स्रष्टाको जन्मदिनमा विशेष कविगोष्ठी

रमेश पोखरेल, काठमाडौं

स्रष्टा समाज काठमाडौँ, नेपालको आयोजनामा डा.डिल्लीरमण(कल्याणी रेग्मी पुस्तकालयको सभाकक्षमा कार्तिक १२ गते बुधवार अपराह्न १ बजे अग्रज कवि अतृप्त पाण्डेयको ६५ औँ जन्मदिनको सुखद अवसरमा विशेष कविगोष्ठीको आयोजना गरियो ।

image

उक्त विशेष कविगोष्ठीको अध्यक्षता कवि तथा राजनीतिक अभियन्ता दीनानाथ शर्माले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती हुनु हुन्थ्यो, अतिथिका रूपमा समीक्षक अशोक सुवेदी उपस्थित हुनु हुन्थ्यो । कविद्वय
एस.पी.चौलागाइँ र कृष्णदेव रिमालको सञ्चालनमा सम्पन्न उक्त गोष्ठीको औचित्यमाथि स्रष्टा समाज काठमाडौँ नेपालका अध्यक्ष एवम् उक्त गोष्ठीका विशेष आकर्षण अतृप्त पाण्डले प्रकाश पार्नु हुँदै हरेक स्रष्टाले आफ्नो जन्मदिन अन्यान्य कार्यक्रम गरी मनाउनुभन्दा सिर्जनाकै माध्यमबाट मनाउनु उपयुक्त हुने र यसो गर्दा नेपाली साहित्यको श्रीवृद्धिमा सहयोग पनि पुग्ने ठानेर फरक खालको कार्यक्रमको आयोजना गरेको जानकारी सहित कविता वाचन गर्ने कविलाई रातो मैनबत्ती उपहार दिएर जलस्रोतको धनी देशमा स्रष्टाले खुलेर सिर्जना गर्न समेत नपाएको पीडालाई रातो मैनबत्ती उपहार प्रदान गरेर प्रतीकात्मक बनाएको जानकारी पनि दिनु भयो ।

image

प्रगतिवादी कवि गोपालप्रसाद रिमालको रातो र चन्द्र सूर्य बोलको गीत गाएर शुभारम्भ गरिएको उक्त फरक, प्रतीकात्मक र विशेष कार्यक्रममा अतृप्त पाण्डेय, गङ्गाप्रसाद उप्रेती, दीनानाथ शर्मा, अशोक सुवेदी, नरनाथ लुइटेल, पूर्ण विराम, उषा दीक्षित, कणाद महर्षि, वासुदेव अधिकारी, राजेन्द्र शलभ, गौरी दाहाल, सीताराम प्रकाश, गायत्री विष्ट, शोभा दुलाल, लक्ष्मी माली, रमेश पोखरेल, गोपालकुमार मैनाली, कृष्णदेव रिमाल, देवकी के.सी., प्रशान्त खरेल, मुक्तान थेवा, एस.पी.चौलागाईँ, नवराज श्रेष्ठ, शीतल गिरी, प्रवीण जोशी, रामदेव पाण्डे, इन्दु अंशु, नकुल सिलवाल, श्याम रिमाल, प्रमोद स्नेही, बैरागी जेठा, ओमप्रसाद कोइराला, रामचन्द्र वनवासी र मुकुन्द न्यौपानेले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।

image

वाचित कवितामाथि समीक्षक अशोक सुवेदीले टिप्पणी गर्नु हुँदै अधिकांश कविता समसामयिक धारामा लेखिएका, समयको आक्रोश कवितामा अभिव्यक्त भएको र आशावादी दृष्टिकोण सम्प्रेषित भएको धारणा राख्नु भयो ।

प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले विशेष अर्थ राख्ने फरक खालको र प्रतीकात्मक पारिएको यस्तो खाले कार्यक्रमले स्रष्टाको फरक चेतना उजागर भएको र जिन्दगीको एक बित्ता समय सकिएको अनुभूति सहित अर्काे जन्मदिनसम्मका लागि प्रेरणा, शुभ कामना लिने यस्तो रचनात्मक कार्य सराहनीय रहेको धारणा राख्नु भयो ।

सभाध्यक्ष दीनानाथ शर्माले राजनीतिक अभियानका हामी रुखा मान्छेलाई सिर्जनाको सुन्दर बगैँचामा उभ्याएर वा ल्याएर यस्तो रचनात्मक कार्यक्रममा सहभागी हुने र सिर्जना सुन्ने अवसर प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद दिन्छु भन्दै स्रष्टा अतृप्त पाण्डेलाई जन्मदिनको हार्दिक शुभ कामना दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *