साहित्य सन्ध्यामा ‘साहित्यमा अध्यात्मवाद र भौतिकवाद’ विषयक परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाण्डु

निबार, चैत्र ५, २०७८

साहित्य सन्ध्याको अझै पनि कोरोना महामारीजन्य कारणले खुलारूपमा गर्ननसकिएको नियमित मासिक ४२६ औँ शृङ्खला चैत्र ५ गते शनिबार अपराह्न १ बजे जुम एपको माध्यमबाट प्रविधिमैत्री विशेष गोष्ठीको आयोजना गरी सम्पन्न गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथिका रूपमा दार्शनिक चिन्तक प्राज्ञ विष्णु प्रभात उपस्थित हुनुहुन्थ्यो भने अतिथिका रूपमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष डा.फणीन्द्रराज निरौला, डा.देवी दुलाल क्षेत्री, डा.नारायण चौलागाईँ, डा.हरिप्रसाद सिलवाल, डा.हिरण्य ज्ञवाली, शेषमणि आचार्य, गायत्री चापागाईँ, कृष्ण बाउसे, सीताराम पद्मकुमार फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ अग्रज स्रष्टाहरू डम्बर पहाडी, तारा गाउँले उपस्थित हुनुहुन्थ्यो ।


साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको प्रविधि व्यवस्थापन तथा कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त गोष्ठीमा प्रमुख अतिथि प्राज्ञ विष्णु प्रभातले ‘साहित्यमा अध्यात्मवाद र भौतिकवाद’ विषयमा विशद चर्चा गर्नुहुँदै ४२६ औँ शृङ्खलासम्म अविच्छिन्नरूपमा सञ्चालन भएको साहित्य सन्ध्या यथार्थमा अविरल बगिरहेको नदी हो । आजको सन्ध्याको यो विशेष समारोहमा हामी गहन एवम् गम्भीर विषयमा बहस चलाइरहेका छौँ । परमात्मा भन्ने अर्थमा अध्यात्मवादलाई लिइँने गरिएको, कल्पनापरक ईश्वर मान्ने, आत्मा र परमात्मा भन्ने, विश्वब्रह्माण्डलाई सृष्टि भएको मान्ने, मनले मानेको नै मुख्य कुरा हो, शरीरभन्दा पर आत्मा हुन्छ भन्ने र रहस्यवादलाई स्वीकार गर्ने प्रत्ययवादी चिन्तनधारालाई अध्यात्मवाद मानिएको छ र यो अध्यात्मवाद भनेको दर्शन होइन । भौतिक तत्त्वलाई, द्वन्द्ववादलाई स्वीकार गर्ने, आत्मा एवम् ईश्वरको अस्तित्व नमान्ने, जगत् नै सत्य र सत्य नै जगत् हो भन्ने, यथार्थवादलाई अङ्गीकार गर्ने, हेगेलको आध्यात्मिक भौतिकवाद र माक्र्सको द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई स्वीकार गर्ने दर्शनलाई भौतिकवादी दर्शन भनिन्छ । नेपाली साहित्यमा यी दुइटै दर्शनको अस्तित्व रहेको पाइन्छ । स्रष्टाले आफ्नो लेखनलाई मानवीय पार्नुपर्ने प्रयत्न आवश्यक छ, यद्यपि अध्यात्मवादी दर्शनमा पनि यो पक्ष रहेको पाइन्छ । हाम्रो समाजमा शैव चिन्तन अलि व्यापक रहेको र यज्ञवल्कले प्रतिपादन गरेको ब्रह्म दर्शनको प्रभाव पनि रहेकै छ । षडदर्शन चाहिँ नेपालको मौलिक दर्शन हो । अध्यात्मवादले मानेका मठ, मन्दिर सामाजिक उपज हुन् यिनका केही सकारात्मक पक्ष पनि छन् तर ईश्वरवाद चाहिँ मनुष्यवादका विरुद्धमा खडा छ त्यसैले स्रष्टाले विज्ञानसम्मत र यथार्थपरक भौतिकवादको अनुसरण गरी रूपान्तरणका पक्षमा सिर्जना गर्नु आवश्यक छ भन्ने धारणा राख्नुभयो ।


