयो ।
विशेष समारोहमा सरस्वती चिमौरिया, बेरागी जेठा, डा.राजेन्द्रप्रसाद अधिकारी, डम्बर पहाडी, खेमराज निरौला, महेशराज खरेल, दिल पौडेल, लक्ष्मण तिमिल्सिना, गायत्रीकुमार चापागाईँ, गोपाल नेपाल, सोइना दाहाल, ऋचा अधिकारी, ताजिना कस्तुरी, कुमार नेपाल, डोलराज बस्याल, भोवलाल श्रेष्ठ, नवराज श्रेष्ठ, कणाद महर्षि, रेणु अधिकारी ‘मौनता’, यदुनाथ वसन्तपुरे, रामकुमार पण्डित क्षेत्री, रत्न उप्रेती, त्रिलोचन आचार्य, लीलाराज दाहाल, सञ्जय सोती, डा.मनोज जोशी, बलराम विष्ट र प्रशान्त खरेलले आआफ्ना कविता, गीत, गजल, हाइकु, लघुकथा, मुक्तक वाचन गर्नुभएको थियो भने वरिष्ठ गायक तथा सङ्गीतकार माधव प्रधानले पुष्पलालले प्रेमबहादुर कंसाकार र शम्भुराम श्रेष्ठहरूसँग मिलेरै लेख्नुभएको निरङ्कुशताको समाप्त गर्ने कालजयी गीत अनि पुष्पलालमा समर्पित अर्काे गीत सुमधुर लयमा गाएर सुनाउनुभएको थियो । पुष्पलालसँग २०२६ देखि २०३४ सालसम्म गरेका सङ्गत र उनको व्यवहार एवम् साहित्यका प्रति पुष्पलालको दृष्टिकोणसमेतको सङ्क्षेपमा चर्चासहित वरिष्ठ कवि जगन्नाथ आचार्यले पुष्पलालमा समर्पित सुन्दर कविता वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि टिप्पणी गर्नुहुँदै डा.कृष्ण सुवेदीले चार दशकदेखि अविरल र अविश्रान्त यात्रा गरिरहेको, सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्या वास्तवमै निजी स्तरबाट चलेको अनुकरणीय संस्था हो र यसको कार्यलाई गिनिज बुक अफ द वल्र्ड रेकर्डमा लेखाउनयोग्य छ । पुष्पलालको जन्मशताब्दी असार १५ मा पर्ने भए पनि साहित्य सन्ध्याले आजैदेखि मनाउन थालेको छ । पुष्पलालप्रति श्रद्धाञ्जली अर्पण गरेर थालिएको आजको यो विशोष समारोह वास्तवमै विशेष र भव्य भएको छ । साहित्य सन्ध्या स्रष्टाहरूलाई स्थापित गर्नका लागि चाल्ने चाल्नो हो । आजको यो शृङ्खलामा वाचन गरिएका तिसओटा रचना विसङ्गत वर्तमानलाई व्यङ्ग्य गरिएका, आक्रोश व्यक्त गरिएका र रूपान्तरणका पक्षमा आबाज उठाइएका रहेका छन् । आफ्ना सिर्जनामा विचार र कलाको संयोजन गर्नसकिएन भने जनताका लागि, देशका लागि अनि परिवर्तनका लागि साहित्य सिर्जना गर्नसकिएन भने कुनै पनि सिर्जना सुन्दर हुनसक्तैन । यस विषयमा आजका धेरै कवि सचेत रहेको पाइएको छ, यो सकारात्मक कुरा हो । आजका सिर्जनाले श्रमिक र सर्वहाराका दिन खुलाउने कुरा सपनामा परिणत भएको वर्तमानका प्रति चिन्ता जाहेर गरेका छन् । कालो ट्रकमा कालै मन लिएर हिँडेका मानछेहरूजस्ता विम्बका माध्यमबाट वर्तमान विद्रुप राजनीतिका प्रति निर्मम प्रहार गरिएको छ । जनताका नाममा शासन गर्छाैँ भन्नेहरूले निजी टावर ठड्याएका प्रति कठोर आक्रोश कवितामा अभिव्यक्त भएको छ । घामलाई प्रतीक बनाएर समानताको सन्देश दिने सुन्दर बालकविता वाचित भएको छ । त्यसैगरी भविष्यका प्रतिको आशा जगाउने कवितासमेत वाचित भएका छन् । मुसहरी भाषिकामा लेखिएको अतियथार्थपरक कविता पनि वाचित भएको छ । वर्तमान विकृत एवम् कुरूप यथार्थका प्रति कविहरूले आक्रोश मात्र व्यक्त गर्नुभएको छैन उछित्तो नै काढ्नुभएको छ । छोटे राजाहरू गाउँ गाउँमा मौलाएका र मनपरीतन्त्र चलाएका मात्र होइनन् सङ्घीयताकै खिल्ली उडाएका यथार्थलाई पनि कविचामा संयोजन गरिएको छ । नेपाली राजनीतिको ‘भन्ने एक थोक र गर्ने अर्कै थोक’ अर्थात् द्वैध चरित्र उदिङ्ग्याउने काम कविताले गरेका छन् । स्वच्छ वसन्तको परिकल्पना गरिएका कवितासमेतका माध्यमबाट स्पष्ट रूपान्तरणको सन्देश सम्प्रेषण गरिएको छ र आजको शृङ्खला अत्यन्त सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।
समारोहका अध्यक्ष राम विनयले यो विशेष समारोमा हामीले नेपाली वामपन्थी राजनीतिका शीर्षस्थ धरोहर पुष्पलालको विचार, दृष्टिकोण, व्यवहार र नेपाली राजनीतिमा उनको योगदानको विशद चर्चाका माध्यमबाट सम्मान गरेका छौँ । हाम्रो निमन्त्रणा स्वीकार गरिदिएर उपस्थित भइदिनुहुने प्रमुख अतिथि, अतिथिहरूलगायत सबै सबै धन्यवादका पात्र हुनुहुन्छ । आज गरिएको बहस, सुनिएका सिर्जनाले नेपाली समाज र सम्पूर्ण नेपालीले भोगेका पीडा, व्यहोरेका विकृति जीवन्तरूपमा चित्रण गर्ने र आफ्ना सिर्जनाका माध्यमबाट नेपाली समाजको रूपान्तरणको अपेक्षा राखेका छन् । प्रमुख अतिथिले अत्यन्त विशद रूपमा परिचर्चा गरिदिनुभएको छ, म उहाँप्रति आभार व्यक्त गर्दछु । नेपाली जनजीवनको सुधार नभएसम्म पुष्पलालको विचार अवलम्बन गरिरहेका छौँ भन्ने ढोँगले सार्थकता प्राप्त गर्दैन भन्ने यथार्थलाई आजको बहसले उजागर गरेको छ र वाचित कविताले पनि रूपान्तरणको सङ्केत गरेका छन् । २०१५ सालको आमनिर्वाचनमा पुष्पलाललाई आपूmले देखेको स्मरणसहित उनको सम्मानका कवितासमेत वाचन गरेर सन्ध्याको ४५३ औँ शृङ्खलामा पनि कुनै समसामयिक विषयमा छलफल तथा बहस गर्नेगरी उपस्थितिका लागि निमन्त्रणा गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।