काठमाडौँ, असार १४ – राष्ट्रिय जनसाहित्यिक संघ, नेपालद्वारा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’को १००औँ विशेष शृङ्खला शनिबार राजधानीको बागबजारस्थित राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा भव्यतापूर्वक सम्पन्न भयो। समारोहमा काभ्रेपलाञ्चोककी प्रगतिवादी कवि भवानी पाण्डेले आफ्ना एक दर्जन कविता वाचन गरेकी हुन्।
कार्यक्रमको प्रमुख आतिथ्य राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका इन्चार्ज हेमराज राईले गरेका थिए भने अध्यक्षता जनसाहित्यिक संघकी अध्यक्ष नर्मदेश्वरी सत्यालले गरिन्। महासचिव डा. कृष्ण सुवेदीले सञ्चालन गरेका कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शान्ता मानवी, आर.सी. न्यौपाने, प्रेमनाथ अधिकारी लगायत विशिष्ट स्रष्टा तथा व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणमा जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा माल्यार्पण तथा पुष्पार्पणसहित उहाँका गीत तथा कविताको वाचन गरियो। वक्ताहरूले भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ विचार प्रणालीको राजनीतिक महत्वमाथि प्रकाश पारे।
दोस्रो चरणमा कविनायक भवानी पाण्डेले ‘घुँडा टेक्ने छैन’, ‘यो युगको महाजन’, ‘बालअधिकार’, ‘पर्खाइ’, ‘विवश वर’ लगायत बालकविता, गद्यकविता र लयात्मक कविताहरू वाचन गरिन्। कवि पाण्डेले कविताको रचनागर्भ र सामाजिक सरोकारमाथि आधारित आफ्ना अनुभवहरू प्रस्तुत गर्दै वर्तमान समाजमा व्याप्त विसङ्गतिमाथि सशक्त आवाज उठाउन आफू प्रेरित भएको बताइन्।
समारोहमा समीक्षक डा. लेखराज खतिवडाले पाण्डेका कवितालाई “समाजको यथार्थ चित्रण गर्दै परिवर्तनको पक्षमा लेखिएको” ठहर गर्दै आलोचनात्मक टिप्पणी गरे। उनले कवितामा सामाजिक अन्याय, वर्गीय विभाजन, नारीपीडा, राष्ट्रप्रेम लगायत विषयहरूको सशक्त चित्रण भएको बताए।
कार्यक्रमका प्रमुख अतिथि हेमराज राईले ‘अविरल जनसाहित्य यात्रा’ १०० औँ शृङ्खलासम्म आइपुग्नु साहित्यिक आन्दोलनकै सफलता भएको भन्दै यस अभियानले सिर्जना र सामाजिक रूपान्तरणलाई जोड्न योगदान दिएको बताए।
उपाध्यक्ष रमेश पोखरेलले कवि भवानी पाण्डेलाई “सशक्त, सरल र विद्रोही शैलीमा सामाजिक यथार्थ अभिव्यक्त गर्ने र आशावादी दृष्टिकोण सम्प्रेषण गर्ने साहित्यकार” भन्दै सम्मान गरे।
अध्यक्ष नर्मदेश्वरी सत्यालले ‘अविरल जनसाहित्य यात्रा’ अभियान २०७० सालदेखि प्रत्येक महिनाको दोस्रो शनिबार देशभरिका प्रगतिवादी स्रष्टाहरूलाई समर्पित गर्दै आएको जानकारी दिइन्। उनले आगामी १०१औँ शृङ्खलामा सिन्धुपाल्चोकका स्रष्टा पारसमणि आचार्यलाई प्रस्तुत गरिने घोषणा गर्दै सबैलाई निमन्त्रणा गरिन्।
साहित्य, समाज र राजनीति त्रिवेणीको संगमझैँ बनेको यो समारोह स्रष्टा, समीक्षक, तथा साहित्यप्रेमीहरूका लागि अविस्मरणीय बन्यो।
