भर्खरै गएका दुईवटा शक्तिशाली भुकम्प, त्यसले गरेको धनजनको क्षति र त्यसपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै, साहित्य सन्ध्या र जनसांस्कृतिक महासंघका अध्यक्ष राम विनयद्वारा निम्नानुसारको प्रेस विज्ञप्ति जारी गरियो ।
“देशमा यही २०७२ वैशाख १२ गते शनिवार अपराह्न ११.५६ बजे र १३ गते आइतवार अपराह्न १ बजे आएका दुइटा शक्तिशाली महाभूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको छ, हजारौँ घाइते भएका छन् । लाखौँ घर भत्केर मानिसहरू घरवार विहीन भएका छन् त्यसै गरी लाखौँ घरमा क्ष्यति पुगेर बस्नै नमिल्ने अवस्थामा पुगेका छन् । विश्व सम्पदा सूचीमा परेका महत्त्वपूर्ण सार्वजनिक पुरातात्त्विक सम्पदाको विनाश भएको छ ।
महाविपतको यो त्रासदी पूर्ण घडीमा ज्यान गुमाउनु हुने साहित्यकारहरू, उनीहरूका परिवारजन तथा देशवासीमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौँ, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । बाँचेकाहरूले भोगेको वा भोगि रहेको त्रासदी पूर्ण अवस्थामा धैर्य धारण गरौँ, स्थितिलाई सामान्यीकरण गर्ने प्रयत्न गरौँ र साहसका साथ यो महाविपत्तिको सामना गरौँ भनी हार्दिक आह्वान गर्दछौँ । समाजको रूपान्तरणमा होस् वा सचेतनाको अभियानमा समर्पित हामी लेखकहरू अर्थात् जन साहित्यिक मञ्च, नेपालसँग आवद्ध स्रष्टाहरू तथा शुभेच्छेकहरू जहाँ जहाँ छौँ त्यहीँ मानवीय सहयोगमा, उद्धार, चेतना अभिवृद्धि, सरसफाइ, मानव कल्याण, रक्तदानको अभियानमा जुटौँ र यो विपत्तिपूर्ण अवस्थाको सामना गर्न सम्पूर्ण नेपाली जनतासँग उनीहरूको दुखमा एकाकार होऔँ, पीडामा मलम लगाउने कार्यमा सहभागी बनौँ ।
अनर्गल हल्ला फैलाई त्रासदीपूर्ण अवस्थाको सिर्जना गर्ने तत्त्वसँग सावधान रहौँ, निराधार एवम् अवैज्ञानिक हल्लाका पछाडि नलाग्न सबैमा चेतना अभिवृद्धि गरौँ, वास्तविक पीडितले राहत पाउन सक्ने अवस्थाको सिर्जना गरौँ, राहतका नाममा पीडामा नपर्नेले नै लिने वा दुरुपयोग गर्ने प्रवृत्तिको डटेर सामना गरौँ भनी निवेदन गर्दछौँ । विश्व सम्पदा सूचिका ऐतिहासिक, पुरातात्त्विक सम्पदाको पुनर्निर्माणका कार्यमा सम्बन्धित पक्षको अविलम्ब ध्यान जाओस् भन्ने पनि आग्रह गर्दछौँ । साथै सरकार, सिङ्गो मुलुक, विदेशमा रहेका नेपालीहरू र विदेशी समेत राहत र उद्धारमा जुटेको यो कठिन घडीमा थप आर्थिक, भौतिक, शारीरिक वा अन्य प्रकारको सहयोगका लागि सदैव तयार रहन हामी सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछौँ ।”