गोष्ठीमा डम्बर पहाडी, खेमराज निरौला, तारा गाउँले, गणेश घिमिरे ‘मार्मिक’, प्रमोद स्नेही, गोविन्द घिमिरे वेदमणि, विन्दु अधिकारी ढकाल, गायत्री चापागाईँ, भावना न्यौपाने, डा.हरिप्रसाद सिलवाल, गङ्गा कमाचार्य पौडेल, उर्मिला पन्त पाण्डेय, गायत्री लम्साल, भगतदास श्रेष्ठ, तारक धिताल, शेषमणि आचार्य, कृष्ण बाउसे, रमेश पोखरेल र राम विनयले आआफ्ना कविता, गीत, एलाक वाचन गर्नुभएको थियो ।


वाचित सिर्जनामाथि डा.देवी दुलाल क्षेत्री (इलाम)ले टिप्पणी गर्नुहुँदै साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा पूर्वको मोरङदेखि तनहुँ हुँदै काठमाडौँसम्मबाट स्रष्टाहरू जोडिएर कवितावाचन गरिएको छ । गोष्ठीमा वाचित कवितामा विषयको विविधता रहेको छ । अध्यात्मवादी र भौतिकवादी चिन्तनधाराका कविता वाचन भएका छन् । सामाजिक जीवनमा भोगिएका हरभोगाइको चित्रण कवितामा गरिएको छ । समाजवादोन्मुख यात्राप्रति लक्षित कविताहरू र स्रष्टा स्वयम् द्विविधामा रहेका रचना वाचित भएका छन् । ध्वंशात्मक चेतनालाई निर्माणतिर रूपान्तरण गर्नुपर्ने, जतासुकैबाट गरिएको भए पनि गलत कामको विरोध गर्दै सुनरूपी विचारलाई कलात्मक अभिव्यक्तिका माध्यमबाट वर्गीय चेतना सम्प्रेषण गर्नु स्रष्टाको पनि दायित्व हो । हामीले मानेका नायकहरूको चरित्रमा आएको स्खलनका प्रति पनि आजका कविताले प्रहार गरेका छन् । त्यति हुँदाहुँदै पनि आफ्ना सिर्जनामा प्रस्ट दृष्टिकोण प्रस्ततु गर्नुपर्ने पक्षमा स्र्रष्टा सचेत हुनुपर्ने धारणा राख्नुभयो ।


गोष्ठीका अध्यक्ष राम विनयले आजको यो प्रविधिमैत्री विशेष समारोहमा उपस्थित भइदिने प्रमुख अतिथि, अतिथिज्यूहरू, स्रष्टाहरू र आजको समारोहमा वाचित सिर्जनामाथि टिप्पणी गरिदिने टिप्पणीकारलगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । साहित्यकारले जहिल्यै पनि सत्य र न्यायको पक्षमा उभिनुपर्दछ । आज हामीले गहन विषमा बहसको थालनी गरेका छौँ । भौतिकरूपमा गोष्ठी गर्दा देशैभरिबाट जोडिन सम्भव हुँदैन भने कहिलेकाहीँ नेटले गडबडी गर्दा प्रविधिमैत्री गोष्ठी अपेक्षाअनुरूप भइदिँदैन । आज पनि हामीले नयाँ–पुराना स्रष्टाहरू जोडिएर रचनावाचन गरेका छौँ । आलोचना र आत्मालोचनाबाट आपूm पनि रूपान्तरण हुने र समग्र विकृतिमा रूपान्तरण गर्ने अनि सांस्कृतिक रूपान्तरणविना समाज रूपान्तरण हुनसक्तैन भन्ने मान्यता साहित्य सन्ध्याले राखेको छ । साहित्य सन्ध्याको सोद्देश्यमूलक अभियान निरन्तर जारी रहिरहन्छ र यो अभियानमा निरन्तर जोडिइरहन हामी यहाँहरूलाई पनि अनुरोध गर्दछौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.