सिर्जना प्रतिष्ठानको ‘अनुपम’ लोकार्पण

०६ ज्येष्ठ, २०७०
नरनाथ लुर्इंटेल, काठमाण्डु

राजधानीको कलङ्की क्षेत्रमा विगत एक वर्षदेखि साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको अनुपम सिर्जना प्रतिष्ठानद्वारा प्रकाशित साहित्यिक सङ्कलनको पहिलो अङ्क अनुपम गत जेठ ४ गते लोकार्पण गरियो । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न लोकार्पण समारोहका प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले कृति लोकार्पण गर्नु भएको हो । समारोहमा विशिष्ट अतिथि एवम् अतिथिहरूमा वरिष्ठ व्यक्तित्व चेतन कार्की, मस्र्याङ्दी वाङमय प्रतिष्ठानका अध्यक्ष मुकुन्द पथिक, ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, अभिनव साहित्यिक अभियानका गोविन्द घिमिरे वेदमणि, प्रा.डा. रामचन्द्र लम्साल आदि हुनुहुन्थ्यो ।

 

प्रमुख अतिथिको आशनबाट सङ्कलन लोकार्पण गर्दै उपकुलपति गङ्गाप्रसाद उप्रेतीले अनुपम स्थापनाको एकै वर्षमा सम्पन्न भएका साहित्यिक कार्यक्रमको कार्यप्रगतिको विवरणसहित रचना सिर्जनाहरूको प्रस्तुति हेर्दा निकै लोभलाग्दो देखिएको बताउँदै प्रतिष्ठानलाई अझ अग्रगतिको शुभकमना व्यक्त गर्नु भयो । उहाँले नेपाली स्रष्टा र असमका नेपालीभाषी स्रष्टाहरूको बीच भेटघाट र अनुभूति आदानप्रदानको प्रक्रिया समेत आरम्भ गरेको सुन्न पाउँदा खुसी लागेको बताउनुभयो । प्रज्ञा प्रतिष्ठानले गर्ने गरेका काम पनि यिनै हुन् भन्दै तपाइँँहरूको निमन्त्रणामा आसामबाट निकट भविष्यमा आउने स्रष्टाहरूलाई प्रज्ञाले पनि हार्दिक स्वागत गर्नेछ, हामी सहकार्य गर्दै जाउँ भन्नु भयो ।

अर्का विशिष्ट अतिथि चेतन कार्कीले मन्तव्य दिँदै अनुपमले आयोजना गरेका केही कार्यक्रममा आफू सहभागी भएको अनुभव बताउँदै काम गर्दा गल्ती हुन्छ, प्रकाशनका क्रममा भएका कमजोरीहरू सच्याउँदै अघि बढ्नुपर्छ भन्नु भयो । उहाँले आफ्ना केही मुक्तक सिर्जनाहरूसमेत प्रस्तुत गर्नु भएको थियो । समारोहमा मस्र्याङ्दी वाङमय प्रतिष्ठानका अध्यक्ष मुकुन्द पथिक, ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह, प्रा.डा. रामचन्द्र लम्साल, अभिनव साहित्यिक अभियानका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले अनुपमको प्रगति र साहित्यिक समृद्धिको कामना व्यक्त गर्नु भएको थियो ।

लोकार्पित कृतिमाथि समीक्षा गर्दै डा. खेम कोइराला बन्धुले स्थापनाको छोटो अवधिमै अनुपम सिर्जना प्रतिष्ठानले गरेका कार्यक्रमहरू र प्रकाशनको यो पहिलो अङ्क नै गुणस्तरीय र वाङ्मयका सबै क्षेत्र समेट्न गरिएको प्रयास निकै प्रशंसनीय रहेको बताउनु भयो । अर्का वक्ता कमला रिसाल ज्योतिले गजलका फाँकीहरू मार्फत अनुपमको प्रगतिको कामना गर्नुभएको थियो भने रमेशप्रसाद गौतमले प्रकाशनका त्रुटिपक्षप्रति बढी होसियार रहन आग्रह गर्नुभएको थियो । अनुपमका सम्पादक एवम् कार्यसमितिका सदस्य भुवनहरि सिग्देलले समारोहको आरम्भमा कविताबाट स्वागत अभिवादन गर्नुभएको थियो भने सल्लाहकार एवम् अर्का सम्पादक नरनाथ लुइँटेलले सम्पादन प्रक्रियामाथि प्रकाश पार्नु भएको थियो । 

प्रतिष्ठानका उपाध्यक्ष विनोददेव पन्तले संस्थाको परिचय दिँदै अभिभावकत्व प्रदान गरिदिने समस्त अग्रज एवम् स्रष्टा मित्रहरूको समुचित सहयोगले नै अनुपम अघि बढिरहेको बताउनु भयो । समारोहको बीचबीचमा स्रष्टाहरूबाट रचना वाचन गरिएको थियो । सुन्दर रचना वाचन गर्ने स्रष्टाहरूमा कुमार श्रेष्ठ, बाजुराम पौडेल, हरिप्रसाद पाण्डे, अशोक बिष्ट, प्रभा भट्टराई, बमबहादुर थापा जिताली, डा. जीवन अधिकारी, गाउँले बलदेव, लक्ष्मी एडी र हरिहर कार्की हुनुहुन्थ्यो ।

अध्यक्षताको आसनबाट प्रकाशन कार्यदेखि समारोहमा उपस्थित सबै अतिथि एवम् सहभागी स्रष्टा द्रष्टा महानुभावमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम विसर्जनको घोषणा गर्नुभएको थियो । समारोहको   सञ्चालन प्रतिष्ठानका महासचिव नवराज पहाडीले गर्नुभएका थियो ।
(तस्विर स्रोतः कुमार श्रेष्ठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *