‘अविरल जन साहित्य यात्रा – ५’ मा चर्चित हास्यव्यङ्ग्य कवि लक्ष्मण गाम्नागेका बेजोड कविताको एकल प्रस्तुति

– रमेश पोखरेल

साउन ९ गते शुक्रवार अपराह्न ठिक ३.३० बजे राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा महासङ्घकै आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा – ५’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार ठिक ३ बजे महासङ्घको सभाकक्षमा वरिष्ठदेखि हालसम्मका साहित्यकारका एकल रचना वाचन गर्ने र हरेक महिना महासङ्घका सात ओटा घटकमध्ये कुनै एकको केही न केही विशेष कार्यक्रम निरन्तर रूपमा सम्पन्न गर्ने यो अभियानको पाँचौँ  शृङ्खला भएको जानकारीका साथ जन साहित्यिक मञ्च, नेपालका का.वा.अध्यक्ष रमेश पोखरेलले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहका नायक चर्चित हास्यव्यङ्ग्य कवि लक्ष्मण गाम्नागेलाई मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो । प्रमुख अतिथिको रूपमा नेकपा एमाले संस्कृति विभाग प्रमुख वाचस्पती देवकोटा उपस्थित हुनु हुन्थ्यो भने सहयोगी कविका रूपमा प्राज्ञ एवम् जन गायक रामकृष्ण दुवाल, जयन्ता पोखरेल, बालकवि द्वय अनुज्ञा नेपाल र प्रविज्ञा नेपाल अनि टिप्पणीकारका रूपमा महासङ्घका उपाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थित हुनु हुन्थ्यो ।  

महासङ्घका अध्यक्ष एवम् उक्त विशिष्ट समारोहका सभाध्यक्ष खगेन्द्र राईले लक्ष्मण गाम्नागेलाई खादा र माला अर्पण गर्नु भयो र नेपाली समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिलाई निर्ममतापूर्वक उजागर गर्ने एवम् रूपान्तरणका लागि विकृतिमाथि सिस्नोपानी लगाउन सक्ने विशिष्ट क्षमता भएका रूपान्तरणको अभियानका अभियन्ता तथा विख्यात हास्यव्यङ्ग्य कवि लक्ष्मण गाम्नागेलाई आजको यो विशेष प्रस्तुतिमा उभ्याइएको र यो अभियान निरन्तर रूपमा अगाडि बढि रहने जानकारी सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भयो ।

चर्चित हास्यव्यङ्ग्य कवि लक्ष्मण गाम्नागेको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले भुटानमा जन्मिएर पूर्वी नेपालको झापामा शिक्षादीक्षा आर्जन गरेका र बसोवास समेत त्यहीँ बनाएका कवि गाम्नागेले २०४४ सालदेखि कविता मार्फत नेपाली साहित्यमा प्रवेश गरेका, हास्य र व्यङ्ग्यको सुन्दर सम्मीश्रण गर्न खप्पिस, अर्थको तहमा पुगेको व्यङ्ग्यलाई सशक्त हास्यमा रूपान्तरण गर्न सक्ने विलक्षण प्रतिभा भएका, विषय वस्तुको उठानलाई निष्कर्षमा रूपान्तरण गर्ने, पाठकलाई सचेत पार्ने, रोमाञ्चक पार्ने अनि समाजमा देखिएका यावत विकृति तथा विसङ्गति युक्त विविध विषयलाई समेटेर हास्यव्यङ्ग्य सिर्जना गर्ने विशिष्ट स्रष्टा लक्ष्मण गाम्नागे अनवरत सिर्जनामा लागि रहेका विज्ञ स्रष्टा भएको धारणा राख्नु भयो । त्यसै गरी चर्चित व्यङ्ग्यकवि गाम्नागेको पारिवारिक परिचय सहितको सम्पूर्ण व्यक्तित्वलाई बालकवि अनुज्ञा नेपालले ज्यादै सुन्दर कविताका माध्यमबाट उजागर गरेकी थिइन् ।

विशेष समारोहका आकर्षण हास्यव्यङ्ग्य कवि लक्षण गाम्नागेले जनता सार्वभौम हुन् अनि देश भनेको सबैको साझा हो । जनतालाई उपेक्षा गर्ने; शोषण, उत्पीडन, विकृति र विसङ्गति मौलाउने वातावरण तयार पार्ने सामाजिक संरचना र यसका मतियारप्रति व्यङ्ग्यका माध्यमबाट प्रहार गर्ने र रूपान्तरणको आग्रह गर्ने अभियानमा लाग्नु नै वास्तवमा जनता र देशको सेवा हो भन्ने मेरो ब्रह्मले देख्यो र त्यही अभियानमा आफूलाई मैले समर्पण गरेको हुँ । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र जन साहित्यिक मञ्च नेपाल जस्ता समाजिक रूपान्तरणको अभियानमा होमिएका सक्रिय संस्थाले यस्तो गरिमामय र विशिष्ट कार्यक्रममा मलाई अवसर दिनु भएकोमा मलाई गौरव बोध भएको छ र यसलाई मैले आफ्नो सम्मानको रूपमा लिएको छु, यस सम्मानले आफूलाई थप जिम्मेवार बनाएको पनि महसुस भएको धारणा राख्नु भयो र ‘उन्नाइस रसको कविता’, ‘सहिदका सपनाहरू’, ‘हेलो लक्ष्मण गाम्नागे सन्चै !’, ‘आज’, ‘बाहिर निस्कनु स्वास्थ्यका लागि हानिकारक छ’, ‘दिसा धोएपछि साबुन पानीले हात धुने बानी बसालौँ’, ‘उहाँहरू संविधान बनाउँदै हुनु हुन्छ’, ‘आउनु होस् नेपाल सरकारलाई सघाउनु होस्’ र ‘जनताको कविता’ गरी आठ ओटा अत्यन्त बेजोड, सशक्त एवम् प्रभावकारी कविता वाचन गर्नु भयो । उहाँले कविता वाचन गर्दा स्रोता पेट मिचीमिची हाँसेका थिए । त्यसै गरी ‘नेताजीका प्रजातान्त्रिक गाला’ शीर्षकको कवितालाई प्राज्ञ एवम् जन गायक रामकृष्ण दुवालले उत्कृष्ट एवम् प्रभावकारी स्वरमा गीत गाउनु भएको थियो । बालकवि द्वय अनुज्ञा नेपाल र प्रविज्ञा नेपालले गाम्नागेको ‘पप्पी सेम सेम’ शीर्षकको बालगीत सुनाउँदा दर्शक दीर्घा अत्यन्त रोमाञ्चक बनेको थियो । ‘राष्ट्रिय ए कता ?’ शीर्षकको कवितालाई कवि जयन्ता पोखरेलले उत्कृष्ट अभिनय सहित नाटकीकरण गर्नु भएको थियो, जुन ज्यादै नै उत्कृष्ट रहेको थियो ।         

