साहित्य सन्ध्यामा विशेष कविगोष्ठीसम्पन्न

रमेश पोखरेल, असार ०५, २०७८, काठमाण्डु

साहित्य सन्ध्याको बन्दाबन्दीका कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४१७ औँ शृङ्खला असार ५ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री राष्ट्रिय गोष्ठीका रूपमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो ।

साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्यको प्रविधि व्यवस्थापन तथा उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहका प्रमुख अतिथि प्रा.केशव सुवेदी हुनुहुने र उहाँले ‘भूमण्डलीकरण, महामारीजन्य प्रतिकूलता र प्रगतिशील साहित्यको भूमिका’ विषयमा परिचर्चा गर्ने आयोजना रहेकोमा प्रविधिले साथ नदिएका कारण प्रमुख अतिथि जोडिन सक्नुभएन । नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीम खतिवडा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी पनि विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्राज्ञ लक्ष्मी माली, पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमि, प्रा.डा.खेमनाथ दाहाल, डा.राजेन्द्रप्रसाद अधिकारी, साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्य, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल झापा, अग्रज स्रष्टाहरू उमेश उपाध्याय, कणाद महर्षि, सीताराम नेपाल, डा.बालचन्द्र मिश्र, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र), गायत्रीकुमार चापागाईँ, डिल्लीराज अर्याल र गोपाल बराल, साहित्यकार गङ्गा कर्माचार्य पौडेल, बालअधिकार अभियानका अभियन्ता तारक धिताल उपस्थित हुनुहुन्थ्यो ।

साहित्य सन्ध्याको ४१५ औँ शृङ्खलामा प्रत्यक्ष जोडिएर वाचित सिर्जनामाथि गरिष्ठ टिप्पणीसमेत गरिदिनुभएका वरिष्ठ साहित्यकार प्रा.राजेन्द्र सुवेदीज्यूको कोरोनामहामारीका कारण देहावसान भएकोप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै अन्य विभिन्न क्षेत्रका होनहार व्यक्तित्वहरू पनि यो महामारीको चपेटामा पर्नुभएकोमा दिवङ्गत भएजति सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेर र महामारीलाई जित्नसक्नुभएका सन्ध्याका सल्लाहकार डा.मोदनाथ प्रश्रित, सन्ध्याकी हितचिन्तक अनिता लामालाई हार्दिक बधाईसमेत ज्ञापन गर्दै गोष्ठीको प्रारम्भ गरिएको थियो । गेष्ठीमा डिल्लीराज अर्याल, गायत्री लम्साल, डम्बर पहाडी, राममणि ढुङ्गेल, रश्मि रिमाल, कणाद महर्षि, नर्मदेश्वरी सत्याल, महेशराज खरेल, परशुराम पराशर, डा.राजेन्द्रप्रसाद अधिकारी, गोविन्द घिमिरे वेदमणि, ललिता दोषी, तारक धिताल, डा.बालचन्द्र मिश्र, विन्दु अधिकारी ढकाल, दुर्गा नेपाली, उमेश उपाध्याय, रमेश गौतम पाल्पाली, भक्ति घिमिरे, उर्मिला पन्त पाण्डेय, सीताराम नेपाल, गोपाल बराल, चूडा निर्भीक, पुण्यप्रसाद खरेल झापा, डा.खेमनाथ दाहाल, बेनीबहादुर थापा, अनिता लामा, तिला लेकाली, इन्दिरा दाहाल, रत्न उप्रेती, भगत दास श्रेष्ठ, ओमप्रसाद कोइराला, स्नेह सायमि, प्राज्ञ लक्ष्मी माली, खगेन्द्र दाहाल, गीता सापकोटा, गङ्गा कर्माचार्य पौडेल, विष्णुप्रभा उपाध्याय, गायत्री चापागाईँ, गोपाल मैनाली, प्रशान्त खरेल, डा.कृष्ण सुवेदी, विधान आचार्य, डा.भीम खतिवडा र राम विनयले आआफ्ना कविता, गीत, बालकविता, हाइकु, एलाक वाचन गर्नुभएको थियो ।

वाचित सिर्जनामाथि टिप्पणी गर्नुहुँदै कवि जयन्ती स्पन्दनले आजको यो विशेष समारोहमा ४४ ओटा सिर्जना वाचन भएका छन् । तीमध्ये केही व्यङ्ग्यात्मक र विद्रोहात्मक रहेका, केही सामाजिक–राजनीतिक पक्ष वा विषयसँग सम्बन्धित रहेका र केही तरल भावका कविता रहेका छन् । कवितामा समसामयिक विकृति र विसङ्गतिका प्रति आक्रोश व्यक्त गरिएको छ, लोभलालच मौलाएकोप्रति आक्रोश व्यक्त गरिएको छ, देखिएका विकृतिमा रमिते बन्नुपरेको पीडा पनि अभिव्यक्त भएको छ; एउटा कविताले भानुभक्तको सम्झना र योगदानको सम्मान गरेको छ भने अर्काे एउटा कविताले हालै दिवङ्गत हुनुभएका नेपाली साहित्यका प्रखर साधक प्रा.राजेन्द्र सुवेदीको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान जाहेर गरेको छ । अधिकांश कविताले उज्यालोको अपेक्षा गरेका छन् । कवितामा विगतमा उज्यालोको खोजीका निम्ति जीवन अर्पण गरेको सम्झना गर्दै वर्तमानको खिचातानी र बेथितिका प्रति चिन्ता जाहेर गरिएको छ । कवितामा विवेक र ज्ञानको अपेक्षा रहेको छ, राजनीतिक आडम्बरका प्रति आक्रोश व्यक्त भएको छ, जनताको पीडाभन्दा परको सत्तामोहको खुलेर विरोध गरिएको छ । असारे गीतका माध्यमबाट पनि बाढीको वितण्डा उजागर गरिएको छ । कवितामा बोली र व्यवहारमा तालमेल नगर्ने राजनीतिका प्रति निन्दा गरिएको छ, आफ्नै गाउँसहर बिराना भएकामा चिन्ता जाहेर गरिएको छ, नेताको भाषण र उसको व्यवहार हेर्दै वान्ता आउने अवस्थासमेतको चित्रण गरिएको छ, सँगसँगै सफा मन र स्वस्थ चिन्तनले विकास गर्नसकिने आशावादी दृष्टसमेत केही कविताले सम्प्रेषण गरेका छन् । कवितामा विपत्तिमा परेका निमुखाको दर्द उजागर गर्दै महामारीका कारण घरैभित्र थुनिनु पनि आपूm र अरूलाई बचाउनु हो भनिएको छ । सीमा अतिक्रमणका कुरा, नेतृत्वको सत्तालिप्साका कुरा अनि दृष्टिभ्रम भइरहेको यथार्थका कुरा पनि कविताले उजागर गरेका छन् । विज्ञानले चमत्कार गरिरहेको वर्तमानमा त्यही विज्ञानलाई निरीह पार्दै महामारीले मानिसको ज्यान लिइरहेकोप्रति चिन्ता पनि जाहेर गरिएको छ । राजनीति धमिलिएकोप्रति चिन्ता जाहेर गर्दै समयको महत्ताबोध गर्नुपर्ने सन्देश पनि कविताले दिएका छन् । राजनीतिरूपी विषाक्त पोखरीमा शुद्धीकरण आवश्यक भएको, चाकडी र आडम्बरको अन्त्यको आग्रह गरिएको, प्रकृतिलाई दोहन मात्र होइन बुझ्नु पनि पर्ने आग्रह गरिएको, समयलाई नचिनेर फगत दास हुने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने आग्रह गरिएको, शोषण नहटेको र गधा बन्ने र बनाउने प्रवृत्तिका प्रति शालीन आक्रोश व्यक्त भएको पाइन्छ । भएको उज्यालो बचाउनुपर्ने; आस्था, दृढ विश्वास र एकता चुल्याउनुपर्ने; समाजमा देखिएका सबै खाले विकृतिका झार उखेल्नुपर्ने, स्वदेशप्रेम जगाउनुपर्ने भावका कवितासमेत आएका छन् । पानीको महत्ताबोध गराइएका, सपना लिलामी हुने खतरा रहेकोप्रति सचेत गराइएका, जनता उपचारविहीन भएर मरिरहेका तर सत्तालिप्सा विक्षिप्त÷कुरूप अवस्थामा देखिएकोप्रति आक्रोश व्यक्त गरिएका, प्रकृति र जीवनको समन्वय गर्दै समाजबाट सबै खालका विभेदको अन्त्य हुनुपर्ने सशक्त आग्रह रहेका कवितासमेत वाचन भएका छन् । अधिकांश कविताहरू प्रवाहपूर्ण र चलायमान छन् । हाम्रा सम्पूर्ण भोगाइ, जीवनपद्धति, विसङ्गत सत्तालिप्सा कवितामा ज्यादै सशक्तरूपमा आएका छन् । हामी स्रष्टाले सत्यलाई सत्य र असत्यलाई असत्य नै भन्नुपर्छ, यो मान्यताबाट चाहिँ हामी पनि विचलित हुनुहुँदैन । समग्रमा हाजको गोष्ठी अत्यन्त सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।

विशिष्ट अतिथि प्रा.डा.भीम खतिवडाले कोरोना महामारीले हामीलाई नकारात्मकताबाट सकारात्मकता पनि सिकाएको छ त्यसैले साहित्य सन्ध्याका मासिक शृङ्खलामा देशैभरिबाट हामी जोडिनपाएका छौँ । यही महामारीको त्रासदी झेलेका र विपत्ति व्यहोरेका राम विनय यो शृङ्खलाको अध्यक्षता गरिरहनुभएको छ । तथापि यो बाँच्नु र बच्नुपर्ने समय हो । आजको यो विशेष समारोहमा अग्रज स्रष्टाहरू जोडिनुभएको छ । सन्ध्याले गएका शृङ्खलामा पनि विशेषज्ञ व्यक्तित्वबाट महामारीबाट कसरी बच्ने भन्ने विषयमा प्रशिक्षणमूलक कार्यक्रम नै आयोजना गरेको थियो । कोरोनाका कारण मान्छे मरे, गाउँ नै सोत्तर बनायो र सँगसँगै यसले मान्छेमा भयको विभेद ल्याउने काम पनि गरेको छ । दीर्घरोगीलाई कोरोनाले थप आहत बनाएको छ र क्षति पनि गरेको छ । प्राकृतिक जीवनशैली छाड्नुहुन्न, कृत्रिम खानाले जीवनरक्षा गर्दैन भन्ने सन्देशका साथै जीवनमुखी स्वास्थ्यप्रति यसले सचेत पनि गराएको छ, जीवनरक्षाका लागि अत्यन्तै महङ्गो उपचार झेल्न पनि यसले बाध्य बनाएको छ । साथै योग र प्राणायम मान्छेको जीवनरक्षाका साधन रहेछन् भन्ने सिकाएको छ । मानवसभ्यता अहिले तहसनहस भएको छ तर पनि मान्छेको चेतना आवश्यकतानुसार चुलिएको छैन ! अहिले प्रकृतिको रौद्र रूपले भूगोलमा बाढी आएको छ र मानवजीवनमै बाढी उर्लिएको छ । नयाँ पुस्तालाई उज्यालो कसरी देखाउने ? प्रकृतिलाई कसरी सम्मान गर्ने र सन्तुलन कायम गर्ने ? जस्ता अनुशासनको पालना मानवबाट हुनु आवश्यक छ र हामी स्रष्टाले त्यसै दिशामा सिर्जना गर्नुपर्ने आवश्यकता छ भन्ने धारणा राख्नुुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले आजको यो विशेष समारोहमा ‘भूमण्डलीकरण, महामारीजन्य प्रतिकूलता र प्रगतिशील साहित्यको भूमिका’ विषयमा प्रा.केशव सुवदीज्यूबाट परिचर्चा गर्ने लक्ष्य थियो तर प्रविधिले साथ दिएन । विशिष्ट अतिथिज्यूले महत्त्वपूर्ण विचार राखिदिनुभएको छ । वाचित सिर्जनामाथि मसिनोढङ्गले समीक्षा गरिदिनुहुने कवि जयन्ती स्पन्दनज्यू, देशैभरिका सहभागी कविज्यूहरूमा हार्दिक आभार व्यक्त गर्दछु । यो महामारीबाट सबै बचौँ, सचेत रहौँ । नेपाली कम्युनिस्ट आन्दोलनमा लागेर भूपि शेरचनलाई कम्युनिस्ट बनाउने आदरणीय ९२ वर्षीय हर्ष स्याङ्बो अहिले अत्यन्त कष्टकर अवस्थामा हुनुहुन्छ र उहाँलाई हालै कवि अनिता लामाले सुकुम्वासी बस्तीमा बसेकै ठाउँमा गएर खानेकुरालगायत सहयोग गरेर आउनुभयो, त्यसका लागि उहाँलाई हार्दिक आभार व्यक्त गर्दछु । लामो समयदेखि सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्याका कर्मका बारेमा बाहिर पनि सकारात्मक चर्चापरिचर्चा हुँँदो रहेछ, सन्ध्याका कर्म अभिलिखित हुनुपर्छ भन्ने सल्लाह बाहिरबाट पाएका छौँ, हामीलाई गर्व लाग्छ तर पनि संस्थालाई आफ्नै थातवास बनाएर व्यवस्थित पार्न भने सकिएको छैन । अर्काे महिनामा आज चर्चा हुननसकेको विषयमा बहससहित सिर्जनावाचनका लागि निमन्त्रणा गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.