सिस्नुपानीको देउसी, नेतामाथि झ्याम्का–झ्याम

नरनाथ लुइँटेल

सिस्नुपानी नेपालले विगत तेह्र वर्षदेखि निरन्तर आयोजना गर्दै आएको देउसी कार्यक्रमले यस वर्ष पनि आम मानिसहरूको मन छुन सक्यो । सिस्नुपानीको देउसीले समसामयिक नेपालको राजनीतिक तस्बिर खिच्ने गरेको छ ।

परम्परागत देउसीभन्दा एकदमै पृथक किसिमको देउसी–गान आरम्भ गर्ने सिस्नुपानी नेपालले हरेक वर्ष देउसी मार्फत देशमा व्याप्त रहेको बेथितिलाई उजागर गरी जनसमक्ष राख्दै आएको । यस वर्षको उसको देउसीमा समसामयिक राजनीतिक स्थितिलाई केन्द्रविन्द बनाइएको थियो । सोह्र पटकसम्म प्रधानमन्त्री दिन नसकेका राजनीतिक दलहरूप्रति कटाक्ष गरिएको छः

भन भन भाइ हो    – देउ सरकार
भन भन बैनी हो    – देउ सरकार
जोडले भन         – देउ सरकार
स्वर मिलाइकन     – देउ सरकार
बेइजिङ्ले सुनून     – देउ सरकार
दिल्लीले सुनून्       – देउ सरकार
सम्मेलन केन्द्रका    – देउ सरकार
सिल्लीले सुनून्      – देउ सरकार ।

Sisnupani Deusi

हास्यव्यङ्ग्यङ्ग्यात्मक भावले भरिपूर्ण देउसीले वर्तमान विसङ्गत राजनीतिक पर्यावरणलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छः

हामी त्यसै आएनौ सिस्नुपानीले जा भन्यो
सक्छस् भने तँ नि पर्धानमन्त्री खा भन्यो ।
 
स्थायी सरकार हेर्न मन थियो अझै हेर्न पाइएन
यसपाली नि हाम्रो देउसी फेर्न पाइएन ।
 
दिल्लीतिरै छँदैछ नि हाम्रो स्थायी सरकार
नेपालमा सरकार बन्न केको दरकार ।
  
कालापानी कालै भो सुस्ता पनि सुस्तै भो
नयाँ नेपाल माधव नेपाल उस्तै उस्तै भो ।
  
कुर्सी छाड्न पाइन भनी माधव नेपाल रुँदैछन्
रुँदा रुँदै अरुभन्दा बलिया हुँदैछन् ।
  
खान्न खान्न भन्दै माधव पर्धानमन्त्री खाइरहने
प्रचण्ड र राम चन्द्र मुख बाइरने ।
  
कुर्सीमाथि राल झ¥यो तर हातै परेन 
सत्रचोटी हार्दा पनि धितै मरेन
  
माधव नेपाल दाईं गर्ने, पुष्पकमल आईं गर्ने
महङ्गीको तातो तेलमा जनता झ्वाईं गर्ने ।

समग्र नेपाल तदर्थमा चलिरहेको कामचलाउ यथार्थलाई देउसीले उद्घाटन गरेको छ ः

भनभन साथी हो    –काम चलाऊ
जोडले भन         –काम चलाऊ
सरकार हाम्रो        –काम चलाऊ
सम्विधान हाम्रो      –काम चलाऊ
अख्तियार हाम्रो     –काम चलाऊ
सम्वैधानिक समिति  –काम चलाऊ
पुलिसका आइजि     –काम चलाऊ
नेपालको पासपोर्ट   – काम चलाऊ
कोशीको बाँध      – काम चलाऊ
अनमिनको काँध    – काम चलाऊ
नेपालको बजेट       – काम चलाऊ
हाम्रा बोइङ् जेट     – काम चलाऊ
मुलुकै हाम्रो         – काम चलाऊ

नेपालको वर्तमान राजनीतिक अस्थिरता दलहरूबीचको असहमति र असहिष्णुताका कारण उत्पन्न भएको हो । असहमति दल–दलमा मात्र सीमित छैन, दलभित्रका गुट–उपगुटमा पनि मडारिइरहेको छ । राजनीतिक दलभित्रका गुटउपगुटमा रहेको अराजनीतिक असहमतिलाई पनि सिस्नुपानीको देउसीले खोतलेको छः

वामदेव झुण्ड एमालेको माओवादी भित्तामा
ओली झुण्ड लपक्कै काँग्रेस कित्तामा ।
  
भाले हो कि पोथी हो यो पत्ता लगाई हालौन
बल्खु दरबार खालि पारी बोइलर पालौन ।
  
एउटा पार्टी दुइटा मुख प्रचण्ड र बाबुराम
राजावादी भिडले गर्दा पार्टी चक्काजाम

भ्रष्ट र अपराधी मनोवृत्तिलाई राजनीतिक दलले संरक्षण गरिरहेको अकर्मयण् स्थिितिलाई पनि सिस्नुवानीको देउसीले छोडेको छैनः

कालो खाम खोली हेर्दा नोटका बिटा झरेछन्
लुटेरा पो हो कि भन्दा नेता परेछन् ।
  
पोलिटव्यूरो बैठकमा यार्सागुम्बा गनायो
गनाउनेलाई बैठकले नै फरार बनायो ।

जनताको रक्षक बनेको प्रहरी स्वयम् अपराधीको मतियार बन्ने गरेको खुलासा पनि देउसीमा गरिएको छः

साना गुण्डा समाचारमा दिनदिनै छाउँछन्
ठूलासँग पुलिस आफैं मित लाउँछन् ।
  
नाङ्गा नाच हेर्न पाए पुलिस आफै रमाउने
अनि तिनले नाङ्गालाई कहॉ समाउने ?
 
पछिपछि अपराधी अघि पुलिस गइहाल्यो
नेपालगञ्जे अपहरण संझे भइहाल्यो

नेपाली राजनीतिमाथि निरन्तरको विदेशी हस्तक्षेपमाथि सिस्नुपानीको देउसीले औँलो ठड्याएको छ । विदेशी हस्तक्षेपको बढोत्तरीमा नेपाली नेताहरूकै भूमिका प्रमुख रहेको तथ्य देउसीले उद्घाटन गरेको छः

राकेश सुदका दाह्री देख्ता कमरेडहरू थुरुरु
चाइनिज प्रभु गुहार्नलाई बेइजिङ लुरुरु ।
 
कोइका मुख बेइजिङतिर कोइका दिल्ली फिरेका
जति जोगी आए पनि कानै चिरेका ।
  
दूताबासैबाट आउँछ ज्यानको धम्की हाम्रालाई
फिर्ता लैजाऊ धम्क्याउनेलाई पठाऊ राम्रालाई ।
  
तिमी आफैं सुधार तिम्रो युपि बिहार
हाम्रो देश हाम्रै जिम्मा दागा नधर ।
 
नेपाल सरकार छिमेकीका राजदुतले नै चलाउने
हाम्रा नेता लिन्ठिङ् लिन्ठिङ् पुच्छर हल्लाउने ।

न्यायिक निकाय तथा न्याय निरुपणको अख्तियारी अदालतमा हुनेगरेको विसङ्गतिलाई समेत देउसीले साङ्केतिक रूपमा समेटेको देखिन्छः

एकातिर न्याय छ, अर्कातिर मूर्ति छ
कानुन बस्ने तराजुमा वलवान सूर्ति छ ।
  
भ्रष्टाचार गर्न हुन्छ गरिस् भन्नु हु‘दैन
अरुलाई हात धो भन्छ आफै धु‘दैन ।

नक्कली धन्दामा संलग्न ठगहरूबाट नेताहरू त ठगिए–ठगिए लोकप्रिय कलाकार मह जोडीसमेत ठगिएको डाक्टर पदवीका सम्बन्धमा सिस्नुपानीको देउसीले मज्जैसँग मजाक गरेको छ ः

नेतासँगै मह ले नि डाक्टर पदवी पाएछन्
जिन्दगीमा पहिलोपल्ट जिल्ल खाएछन् ।
 
ओली पनि डाक्टर, गच्छेदार नि डाक्टर
नक्कलीले देको डाक्टर थोत्रे ट्याक्टर ।

नयाँ संविधान बनाउने जिम्मा लिएर सभासद बनेका तर आफ्नो पदीय जिम्मेवारीलाई एकातिर पन्साइ अनेकन कमाउ धन्दा र अनैतिक कार्यमा सरिक हुने गरेका घटना सार्वजनिक भएरहेका छन् । त्यसकारण सिस्नुपानीको देउसीले भट्यएको छः

भन भन साथी हो   – सभासद्
भनी साध्ये छैन     –सभासद्
गन गन साथी हो  –सभासद्
गनी साध्ये छैन     –सभासद्
घुस्याहा पनि      –सभासद्
भुस्याहा पनि       –सभासद्
गगन पनि         –सभासद्
बबन पनि          –सभासद्
ऐरे पनि           –सभासद्
जैरे पनि           –सभासद्
हाम्रा गाउँको       –सभासद्
भैरे पनि           –सभासद्
कम्मर भाँच्तै       – सभासद्
नाङ्गै नाच्तै       –सभासद्
तोङ्बा तान्दै       – सभासद्
मुक्का हान्दै       – सभासद्

नेपाली जनताको आशा र आकाङ्क्षा बनेको संविधान निर्माण गर्नेतिर सरकार, दल वा सभासद कसैले ध्यान दिइरहेका छैनन् । संविधान बनाउनेतिर ध्यान नदिएको कुरालाई देउसीमा व्यङ्ग्यात्मक अभिव्यक्ति दिइएको छः

मकैमा घोगा थिएन, नेताले सम्विधान दिएन
यस्तो लाग्छ दुवैसँग बिजै थिएन ।

सिस्नुपानीका देउसीमा समावेश आशिष पनि अलि पृथक खालको छ ः

आयकर तिर्ने       – बानी होस्
धारा खोल्दा       – पानी होस्
पेटमा अल्सर        – नबढोस्
छोराले पल्सर       – नचडोस्
नेताले घाँस         – नचरुन्
गाईबस्तु भोकै       – नपरुन्
कालो सूचिमा       – नाम नहोस्
सडकमा निस्कँदा    – जाम नहोस्
खेतमा जहाज       – नझरोस्
डेंगुले निम्तो       – नगरोस्

वर्तमानमा मुलुकको स्थिति यति बिघ्न बिग्रँदै गएको छ कि, स्थिति यस्तै रहे हामी अब नेपाली नै रहिरन कौँला या नसकौँला भन्ने सन्देह पैदा भएका छ । यस्तो संवेदनशील सन्देहलाई प्रस्तुत गरेर सिस्नुपानी नेपालका देउसेहरू घरबेटीसँग यसरी बिदा माग्छन्ः

आगौं आउ“ला देउसी गाउ“ला, सारङ्गी नि रेटौ“ला
नेपाली नै रहियो भने फेरि भेटौ“ला ।

यिनै र यस्तै सामयिक बेथितिमाथि व्यङ्ग्य विद्रोह गर्दै यिनै बेहोरा भट्याउँदै सिस्नुपानीले यसवर्षको देउसी कान्तिपुर एफ्एम परिसरबा आरम्भ गरेको थियो । गुरुकुलमा प्रबुद्धबर्गको उल्लेखनीय उपस्थिमा अपार तालिका बीच प्रस्तुत गर्यो । रेडियो अडियो, तराई टेलिभिजन, उज्यालो एफएम लगायत मिडिया परिसर र केही सार्वजनिक स्थलमा खेली समग्र मुलुकको ध्यान आकर्षित गरेको थियो ।

सिस्नुपानीको देउसी टोलीमा लक्ष्मण गामनागे, मनोज गजुरेल, टङ्क आचार्य, नरनाथ लुइँटेल, रामकृष्ण दुवाल, हरिकला उप्रेती, सराज घिमिरे, प्रेम ओली, देवी घिमिरे, भक्ति घिमिरे, चक्र दवाडी लगायत हास्यव्यङ्ग्य स्रष्टा एवम् कलाकारहरूको सहभागिता रहेको थियो ।

1 Comment

  1. preventive and curative measures of humour always try to make and keep society in order. Satire is associated with humour. Love and respect to all artists to recorrect the social evils and demoniac psyche of our leaders.

Leave a Reply

Your email address will not be published. Required fields are marked *