वाचित एक दर्जन कविता र हास्यव्यङ्ग्य कवि लक्ष्मण गाम्नागेकोे व्यक्तित्वमाथि प्रा.डा. जीवेन्द्र देव गिरीले टिप्पणी गर्नु हुँदै निरङ्कुश शासन व्यवस्थालाई देखेका, भोगेका, अनुभूत गरेका कविले समाजका समसामयिक विविध विषयलाई समेट्न सकेका, विकृति र विसङ्गतिलाई निर्मम प्रहार गर्न सक्ने बाङ्गो तर सशक्त प्रस्तुति अवलम्बन गरेका, राजनीतिक क्षेत्रका विसङ्गतिमाथि सिस्नुपानी लगाउन सक्ने क्षमता राखेका, कविताका हरेक पङ्क्ति सशक्त र तागतदार रहेका, कविताहरू समाजका लागि मार्ग दर्शक र पाठकको मानसपटल परिवर्तन गर्न सक्ने रहेका, नेताहरूको चिन्तन र चरित्रमा तादात्म्य नरहेको प्रति आक्रोश व्यक्त गरिएको, विचार तथा आदर्शको स्खलन अनि ढोँग र आडम्बरका प्रति निर्मम प्रहार गरिएको, समाजमा बढेको जङ्गलीपनका प्रति आक्रोश व्यक्त गरिएको, प्रशासनिक भ्रष्टता, संविधान सभाभित्रका विकृति उजागर गरिएको; सुन्दर, सशक्त र खरा विम्ब तथा प्रतीकको प्रयोग गरिएको, वर्गीय विभेद झन् विकराल भइ रहेकोप्रति चिन्ताभाव सहतिको व्यङ्ग्य सशक्त रहेको, सरकार तथा सरकारी कार्यालयको गैर जिम्मेवारीमाथि उछितो काढिएको, जनताका नाममा लुट्ने प्रविृत्तको भण्डाफोर गरिएका कविताहरू ज्यादै सशक्त र उत्कृष्ट रहेको धारणा सहित कवि गाम्नागेको कवित्व अझै सशक्त हुँदै जाओस् भन्ने शुभ कामना समेत दिनु भयो ।

प्रमुख अतिथि नेकपा एमाले संस्कृति विभाग प्रमुख वाचस्पती देवकोटाले भैरव अर्यालको व्यङ्ग्य लेखन ज्यादै सशक्त रहेको तर उनको वाचन वैशिष्ट्य कमजोर रहेको तर लक्ष्मण गाम्नागेको लेखन तथा वाचन दुबै ज्यादै उत्कृष्ट रहेको, विषयको विविधता एवम् अत्यन्त जमेर निर्भीकताका साथ व्यङ्ग्य गर्न सक्ने क्षमता अत्यन्तै उत्कृष्ट र प्रशंसनीय रहेको, साहित्यमा नवरस हुन्छन् भन्ने पढेको तथ्यलाई उन्नाइस रस प्रमाणित गर्नुका साथै जनताको रस सबैभन्दा सशक्त रहेको ठम्याइ झन् उत्कृष्ट रहेको पाइएकाले उहाँको यो क्षमतालाई अभिनन्दन गर्छु, सम्मान गर्छु भन्नु भयो ।  

सभाध्यक्षको अनुमतिले विशेष समारोहको समापन गर्दै सञ्चालक रमेश पोखरेलले २०४४ सालतिर देखि सडकमा वा मञ्चमा सशक्त कविता वाचन गर्दै सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने, निर्भीक, चोटिलो र बेजोड व्यङ्ग्य गर्ने अनि सँगसँगै पाठकलाई मरी मरी हँसाउँन सक्ने विलक्षण क्षमताका धनी कवि गाम्नागे हाम्रो निम्ता स्विकारेर आइ दिनु भयो, उहाँको यो कार्यक्रम सम्पन्न गर्न ब्यानर लेखि दिएर सहयोग गर्ने, निम्ता स्विकारेर आइ दिने सबै सबैलाई हार्दिक धन्यवाद दिँदै अर्काे महिनाको कार्यक्रममा वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीपलाई प्रस्तुत गरिने जानकारी सहित विशेष समारोहको समापन भएको जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *