जन संस्कृति पुरस्कार तथा जन संस्कृति युवा प्रतिभा पुरस्कार अर्पण

रमेश पोखरेल
२०६८ पौष २३, काठमाण्डौ

राष्ट्रिय जन सांस्कृतिक महासङ्घद्वारा स्थापित ‘जन संस्कृति पुरस्कार’ र ‘जन संस्कृति युवा प्रतिभा पुरस्कार’ २०६८ आज मिति २०६८ पुस २३ गते शनिवार बिहान ११ बजे एमाले मुख्यालय बल्खुमा आयोजित एक विशेष समारोहमा अर्पण गरियो । महासङ्घले यस वर्षको ‘जन संस्कृति पुरस्कार’ विख्यात माक्र्सवादी दार्शनिक एवम् चिन्तक तथा सिद्धहस्त समालोचक गोविन्द भट्टलाई मरणोपरान्त प्रदान गरेको थियो भने ‘जन संस्कृति युवा प्रतिभा पुरस्कार’ प्रखर कवि, समालोचक, इतिहास अन्वेषणका क्षेत्रमा क्रियाशील रहँदा रहँदै युवा वयमै दिवङ्गत हुनु भएकी अ‍ोमी शर्मालाई मरणोपरान्त प्रदान गरेको थियो ।

jasam-9-068-9-23_580  jasam-11-068-9-23_580

राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव खगेन्द्र राईको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता महासङ्घका अध्यक्ष एवम् नेकपा एमाले वैकल्पिक पोलिटब्युरो सदस्य विजय सुब्बाले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले अध्यक्ष झलनाथ खनाल हुनु हुन्थ्यो, विशेष अतिथि एमाले स्थायी समिति सदस्य के.पी.शर्मा ओली र अतिथिहरूमा नेकपा एमाले स्थायी समिति सदस्य प्रदीप ज्ञवाली, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कूलपति किरण मानन्धर, नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका उपकूलपछि प्रचण्ड मल्ल, प्राज्ञहरू बूँद राना, सुलोचना मानन्धर, रामकृष्ण दुवाल, गायत्री विष्ट लगायत तिनै ओटा प्रतिष्ठानका प्रायः प्राज्ञको उपस्थिति थियो । सहायक डीन डा.ताराकान्त पाण्डेय, अखिल नेपाल सांस्कृतिक महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, अखिल नेपाल लेखक सङ्घका अध्यक्ष डा. जगदीशचन्द्र भण्डारी, प्रा.चूडामणि बन्धु, प्रा.डा. माधव पोखरेल, प्रा.केशव सुवेदी, पुरस्कार छनोट समितिका संयोजक एवम् साहित्य सन्ध्याका अध्यक्ष राम विनय, पुरस्कृत व्यक्तित्व गोविन्द भट्टका भाइ विमल भट्ट, ओमी शर्माकी छोरी प्रतिष्ठा श्रेष्ठ लगायतका विद्वान व्यक्तित्व उपस्थित हुनु हुन्थ्यो ।

jasam-3-068-9-23_580  jasam-4-068-9-23_580

सहिदहरूको समानमा एक मिनेट मौन धारण गरी सुरु भएको उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथि, तथा अतिथिहरूलाई भूमिका सुब्बा र पवित्रा घर्ती मगरले खादा लगाएर स्वागत गर्नु भएको थियो भने शब्द स्वागत भूमिका सुब्बाले गर्नु भएको थियो । कलाकार अशोक राई र साथीहरूले राष्ट्रिय गीत गाएर कार्यक्रमको थालनी गरिएको थियो भने ‘हामी जित्ने छौँ’ बोलको गीत पनि स्वागतमै गाइएको थियो । यो वर्ष महासङ्घको रजत जयन्ती वर्ष पनि रहेकाले २५ ओटै बत्तीको बेवस्था गरिएको थियो र प्रमुख अतिथिले मुख्य बत्ती प्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो भने बाँकी बत्तीहरू एक एक ओटा गरी अन्य अतथिले प्रज्ज्वलन गर्नु भएको थियो ।

jasam-1-068-9-23_580

यस वर्षको ‘जन संस्कृति युवा प्रतिभा पुरस्कार’द्वारा सम्मानित दिवङ्गत ओमी शर्माको व्यक्तित्वका बारेमा पुरस्कार चयन समितिका संयोजक राम विनयले प्रकाश पार्नु भएको थियो भने नेपाल एफ.एम.का साहित्यिक कार्यक्रम सञ्चालक नरनाथ लुइटेलले रेकर्ड गरि राख्नु भएको ओमी शर्मा आफैँले वाचन गर्नु भएको छन्दोवद्ध कविता प्रस्तुत गरिएको थियो । त्यसै गरी यस वर्षको ‘जन संस्कृति पुरस्कार’द्वारा सम्मानित विख्यात माक्र्सवादी चिन्तक एवम् प्रखर समालोचक दिवङ्गत गोविन्द भट्टको व्यक्तित्व तथा कृतित्वका बारेमा साहित्यकार वासुदेव अधिकारीले विस्तृत रूपमा प्रकाश पार्नु भएको थियो । साथै साहित्यकार नरनाथ लुइटेलले नै २०६८ असोज १० मा साहित्य सदनमा भानु साहित्यिक मासिकले प्रकाशन गरेको भवानी घिमिरे विशेषाङ्कको विमोचन समारोहमा गोविन्द भट्टले दिनु भएको मन्तव्यको रेकर्ड प्रस्तुत गर्नु भएको थियो ।

jasam-2-068-9-23_580

प्रमुख अतिथि नेकपा एमाले अध्यक्ष झलनाथ खनालले रु.२५,०००।– राशिको जन संस्कृति पुरस्कार तथा सम्मान पत्र दिवङ्गत गोविन्द भट्टका भाइ विमल भट्टलाई र रु.१५,०००।– जन संस्कृति युवा प्रतिभा पुरस्कार तथा सम्मान पत्र दिवङ्गत ओमी शर्माकी छोरी प्रतिष्ठा श्रेष्ठलाई अर्पण गर्नु भयो र प्रमुख अतिथिको मन्तव्य दिँदै देश अत्यन्त सङ्क्रमण अवस्थामा रहेको र सबैसबै स्वार्थकै पछि दौडिएको अवस्था रहेकाले आआफ्ना स्वार्थ छाडेर जनताको संविधान लेख्ने कार्य गर्नु पर्ने र त्यसका लागि शान्ति प्रक्रिया टुङ्गोमा पुग्नु पर्ने आवश्यकता रहेकाले साहित्यकार तथा कलाकारले आफ्ना सिर्जनाका माध्यमबाट त्यसै दिशामा झक्झक्याउँनु पर्ने आवश्यकता रहेको औँल्याउँदै त्यस निम्ति राष्ट्रिय जन सांस्कृतिक महासङ्घले प्रभावकारी भूमिका खेल्न सकोस् र सबै स्रष्टा यसै दिशमा केन्द्रित हुनु होस् भन्ने आग्रह गर्नु भयो ।

jasam-5-068-9-23_580

समारोहका अतिथि एवम् एमाले स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले जनताको संविधान निर्माणका लागि, सांस्कृतिक समान्तवादको समाप्तिका लागि, सबै भाषा र सबै संस्कृति अटाउँने नयाँ संस्कृतिको निर्माणका लागि, घृणा र निषेध होइन श्रमलाई सम्मान गर्नु पर्छ भन्ने संस्कृतिको निर्माणका लागि महासङ्घले पर्याप्त काम गरेको र अब पनि गरि रहनु पर्ने अनि स्रष्टाहरू पनि अविश्राम यस गतिमा लागि रहनु पर्ने धारणा राख्नु भयो । अखिल नेपाल सांस्कृतिक महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले मुलुकमा राजनीतिक परिवर्तन गरियो भनिए पनि अपेक्षित परिवर्तन अझै नभइ सकेको र सांस्कृतिक रूपान्तरणको अभियान अझै सशक्त गर्नु पर्ने अवस्थाको विध्यमानता रहेकाले हामीले यो यात्रा जारी राख्नु पर्छ भन्ने विचार व्यक्त गर्नु भयो ।

jasam-6-068-9-23_580

समारोहका विशेष अतिथि के.पी.शर्मा ओलीले समाजलाई साहित्यले दिशा दिने तर स्रष्टा उपेक्षित भइ रहने, घाँस दाउरा, पानी पँधेरादेखि गायन र लेखनका माध्यमबाट साहित्यले समाजका विकृति देखाउँदै रूपान्तरणको आग्रह गरि रहेको, विज्ञानले चमत्कार गरेको र विश्व आधुनिकताको दिशामा गएको भए पनि हामी भने जातीयताका नाममा देश नै विखण्डन गर्न, कविलातन्त्रमा फर्किन लागेको अवस्थामा जनताको संविधान जारी गर्न, राष्ट्रिय एकता कायम गर्दै समृद्ध नेपाल बनाउँन साहित्य, सङ्गीत र कलालाई माध्यम बनाउँनु पर्ने र साहित्यकारले झन दायित्वबोध गर्दै सिर्जनाका माध्यमबाट आफूलाई अझ सशक्त पार्नु पर्ने आजको आवश्यकता रहेकाले महासङ्घले आफूलाई अझ सशक्त पार्नु पर्ने र स्रष्टाहरू पनि अझ क्रियाशील हुनु पर्ने धारणा राख्नु भयो ।

jasam-7-068-9-23_580

सोही विशेष समारोहमा विशेष अतिथि के.पी.शर्मा ओलीले वासुदेव अधिकारी प्रधान सम्पादक, आर.एम.डङ्गोल कार्यकारी सम्पादक र रमेश पोखरेल सम्पादक रही विगत आठ वर्षदेखि अविच्छिन्न मासिक रूपमा प्रकाशित भइ रहेको शब्द संयोजनको जनकवि केवलपुरे किसान विशेषाङ्कको विमोचन गर्नु भयो । त्यसै गरी महासङ्घको मल्याङ्कनका आधारमा महासङ्घका जिल्ला समिति मध्येबाट उत्कृष्ट जन सांस्कृतिक महासङ्घ तेरथुम, उत्कृष्ट सङ्गठक श्री प्रेम अधिकारी र महासङ्घका सात ओटा घटक सङ्गठन मध्ये उत्कृष्ट ठहरिएको ‘जन साहित्यक मञ्च, नेपाल’ लाई रु.५,०००।–(पाँच हजार) पुरस्कार सहित प्रशंसा पत्र प्रदान गर्नु भयो । जसाम तेरथुमको पुरस्कार तथा प्रशंसा पत्र सचिवले र जन साहित्यिक मञ्च, नेपालको पुरस्कार तथा सम्मान मञ्चका अध्यक्ष डा.जीवेन्द्र देव गिरीले ग्रहण गर्नु भएको थियो । अर्काे वर्षदेखि प्रथम, द्वितीय र तृतीय छनोट गरिने जानकारी पनि महासचिव खगेन्द्र राईले दिनु भयो ।

jasam-8-068-9-23_580

उपस्थित सबैलाई धन्यवाद सहित सभाध्यक्ष विजय सुब्बाले अग्रज स्रष्टाको सम्मानका लागि महासङ्घको कार्यालयमा अग्रजको तस्बिर राख्ने, सङ्गठन विस्तार गर्ने, आफ्ना सदस्यको क्षमता अभिवृद्धि गर्ने, गुणात्मकतामा ध्यान दिने अभियान चलाउँने महासङ्घको योजना रहेको जानकारी दिनु भयो ।

jasam-10-068-9-23_580

Leave a Reply

Your email address will not be published. Required fields are marked *