‘अविरल जनसाहित्य यात्रा–८७’मा सशक्त प्रगतिवादी कवि त्रिलोचन आचार्यका एक दर्जन कविता गुञ्जिए

फागुन १२ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ८७ औँ शृङ्खलामा साहित्य सिर्जना, प्रशासनिक नेतृत्व, विभिन्न साहित्यिक सङ्घसंस्थामा सक्रिय भूमिका, सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका पूर्वप्रशासक एवम् सिर्जनामा अत्यन्त सक्रिय रहेका सशक्त प्रगतिवादी कवि त्रिलोचन आचार्यका एक दर्जन कविता गुञ्जिए ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी उपस्थित हुनुहुन्थ्यो भने प्रा.डा.जीवेन्द्र देव गिरी, मधेसी आयोगकी माननीय सदस्य आभा सेतु सिंह, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, अग्रज कवि जगन्नाथ आचार्य, नर्मदेश्वरी सत्याल, डा.कृष्ण सुवेदी, डा.गोविन्दप्रसाद आचार्य, पूर्व सचिव पुण्यप्रसाद न्यौपाने, राजेन्द्र भजु, महेशराज खरेल, कृष्णदेव रिमाल, कविनायककी श्रीमती पवित्रा आचार्यलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

अध्यक्ष राम विनयले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने सञ्चालन राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपाल, अविरल जनसाहित्य यात्रा परिचालन समितिका सदस्य ज्ञानु विद्रोहीले गर्नुभएको थियो ।

अविरल जनसाहित्य यात्रा परिचालन समिति संयोजक डा.हरिप्रसाद सिलवालले कविनायकको परिचय दिनुहुँदै सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं.१० मा माता टङ्ककुमारी आचार्य र पिता बलभद्र आचार्यका सुपुत्रका रूपमा वि.सं.२०२१ चैत्र १० मा जन्मिएका त्रिलोचन आचार्य हाल बुढानीलकण्ठ नगरपालिका वडा नं.१२ कपनमा स्थायी बसोवास गरिरहेका छन् । एमबिए र एमफिलसम्मको शिक्षा आर्जन गरी २०४१ सालदेखि निरन्तर सरकारी सेवामा रहेर लगभग ३९ वर्ष सेवा गरी प्रथम श्रेणीको अधिकृतका रूपमा सेवानिवृत्त भएका आचार्यका दुई छोरी र एक छोरा रहेका छन् । ‘माटाको बास्ना’ २०५६, ‘छायाछवि’ २०५९, ‘समयलाई सम्बोधन’ २०६६, ‘छन्दका सयथुँगा’ २०७६ जस्ता कवितासङ्ग्रह, ‘आमाविनाको घर’ २०६० र ‘धर्ती र म’ २०७० खण्डकाव्य, ‘सोर सौगात’ २०६३ निबन्धसङ्ग्रह, ‘विनासर्त’ (चालिसओटा छन्दमा लेखिएको) मुक्तकसङ्ग्रह प्रकाशित भएका छन् । साहित्यसेवा, समाजसेवा र देशसेवा गरेवापत उनलाई विभिन्न मान, सम्मान तथा पुरस्कार प्राप्त भएका छन् । सरलताका माध्यमबाट गम्भीर भाव समप्रेषण गर्ने र सामाजिक रूपान्तरणको प्रयोजनले साहित्य लेख्ने आचार्य निरन्तर कलम चलाइरहेका स्रष्टा भएका हुँदा आजको यो विशेष समारोहमा एक दर्जन कविताका साथ प्रस्तुत गरिएको धारणा राख्नुभयो ।

समारोहका अध्यक्ष राम विनयले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी ८७ औँ शृङ्खला सम्पन्न गर्नलागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका त्रिलोचन आचार्यलाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत पनि गर्दछु । हामी स्रष्टाले अराजकतावादको विरोध गर्नुपर्ने र सपष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश समप्रेषण गर्दै सहित्का सिर्जना गर्नुपर्ने मान्यतालाई आत्मसात गर्ने स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।

कविनायक त्रिलोचन आचार्यले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै आपूmले कविता सिर्जनाबाटै साहित्ययात्राको थालनी गरेको र जागिरे जीवनबाट अवकाश प्राप्त गरेपछि साहित्य सिर्जनामा नै सम्पूर्ण समय लगाइरहेको पक्षलाई कतै न कतैबाट मूल्याङ्कन गरी यति लामो इतिहास निर्माण गरिसकेको यो महत्त्वूर्ण अविरल जनसाहित्य यात्राको अभियानमा यतिका विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने आफ्ना एक दर्जन कविता सुनाउने अवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेको छु । सरकारी सेवामा रहँदा वैचारिक सङ्गठनले आयोजना गर्ने यस्ता विशेष समारोहमा सक्रियतापूर्वक सहभागी हुननसकेको भए पनि अहिले स्वतन्त्र लेखक भएको छु । वरिष्ठ स्रष्टाका कृतिको पठन, साहित्यिक सङ्घसंस्थाको सङ्गत, पछिल्ला एक दशक कपन–बानेश्वर साहित्यिक साप्ताहिकमा अविच्छिन्न कवितास्तम्भमा लेखिरहेका कारण मलाई सिर्जनामा लागिरहन हालसम्म प्रेरणा प्राप्त भइरहेको छ । प्रकृति नै सभ्यताको कारक हो भन्ने मेरो मनले ठम्याएपछि, युवापलायनले मुलुक वृद्धाश्रम भइरहेको पीडा अनुभूत गरेपछि, सबै नउठी सामाजिक रूपान्तरण हुँदैन र मुलुकबाट शोणण र उत्पीडनको अन्त हुनसक्तैन भन्ने मनले ठहर गरेपछि, श्रम गर्ने श्रमिकले नै अपमान र उत्पीडन भोग्नुपरेको देखेपछि अनि नयाँ नेपाल बनाउने सपनासहित राजनैतिक परिवर्तन भए पनि अपेक्षित रूपान्तरण नभएको देखेपछि आपूmले यी यावत पक्षलाई कवितामा उतारेको रचना गर्भसहित ‘पूmलहरू’, ‘आमाको चाहना’ शीर्षकका गद्यकविता, ‘विभिन्न छन्दका मुक्तकहरू’, ‘उठाउँछौँ माथि माथि’ शास्त्रीय छन्दकै र वंशस्थ छनदको ‘समानता मिल्छ कहाँ गई’ शीर्षकका छओटा सुन्दर, शालीन र सशक्त कविता वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू वरिष्ठ कवि जगन्ननाथ आचार्यले शार्दूलविक्रीडित छन्दको ‘जान्नेहरू हो उठ’ शीर्षकको, शार्दुल भट्टराईले अनुष्टुप् छन्दको ‘म नेपाली’ शीर्षकको, डिल्लीप्रसाद मुल्तिउनले अनुष्टुप छन्दकै ‘जुकाहरू’ शीर्षकको, दिल कार्कीले शार्दूलविक्रीडित छन्दको ‘हली’ शीर्षकको, साधुराम नेपालले ‘श्रम मन्दिरमा’ शीर्षकको गद्यकविता र राधिका सापकोटाले मन्दाक्रान्ता छन्दको ‘बन्छ नेपाल कैले’ शीर्षकको गरी छओटा त्यस्तै शालीन तर सशक्त कविता वाचन गरिएका थिए । 

वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समीक्षक डा.कृष्ण सुवेदीले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ८७ औँ शृङ्खलामा पुगेको छ । यो अभियानमा नियमितजस्तै उपस्थित भएर यसको उद्देश्यसँग गाँसिएको आपूmले आज कुशल स्रष्टा त्रिलोचन आचार्यका एक दर्जन कवितामाथि टिप्पणी गर्ने अवसर पाउँदा खुसी पनि लागेको छ । आचार्य मध्यम वर्गीय आदर्श परिवारमा जन्मिएका, चारैजना दाजुभाइ सरकारी सेवामा रहेर सेवा गरेका, छ कक्षादेखि नै विद्यालयमा प्रथम भएर एसएलसीमा पनि प्रथम श्रेणमिा नै उत्तीर्ण गरेका, प्रारम्भदेखि नै वैचारिक अभियानमा जोडिएका, पिस्कर हत्याकाण्डको विरोधसभामा पहिलोपटक सार्वजनिकरूपमा सरकारी आतङ्कविरोधी कविता वाचन गरेका, सरलदेखि वार्णिक छन्दका कठिनसम्म कविता सिर्जना गर्ने, कलात्मक बान्की र साङ्केतिक अभिव्यक्तिका कविको परिचय बनाएका स्रष्टा हुन् । उनी विचार र कलाको सन्तुलन गर्ने, मानवीय मूल्य र मान्यतालाई मानक बनाएर परिवर्तनका पक्षमा कलम चलाउने स्रष्टा हुन् । प्रकृतिका पक्षमा र शान्तिका पक्षमा लेख्ने यिनको व्यक्तित्व तथा कृतित्वका बारेमा शोध  तथा अनुसन्धानसमेत भएका छन् । कवितामा कवि प्रतीकात्मकरूपमा बोलेका छन् । देशका लागि भोकै पनि लड्ने अभिव्यक्ति कवितामा सुन्दरढङ्गले अभिव्यक्त भएको छ । शोषण र उत्पीडनका विरुद्धमा उभिने अडान कवितामा उजागर भएको छ र कविता सूक्तिमय लाग्छन् । श्रममा बाँच्नेको अपहेलना भए पनि सुन्दर जीवन बाँच्ने सपना ती निमुखाले पनि देखेका हुन्छन् भन्ने यथार्थको उद्घाटन पनि कवितामा भएको छ । शोषणको प्रतीकका रूपमा जुकाहरू कविता आएको छ र सुन्दर छ । श्रमको सम्मानका पक्षमा र युवापलायनका विपक्षमा कवितामा कवि पोखिएका छन् । समाजका कुप्रवृत्तिका विरुद्धको शङ्खघोष र विभेद तथा शोषणको अन्त्यको आग्रह कवितामा गरिएको मात्र नभई समानताका पक्षमा वकालत गरिएको छ । आचार्यका कविता भोलिको समाजले पनि स्विकार्ने खालका रहेका छन् र जनताका पक्षमा लेखिएका कविता सार्थक रहेका छन् भन्ने धारणा राख्नुभयो ।             

प्रमुख अतिथि राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो सतासिऔँ शृङ्खलामा आज सक्रिय एवम् प्रखर कवि त्रिलोचन आचार्यलाई सुनियो । सरल तरिकाले गम्भीर भाव कवितामा सम्प्रेषण गर्नसकिँदो रहेछ, कवितामै शालीन व्रिद्रोहका माध्यमबाट रूपान्तरणको सन्देश पनि सम्प्रेषण गर्नसकिँदो रहेछ भन्ने अनुभूति पनि कविता सुनिसकेपछि भएको छ । साहित्यले सामाजिक रूपान्तरण अभियानलाई निकै ठुलो बल पुर्याउँछ किनभने स्रष्टाको कलम अत्यन्त तिख्खर हुन्छ । यो समारोह अत्यन्त प्रवाहपूर्ण र सुन्दर रहेको छ । यो समारोहमा फरक फरक धारका कविता सुनिने गरेका छन् र आजका कविता चाहिँ राजनीतिक रूपान्तरण भए पनि चेतना र दृष्टिकोणमा भने अपेक्षित रूपान्तरण नभएको यथार्थलाई उजागर गरिएका सनिएका छन् । सररकारी सेवामा रहेर देश तथा समाजलाई नियाल्ने स्रष्टाले भोगेका अनुभूति, देखेका दृश्यलाई कवितामा उतारेको देखिन्छ । सरकारी जागिरे भनेका कतै न कतै रूपान्तरणका बाधक त होइनन् भन्ने राजनीतिक दृष्टिकोणमा समीक्षा गर्नुपर्ने र स्रष्टाले चाहिँ समाज परिवर्तनका पक्षमा तिख्खररूपमा कलम चलाइरहनुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक, उनकी जीवनसङ्गिनी तथा परिवारका सदस्यलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले सिर्जना, प्रशासकीय नेतृत्वदायी जिम्मेवारी, विभिन्न सङ्घसंस्थामा सक्रियता, सामाजिक रूपान्तरण अभियानमा सक्रिय, अथकित, अविश्रान्त स्रष्टा त्रिलोचन आचार्यलाई आज हामीले सुन्यौँ । कवितामा अत्यन्त सपाट, सरल एवम् सुबोध्य भाषाशैलीमा सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, छन्दकवितामा बढी जमेका, शालीन विद्रोहका माध्यमबाट परिस्कृत वैचारिकता सम्प्रेषण गर्ने आचार्यको पारिवारिक माहोल सहयोगी रहेको देखियो । सरकारी सेवामा रहँदा सिर्जना गरिएका कवितामा पनि क्रान्तिको आह्वान गरिएको पाइन्छ र विभेदका शिखर ढाल्ने अठोट अभिव्यक्त भएको पाइन्छ । प्रकृतिको सम्मान गर्ने, शान्तिको कामना गर्ने र त्यसैभित्र रूपान्तरणको सन्देशलाई सुन्दरढङ्गले अन्तरघुलन गर्ने अनि सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने आचार्यका विशेषता रहेका देखिन्छन् । वर्गीय प्रेम र समतामूलक समाज निर्माणको अपेक्षा उनका कवितामा सशक्तढङ्गले अभिव्यक्त भएको देखिन्छ । समसामयिक विद्रुप यथार्थको उद्घाटन गर्दै विभेद र शोषणको अन्त्यको आग्रह गर्नु पनि कविका विशेषता रहेका छन् । समयको कुशल व्यवस्थापन गर्ने व्यक्तित्व पनि रहेका आचार्यका सबै कवितामा समसामयिक समाजका विसङ्गत पक्षको उजागर गर्दै समग्र रूपान्तरणका पक्षमा आबाज उठाइएको पाइन्छ । आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने, बेथिति र विसङ्गतिमा कडा प्रहार गर्ने र सिर्जनालाई कलात्मक पार्ने कविको लेखनले नयाँपुस्तालाई प्रोत्साहन गर्ने छ । यिनै गुणग्राही अभियन्ता स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अब हामी चैत्र महिनामा ८८ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा निरन्तर क्रियाशील रहिरहेकी स्रष्टा भवानी पौडेललाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *