पुस १२ गते शनिबार अपराह्न १ बजे वाल्मीकि क्याम्पस, प्रदर्शनीमार्गको सभाकक्षमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा आयोजित ‘अविरल जनसाहित्य यात्रा’को १०५ औँ शृङ्खला सम्पन्न भएको छ। वि.सं. २०७२ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यस कार्यक्रमअन्तर्गत यसपटक चिकित्सक तथा प्रगतिवादी कवि डा. सरोज धितालका एक दर्जन सशक्त कविता वाचन गरियो।
कार्यक्रम राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्यालको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा एमाले उपाध्यक्ष, पूर्वमन्त्री तथा साहित्यकार रघुजी पन्त उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा वरिष्ठ साहित्यकार शान्ता मानवी, हेमराज राई, प्राज्ञ सुलोचना मानन्धर, मञ्जुल, प्राज्ञ माधव प्रधान, मानवअधिकारकर्मी गौरी प्रधान, प्रा.डा. देवी नेपाल, संस्कृतिकर्मी श्याम तमोट, वासुदेव अधिकारी, प्राज्ञ लक्ष्मी माली, डा. सावित्री श्रेष्ठ लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन राष्ट्रिय जनसाहित्यिक सङ्घका महासचिव तथा ‘अविरल जनसाहित्य यात्रा’ संयोजन समिति संयोजक डा. कृष्ण सुवेदीले गर्नुभएको थियो। उहाँले कवि डा. सरोज धितालको व्यक्तित्व तथा कृतित्वबारे प्रकाश पार्दै वि.सं. २०११ सालमा चूडाकुमारी धिताल र न्यायमूर्ति तेजप्रसाद धितालका सुपुत्रका रूपमा जन्मिएका धितालले चिकित्सा सेवासँगै साहित्य र सामाजिक रूपान्तरणको अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो।
चीनबाट सन् १९९१ मा जनरल सर्जरीमा स्नातकोत्तर गरेका धितालले २०३४–३५ सालदेखि साहित्य लेखन सुरु गरेका हुन्। उनका ‘उज्यालोको बिउ’ (निबन्धसङ्ग्रह), ‘आँसु र उत्सव’ (कवितासङ्ग्रह) तथा ‘झ्यालमा रमाउने सानी केटी’ सहित अन्य अनुवाद कृतिहरू प्रकाशित छन्।
समारोहमा कवि धितालले ‘आँसु’, ‘धरहरा लासहरूको’, ‘तिमीलाई चिन्ता’ र ‘सपना’ शीर्षकका चार कविता वाचन गर्नुभयो। यसका अतिरिक्त गौरी प्रधान, प्राज्ञ सुलोचना मानन्धर, तारानिधि भुर्तेल, विना सुवेदी, शार्दूल भट्टराई, स्नेह सायमी, प्राज्ञ माधव प्रधान, तारक धिताल र नन्दु उप्रेतीले पनि धितालका पुराना तथा चर्चित कविताहरू वाचन गर्नुभयो।
कार्यक्रममा कवि तथा समालोचक श्यामलले वाचित कवितामाथि टिप्पणी गर्दै डा. धिताल प्रतिबद्ध वैचारिक कवि भएको र उनका कवितामा आशावाद, जीवनप्रति सकारात्मक दृष्टिकोण तथा समाजप्रतिको गहिरो प्रतिबद्धता देखिने बताउनुभयो। उनले कवितामा सुन्दर विम्ब, अनुभूतिको इमानदारिता तथा सामाजिक पाखण्डविरुद्ध प्रश्न उठाउने प्रवृत्ति स्पष्ट रहेको टिप्पणी गर्नुभयो।
प्रमुख अतिथि रघुजी पन्तले पनि डा. धितालका कवितामा सामाजिक यथार्थ र रूपान्तरणको चाहना प्रस्ट रूपमा व्यक्त भएको उल्लेख गर्नुभयो। उहाँले साहित्यलाई फराकिलो दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औंल्याउँदै कविता आवेग, पीडा र अनुभूतिको संश्लेषण भएको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा सङ्घका उपाध्यक्ष रमेश पोखरेलले धन्यवाद ज्ञापन गर्दै धितालका कविताले सामाजिक विभेद, शोषण र राजनीतिक विकृतिविरुद्ध विद्रोही स्वर प्रस्तुत गरेको बताउनुभयो। उहाँले धितालको जीवन र साहित्यिक यात्राले सामाजिक रूपान्तरणको अभियानलाई बल पुर्याएको उल्लेख गर्नुभयो।
कार्यक्रममा आगामी महिनामा आयोजना हुने ‘अविरल जनसाहित्य यात्रा’को १०६ औँ शृङ्खलामा सिन्धुपाल्चोकका प्रगतिवादी कवि लक्ष्मण तिमिल्सिनालाई प्रस्तुत गरिने जानकारी पनि गराइयो।
